menu

ताजा समाचार

टिप्पणी : नेकपा (क्रान्तिकारी माओवादी) का निर्णयहरू

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले  यही फागुन २५ देखि २८ सम्म बसेको केन्द्रीय समतिको बैठकले गरेका निर्णयहरूलाई प्रेस वक्तव्यमार्फत सार्वजनिक गरेको छ । सो बैठकमा महासचिव कमरेड किरणद्वारा प्रस्तुत र पारित ‘वर्तमान राजनीतिक परिस्थिति र हाम्रो कार्यभार’ मा आधारित वक्तव्यमा प्रतिक्रियावादी राज्यसत्ताले गर्न थालेको स्थानीय चुनाव, एमसिसी सन्दर्भ, अन्तर्साम्राज्यवादी होडबाजी र रूस-उक्रेन सन्दर्भ सङ्गठन र सङ्घर्षका सन्दर्भहरू रहेका छन् ।
 
स्थानीय चुनावका सम्बन्धमा : 

 प्रतिक्रियावादी चुनावमा भाग लिने कि नलिने भन्ने प्रश्नलाई लेनिन र दुमासित जोडेर कार्यनीतिक प्रश्नका रूपमा व्याख्या गर्दै कतिपयले चुनावमा भाग लिनुपर्ने तर्क गरेको पनि पाइन्छ तापनि माओले महान् बहसका सन्दर्भमा अबको समयमा संसदीय व्यवस्थाअन्तर्गत चुनावी राजनीतिमा गएर प्राप्ति हुने होइन, उल्टै पार्टी गलत दिशातिर जाने र अन्त्यमा क्रान्ति विसर्जन हुने भन्नु भएको र व्यवहारमा पनि यस्तै देखिएकाले क्रान्तिको दिशामा अघि बढेका माओवादी पार्टीहरूले  चुनावलाई बहिष्कार गर्दै आइरहेको सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) ले पनि तर्कपूर्ण  व्याख्यासहित प्रतिक्रियावादी राज्यसत्ताले आगामी वैशाखमा गर्न थालेको स्थानीय चुनावलाई बहिष्कार गर्ने निर्णय गरेको छ । सो पार्टीद्वारा जारी वक्तव्यमा भनिएको छ :

आगामी बैशाख ३० मा हुन गइरहेको स्थानीय निर्वाचनको प्रश्नबारे उल्लेख गरिएको छ । प्रस्तावमा प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरुद्वारा पैसाको खोलो बगाउने भएको, चरम रूपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको, प्रतिक्रियावादी राज्यसत्ताका तीनओटै अङ्ग असफल सावित हुँदै गए पनि नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुुगेको, अहिले संसदमा राष्ट्रघाती एमसीसी अनुमोदन गर्ने काममा नेकाका साथै कम्युनिस्ट नामधारी माके, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरुद्वारा अमेरिकी साम्राज्यवादको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको स्थितिमा तिनको अझै भण्डाफोर गर्न अति जरुरी भएको, निर्वाचन उपयोगको प्रश्न हरेक दृष्टिले सार्थक बन्ने संभावना नरहेको र पार्टीको क्रान्तिकारी छवि उपयोग होइन वहिष्कारद्वारा नै समुज्ज्वल हुने देखिएकोले स्थानीय निर्वाचनको बहिष्कार गर्ने नीति अवलम्बन गरिएको कुरा उल्लेख गरिएको छ । साथै बहिष्कार आन्दोलनलाई दुइ महिने अभियान बनाई सञ्चालन गर्ने निर्णय समेत लिइएको छ ।

अघिल्लो पटक पोखरामा भएको पार्टीको राष्ट्रिय सम्मेलनमा पार्टी प्रतिनिधिकरूको अत्यधिक बहुमतले चुनावमा सहभागी हुनु सही हुँदैन भन्दाभन्दै चुनावलाई उपयोग गर्ने नीतिका कारण  पार्टीको क्रान्तिकारी छविलाई पारेको नकारात्मक प्रभावबाट शिक्षा लिएर यसपल्ट चुनावलाई सक्रिय बहिष्कारको अभियानका साथ अघि बढाउने नीतिले कार्यकर्तामा नयाँ उत्साह पैदा हुनु स्वाभाविक छ । 

