menu

ताजा समाचार

एमसिसि सम्झौता पारित गर्नेहरू अमेरिकी साम्राज्यवादको योजनाका विश्वासिला मतियार: किरण, महासचिब, नेकपा ( क्रान्तिकारी माओवादी)

नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य किरणले ''व्याख्यात्मक घोषणा"  को नाटक गरेर एमसिसि सम्झौता पारित गर्ने अवसरवादी र राष्ट्रघाती दलालहरुको कुकृत्य  लाज ढाक्ने फाटेको जाल बाहेक केही नभएको टिप्पणी गर्नुभएको छ ।

आज फागुन १६ गते जारी  वक्तव्यमा  नेपाल साम्राज्यवाद तथा विस्तारवादको चङ्गुलमा फस्दै आएको वर्तमान सन्दर्भमा देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति गोलबन्द भई सङघर्षमा अगाडि बढ्न सम्पूर्ण देशभक्त, सच्चा लोकतन्त्रवादी, वामपन्थी र क्रान्तिकारी पार्टी, समूह एवम् व्यक्तित्वहरूलाई आव्हान गरिएको छ । साथै वक्तव्यमा यस प्रकारको राष्ट्रघाती संझौतालाई संसदबाट अनुमोदन गराएर नेपालका संसदवादी राजनीतिक पार्टीका नेताहरु देशलाई नवऔपनिवेशिक महाजालमा पार्ने अमेरिकी साम्राज्यवादको योजनाका विश्वासिला मतियार साबित भएका छन् , भनिएको छ ।

प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ:

देशभक्त नेपाली जनताको देशव्यापी विरोध तथा राष्ट्रिय स्वाधीनताका पक्षधर कतिपय सांसदहरुको पूर्ण असहमतिका बाबजुद विभिन्न प्रलोभन, तिगडम, जालझेल, षडयन्त्र र दमन तथा धरपकडका बीचबाट अमेरिकी सैन्य रणनीति अन्तर्गतको एमसीसी परियोजनालाई गत २०७८ फागुन १५ गते राति नेपालको प्रतिनिधि सभाको बहुमतले अनुमोदन गरेको छ । यसले नेपाललाई आफ्नो सुरक्षा छाताभित्र पार्न, चीनलाई घेरा हाल्नका लागि नेपालमा सैन्य अखडा बनाउन र यहाँको बहुमूल्य राष्ट्रिय सम्पदाको दोहन गर्न अमेरिकी साम्राज्यवादलाई बाटो खोलिदिएको छ । यस प्रकारको राष्ट्रघाती संझौतालाई संसदबाट अनुमोदन गराएर नेपालका संसदवादी राजनीतिक पार्टीका नेताहरु देशलाई नवऔपनिवेशिक महाजालमा पार्ने अमेरिकी साम्राज्यवादको योजनाका विश्वासिला मतियार साबित भएका छन् ।

 कुनै पनि हालतमा संशोधन बिना संझौता अनुमोदन नगर्ने कबुल गर्दै आएका र आफूलाई देशभक्त भएको दावी गर्ने कम्युनिस्ट नामधारी घोर अवसरवादी नेताहरु अमेरिकी साम्राज्यवादको दलाली गर्ने काममा राष्ट्रघातको लामो इतिहास बोकेको नेपाली कङ्ग्रेससँग एक ठाउँमा उभिएका छन् । अमेरिकाले संझौतामा कुनै संशोधन हुन नसक्ने कुरा बारम्बार भन्दै आएको स्थितिमा गरिएको कथित व्याख्यात्मक घोषणा एमसीसी संझौताको अङ्ग हुन सक्दैन । यो अवसरवादी र राष्ट्रघाती दलालहरुको लाज ढाक्ने फाटेको जाल बाहेक केही होइन । यो केही दर्जन सांसदहरु र केही मन्त्रीहरुको जागिर बचाउनका लागि साम्राज्यवादका दलालहरुले राष्ट्रिय स्वाधीनतासँग सौदाबाजी गर्न तयार पारेको पुलिन्दा मात्र हो ।

देशको राष्ट्रिय स्वाधीनता दिन प्रतिदिन अत्यन्त कमजोर बन्दै गएको छ । कम्युनिस्ट नामधारी संशोधनवादी पार्टीका नेताहरु र आफूलाई लोकतन्त्रवादी भन्ने नेपाली काङग्रेसका नेताहरुले नै देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र नेपाली जनताको स्वाभिमानलाई विदेशीको पोल्टामा सुम्पिने काम गर्दै आएका छन् । हामीले यस्ता पार्टी र तिनका राष्ट्रघाती कामको निरन्तर विरोध गर्दै आएका छौं । नेपाल साम्राज्यवाद तथा विस्तारवादको चङ्गुलमा फस्दै आएको वर्तमान सन्दर्भमा देशको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति गोलबन्द भई सङघर्षमा अगाडि बढ्न हाम्रो पार्टी सम्पूर्ण देशभक्त, सच्चा लोकतन्त्रवादी, वामपन्थी र क्रान्तिकारी पार्टी, समूह एवम् व्यक्तित्वहरुमा हार्दिक आह्वान गर्दछ ।

भिडियो फिचरview all