menu

ताजा समाचार

खुला सामग्रीको खुला बहस: सन्दर्भ नेकपा (क्रान्तिकारी माओवादी) का निर्णयहरू

डा. ऋषिराज बराल
यो खुला सामग्रीको खुला प्रतिक्रिया हो । नेकपा (क्रान्तिकारी माओवादी )को केन्द्रीय समितको पछिल्लो बैठकका निर्णयप्रतिको  प्रतिक्रिया भए पनि यसमा उठाइएका प्रश्नहरूको सम्बन्ध वर्तमान कम्युनिस्ट आन्दोलनको गति र दिशासित सम्बद्ध छ र यिनले थप विचार विमर्शको माग गर्दछन् भन्ने मेरो बुझाइ छ ।

नेपालको कम्युनिस्ट आन्दोलन, त्यसमा पनि माओवादी आन्दोलनमा आएको टुटफूट र विभाजनलाई लिएर नयाँ किसिमले विचार विमर्श, समीक्षा र संश्लेषण गर्नु आवश्यक छ र एक हिसाबले भइरहेको पनि छ । दसबर्से जनयुद्धको समयमा विश्वका क्रान्तिकारीहरूको ध्यानाकर्षणको केन्द्र बनेको र साम्राज्यवादी शक्तिहरू र तिनका दलाल घरेलु प्रतिक्रियावादी शक्तिहरूका विरुद्ध चुनौतीका साथ रणनीतिक आक्रमणको  स्थितिमा पुगेको नेपालको माओवादी आन्दोलन किन यसरी लथालिङ्ग र भताभुङ्गको स्थितिमा पुग्यो भनेर गम्भीर विचार विमर्शको आवश्यकता छ । हिजोको अनुभव र शिक्षा र वर्तमान परिस्थितिको यथार्थपरक र वैज्ञानिक स्थिति विश्लेषणपछि नै नयाँ दिशाबोधको स्थिति आउन सक्छ । आवश्यकता सही समीक्षा  र  संश्लेषणको छ । अहिलेलाई चाहिँ नेपाल  कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिले गरेको पछिल्ला निर्णयहरूका सम्बन्धमा सङ्क्षिप्त टिप्पणी गर्ने प्रयास गरिएको छ । सो पार्टीले बहसलाई नयाँ किसिमले अघि बढाउने प्रयास गरेका कारण पनि यसबारे विचारविमर्श आवश्यक छ भन्ने लागेको छ ।

नेपाल  कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)  केन्द्रीय समितिको ‘राजनीतिक प्रतिवेदन’ को आरम्भ ‘वर्तमान राजनीतिक परिस्थिति’ बाट भएको छ र उप-बुँदासहित  १३ वटा बुँदा र अन्य शीर्षकमा  समग्र व्याख्या गरिएको छ ।

१३ वटा बुँदामा गरिएको विश्लेषण आधारभूत रूपमा सही छ तापनि केही सन्दर्भहरू खास गरेर अन्तर्राष्ट्रिय पक्षमा टिप्पणी गर्नु पर्ने सन्दर्भहरू छन् । भारत र अमेरिकाका सम्बन्धमा गरिएको अहिलेको विश्लेषण आधारभूत रूपमा सही छ । हिजोको जस्तो एकल साम्राज्यवादी  हैकमको स्थितिमा नभए पनि र साम्राज्यवादी क्याम्प  बहुध्रुवीय  भए पनि अझै पनि अमेरिकी साम्राज्यवाद नै विश्वका उत्पीडित जनताको प्रधान दुस्मन हो  र अहिले पनि उसकै  प्रभुत्व छ । जहाँसम्म चीनको कुरा छ, भारतीय विस्तारवादी शासक वर्ग र सत्ताको नेपालप्रतिको व्यवहारले गर्दा नेपाली जनता र वाम पार्टीहरूले चीनप्रति नरम भाव राख्ने गरेको पाइन्छ । यो माओकालीन विरासतको प्रभाव पनि हो । चीनको नेपालसितको स्वार्थ भनेको तिब्बत र सिमानामा भारतीय प्रभाव र अमेरिकी पहुँचलाई रोक्नु मात्र हो । लिम्पियाधुरा सहितका सन्दर्भमा चिनियाँ शासक वर्गले आफ्नो विस्तारवादी चरित्र देखाइसकेको छ । चीन नेपालमा स्थिरताको कुरा गर्छ, यसमा नेपालको  हितप्रतिको उसको चिन्ताभन्दा आफ्नै स्वार्थको भूमिका प्रधान छ ।  आर्थिक मामिलाको कुरा गर्दा पनि  भारत, अमेरिका, पछिल्लो समयमा अफ्रिका चिनियाँ सत्ताको ठूलो व्यापार-बजार हो । 

अवश्य पनि भारतीय विस्तारवाद तथा अमेरिकी साम्राज्यवादकै तहमा चीनको नेपालप्रतिको थिचोमिचोको व्यवहार छैन र उसलाई समान तहमा राख्नु सही हुँदैन ।  तर,  प्रतिक्रान्तिपछिको चीन विश्वका उत्पीडित वर्ग र समुदायको पक्षमा रहेन, छैन र अहिले उसको प्रतिस्पर्धा सैन्य, आणविक, आर्थिक र व्यापार हरेक दृष्टिले अमेरिकी साम्राज्यवादसित छ । भूमण्डलीकरणमा जोड दिँदै विश्वव्यापी रूपमा आफ्नू प्रभाव र प्रभुत्वको विस्तार गरिरहेको छ । चीनमा भएको प्रतिक्रान्ति, क्रान्तिकारीहरूको हत्या,  सैन्य प्रतिस्पर्धा  र प्रभुत्वको विस्तारका आधार र समग्र गतिविधिहरूको विश्लेषण गरेर विश्वका माओवादी क्रान्तिकारीहरूले  चीनलाई सामाजिक साम्राज्यवादी शक्तिका रूपमा विश्लेषण गरेका छन् । यथार्थमा आधारित यो पक्षलाई हामीले खुलेर अगाडि ल्याउनु पर्छ । कुन प्रधान सत्रु र कुन गौण भन्ने कुराको अर्थ छ । नेपालको सार्वभौम सत्ता र नव-उपनिवेशी प्रवृत्तिका दृष्टिले भारतीय विस्तारवाद सबैभन्दा खतरनाक शक्ति हो भन्ने कुरामा विवाद छैन । तर सैद्धान्तिक तहमा चीनका बारेमा हामी प्रस्ट  र खुलस्त हुनु पर्छ । नेकपा (क्रान्तिकारी माओवादी) यसबारेमा अनभिज्ञ छ भन्ने कुरा छैन र २०३८.०३९ देखि नै नेपालका क्रान्तिकारीहरूले यसबारे आफ्नो धारणा प्रस्ट पार्दै आएका हुन् ।

