menu

ताजा समाचार

भारतमा चलिरहेको जनयुद्धको समर्थनमा राता ब्यानरसहित सडकमा निस्कौँ

भारतीय कम्युनिस्ट पार्टी ( माओवादी) को नेतृत्वमा दीर्घकालीन जनयुद्ध चलिरहेको छ । भारतमा विभिन्न समयमा सरकार र सत्ता चलाएका प्रतिक्रियावादी सत्ताधारीहरूले यसलाई  सिध्याउन अनेक चाल र षड्यन्त्र गरे पनिे यो निरन्तर रूपमा अघि बढेको छ र विश्वका उत्पीडित जनताको आशाको केन्द्र बनेको छ । उत्पीडित जनताका पक्षधर विश्वका विभिन्न सङ्घ-संस्थाहरूले यसको समर्थनमा विभिन्न किसिमका कार्यक्रम आयोजना गर्दै आएका छन् । यस क्रममा 'भारतमा चलिरहेको जनयुद्ध समथर्नमा अन्तर्राष्ट्रिय कमिटीक(ICSPWI)  ले विश्वव्यापी अभियान चलाइरहेको छ भने भर्खरै माओवादी आन्दोलनसित सरोकार राख्ने ल्याटिन अमेरिका तथा युरोपका कतिपय मुलुकका साम्राज्यवाद विरोधी १२ वटा मोर्चा तथा समूहले यही जुलाई ९ तारिखका दिन भारतीय फासिवाद र साम्राज्यवादको विरोध र भारतमा चलिरहेको चलिरहेको जनयुद्धको समर्थनमा उत्साहका साथ जुझारू किसिमले सडकमा निस्कन आह्वान गरेका छन् । हामीले यहाँ सो वक्तव्यको पूर्ण पाठ प्रस्तुत गरेका छौँ:

९ जुलाई २०२२ सडकमा निस्कौँ, भारतमा चलिरहेको जनयुद्धलाई समर्थन गरौँ !

विश्व उथलपुथलको स्थितिमा छ । सबै महाद्वीपहरूमा युद्ध, विध्वंश, उत्पीडन र शोषणका साम्राज्यवादी ठालुहरूले विश्वका जनताहरूमाथि आफ्नो नृशंस हमला जारी राखेका छन् । जताततै विध्वंश, आक्रमण  र महामारी देख्न सकिन्छ । यमनमा भइहेको नरसंहार, प्यालेस्टाइनलाई सिध्याउने निरन्तर प्रयास, टर्की, पेरू, फिलिपिन्स र अन्य देशका जनता विरुद्धको प्रतिक्रियावादी युद्ध, ब्राजिल र मेक्सिको जस्ता देशका जनताविरुद्ध अघोषित तर वास्तविक प्रतिक्रियावादी युद्धलगायत  विश्वका अधिकांश भागहरूमा साम्राज्यवादी दमन चलिरहेका छन् । यी  रक्तपिपासु, साम्राज्यवादी र तिनका मतियारहरूले आफ्ना मुलुकमा जनताको घाँटी निमोठिरहेका छन् र  याङ्की–साम्राज्यवादीहरूको पक्षमा निरन्तरता  दिन   प्रमुख नाइकेको पक्षमा उभिने कि अन्य साम्राज्यवादीको पक्षमा लाग्ने भनेर जनतामाथि जोरजबर्जस्ती गरिरहेका छन् ।   दमनले प्रतिरोध उत्पन्न गर्छ र जनताले लड्ने बाटो खोज्छन् र रोज्छन् भन्ने कुरा प्रस्ट छ ।  संसारका वीर जनताले लामो समयसम्म चलेका युद्ध, इतिहासमा देखिएका सबैभन्दा घातक युद्धकारखाना, याङ्कीहरू र तिनका सहयोगीहरूलाई पराजित गरेर विश्वका सामु आफ्नो सामथ्र्य प्रमाणित गर्दै आएका छन् — जबसम्म सशस्त्र सङ्घर्षमा रहिरहन्छ र उत्पीडित जनता आफ्नै बलमा भर पर्छ, विजय सुनिश्चित छ । साम्राज्यवाद विरोधी झण्डा उचालेको भन्ने घरेलु प्रतिक्रियावादीहरूले पनि इतिहासमा बारंम्बार धोका दिएका छन् । यस अर्थमा – साम्राज्यवादको आक्रमण विरुद्ध  जनताको सङ्घर्ष नै सही अर्थमा  जनताको सेवा गर्ने र सही नेतृत्व उपलब्ध गराउने प्रश्न निर्णायक बन्दै गएको छ ।  यसै सन्दर्भमा विश्वका सबै उत्पीडित र शोषितहरूले अहिले भारततर्फ आफ्नो ध्यान पु¥याउनु आवश्यक छ  । 

