menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) को अपिल

नेपाल कम्युनिस्ट पार्टी  (क्रान्तिकारी माओवादी) ले आज फागुन १४ गते केन्द्रीय कार्यालयका नाममा अपिल जारी गर्दै अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग नेपालले गरेको एमसीसी सम्झौता राष्ट्रघाती रहेकोले यसको खारेजीको लागि जारी संघर्षलाई थप नयाँ उचाइ प्रदान गर्न अपिल गरेको छ ।

केन्द्रीय कार्यालयका नाममा जारि ६ बुंदे अपिलमा भनिएको छ : 

यो बेला राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न अत्यन्तै गंभीर र संवेदनशील बन्न गएको छ । यस स्थितिमा हाम्रो पार्टी सडक संघर्षमा उत्रिएका सम्पूर्ण देशभक्त जनता तथा वामपन्थी पार्टीहरुलाई संघर्षलाई नयाँ उचाइ प्रदान गर्न हार्दिक अपील गर्दछ । साथै, देशभक्त सांसदहरुलाई समेत राष्ट्रघाती संझौता खारेज गर्नका लागि दृढतापूर्वक उभिन विशेष अनुरोध गर्दछ ।

प्रस्तुत छ अपिलको पूर्ण पाठ :

राष्ट्रघाती एमसिसी सम्झौता  खारेज  गराउन  संघर्षलाई नयाँ उचाइ प्रदान गरौँ 

आदरणीय जनसमुदाय,

नेपाल सरकार र अमेरिकाको एमसीसी (मिलेनियम च्यालेन्ज कर्पोरेसन) का बीच सन् २०१७मा राष्ट्रघाती संझौता गरी नेपाललाई विद्युत प्रसारण लाइन र सडक विस्तार गर्नका लागि भनेर रु ५६अर्व अनुदान दिइने भनियो । अनि यो संझौता नेपालको विकास निर्माण र गरिबी निवारणका लागि अति उपयोगी, अचुक औषधि र रामवाणै हो भनेर ढोल पिटियो । यस संझौतालाई संसदबाट अनुमोदन गराउनका लागि अत्यन्तै ठुला षडयन्त्र र कसरत हुँदै आएका छन् । संझौताका विरुद्ध संघर्ष पनि निरन्तर चल्दै आएको छ । अव स्थिति निर्णायक मोडमा पुगेको छ ।

वस्तुतः एमसीसी संझौता किन राष्ट्रघाती छ त ? किनभन:

१. यो संझौता नेपालको समृद्धि र गरिबी निवारणका लागि ल्याइएको होइन । यो कथित अनुदान नेपाललाई नवउपनिवेशवादको महाजालमा फसाई नेपालको राष्ट्रिय स्वाधीनतामाथि प्रहार गर्ने र नेपालको राष्ट्रिय सम्पदा लुट्ने उद्देश्यमा आधारित छ ।

२. एमसीसी विशुद्ध आर्थिक अनुदानमा आधारित संझौता नभई अमेरिकाको रक्षा मन्त्रालय र सुरक्षा छातासित सम्बन्धित हिन्द–प्रशान्त रणनीतिको एक अभिन्न अङ्ग हो । यो कुरा स्वयं अमेरिकी अधिकारीहरुले बताउँदै आएका छन् । यस संझौताको मूल उद्देश्य चीनलाई घेराबन्दीमा पार्न नेपाली भूमिको दुरुपयोग गर्नु र नेपाललाई सैन्य अखडा बनाउनु रहेको छ ।
३. यो राष्ट्रघाती संझौता नेपालको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तका विरुद्ध रहेको छ । यसलाई संसदबाट अनुमोदन गरिएमा नेपाल अमेरिकाको सुरक्षा छाताभित्र रहनुपर्ने गंभीर खतरा पैदाहुन सक्ने छ ।

४. एमसीसी संझौता नेपालका कानुन भन्दा माथि रहेको छ । यस संझौतामा नेपालका कानुन संझौतासित बाझिएमा संझौता नै मान्य हुने र यही कुरा भविष्यमा बनाइने अमरिकी कानुुनका सन्दर्भमा पनि लागुहुने भनी उल्लेख गरिएको छ । यो नेपालको राष्ट्रिय सार्वभौमिकता र स्वाभिमानका लागि ठाडो चुनौती र अत्यन्तै घातक विषय हो ।

५. यस संझौतामा नेपालका सामु अत्यन्तै कडा सर्त थोपरिएका छन् । जस्तो कि — यो संझौता कार्यान्वयन गर्न भारतसित अनिवार्य स्वीकृति लिनुपर्ने, परियोजनाको लेखा परीक्षण नेपालले गर्न नपाउने, परियोजना अवधि सकिए पनि त्यसका केही प्रावधान कायमै रहने, परियोजनामा काम गर्ने कर्मचारीद्वारा कुनै अपराध गरिएमा नेपालको कानुनद्वारा दण्डित गर्न नपाइने, अनि यस संझौतामा कुनै पनि संशोधन नहुने, आदि । यी नेपालको सार्वभौमिकता माथिका ठाडा चुनौती हुन् ।
६. नेपालमा यस प्रकारको संझौताको विरोध हुँदै आएकोमा अमेरिकाका सहायक विदेश मन्त्री लगायतका अधिकारीहरुद्वारा यो संझौता संसदबाट अनुमोदन नगरिएमा नेपाल चीनको पोल्टामा गएको ठहरिने र त्यस स्थितिमा अमेरिकाले नेपाललाई दिंदै आएका सबै सहायता तथा अनुदान रोक्ने लगायतका कडा धम्की दिइएको यथार्थ जगजाहेर नै छ ।

यसरी, उक्त विषयमाथि गंभीरतापूर्वक विचार गर्दा एमसीसी संझौता जनविरोधी तथा राष्ट्रघाती भएको स्पष्टै छ । परन्तु, नेपाली काङ्ग्रेसको गठबन्धन सरकारका प्रधानमन्त्री भने आँखा चिम्लेर अमेरिकी साम्राज्यवादको दलाली गर्दै एमसीसी संझौता विशुद्ध आर्थिक सहयोगमा आधारित रहेकोले यसलाई अनुमोदन नगर्दा देशको अन्तर्राष्ट्रिय छवि धमिलिने भन्दै संघर्षको मैदानमा उत्रिएका देशभक्त नेपालीहरुमाथि दमन तथा धरपकड गर्ने लगायतका निर्लज्ज काममा उत्रिएका छन् ।

देशभक्त जनसमुदाय,

यो बेला राष्ट्रिय स्वाधीनताको रक्षाको प्रश्न अत्यन्तै गंभीर र संवेदनशील बन्न गएको छ । यस स्थितिमा हाम्रो पार्टी सडक संघर्षमा उत्रिएका सम्पूर्ण देशभक्त जनता तथा वामपन्थी पार्टीहरुलाई संघर्षलाई नयाँ उचाइ प्रदान गर्न हार्दिक अपील गर्दछ । साथै, देशभक्त सांसदहरुलाई समेत राष्ट्रघाती संझौता खारेज गर्नका लागि दृढतापूर्वक उभिन विशेष अनुरोध गर्दछ ।”

फागुन १४, २०७८                                                                                                                          केन्द्रीय कार्यालय 
भिडियो फिचरview all