प्रस्ट कुरा के हो भने चीनको सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी)  बढी उदारवादी देखिन्छ र जहिले पनि कि त मौन, कि त सन्ध्या भाषामार्फत आफ्नो धारणा बाहिर ल्याउँछ ।मार्क्सवादी  क्रान्तिकारीहरू वैचारिक तहमा प्रस्ट हुनै पर्छ । चीनका सन्दर्भमा नेकपा (क्रान्तिकारी माओवादी) को प्रस्तुती  उदारवादी प्रवृत्तिको हुन्छ ।  वर्तमान चिनियाँ शासक वर्गको आलोचना गर्नु भनेको भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको पक्ष लिनु होइन , मार्क्सवादको निर्बाह गर्नु हो । साम्राज्यवादका सन्दर्भमा चारवटा पक्षमा प्रस्ट हुनु आवश्यक छ : १. साम्राज्यवादको चरित्रका सन्दर्भमा आधारभूत रूपमा अहिले पनि लेनिनका धारणाहरू सही छन्, २. अहिले पनि अमेरिकी साम्राज्यवाद नै प्रमुख साम्राज्यवादी शक्ति हो, र विश्वका सर्वहाराको प्रमुख दुस्मन हो, ३. नयाँ–पुराना साम्राज्यवादी शक्तिहरूबीच विश्व बजार र सामरिक पक्षलाई कसको प्रभुत्वमा राख्ने भन्ने कुरामा प्रतिस्पद्र्धा चलिरहेको छ र अहिलेको सन्दर्भमा चीनले सामाजिक साम्राज्यवादी चरित्रको प्रतिनिधित्व गरिरहेको छ र ५. अहिले विश्वमा कतै पनि र कुनै पनि समाजवादी मुलुक छैनन् ।

बुँदा नम्बर ४ मा भनिएको छ :

अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा छ र दक्षिणपन्थी अवसरवाद नै समकालीन कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या हो । भारत, फिलिपिन्स, टर्की लगायतका देशहरूमा जनयुद्ध अगाडि बढिरहेको छ । विकसित पुँजीवादी देशहरूमा पनि माओवादको सार्वभौमिकता तथा जनयुद्धबारे बहस अगाडि बढ्दै गएको छ र माओवादी पार्टीहरु गठन हुन थालेका छन् । मालेमावादी पार्टीहरुका बीचमा पारस्परिक सम्पर्क तथा छलफल जारी छ । तर अन्तर्राष्ट्रिय सङ्गठनको निर्माणबारे उल्लेखनीय उपलव्धि हासिल भइसकेको छैन ।

दक्षिणपन्थी अवसरवाद नै समकालीन कम्युनिस्ट आन्दोलनको प्रमुख समस्या हो भन्ने कुरामा कुनै विवाद छैन , तर यसले थप व्याख्याको माग गर्छ। अवश्य पनि विश्व कम्युनिस्ट आन्दोलनमा “माओवादको सार्वभौमिकता तथा जनयुद्धबारे बहस अगाडि बढ्दै गएको छ” । यो यथार्थ हो । माओवादको सार्वभौमिकताबारे अब क्रान्तिकारीहरूमा भ्रम छैन  ।   पुँजीवादी–साम्राज्यवादी मुलुकमा पनि जनयुद्धको कार्यदिशाका सम्बन्धमा बहस चलेका छन् ।  अर्धसामन्ती तथा अर्धऔपनिवेशिक मुलुकका सम्बन्धमा विवाद छैन, खास देशको विशिष्टतामा जनयुद्ध लागू गर्ने हुनाले पुँजीवादी र साम्राज्यवादी मुलुकमा पनि यसलाई लागू हुन्छ भन्ने युरोपेली मुलुकका माओवादी पार्टी र शक्तिहरूको धारणा छ । विश्वका माओवादी पार्टीहरूको सन् २०११ को जर्मनीको ह्यामबर्ग सम्मेलनमा पनि पुँजीवादी– साम्राज्यवादी मुलुकमा त्यहाँको विशिष्टतामा जनयुद्ध को कार्यदिशाा लागू गर्न सकिन्छ र व्यवहारमा जानु पर्छ भनेर साझा धारणा बनेको हो । पुँजीवादी–साम्राज्यवादी मुलुकहरूमा  माओको दीर्घकालीन जनयुद्ध सम्भव हुँदैन भन्ने पनि कतिपयको तर्क नभएको होइन। सन् २०१७ मा मात्र आधिकारिक रूपमा माओवादलाई दस्ताबेजीकरण गरेको फिलिपिन्स माओवादी पार्टीले चाहिँ पुँजीवादी–साम्राज्यवादी मुलुकमा माओवादी जनयुद्ध लागू हुने कुराप्रति विमति जनाएको छ । जे हो्, आजको युग सर्वहारा क्रान्तिको युग हो र   “माओवाद र जनयुद्धको सार्वभौमिकता” तर्फ यसको दिशा क्रियाशील  छ  ।

  ध्यान दिनु पर्ने कुरा के छ भने  माओवादी जनयुद्ध भनेको ‘जनताको युद्ध जनयुद्ध’ मात्र होइन, माओवादी जनयुद्धका केही विशिष्ट पक्ष र मान्यताहरू छन् । साथै माओवादी जनयुद्ध दीर्घकालीन नै हुनु पर्छ भन्ने  पनि होइन ।  माओवादी जनयुद्ध दीर्घकालीन हुने वा अल्पकालीन हुने भन्ने   कुरा अन्तर्राष्ट्रिय स्थिति र जनवादी शक्तिको स्थिति, देशीय अन्तर्विरोध र  शक्ति सन्तुलनको अवस्था, क्रान्तिकारी शक्तिको आत्मगत अवस्था लगायत विविध पक्षमा भर पर्ने हुनाले माओवादी जनयुद्धको  ठाडै विरोध गर्नु अथवा अर्धसामन्ती तथा अर्ध औपनिवेशिक मुलुकमा मात्र लागू हुन सक्छ भन्नु पनि यान्त्रिक बुझाइ हो । यो विद्रोहात्मक चरित्रको पनि होइन र दीर्घकालीन चरित्रको पनि नभएर सापेक्षित अल्पकालीन चरित्रको पनि हुन सक्छ भनेर पनि तर्क गर्ने गरिएको छ । जे होस्, माओवादी आन्दोलनको आधारभूत चरित्र क्रान्तिका तीन जादुगरीमा आधारित जनयुद्ध नै हो र यसलाई खास मुलुकको विशिष्टतामा लागू गर्ने हो ।

प्रतिवेदनमा “मालेमावादी पार्टीहरूका बीचमा पारस्परिक सम्पर्क तथा छलफल जारी छ । तर अन्तर्राष्ट्रिय सङ्गठनको निर्माणबारे उल्लेखनीय उपलव्धि हासिल भइसकेको छैन” भनिएको छ । खास गरेर प्रचण्डहरूको गद्दारी र बभ अभाकियनहरूले  ‘न्यु सेन्थेसिस’ मार्फत अघि सारेको ‘उत्तर-वादी’  विसर्जनवादी प्रवृत्तिका कारण ‘रिम’ एक हिसाबले अघोषित रूपमा विघटनको स्थितिमा पुग्यो । र  ‘रिम’ सित सम्बद्ध बाँकी रहेका पार्टीहरू र अन्य नयाँ गठित माओवादी पार्टीहरूले सन् २०१० देखि क्रान्तिकारीहरूको नयाँ केन्द्र बनाउनु पर्छ भन्ने अभियान थाले । सन् २०१० देखि मे दिवसको सन्दर्भ पारेर प्रकाशित साझा वक्तव्य र यसको निरन्तरता यसैको उपज हो । यसमा  युरोपेली माओवादीहरूमा जति क्रियाशीलता देखिएको छ, त्यही अनुसारको क्रियाशीलता अन्यत्रबाट हुन सकेको छैन र  पछिल्लो समयमा भाकपा (माओवादी) ले पुस्तिका आकारमै आफ्नो धारणा बाहिर ल्याएको छ र त्यो निकै महत्वपूर्ण छ । यसलाई साझा धारणा बनाउनु  सही हुन्छ । “अन्तर्राष्ट्रिय सङ्गठनको निर्माणबारे उल्लेखनीय उपलव्धि हासिल भइसकेको छैन” भनेर नेकपा (क्रान्तिकारी माओवादी’ ले भने पनि युरोप तथा विश्वका अन्य माओवादी भाइचारा पार्टी र मोर्चाहरूले चाहिँ हिजो ‘कोरिम’ मा रहेर नेतृत्व गरेका नेता नेतृत्व तहमा रहेको, दस वर्ष जनयुद्ध लडेका   नेताहरू रहेको नेकपा (क्रान्तिकारी माओवादी) ले नयाँ केन्द्र निर्माणमा अपेक्षित चासो र क्रियाशीलता देखाएन भन्ने गुनासो गर्ने गरेका छन् र यो गुनासोमा केही सत्यता पनि  छ । नेपालबाट पुनर्गठित कम्युनिस्ट न्युक्लिअस, नेपाल र नेकपा (क्रान्तिकारी माओवादी’ मात्रै नयाँ क्रान्तिकारी केन्द्र निर्माण अभियानमा संलग्न रहेका छन् ।