भारतमा चलिरहेको जनयुद्धले मार्ग निर्देश गर्छ 

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले शक्तिशाली जन सेना, पिपुल्स गुरिल्ला लिबरेशन आर्मी (पिजिएलए)  निर्माण गरेको छ, जसले नोकरसाही पुँजीपति, जमिन्दार र विदेशी साम्राज्यवादको हितमा काम गर्ने प्रतिक्रियावादी भारतीय राज्यसत्ताको विरुद्धमा उभिएका मजदुर, किसान र जनताका अन्य सबै उत्पीडित वर्गहरूको हितको रक्षा गर्दछ । पिजिएलएले प्रतिक्रियावादी राज्यलाई ध्वस्त पार्न र भारतका रक्त पिपासुहरूका विरुद्ध र जनताको हितका लागि नयाँ राज्य निर्माण गर्न हातमा बन्दुक लिएर जनतालाई जाग्रत गर्दै सङ्घषका लागि सङ्गठित गरिरहेको छ  । आज देशको विशाल भूगोलका ग्रामीण इलाकाका विभिन्न स्थानमा क्रान्तिकारी जन–समितीहरू गठन भएका छन् । यी जन–समितिहरूमा जसले जग्गा जोतिरहेको छ, उसैको हक कायम गरिएको छ, त्यहाँ सबै प्रतिक्रियावादी कानुन खारेज गरिएको छ, महिला उत्पीडनका विरुद्ध सशक्त किसिमले  लडिएको छ र जनता स्वयं आफ्नो सत्ता चलाइरहेका छन् । पुरानोको बीचबाट नयाँ समाजको जन्म भइरहेको छ । यी क्रान्तिकारी जनसमितिहरूमा एउटै प्रणालीमा आबद्ध भएर अहिले लाखौं व्यक्तिहरू क्रियाशील छन् र फस्टाउँदै गएको भारतीय क्रान्तिका आधार बनेका छन् ।  ग्रामीण क्षेत्रबाट सहर घेर्ने बाटो पछ्याउँदै विश्वको दोस्रो सबैभन्दा बढी जनसंख्या भएको मुलुकमा  विभिन्न मोड र घुम्ती हुँदै जनयुद्ध मूल राजनीतिक सत्ता प्राप्तिको दिशातर्फ अग्रसर भइरहेको छ । सच्चा कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको यो कठिन र लामो सङ्घर्ष साम्राज्यवादी दुःस्वप्नको अन्त्य हेर्न चाहने र उत्पीडन र शोषणमुक्त समाज निर्माणका लागि प्रयासरत सबैका लागि आशा र प्रेरणाको भरपर्दो किरण हो । 

जनता विरुद्धको युद्ध मुर्दावाद !

जनताका शत्रुहरूको सेवामा रहेको नोकरशाही–सैन्य मेसिनरूपी भारतीय राज्यसत्ताले जनताको सङ्घर्षलाई रगतको आहालमा डुबाउन सबै खाले  कुकृत्य गर्दै आएको छ । जुनसुकै गुटका भए पनि सरकारमा रहेका शासक वर्गका सामु आम रूपमा जनताले चलाएको आन्दोलनको अग्रगामी स्वरूप होस् अथवा भाकपा (माओवादी) को नेतृत्वमा भइरहेको क्रान्तिकारी आन्दोलन होस्, यी सबैका  विरुद्धमा आफ्ना प्रतिक्रान्तिकारी युद्ध–अपरेशनहरू चलाउनुबाहेक उनीहरूका लागि अरू कुनै बाटो भएको छैन र हुने कुरा भएन । मोदीको नेतृत्वमा रहेको कुख्यात प्रतिक्रियावादी र नरसंहारकारी शासनसत्ता आम जनताका साथै भारतका अल्पसङ्ख्यक मुस्लिमहरू विरुद्धको जघन्य अपराध र कुकृत्यका लागि विश्वमा कुख्यात छ । 'अपरेशन ग्रीन हन्ट’, 'समाधान’ र 'प्रहार’ प्रतिक्रियावादी अभियानहरूका  कुख्यात नाम हुन्, जसलाई उनीहरूले साम्राज्यवादी अवधारणाको'‘लो इन्टेन्सिटी कन्फ्लिक्ट’ का  आधारमा सञ्चालन गर्छन् र यसमा सैन्य उपायहरू (नरसंहार र स्पष्ट दमन) मात्र नभई 'सामाजिक’ उपायहरू “राहत र सहायता"  र मनोवैज्ञानिक युद्धहरू छल, झूठ र त्रास र आतङ्क फैलाउने जस्ता कार्यहरू पनि समावेश गरिएका हुन्छन् । मोदी–शासनले सबै 'रणनीतिहरू’ त्यसमा पनि अति कुख्यात ब्राह्मणवादी हिन्दुत्व साम्प्रदायिकतालाई बढावा दिने गरेको छ । उनीहरूले भारतीय सेना र वायुसेनालाई जनताको विरुद्धमा पनि प्रयोग गरिरहेका छन् । यसै वर्षको अप्रिलमा उनीहरूले  ५० भन्दा बढी ड्रोनहरूको प्रयोग गरेर छत्तिसगढमा जनताका विरुद्ध हवाइ आक्रमण र बमविष्फोट जस्ता कुकृत्य गरे ।  जनताका शत्रुहरूका यी सबै आक्रमणहरूले जनयुद्धको विरुद्धमा तिनीहरूको नपुङ्सकता र कायरतालाई मात्र देखाउँछ र क्रान्तिकारी पङ्क्तिका योद्धाहरूको बढ्दो शक्ति र क्रियाशीलताले उनीहरूलाई पक्कै पनि नमीठो फल चखाउनेछ । 

साम्राज्यवाद विरोधी मोर्चा निर्माणमा अग्रसर होऔँ !

