menu

ताजा समाचार

यमसिसी, सहायताको आवरणमा नेपालमा सैन्य क्याम्प खडा गर्ने अमेरिकी परिपञ्च: कमरेड किरण

“यमसिसी सहायताको आवरण नेपालका सैन्य क्याम्प स्थापना गर्ने अमेरिकी परिपञ्च हो र नेपालको कठपुतली सरकार र कतिपय पार्टी यसलाई जसरी पनि पारित गर्न लागेका छन् र यसका विरुद्ध  राष्ट्रिय स्वाधीनताका पक्षधर नेपाली जनता, क्रान्तिकारी पार्टी र युवा शक्ति जसरी सङ्घर्षरत छन्,  यो सराहनीय छ र एकताबद्ध भएर यसका विरुद्धको सङ्घर्षलाई थप सशक्त बनाउनु आवश्यक छ ।”

उपर्युक्त धारणा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव कमरेड किरणले क्रान्तिकारी युवा लिग, नेपाल तीन नम्बर प्रदेशले यही असोज १३  गते काठमाडौँमा आयोजना गरेको यमसिसी खारेजी सम्बन्धी -याली तथा विरोध सभामा प्रमुख अतिथिका रूपमा व्यक्त गर्नु भएको हो ।

कमरेड किरणका सङ्क्षिप्त, तर सारगर्भित भनाइलाई तल प्रस्तुत गरिएको छ :
---------------------------------------------------------------------------------------------------------------------

यमसिसीको विरोधमा आफ्नो पार्टीले कहिले एकल रूपमा र कहिले संयुक्त रूपमा आन्दोलन गरिरहेको छ , तर सरकार यसलाई जसरी पनि पारित गर्न लागिरहेको छ । यमसिसी विकास हो र मुलुकको हितका लागि भनिन्छ, वास्तवमा यो एकदमै झूठ हो र यो विकाससित सम्बन्धित कार्यक्रम नै होइन, विकासका लागि भए त अर्कै कुरा हुन्थ्यो,  यो त देशको राष्ट्रियतामाथि खलल पु-याउने कार्यक्रम हो । यसको डटेर विरोध गर्नुपर्छ ।

कतिपय नेता तथा राजनीतिज्ञहरू साम्राज्यवाद समाप्त भयो, उपनिवेशवाद समाप्त भयो भन्छन्, तर यो गलत कुरा हो । दोस्रो विश्वयुद्धपछि  उपनिवेशवादी चरित्र नव-उपनिवेशवादमा फेरियो । अमेरिकी साम्राज्यवादले एकातिर सोझै र अर्कोतिर विकास र सहयोगका नाममा साम्राज्यवादी हस्तक्षेपलाई नयाँ किसिमले अघि बढाउने गरेको छ, यो नव-औपपिनवेशिक तरिका हो र यसको काम दलाल शक्ति तयार पारेर आफ्नो स्वार्थ पूरा गर्नु हो । नव-उपनिवेशवादको चरित्र र भूमिकाका बारेमा माओले विस्तृत रूपमा प्रकाश पार्नुभएको छ । अहिले साम्राज्यवादको स्वार्थ पूरा गर्न यहाँको शासक वर्ग नव-उपनिवेशवादी दलाली गरिरहेको छ र राष्ट्रिय स्वाधीनतका पक्षधर र नव-उपनिवेशवादबाट उत्पीडितहरू यसको विरोधमा लागि परेका छन् । यो कार्यक्रम पनि नव-उपनिवेशवादी प्रवृत्तिबाट उत्पीडित राष्ट्रिय स्वाधीनताका पक्षधरहरूको कार्यक्रम हो ।

हिजो साम्राज्यवाद एक हातमा बन्दुक र अर्को हातमा बाइबल च्यापेर आक्रमणका लागि आउँथ्यो । अहिले एउटा हातमा विकास र सहयोगको नारा र अर्को हातमा बन्दुक बोकेर आउँछ । अहिले यमसिसीका नाममा अमेरिकीहरू नेपालमा सैन्य क्याम्प खडा गर्ने योजनामा छन् । यहाँका दलाल सत्ताधारीसित मिलेर उनीहरू  नेपाली राष्ट्रिय स्वाधीनता र जनताका विरुद्ध लागेका छन् । यमसिसी हिन्द-प्रशान्त रणनीतिक योजनासित जोडिएको सैन्य कार्यक्रम हो । विकास त देखाउने रूप मात्र हो र सार सैन्य गठबन्धन हो । पेन्टागनले यसलाई सैन्य कार्यक्रम हो भनेर प्रस्ट पारिसकेको छ र जे जे भनेर ढाकछोप गरे पनि यसको मूल उद्देश्य नेपालमा सैन्य क्याम्प खडा गर्ने नै हो ।  साम्राज्यवाद नेपाललाई प्रयोग गरेर आफ्नो उद्देश्य पूरा गर्न चाहन्छ, नेपाल यसका लागि सजिलो बनेको छ, यहाँका सत्ताधारीहरू साम्राज्यवादको दलाली गरेर पदीय लाभ लिन लालायित हुन्छन् भन्ने कुरा साम्राज्यवादीहरूलाई थाहा  छ । एमसिसी  सोझै देश र जनताका विरुद्ध लक्षित छ र यसलाई कुनै हालतमा पनि पारित गर्न दिनु हुँदैन । यसका लागि एकल र संयुक्त भएर जानु पर्छ । क्रान्तिकारी शक्तिहरू एकताबद्ध भएर सङ्घर्ष गर्नु पर्छ र यमसिसी विरोधी अरू शक्तिहरूलाई आकर्षित गरेर र तानेर एकजुट बनाएर सङ्घर्ष गर्नुपर्छ । सङ्घर्षमार्फत नै यसलाई खारेज गर्नुपर्छ । एकताबद्ध भएर यसका विरुद्ध सङ्घर्ष गर्नुको विकल्प छैन ।