एमसिसीलगायत राष्ट्रिय स्वाधीनताको प्रश्नमा:

चाहे भारतीय विस्तारवादद्वारा कब्जा गरिएको कालापानी क्षेत्र-लिपुलेक र लिम्पियाधुराको सन्दर्भ होस्, अथवा अमेरिकी साम्राज्यवादद्वारा थोपरिएको एमसिसी प्रकरणमा होस्, आफ्नो शक्ति र सामथ्र्य अनुसार नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सदैव अग्रपक्तिमा उभिएको कुरालाई स्वीकार गर्नु पर्दछ  ।त्यसमा पनि एमसिसी प्रकरणमा यसले वैचारिक र भौतिक दुवै पक्षमा आफूलाई अग्रपङ्क्तिमा उभ्याएको छ । यस सन्दर्भमा पार्टीद्वारा जारी वक्तव्यमा भनिएको छ :

अमेरिकी साम्राज्यवादद्वारा नेपालमा थोपर्ने धृष्टता गरिँदै आएको एमसीसी सम्झौता विशुद्ध आर्थिक आवरणमा पेस गरिए पनि सारमा हिन्द–प्रशान्त रणनीतिको अभिन्न अङ्ग भएको, नेपालको कानुन भन्दा माथि रहेको, अनेकौं कडा शर्तहरु थोपरिएको तथा ती संशोधन नै नहुने भनिएको, नेपालको राष्ट्रिय हित, असंलग्न परराष्ट्र नीति, राष्ट्रिय स्वाधीनता तथा सार्वभौमिकताका विरुद्ध भएको र अमेरिकाको नवउपनिवेशवादी नीतिअनुरुप नेपाललाई सैन्य अखडामा परिणत गर्ने अति घृणित उद्देश्यमा आधारित निकै खतरनाक एवम् हानिकारक रहेको छ । त्यसका विरुद्ध हाम्रो पार्टी लगायत विभिन्न वामपन्थी शक्ति तथा अन्य देशभक्त जनताद्वारा निरन्तर संघर्ष संचालन गरिएको र कैयौं देशभक्त सांसदहरुद्वारा सशक्त आवाज उठाइएको भए पनि त्यस प्रकारको जनअभिमतको घोर अवज्ञा गरी नेकाको नेतृत्वमा रहेको गठबन्धन सरकार तथा त्यसमा आवद्ध माओवादी केन्द्र एवम् एकीकृत समाजवादी जस्ता कम्युनिस्ट नामधारी गुटहरुद्वारा अमेरिकी साम्राज्यवादको दलाली गर्दै कथित व्याख्यात्मक घोषणाको भ्रमजाल खडा गरी संसदको कथित बहुमतको नौटङ्की रचेर सो राष्ट्रघाती संझौता अनुमोदन गरियो । यस स्थितिमा हामीले यस संझौतालाई अनुमोदन गर्ने दलालहरुको सशक्त विरोध तथा भण्डाफोर गर्दै देशको राष्ट्रिय स्वाभिमान तथा सार्वभौमिकताको पक्ष र राष्ट्रघाती संझौताको खारेजीका लागि संघर्षलाई निरन्तर अगाडि बढाउँदै जानु पर्दछ ।

अन्तर्साम्राज्यवादी युद्ध : सन्दर्भ रूस–युक्रेन

सरसरती हेर्दा कुनै खास मुलुकको सार्वभौम सत्तामाथि  अर्को मुलुले आक्रमण गर्ने कार्य सही होइन, यस सन्दर्भमा रूसका आलोचना हुने  र गर्नु पर्ने कुरामा विवाद छैन । तर, यो लडाइँ सारतः अन्तर्साम्राज्यवादी  अन्तरविरोध, होडबाजी र प्रतिस्पर्धाको उपज हो र यसका पछाडि अमेरिकी साम्राज्यवादको भूमिका रहेको  छ । अमेरिकी साम्राज्यवादी दादागिरीलाई पन्साएर रूस र युक्रेनको सन्दर्भलाई सिमित गर्नु भनेको रूस–युक्रेनको लडाइंलाई सही किसिमले बुझ्न नसक्नु हो  । यस सन्दर्भमा विश्वका अन्य माओवादी पार्टी तथा मोर्चाहरूका झैँ नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी ) प्रस्ट रहेको  देखिन्छ  । जस्तो सो वक्तव्यमा भनिएको छ :