प्रतिवेदनको पाँच नम्बर बुँदामा भनिएको छ : “वर्तमान प्रतिक्रियावादी राज्यसत्ता तथा व्यवस्थाको विकल्प नयाँ जनवादी राज्यसत्ता नै हो र त्यसको स्थापनाका लागि आवश्यक तयारीमा जुट्न आवश्यक छ ।” यो सही भनाइ हो ।  नव-औपनिवेशिक प्रवृत्ति र प्रभुत्वको थिचोमिचो व्यवहारमा भोगिरहेको भए पनि  हामी अहिले पनि सारतः अर्धसामन्ती तथा अर्ध-औपनिवेशिक स्थितिमै छौँ । अवश्य पनि हिजोभन्दा समय फेरिएको छ, समय त २००७ सालभन्दा २०१७ मा समय फेरिएको थियो, २०३६ पछि समय झन फेरियो, २०४६ पछि झन् फेरियो र फेरिदै गएको छ । नेपाली समाजमा पुँजीवादका केही थप विशेषता थपिएका भए पनि आधारभूत रूपमा नेपाली समाज अहिले पनि अर्धसामन्ती तथा अर्ध-औपनिवेशिक स्थितिमै छ र  यहाँ हुने क्रान्ति नयाँ जनवादी क्रान्ति नै हो । यो भन्दा पर गएर कसैले सोच्छ र बुझ्छ भने या त उसले क्रान्तिका नाममा  आम जनता र कार्यकर्तालाई भ्रम दिइरहेको छ, अथवा एकएक बहाना बनाएर प्रतिक्रियावादी सत्ताका सामु आत्मसमर्पण गरेर दलाल पुँजीवादी सत्तालाई नयाँ जनवादी सत्ता ठानेर सत्ता साझेदारीको अंशियार हुने बाटो खोजिरहेको छ भनेर बुझे हुन्छ ।  नयाँ जनवादी राज्यसत्ता स्थापनाको लागि आवश्यक तयारीमा जुट्ने कुरासित मार्क्स वाद-लेनिनवाद-माओवाद, क्रान्तिका तीन जादुगरी हतियार र सशस्त्र सङ्घर्षको कार्यदिशा जोडिने कुरा पनि प्रस्ट छ ।

त्यसै गरी नऔँ बुँदा पनि सही बुझाइ हो र यसले  व्यावहारिक पहलकदमी र अग्रसरताको माग गर्छ   । दशौँ बुँदामा मुलुकमा विद्यमान् विभिन्न राजनीतिक शक्तिहरूको चरित्र विश्लेषण गरिएको छ । नेपालमा सोलोडोलो रूपमा दुइटा शक्ति— प्रतिक्रियावादी शक्ति र क्रान्तिकारी परिवर्तनकारी शक्ति नै हुन् । प्रतिक्रियावादी शक्तिभित्र पनि विभिन्न शक्तिहरू हुन्छन् र खास शक्तिले यसको प्रतिनिधित्व र नेतृत्व गरिरहेको हुन्छ र क्रान्तिकारी अग्रगामी शक्तिको नेतृत्व क्रान्तिकारी शक्ति, सिद्धान्त र व्यवहारमा मार्क्सवाद -लेनिनवाद-माओवादको पक्षमा दृढताका साथ उभिएको शक्तिले गरिहेको हुन्छ र यसमा उसले अन्य जनपक्षधर, जनवादी अन्य शक्ति उत्पीडित समुदायको भूमिकालाई समेटेर नेतृत्व गरिहेको हुन्छ  । पछिल्लो समयमा नेपालमा पार्टी राजनीतिबाट जनतालाई विमुख गराउने पार्टीभन्दा आइएनजिओहरू जनताका पक्षमा आवाज उठाउँछन्, जनताको नजिक छन् भनेर भ्रम दिने प्रयास भइरहेको र गरिरहेका छन् । आइएनजिओ प्रवृत्ति खतरनाक किसिमले नेपाली राजनीतिमा विस्तारित छ र यसले क्रान्तिकारी शक्तिभित्र पनि चलखेल गर्न थालेको स्थिति छ ।  र यो ‘उत्तर-मार्क्सवादी–पहिचानवादी’  क्यान्सर प्रवृत्ति नेकपा (क्रान्तिकारी माओवादी) को सांस्कृतिक मोर्चामा पनि विस्तारित हुन थालेको देखिन्छ र यो निकै जटिल समस्या हो ।
। त्यसै गरी बुँदा नम्बर १० को उप बुँदा नम्बर ४ मा भनिएको छ : 

चौथो, निम्न पुँजीवादी प्रवृत्ति । यो प्रवृत्ति बहुरूप र रङ्गमा प्रस्तुत हुँदै आएको पाइन्छ । यो प्रवृत्ति कुनै बेला शक्तिपूजावादी बनेर देखा पर्दछ । त्यसले जुन शक्ति र व्यक्ति सत्ता र सरकारमा छ त्यसको पुजा र चाकडी गर्दछ । जव त्यो शक्ति र व्यक्ति सत्ता र सरकारबाट हट्छ र त्यो ठाउँमा अर्को आउँछ त्यो बेला त्यसले पुरानोको सत्तोसराप गर्दै नयाँ शक्ति र व्यक्तिको चाकरी गर्न थाल्दछ । यस प्रकारको प्रवृत्ति स्थिति अनुसार निराशावाद, दुःस्साहसवाद, पलायनवाद र आत्मसमर्पणवादमा फस्ने गरेको पाइन्छ ।

यस किसिमको शक्ति कुन हो, थप व्याख्या नगरिएको भए पनि यताका वर्षहरूमा माओवादका नाममा एक थरीले देखाएको प्रवृत्तिबाट यसबारे आकलन गर्न सकिन्छ । प्रारम्भिक चरणको बर्खे भेलजस्तो उर्लेको यो प्रवृत्ति अब सबैले देख्ने र बुझ्ने गरी सतहमा आएको छ र मार्क्सवादसित कतै मेल नखाने नाराको अलख जगाउँदै दश ढोका चाहारेर आफ्नो भूमिका र अस्तित्वसंकट   प्रदर्शन गरिरहेको छ । नेतृत्व पङ्क्ति जेजस्तो भए पनि यस किसिमको प्रवृत्तिको प्रतिनिधित्व गर्नेहरूभित्र पनि इमानदार र क्रान्तिकारी नेता–कार्यकता हुने हुनाले क्रान्तिकारीहरूले यसतर्फ आफ्नो भूमिका क्रियाशील बनाउनु आवश्यक हुन्छ । 