भाकपा (माओवादी) को नेतृत्वमा रहेको क्रान्तिकारी शक्तिहरूको विरतापूर्ण सङ्घर्षलाई समर्थन गरी सबै प्रगतिशील शक्तिहरू र आमरूपमा विश्व जनमतमा भारतमा चलिरहेको जनयुद्धको जानकारी पुर्याउनुपर्छ । कुनै पनि दृष्टिले यो कार्य साम्राज्यवाद विरोधी आन्दोलनको मूल भाग हो । साम्राज्यवाद र यसका सबै मतियारहरूका विरुद्धको लडाइँको रूपमा काम गर्ने गरी  भारतीय क्रान्तिको झण्डालाई दृढताका साथ उठाउनुपर्छ ।  पुरानो राज्यसत्ता र त्यसको नेतृत्व गर्ने शासन व्यवस्थाको नरसंहारी चरित्रको निन्दा गर्नुपर्छ ।  जनआन्दोलन, राष्ट्रिय अल्पसङ्ख्यक, 'दलित’ र उत्पीडित जनताका अन्य सबै तह र तप्काका साथै वर्गहरू विरुद्धको दमन र उत्पीडनका विरुद्ध व्यावहारिक ऐक्यबद्धताका साथ लड्नुपर्छ । आधारभूत लोकतान्त्रिक अधिकार, अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत अधिकार र स्वतन्त्रतामाथि भएका दमनको विरोध गर्नुपर्छ । हजारौँहजार राजनीतिक बन्दीहरूसँगको ऐक्यबद्धतालाई बलियो बनाउनुपर्छ र जनअधिकारको संरक्षक बन्न चाहने कवि वरवरा राव र प्रोफेसर जी.एन. साइबाबाप्रति छुवाछुतको व्यवहार गरिनु हुँदैन ।   सच्चा अन्तर्राष्ट्रियता भनेको क्रान्तिकारी सङ्घर्षको नैतिक, राजनीतिक, भौतिक र व्यावहारिक समर्थन हो ।  यस संघर्षलाई सानातिना स्वार्थका लागि प्रयोग गर्ने बहाना बनाउने अन्य कुनै पनि दृष्टिकोण दुई नम्बरी कार्य मात्र हो । यस अर्थमा, यस वर्षको जुलाई ९ तारिखका दिन साम्राज्यवाद विरोधी मोर्चाको निर्माणको दिशामा केही प्रारम्भिक कदम चाल्ने एउटा अंशका रूपमा, हामी भारतीय क्रान्तिका समर्थक सबै साथीहरूलाई भारतमा जनयुद्धको समर्थनमा संयुक्त अन्तर्राष्ट्रिय कार्य दिवस मनाउन आह्वान गर्दछौं ।  जनतामा आशा र खुसी ल्याउने र साम्राज्यवाद र तिनका मतियारहरूहरूमा भय र छटपटी पैदा गर्ने सशक्त र जुझारू अभियानलाई अघि बढाउन रातो ब्यानरसहित सडकमा निस्कौँ ।
 
भारतमा  चलिरहेको जनयुद्धः जिन्दावाद !
साम्राज्यवादः मुर्दावाद !
विश्वका सर्वहारा र उत्पीडित जनताः एक होऔँ

हस्ताक्षर कर्ताहरूः 

ब्राजिलः रिभोलुसनरी फ्रन्ट फर द डिफेन्स अफ द पिपुल्स राइट्स
टर्कीः एजिइबी (युनियन अफ इमिग्रान्ट वर्कस इन युरोप)
पेरूः पेरू पिपुल्स मुभमेन्ट
इक्वेडरः फ्रन्ट फ र द डिफेन्स अफ द पिपुल्स स्ट्रगल्स
मेक्सिकोः रेड सन करेन्ट अफ द पिपुल
कोलम्बियाः रिभोलुसनरी एन्टी–इम्पेरियलिस्ट फ्रन्ट  
जर्मनीः लिग अग्नेस्ट इम्पेरियलिस्ट अग्रेसन (ह्याबर्ग) एन्ड रेड उमन्स कमिटिज
अस्ट्रियाः कमिटी टु सपोर्ट द पिपुल्स वार इन इन्डिया
स्पेनः प्रोलेटरियन इन्टर्नेसनलिस्ट कलेक्टिव 
फिनल्याण्डः एन्टी–इम्पेरियलिस्ट लिग
नर्वेः रेड फ्रन्ट 
डेनमार्कः एन्टी–इम्पेरियलिस्ट कलेक्टिव 
२ जुलाई, २०२२ 
अनु. ऋषिराज बराल
भिडियो फिचरview all