युक्रेनको यो अवस्था हुनु अमेरिकी साम्राज्यवाद र रुसी साम्राज्यवादका बीचको अन्तर्विरोधको परिणाम हो । अमेरिकाले नेटो सदस्य देशहरुको साथमा आउन युक्रेनलाई उक्साउँदै आएको थियो भने रुसले युक्रेन नेटोको सदस्य भएको देख्न चाहँदैनथ्यो । अन्त्यमा जव युक्रेनले नेटोमा जाने इच्छा जाहेर  गर्यो , त्यो रुसका लागि सह्य भएन । यस परिघटनामा दीर्घकालीन दृटिले हेर्दा अमेरिकी साम्राज्यवाद नै मुख्य दोषी देखिन्छ भने तत्कालीन दृष्टिले यसरी एक स्वतन्त्र मुलुक युक्रेनमा आक्रमण गर्नुमा रुसनै दोषी देखिन्छ । यस स्थितिमा रुसी आक्रमण र अमेरिकी उक्साहट दुवैको विरोध गर्दै दुवै साम्राज्यवादको हस्तक्षेप र दबावबाट मुक्त स्वतन्त्र र सार्वभौम मुलुकका रुपमा बाँच्न पाउने युक्रेनको अधिकारलाई हामीले सम्मान गर्ने नीति अवलम्बन गर्नु पर्दछ । साथै, युक्रेन युद्धका सन्दर्भमा देउवा सरकारद्वारा एकपक्षीय रूपमा रुसको विरोध र अमेरिकाको दलाली गरिएको विषय देशको असंलग्न परराष्ट्र नीतिका विरुद्ध छ भन्ने कुरा बैठकले ठहर गरेको छ ।

सङ्घर्ष र सत्ताका सम्बन्धमा:

वक्तव्यको अर्को महत्वपूर्ण पक्ष राष्ट्रियता, जनतन्त्र र जनजीवीका सम्बन्धी पक्ष हो । यसमा एकातिर  भारतीय विस्तारवादद्वारा दार्चुलाको कालापानी क्षेत्रमा गरिएको अतिक्रमण छ भने अर्कातिर  अमेरिकी साम्राज्यवादद्वारा एमसीसी संझौता संसदमा अनुमोदन गरिएको स्थिति छ ।  त्यसै गरी जनजीविकाको प्रश्न पनि जटिल बनेको छ  र  सबैभन्दा गम्भीर कुरा जनतन्त्रको प्रश्न छ।

 क्रान्तिकारी पार्टीको मूल ध्येय रणनीतिक प्रश्न नै हुनुपर्छ । यो भनेको कार्यनीतिक प्रश्नलाई रणनीतिक उद्देश्यसित जोड्ने। उसको सेवामा लगाउने भन्ने हो । वक्तव्यमा  राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका जल्दाबल्दा समस्यालाई लिएर एकल तथा संयुक्त रुपमा सङ्घर्षलाई विकसित तुल्याउँदै जानु पर्दछ भने दीर्घकालीन रुपमा वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पमा नयाँ जनवादी राज्यसत्ताको स्थापनार्थ क्रान्तिको तयारीमा दृढतापूर्वक अगाडि बढ्नु पर्दछ, भनिएको छ ।  यो महत्वपूर्ण पक्ष हो । तर समस्या यसको व्यावहारिक कार्यान्वयनमै रहेको छ । यो भनेको  कार्यदिशाको प्रश्न हो र यस मामिलामा नेकपा (क्रान्तिकारी माओवादी) थप मुर्तताका साथ आउनु आवश्यक छ । क्रान्तिको तयारीमा दृढतापूर्वक अगाडि बढ्ने कुराले व्यावहारिक स्वरूप लिन नसक्नु नै  अहिलेको समस्या हो र यसले निम्त्याउने समस्या भनेको गोलचक्करवाद नै हो । ‘आत्मगत स्थिति’ का नाममा गोलचक्करवादमा रमिरहने समस्याका पछाडि कार्यदिशाका सम्बन्धमा रहेको सारसङ्ग्रहवादी प्रवृत्ति पनि हो । नेकपा (क्रान्तिकारी माओवादी ) यस मामिलामा प्रस्टताका साथ आउनु आवश्यक  छ ।यसले मात्रै  क्रान्तिकारीहरूबीचको सह कार्यलाई सहज बनाउँछ ।