बुँदा नम्बर ११ र १२ ले गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछन् । जस्तो बुँदा नम्बर ११ मा भनिएको छ :

डबल नेकपा विभाजित बन्नगएको स्थितिमा दक्षिणपन्थी संशोधनवाद केही कमजोर बनेपनि त्यस भित्रका पूर्व समूह वा गुटहरु पुनः शक्तिसञ्चय गरी संसदीय चुनावी राजनीतिमा आफ्नो पकड बलियो बनाउन र जनतामा भ्रम छर्नका लागि निकै कसरत गरिरहेका छन् । अहिले पनि नेपाली कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवाद नै प्रमुख खतरा हो र त्यसको निरन्तर विरोध र भण्डाफोर गर्न जरुरी छ ।

नव-प्रतिक्रियावादमा पतन भइसकेका  प्रचण्ड लगायतका तथाकथित वामपन्थीहरू अहिले फेरि पूर्व माओवादीहरूबीच एकता र ध्रुवीकरण का  कुरा गरेर कार्यकर्ता र जनतालाई भ्रम दिँदै चुनावी तयारीमा लागेका छन् । राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा यस किसिमको प्रवृत्तिको जति भण्डाफोर गरिनु पर्दथ्यो, त्यो पुग्न सकेको छैन । मार्क्सवाद-लेनिनवाद-माओवाद र नयाँ जनवादी क्रान्तिको आवश्यकता र अपरिहार्यताका बारेमा जति प्रचारप्रसार र दक्षिणपन्थी संशोधनवाद र विसर्जनवादका विरुद्धको भण्डाफोरलाई जति व्यापक बनाउनु पर्थ्यो,   त्यसो हुन सकेको छैन । कर्पोरेट माध्यमहरू क्रान्तिकारीहरूलाई निषेध गर्ने र नव-प्रतिक्रियावादमा पतन भएकालाई नै कम्युनिस्ट बनाएर जनतालाई भ्रम दिइरहेका छन् र मार्क्सवादी विचार र आन्दोलनको बदनाम गर्ने  गरिरहेका छन् । अनि विडम्बनाको विषय के छ भने क्रान्तिकारी  पार्टी सम्बद्ध प्रकाशनहरू र जनपक्षीय भनिएका प्रकाशनहरू न त समयको आवश्यकता बुझ्न सक्षम छन्,  न त सही विचारको संबहन गर्न सक्षम छन्,  न त भण्डाफोरको कला र गला मिलाउन सक्षम छन् । सबैतिर विरोधीहरूको होहल्ला र  झयाइँझ्याइँ छ  र भण्डाफोरको विचार र राजनीतिको भूमिका  किनारामा परेको स्थिति छ । प्रतिवेदनको बुँदा नम्बर १३ को उपबुँदा ३ ले यो पक्षलाई आत्मसात गरेको छ, यो सकारात्मक बुझाइ हो र  आवश्यकता यसको समाधानको प्रयास हो । समान विचार राख्नेहरूबीच एउटा आपसी नेटवर्क बनाउनु आवश्यक छ ।

प्रतिवेदनको बुँदा नम्बर १२ मा भनिएको छ :

आज नेपाली जनता र आन्दोलनका इमान्दार नेता तथा कार्यकर्ताहरुले क्रान्तिकारी कम्युनिस्ट एकताको जोडदार माग गरिरहेका छन् । सिद्धान्तनिष्ठ कम्युनिस्ट एकता आजको ऐतिहासिक आवश्यकता हो । तसर्थ, हामीले यस प्रकारको माग र आवश्यकतालाई गम्भीरतापूर्वक आत्मसात गर्दै क्रान्तिकारी कम्युनिस्ट शक्ति तथा व्यक्तित्वहरुलाई एकताबद्ध तुल्याउनका लागि फेरि पनि विशेष पहल तथा प्रयत्न गर्नु पर्दछ ।

यो महत्वपूर्ण ठहर हो र यो व्याख्या र बहसछलफलको पनि विषय हो । “क्रान्तिकारी कम्युनिस्ट एकता”, “सिद्धान्तनिष्ठ कम्युनिस्ट एकता” आजको ऐतिहासिक आवश्यकता हो भन्ने कुरामा कुनै विमति छैन । यो आवश्यकता र अपरिहार्यता हो । परन्तु, को को हुन् क्रान्तिकारी कम्युनिस्ट शक्ति र व्यक्तिहरू ? के के हुन्  “सिद्धान्तनिष्ठ कम्युनिस्ट एकता”का आधारहरू ? यो प्रश्नले उत्तर खोज्छ र समस्याहरू यसैमा छन् । प्रचण्डसँग विद्रोह गरेर आउँदा क्रान्तिकारी शक्ति भनेर आएकै हो । विद्रोहपछि नै एक थरी, बादल  गुरूङ र पम्फाहरू सुशील कोइरालाको नेतृत्वमा मन्त्री खान वातावरण मिलाउन थाले भनेर विप्लवले त्यतिबेरै दस्ताबेजमा उल्लेख गरेका हुन् ।  सम्भावित मन्त्री हुने नाममा देव गुरुङले मधेसी मोर्चासितको गलत सहमति ‘चार बुँदे सहमति’ लाई ऐतिहासिक भनेकै हुन् । प्रचण्डले मन्त्री नबनाएकोमा मात्र उनीहरूले क्रान्तिकारी बनेर ‘विद्रोह’ गरेका रहेछन् भन्ने कुरा पछिका दिनमा खुल्यो । युवा पुस्ताको हवाला दिँदै आवेग र उद्वेग उत्पन्न गरेर क्रान्तिकारीताको नारामा पार्टीमा महासचिवको दाबी र पार्टी कब्जा गर्ने परिपञ्च सफल नभएपछि  “बुढाहरूले क्रान्ति गर्दैनन्” भन्दै विप्लवले नेकपा -माओवादीसित ‘सम्बन्ध विच्छेद’ गरेका रहेछन्, क्रान्ति त नाम मात्र रहेछ, चुरो कुरा त आफ्नो भूमिकाको खोजी रहेछ भन्ने कुरा पनि समयले प्रस्ट पारेको छ  ।  दुईचार दिन ठूला पटका पट्यापुटुक पारेर एक दर्जन जति सहिद बनाएपछि र आर्थिक उत्प्रेरणाबाट तृप्त भएपछि ओलीसित सहकार्यको ढोका ढकढक्याएको यथार्थ हाम्रै अगाडिको यथार्थ हो  । ओली सरकारबाट हटे, नत्र सहकार्यको नयाँनयाँ रङ्गीविरङ्गी रूप देख्न पाइन्थ्यो होला । बादलहरूको गुट पुनः प्रचण्डकोमा फर्कियो । तर फर्किनु अघि माओवाद पनि गलत, जनयुद्ध पनि गलत भन्नेहरू, दस बर्से जनयुद्धमा प्रतिकार समितिको नेतृत्व गर्नेहरू, जनयुद्धको समयमा आत्मसमर्पण गरेकाहरू, चरेस कान्डदेखि आर्थिक अनियमिततामा डामिएका र संसदीय चुनाव भनेपछि हुरुक्क हुने जातिवादीहरू भित्र्याएर बादलहरू गए । यो टिप्पणीकारको भनाइ नभएर नेकपा (क्रान्तिकारी माओवादी) का कार्यकर्ताको देखेसो हो ।  सत्य पनि हो, एक हिसाबले बादलहरू कमरेड किरणको ढाडमा काउछोको टेप टाँसेर गए । कार्यकर्ताहरू अझै पोखरा सम्मेलनको टीकाटिप्पणी गर्छन् ।

कमरेड किरणका वक्तव्य र पार्टीका निर्णयहरूमा सिद्धान्तनिष्ठ एकता, क्रान्तिकारीहरूबीच एकताका कुराहरू निरन्तर रूपमा आएका हुन्छन् ।  यो उद्देश्यको र चाहनाको सराहना गर्नुपर्छ । तर समग्र पक्ष, हिजोदेखिको स्थितिको समग्र समीक्षा र मूल्याङ्कनबिना एकताको पवित्र चाहनाले मात्र सकारात्मक कार्यरूप लिन गारो छ भन्ने लाग्छ । जनयुद्धबाट आएको शक्ति अलिअिलि गरेर बाहिरिने, क्रान्तिकारी नेता र कार्यकर्ताहरू एकपछि अर्को गरेर बाहिरिने अनि जनयुद्ध विरोधी, माओवाद विरोधी, चुनाववादी र आइएनजिओ र जातीयतावादी चिन्तनमा रमाउने शक्ति ढलीमली गर्ने स्थिति रहेसम्म  “क्रान्तिकारी एकता”, “सिद्धान्तनिष्ठ कम्युनिस्ट एकता” को चाहनाले साकार रूप लिन्छ जस्तो लाग्दैन । त्यसैले कम्युनिस्ट न्युक्लिअस नेपाल, र ऋषिराज बरालहरूले क्रान्तिकारी पुनर्गठनको कुरा उठाएका हुन् । को हो क्रान्तिकारीहरू ? के के हुन् क्रान्तिकारी एकताका आधारहरू प्रस्ट हुनु जरुरी छ ।

 पार्टीको निर्णयलाई अघि बढाउने क्रममा कमरेड किरणको ‘क्रान्तिकारी कम्युनिस्टहरूको ऐतिहासिक दायित्व’ शीर्षकमा एकता सम्बन्धी विचार पनि प्रस्तुत भएको छ । जस्तो त्यसमा भनिएको छ :

क्रान्तिकारी कम्युनिस्टहरूको सिद्धान्तनिष्ठ एकता आजको ऐतिहासिक आवश्यकता हो । क्रान्तिकारी कम्युनिस्टहरूका बीच पार्टी एकताको आधार तयार पार्नका लागि सैद्धान्तिक, राजनीतिक तथा सांगठनिक विषयसँग सम्बन्धित निश्चित मापदण्डहरूलाई अगाडि बढाउन आवश्यक हुन्छ । यस सन्दर्भमा विशेष दृष्टि दिनुपर्ने मूल विषय यी हुन्ः १) माक्र्सवाद–लेनिनवाद–माओवाद वा विचारधारा र महान् सर्वहारा सांस्कृतिक क्रान्तिलाई अंगीकार गर्नु, २) नयाँ जनवाद तथा वैज्ञानिक समाजवादलाई स्विकार्नु, ३) प्रतिकृयावादी राज्यसत्ता तथा व्यवस्था, संसदवाद र मन्त्रिमण्डलवादका विरुद्ध जानु, (४) बलप्रयोगको सिद्धान्तलाई अवलम्बन गर्नु, ५) सर्वहारा अन्तराष्ट्रियतावादलाई अँगाल्नु र (६) जनवादी केन्द्रीयताको सिद्धान्तलाई मान्नु । हामीले उक्त विषयमाथि गहन तथा विशद् छलफल तथा बहस, विचार–विमर्श र संवाद गरी एउटा निश्चित अवधिभित्र सही संश्लेषण र सकारात्मक निष्कर्षमा पुग्नका लागि गंभीरतापूर्वक प्रयत्न गर्न जरुरी छ ।

यसको स्पिरिट र उद्देश्यमा कतै विमति छैन, नियतमा पनि खोट छैन, तर केही कुराहरू प्रश्नसूचक छन् र सारसङ्ग्रहवादी छन् । के के छन्,  समग्र व्याख्या यहाँ सम्भव छैन, प्रत्यक्ष बहसछलफलमा उठाउन सकिन्छ । तर इतिहासको समीक्षाबिना अघि बढ्न सकिने स्थिति छ जस्तो लाग्दैन । नारायणकाजीसितको एकतापछि नै हो क्रान्तिकारी धार देखिने गरी खलबलिन थालेको, पार्टीभित्रको क्रान्तिकारी धारलाई कमजोर पार्न प्रचण्डले योजनाबद्ध रूपमा भित्र्याएका थिए   उनलाई ।  नेकपा-माओवादी बनेपछि पनि प्रचण्डसित एकताका लागि  ६ वटा बुँदा अघि सारिएको थियो र यो एकताको अर्थ छैन भनेर यस टिप्पणीकाले प्रश्न गरेकै हो । एकताका सन्दर्भमा सारसङ्ग्रहवादी किसिमले होइन, अब  प्रस्टताका साथ आउनु पर्छ । अब माओ विचारधारा एकताको आधार बन्न सक्तैन–सोझै माओवादलाई आधार बनाउनु पर्छ । क्रान्तिका तीन जादुगरी हतियार प्रतिको प्रतिबद्धता, सशस्त्र सङ्घर्ष सम्बन्धी प्रश्न प्रस्टताका साथ आउनु पर्छ । चुनावमा भाग लिनका लागि सन् १९०५ का लेनिनलाई अघि सार्ने,  तर महान बहस सम्बन्धी दस्ताबेजहरूमा चुनावी राजनीतिका सम्बन्धमा माओले अघि सारेका विचारहरू बिर्सने भन्ने कुरा हुँदैन । खासहरूको   चित्त बुझाउन  माओलाई छोड्ने कुरा हुँदैन । साथै क्रान्तिका लागि ठूलो पार्टीले होइन, विचार नेतृत्व र कार्यदिशा सही  हुनु आवश्यक छ भन्ने कुरा हामी सबैले भन्दै आएको कुरा हो ।  

‘पार्टी कामको लेखाजोखा’ अन्तर्गत “कतिपय के.स.स.हरूलाई केन्द्रीय समितिबाट हटाइएको छ । रणनीतिक मोर्चासम्बन्धी काममा जटिलता पैदा हुँदै आएका छन् । तिनको समाधानबारे सक्दो प्रयास जारी छ”, भनिएको छ ।