सङ्गठनका सम्बन्धमा:

वक्तव्यमा केन्द्रीय समितिको बैठकमा पार्टीमा एकताबद्ध हुनु भएका र अन्य कतिपय कमरेडहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने महत्वपूर्ण  निर्णय लिइएको छ, भनिएको छ ।

कम्युनिस्ट आन्दोलनमा क्रान्तिकारी पार्टीको कुरा गर्दा बोल्सेविक स्पिरिटको पार्टीको कुरा गर्ने गरिन्छ । माओले चिनियाँ माहान् सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा सङ्गठनात्मक स्वरूपका  सन्दर्भमा एकमा तीनको धारणा अघि सार्नु भएको थियो  । यो भनेको बुढा, प्रौढ र युवाको संयोजन हो । यहाँ उमेरको मात्र प्रश्न नभएर आन्दोलनको अनुभव, विचारले दृढ र भौतिक रूपमा पनि क्रियाशील नेता-कार्यकर्ताको संयोजन भनिएको हो । यो भनेको उत्तराधिकारी निर्माणको पनि प्रश्न हो । यसबारे चाइना टेक्सटबुकमा निकै राम्रो गरी व्याख्या गरिएको छ ।
 हुन त आजको युवा नेता-कार्यकर्ताहरू, सबैमा नभनौँ कतिपयमा  अध्ययन–चिन्तनप्रति अरूचि र आत्मप्रदर्शन र आत्मप्रशंसाको  प्रदर्शनका साथै फेसबुके राजनीतिमा रमाउने प्रवृत्ति पाइन्छ तापनि युवा कार्यकर्तालाई बढीभदा बढी प्रोत्साहन र प्रशिक्षण दिनु आवश्यक छ । क्रान्तिकारी विचार र व्यवहारप्रति प्रतिबद्धहरू सङ्घर्षका बीचबाट आफूलाई अघि बढाउँछन् र कतिपय पलायन भएर जान्छन् र यसक्रममा शुद्धीकरणको प्रक्रिया पनि चल्छ ।  पछिल्लो समयमा अरू पार्टीबाट विद्रोह गरेर आउने युवा कार्यकर्ताहरूको  एउटा पङ्क्ति नेकपा (क्रान्तिकारी माओवादी) मा धु्वीकृत भएको देखिन्छ । यो सकारात्मक पक्ष  हो र उनीहरूले आफूलाई विचार र व्यवहारमा दृढताका साथ अघि बढाउनु पर्छ । साथै उनीहरू एक्लै आएका छैनन्, थाहै नपाई उनीहरूसित ती सङ्गठनका गलत पक्षहरू पनि टाँसिएर आएका हुन्छन् । यसप्रति पनि ध्यान दिनु आवश्यक हुन्छ  । 

निष्कर्ष : चरम निराशा, तर संघर्षले फड्को मार्नु पर्ने र  क्रान्तिले  नयाँ दिशा लिनु पर्ने  अहिलेको अवस्थाबाट अघि बढ्ने  वैज्ञानिक उपाय भनेको क्रान्तिकारी पुनर्गठन मात्रै हो l यसबाट  मात्रै  क्रान्तिकारी शक्ति, व्यक्ति-व्यक्तित्त्व र आम उत्पीडित वर्ग र समुदायलाई गोलबद्ध  गर्न  सकिन्छ ।
००० 
भिडियो फिचरview all