 सरसरती हेर्दा यो खास पार्टीको आन्तरिक मामिला जस्तो लागे पनि यी गम्भीर पक्षहरू हुन् । कुन विचार अँगाल्ने र कुन पार्टीमा रहने वा नरहने भन्ने प्रश्न मूलतः आत्मगत प्रश्न हो, विचलन वा क्रान्तिकारीताको प्रश्नलाई बाह्य परिस्थितिले प्रभावित पारिहेको हुन्छ तापनि यसमा   व्यक्तिको आत्मगत स्थिति प्रधान र  निर्णायक  हुन्छ । क्रान्तिकारीहरू एक्लै भए पनि क्रान्तिका लागि जनमत निर्माण गर्ने र क्रान्तिलाई सघाउने काम गर्छन् र विचलनवादी-अवसरवादीहरू निजी स्वार्थलाई केन्द्र बनाएर जता मीठो खान पाइन्छ, जता ठूलो भाग पाइन्छ त्यतै भनेर दक्षिणपन्थीहरूको पछि लाग्ने गर्छन् ।  र पनि कतिपय सन्दर्भमा योग्यता, क्षमता र क्रियाशीलता अनुसारको जिम्मेवारी नदिँदा गलतलाई च्याप्ने र सहीका लागि ठाउँ नदिई अनावश्यक पीडा र ताडनाको स्थिति हुँदा अनि,  पार्टी गलत दिशातिर जाँदा पनि सो पार्टीबाट सम्बन्ध विच्छेद गर्ने, विद्रोह गर्ने अवस्था आइपर्छ , आउँछ । यो टिप्पणीकारको निजी अनुभव पनि हो । भरिसक्के कार्यकताले पार्टी छाड्ने अवस्था आउनु हुँदैन,  यस्तो स्थिति आउनु राम्रो कुरा होइन । यस्तो स्थिति आउनु भनेको नेतृत्व पक्षको समस्या पनि हो । सहीहरू बाहिरिँदै जाने र गलतहरूले आसन जमाउँदै जाने स्थितिले नेतृत्व तहमा रहेकाहरूको समस्यालाई द्योतन गर्दछ । प्रश्न यता पनि उठ्छ ।

प्रतिवेदनमा “रणनीतिक मोर्चासम्बन्धी काममा जटिलता पैदा हुँदै आएका छन्” भनिएको छ ।  जसरी र जेजस्ता समूहहरू जोडजाड गरेर ‘रणनीतिक मोर्चा’ बनाइयो, यो नै सही थिएन, रणनीतिक मोर्चा असाध्यै गम्भीर मोर्चा हो, यो मूल उद्देश्यसित गाँसिएको, दीर्घकालीन प्रकृतिको र एक हिसाबले पार्टी एकताको तहको मोर्चा हो । विचारको प्रश्न, क्रान्ति सम्बन्धी आधारभूत प्रश्न सारमा मूल वैचारिक-राजनीतिक प्रश्नप्रति नै बेवास्ता गरेर हल्का किसिमले जसरी रणनीतिक मोर्चा बन्यो/बनाइयो, त्रुटी त्यहीँ भयो । यसलाई कार्यगत एकता जस्तो ठानियो, खेलाँची जस्तो गरियो ।  अहिले आएर नेकपा (क्रान्तिकारी माओवादी) ले यो अनुभव गर्यो  र यसप्रति गम्भीरता देखियो । रणनीतिक मोर्चाका सम्बन्धमा  यो टिप्पणीकारले आरम्भमै केही प्रश्नहरूको उठान गरेको थियो भन्ने कुरा पनि यहाँ स्मरणीय छ ।

‘आगामी कामको रूपरेखा अन्तर्गत’ ७ वटा बुँदा छन् र यी नीति तथा योजना, साङ्गठनिक र सङ्घर्षका कार्यक्रमसित सम्बद्ध छन् । यी आन्तरिक पक्ष हुन् तापनि  यी पनि वैचारिक पक्षसित नै गाँसिएका छन् । जस्तो ‘सांगठनिक काम’ लाई यसरी बुँदागत गरिएको छ :

राष्ट्रिय सम्मेलनको आयोजना गर्ने । ब्युरोहरूको विघटन गर्ने । विभागहरूको पुनर्गठन गर्ने । एकता–सङ्घर्ष तथा रूपान्तरण र आत्मालोचना–आलोचना गर्ने पद्धतिको बानी बसाल्ने । स्थगन गरिएका जातीय स्वायत्त प्रदेशहरूलाई ब्यँझाउने । 
 
राष्ट्रिय सम्मेलन कहिले हुने भनेर मिति किटान गरिएको छैन, पार्टीको अनुकूलताको कुरा हो । “पोखरा सम्मेलनमा ९७ प्रतिशतमाथि ३ प्रतिशत हाबी भए, सम्मेलन, सम्मेलन जस्तो नै भएन, सम्झौतावाद हाबी भयो, चुनाव सम्बन्धी नीतिले पार्टीलाई नोक्सान पुर्यायो   ” भनेर अहिलेसम्म कार्यकर्ताहरूले टिप्पणी गरिरहेको, पीडा पोखिरहेको सन्दर्भमा आगामी सम्मेलनले पार्टी शुद्धीकरण र सुदृढीकरणका साथ क्रान्तिकारी कार्यदिशालाई ठोस बनाएर पार्टीलाई ताजा र  गतिशील बनाओस् भनेर कामना गर्न सकिन्छ ।

जहाँसम्म “स्थगन गरिएका जातीय स्वायत्त प्रदेशहरूलाई ब्यँुझाउने” भन्ने निर्णय छ,  यसले ध्यानाकर्षण गराउनु स्वाभाविक छ । जनयुद्ध कालमा जनयुद्ध र वर्गीय प्रश्न प्रधान थियो । हुनु पर्ने पनि यही थियो–सही थियो । ‘राज्यको पुनर्संरचना’, सङ्घीयता, पहिचानवादको पुर्पक्षजस्ता कुराहरू पार्टी र जनयुद्धको नारा र  नीति थिएन । तर ‘शान्ति प्रक्रिया’ मा आएपछि र आइएनजिओवादीहरूसित रसरङमा रमाउन थालेपछि नयाँ जनवादी क्रान्तिभन्दा प्रधान बने ‘राज्यको पुनर्संरचना’, सङ्घीयता, पहिचानवाद, ‘ककस’ यस्तैयस्तै । एक समय त स्थिति निकै गम्भीर किसिमको थियो–तारे होटलका बैठक र विदेश घुमाइले धेरैको दिमागमा अर्कै संसार घुम्न थालेको थियो ।

जनयुद्ध कालमा उत्पीडनमा रहेका वर्ग र समुदाय  विभिन्न जातजाति, क्षेत्र र लिङ्गलाई वर्ग राजनीतिसित जोडेर अघि बढाउने नीति र कार्यक्रम अन्तर्गत कामहरू भएका थिए । सामान्य रूपमा पनि सोझैँ पार्टीमा आउन र ल्याउन समस्या हुने हुनाले मोर्चाहरू हुँदै,  प्रशिक्षित गर्दै पार्टीमा समावेश गर्ने मार्क्स वादी-लेनिनवादी सङ्गठनात्मक नीति हो । यसो हुँदासमेत बेलाबेलामा जातीयतावादी, क्षेत्रीयतावादी प्रवृत्तिले टाउको उठाउँथे । लामो परीक्षणपछि पार्टीको सदस्यता प्राप्त हुन्थ्यो । वर्ग प्रधान हुन्थ्यो । यताका दिनमा त प्रतिक्रियावादी कित्ताको र संशोधनवादी कित्ताको भए पनि पार्टी फेरेर  रातारात पिबियम, सिसियम नेता बन्छ र इमानदार क्रान्तिकारी कार्यकर्ताले पिबियम कमरेड,  सिसियम कमरेड भनेर सलाम ठोक्नु पर्ने हुन्छ, पीडा खपेर  । हिजो जनयुद्धको समयको महाअपराधी क्रान्तिकारी पार्टीमा छाती फुलाएर पिबिएमको बिल्ला भिरेर प्रवेश गर्छ । उसको लागि क्रान्तिकारी पार्टी आनन्दको चौतारी बन्छ र आनन्दले आफ्ना जातीयतावादी- आइएनजिओवादी र संसोधनवादी   धारणाको प्रचारप्रसारमा लाग्छ । यो व्यवहारमै देखिएको यथार्थ हो ।

अहिले प्रचण्डको पछिपछि बिरालाको छाउरोझैँ म्याउँम्याउँ गर्दै कुदे पनि हिजो नेकपा-माओवादीमा छँदा देव गुरुङ र सुरेश आले साँढा पात्रहरू थिए र पार्टी विधानमा समेत वर्ग र जातजातिको प्रश्न समान हो भनेर समावेश गर्ने र त्यही अनुसार तलदेखि माथिसम्म समान अनुपातमा सहभागी हुनु पर्ने तर्क गर्दथे । यो आइएनजिओ प्रभाव, संसदीय सुखसुविधा, ककस अनि विदेश घुमाइको परिणाम थियो । पार्टीको सातौँ महाधिवेशनमा यो प्रश्न निकै पेचिलो र जटिल बनेको थियो । अहिले त्यो भन्दा पनि डरलाग्दो प्रवृत्ति देखिएको छ । माओवादको आवरणमा डरलाग्दो गरी ‘उत्तर-मार्क्स वादी–पहिचानवादी’ प्रवृत्तिले खुलेआम नाचगान गर्न थालेको स्थिति छ । माओवादी जनयुद्धका विरुद्धको युरो-अमेरिकी योजनामा सहभागिता जनाउनेहरू क्रान्तिकारी बनेर ढलीमली गरेका छन् भनेर टिप्पणी हुने गरेको छ । माओवादको आवरणमा साम्राज्यवादले चौतारी बनाइसकेको अवस्था छ ।  यस्तो अवस्थामा क्रान्तिकारी नेता तथा पार्टीहरू सचेत र सजग हुनु आवश्यक छ । उत्पीडित र अल्पसङ्ख्यक समुदायको मुक्तिको प्रश्न नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादसित गाँसिएको प्रश्न हो र यो भन्दा बाहिरबाट सोचिने कुरा भनेको साम्राज्यवादी खेलौना बन्ने र डलरजीवी प्रवृत्तिको प्रतिनिधित्व गर्ने कुरा मात्र हुन् । यसप्रति यो टिप्पणीकारले धेरै लेखिसकेको छ । कम्तीमा पनि पाठकहरूले भक्तबहादुर स्मृति प्रतिष्ठानको प्रकाशन मार्क्सवाद र परिचयको राजनीति अध्ययन गर्नु जरुरी छ ।  कुनै पनि पार्टी क्रान्तिकारी पार्टी हो भने मार्क्सवाद र पहिचानवादका सम्बन्धमा यो पुस्तक स्कुलिङको पाठ्यक्रममा राख्नु आवश्यक छ ।

सैद्धान्तिक तथा राजनीतिक काममा ‘पार्टी स्कुल सञ्चालन गर्ने’ भनिएको छ । जो मान्छे माओवाद मान्दैन, दसबर्से जनयुद्धको विरोध गर्छ, वर्गभन्दा माथि जातीय प्रश्नलाई राख्छ र हरहमेसा डलर आर्जनको चिन्तामा हुन्छ, त्यो पात्रले कस्तो  स्कुलिङ देला ! अनि त्यो पात्र  जसलाई मार्क्सवाद-लेनिनवाद-माओवादको आधारभूत मूल्य नै थाहा छैन र टपरटुइयाँ अध्ययनका भरमा काम चलाइराखेको हुन्छ र   चौबिसै घण्टा प्रचारमोहमा भौतारिइरहेको हुन्छ,  उसले कस्तो किसिमको स्कुलिङको काम गर्ला !  कस्तो पाठ्यक्रम र कस्ता पात्रहरूद्वारा स्कुलिङ भन्ने कुरामा गम्भीर हुनु आवश्यक छ । मार्क्सको शैलीमा दारी पाल्दैमा सबै मार्क्स  हुँदैनन् भन्ने कुरामा हामी प्रस्ट हुनु आवश्यक छ ।

स्कुलिङमा ‘लाल र निपुण’ को अहम् भूमिका हुन्छ र पार्टीले यस किसिमको शक्तिको निर्माण गर्ने, निर्माणका लागि वातावरण बनाउने काम गर्नु पर्छ, प्रशिक्षित गर्नु पर्छ  । यस सम्बन्धमा माओको नेतृत्वमा रहेको चिनियाँ कम्युनिस्ट पार्टीबाट सिक्नु पर्छ । राजनीतिक अर्थशास्त्रको मूलभूत सिद्धान्त (साङ्घाई टेक्स्ट बुक) (दुई भाग), चिनियाँ कम्युनिस्ट पार्टीको आधारभूत बुझाइ  (चाइना टेक्स्टबुक) र चीनको दार्शनिक फाँटका तीन प्रमुख सङ्घर्षहरू लगायतका थुप्रै पाठ्य सामग्रीहरू  चिनियाँ कम्युनिस्ट पार्टीको स्कुलिङ विभागले तयार पारेको थियो भन्ने कुरा यहाँ स्मरणीय छ । त्यहाँ लाल र निपुणको समायोजन थियो ।  चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको समयमा पेकिङ रिभ्यु लगायतका पार्टीका प्रकाशनहरू र स्कुलिङ विभागको भूमिका निकै उच्च थियो । त्यसैले स्कुलिङ विभाग भनेको केही जिम्मेवारी त दिनु पर्यो  भनेर जसलाई पायो त्यसलाई जिम्मेवारी दिने विभाग होइन । यो काम हाम्रो आन्दोलनको सापेक्षतामा हुने हो तापनि यसप्रति नेपालका माओवादी पार्टीहरू त्यति गम्भीर देखा पर्दैनन् । कतिपय त बौद्धिक शक्ति भनेपछि नाक खुम्च्याउने खालका छन् ।   नयाँ जनवादी कालदेखि  सांस्कृतिक क्रान्तिकालमा समेत माओले ''बुद्धिजीवीहरूको सेना निर्माण गर" किन भनेका होलान् भनेर बुझ्नु आवश्यक छ  ।

नेकपा (क्रान्तिकारी माओवादी) ले “संयुक्त मोर्चालाई नयाँ ढङ्गले सङ्गठित गर्ने र त्यसलाई क्रान्ति र राष्ट्रिय आवश्यकता अनुरूप कामकाजी तथा प्रभावकारी बनाउने ।  देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थीहरुलाई समेटी संयुक्त मोर्चाको निर्माण गर्ने भनेको छ । चुनाव आयोगमा दर्ता भएको चुनावी मोर्चा ‘देजमो’ पहिलेदेखि गतिविधिमा रहेको अवस्थामा फेरि “देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थीहरुलाई समेटी संयुक्त मोर्चाको निर्माण गर्ने” भनिएको छ । यसले पहिलेकै मोर्चालाई नयाँ किसिमले पुनर्गठित गर्ने भनिएको हो वा नयाँ मोर्चा निर्माण गर्ने भनिएको हो प्रस्ट हुन सकेको छैन ।

त्यसै गरी ‘संयुक्त मोर्चा तथा कार्यगत एकता’ का सम्बन्धमा नेकपा (क्रान्तिकारी माओवादी) को निर्णयमा भनिएको छ :

रणनीतिक संयुक्त मोर्चा नाम अनुसारको नभएको अवस्थामा त्यसलाई तदनुरुप बनाउन प्रयास गर्ने र त्यो नभएमा त्यसलाई कार्यनीतिक संयुक्त मोर्चामा परिणत गर्ने ।  पार्टीको स्वतन्त्र पहलमा देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थीहरुको रणनीतिक संयुक्त मोर्चा बनाउने र त्यसद्वारा सङ्घर्ष सञ्चालन गर्ने ।

रणनीतिक संयुक्त मोर्चाका सम्बन्धमा माथि भनिसकिएको छ । नामअनुसारको नभएको भन्ने निष्कर्षमा पुगेर “तदनुरुप बनाउन प्रयास गर्ने र त्यो नभएमा त्यसलाई कार्यनीतिक संयुक्त मोर्चामा परिणत गर्ने” भन्ने भनाइ सारतः अब यसले काम दिँदैन र यसलाई विघटन गरेर कार्यनीतिक मोर्चा बनाउने भन्ने नै हो । वास्तवमा जे-जस्ता शक्ति र समूहलाई समेटेर रणनीतिक संयुक्त मोर्चा बनाइयो ।  यो वैचारिक रूपमै सही थिएन । वाग्मतीको किनारैकिनार दक्षिणतिरको यात्रामा लागेकाहरूसित उत्तरतिरको सगरमाथाको कष्टसाध्य यात्राका लागि रणनीतिक मोर्चा बनाएर कामकाजी हुने स्थिति नै थिएन ।  घोषित रूपमा नभने पनि एक हिसाबले नेकपा (क्रान्तिकारी माओवादी) ले व्यवहारमा अहिलेको रणनीतिक मोर्चाबाट सम्बन्ध विच्छेद गरिसकेको स्थिति हो । “पार्टीको स्वतन्त्र पहलमा देशभक्त, क्रान्तिकारी जनवादी तथा वामपन्थीहरुको रणनीतिक संयुक्त मोर्चा बनाउने र त्यसद्वारा सङ्घर्ष सञ्चालन गर्ने ” भन्ने पार्टी निर्णयबाट पनि यो कुरा बुझ्न सकिन्छ । र यो सही बुझाइ हो । सो पार्टीका पोलिटब्युरो सदस्य कमरेड इन्द्रमोहन सिग्देलको ‘वैज्ञानिक समाजवाद र जनमत सङ्ग्रहको कार्यनीतिबारे’ शीर्षकको लेखबाट पनि यो कुरा प्रस्ट हुन्छ । अब बन्ने रणनीतिक मोर्चाका सम्बन्धमा  वैचारिक–राजनीतिक तथा व्यावहारिक पक्षमा विस्तृत अध्ययन  र विचारविमर्श गरिनु आवश्यक छ । यसको सम्बन्ध नेपाली क्रान्तिको स्वरूप र रणनीतिक उद्देश्य प्राप्तिको कार्यदिशासित गाँसिएको छ  ।
 
‘आगामी कामको रुपरेखा’ अन्तर्गतको बुँदा नम्बर छ मा पार्टी एकताको सन्दर्भमा “पार्टी एकताको आधार तयार पार्नका लागि पुनः आवश्यक पहल गर्ने र सम्बन्धित पक्षलाई आह्वान गर्ने” भनिएको छ । यो सकारात्मक पक्ष हो । फेरि पनि प्रश्न यहीँ छ ।  कोसित एकता गर्ने ? को हुन् क्रान्तिकारी ?  केका लागि एकता गर्ने ? एकता क्रान्तिका लागि कि एकतापछि पनि सधैँभरि संयुक्त मोर्चाजस्तो पार्टीका रूपमा रहन भन्ने प्रश्न एकताप्रक्रियासित जोडिएर आउँछ ।  वैचारिक–राजनीतिक र कार्यदिशाका रूपमा प्रस्ट नभई गरिने र गरिएका एकताले क्रान्तिकारी धारलाई कमजोर तुल्याएको कुरा त नारायण काजीलाई भित्र्याएको समयदेखिको इतिहासले प्रस्ट पारेको छ । “आवश्यक पहल गर्ने र सम्बन्धित पक्षलाई आह्वान गर्ने” निर्णय अनुसार केही दिनअघि कमरेड किरणको लेख आएको र त्यसबारेको टिप्पणी माथि गरिसकिएको छ । यसबारे थप लेख्नु आवश्यक छैन । “पार्टी एकताको आधार तयार पार्नका लागि पुनः आवश्यक पहल गर्ने र सम्बन्धित पक्षलाई आह्वान गर्ने” भनेर नेकपा (क्रान्तिकारी माओवादी) को आह्वान सही छ र यसप्रति गम्भीर भएर विचारविमर्श गर्नु आवश्यक छ । यो आह्वानको मात्र सन्दर्भ नभएर व्यवहारिक पहलकदमी र क्रियाशीलताको पनि प्रश्न हो ।

निष्कर्ष :

निष्कर्षमा के भन्न सकिन्छ भने जुन रूखमा ऐँजेरु लाग्न थाल्छ, त्यसमा मूल रुख सुक्तै जाने र एैँजेरु चाहिँ हरियो हुँदै जाने हुन्छ । एकताका नाममा विजातीय तत्वहरू भित्र्याएर जतिबेर पनि ‘तनाव’ मा  रहनु भन्दा गहन अध्ययन–छलफल र विचारविमर्शबाट एकताको निष्कर्षमा पुग्नु आवश्यक  हुन्छ । एकता तथा  ध्रुवीकारणका सन्दर्भमा चारपाँचवटा कुरा आधारभूत   पक्षहरू छन् र यसमा प्रस्ट नभइ एकताले गति लिन्छ जस्तो लाग्दैन  ।  जनयुद्धका लामबद्ध हुँदा प्रतिकार समिति बनाएर हाम्रै कार्यकर्ताको हत्या गर्ने, पक्राउ गराउने,  जातीयतावादी नारा उचाल्ने र विदेशी नियोगसित हिमचिम बढाउने प्रवृत्तिप्रति प्रस्ट हुनु आवश्यक छ । जसले जनयुद्धको गरिमामय इतिहास र बलिदानको बाटो रोज्ने महान् सहिदहरूप्रति सम्मान देखाउन सक्तैन, त्यस्ता तत्वहरूलाई सलाम कमरेड, श्रद्धेय कमरेड भन्न सकिने स्थिति छैन । सत्य यही हो ।
‘हुन त शान्ति प्रक्रिया’ पछि हामी सबै धेरथोर बिग्रेकै हौँ । भन्न त रोगीलाई सिध्याउने होइन, रोग पत्ता लगाएर उपचार गर्ने हो भनिन्छ । तर उपचार गर्न सकिने र उपचारै हुन नसक्ने अवस्था फरक हो । अझ यसमा उपचारै हुन नसक्ने घातक रोग लिएर कोही प्रवेश गर्छ भने त झन् खराब स्थिति हो । सारमा के हो भने प्रधान पक्ष विचार हो र ‘पोलिटिक्स इन कमान्ड’ हो । सबै कुराको निर्णय यसैले गर्छ ।

भिडियो फिचरview all