एमसिसीको सन्दर्भपछि अब म मुलुकको वर्तमान स्थिति र क्रान्तिकारीहरूको भूमिका बारे प्रकाश पार्छु । हामीले अहिलेको परिस्थितिलाई बुझ्नु जरुरी छ । स्थिति हिजोको जस्तो छैन,  फरक छ जटिल पनि छ । ओलीले दुई-तिहाइ प्राप्त गरेपछि संसारै जितेको सम्राटझैँ आफूलाई ठाने । ५० वर्षसम्म अब हामीले  सत्ता  चलाउँछौ भनेर फुर्तिफार्ति गरे । यो संविधान र संसदीय व्यवस्थालाई उत्कृष्ट ठान्नेहरूका सामु संसद विघटन र पुर्नस्थापनाले संसदीय व्यवस्थाको उच्चता र श्रेष्ठता अदालतमा गएर थन्कियो । तीन किसिमका धारहरू देखा परे  ।  समग्र स्थितिले यो व्यवस्था असफल भएको प्रमाणित गर्यो  । यो व्यवस्था परमादेशमा गएर जीवित हुनु भनेको संविधान र व्यवस्थाकै असफलता हो  ।  यो संविधान  र यो संसदीय व्यवस्था उच्च छ, ठूलो छ भनेर घमण्ड गर्नेहरू परमादेशमा निर्भर रहे । यो समग्र स्थितिलाई हामीले गम्भीरतापूर्वक बुझ्नु पर्छ ।

यो व्यवस्था असफल भएको प्रमाणित भइसक्यो र अबको किल्प भनेको नयाँ जनवादी क्रान्ति नै हो र अब यसका लागि अघि बढ्नु आवश्यक छ । नयाँ जनवादी क्रान्तिको तयारीमा लाग्नु पर्छ । पुरानोलाई ध्वस्त पारेर नयाँ जनवादी सत्ता हुँदै समाजवादमा अघि बढेपछि नै अहिलेका समस्याहरू सही किसिमले हल हुनेछन् । अबको तयारी नयाँ जनवादी सत्ताको हो । हामी हाम्रो शक्तिको वृद्धि गछौँ, सङ्घर्ष गर्न एकताबद्ध हुनु पर्छ । क्रान्तिकारी पार्टी र शक्ति छन्, छरिएर रहेका  क्रान्तिकारीहरू छन् । सशोधनवादी पार्टीहरूमा पनि क्रान्ति चाहनेहरू छन् । क्रान्ति चाहनेहरू एकताबद्ध हुनै पर्छ । अर्को विकल्प छैन । हामीले हिजो दस वर्ष जनयुद्ध लड्यौँ । हामी हाम्रा अनुभवलाई परिमार्जित गर्दै आन्दोलनको तयारी गर्छौँ र उत्कर्षमा जान्छौँ ।
---------------------------------------------------------------------------------------------------------------------  

काठमाडौँको शान्तिबाटिकामा  भएको कार्यक्रम अघि ‘राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ ! राष्ट्रघाती एमसिसी खारेज गरौँ ! लेखिएको ब्यानरसहित रातो ड्रेसमा  युवाहरूले नारासहित सहर परिक्रमा गरेका थिए । क्रान्तिकारी युवा लिग, नेपाल तीन नम्बर प्रदेशका अध्यक्ष केशव झल्लाकोटीको अध्यक्षता र सुरेश तामाङको सञ्चालनमा सम्पन्न सो कार्यक्रममा क्रान्तिकारी युवा लिगका केन्द्रीय इन्चार्ज तथा नेकपा (क्रान्तिकारी माओवादी) का पोलिट ब्युरो सदस्य चन्द्रहरि सेवेदी ‘अटल’, क्रान्तिकारी युवा लिगका केन्द्रीय अध्यक्ष तथा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य अमिर महजर्न, महिला नेता शारदा महत, मजदुर नेता वसन्त बोगटी, विद्यार्थी नेता हरिकृष्ण गजुरेल र सम्पर्क मञ्चका संयोजक  विष्णु खडकाले एमसिसी खारेजीका विरुद्ध आआफ्ना धारणा राखेका  थिए ।

सङ्क्षिप्त र सारगर्भित सो कार्यक्रम निकै प्रभावकारी भएको कुरा पर्वेक्षक पत्रकार र राजनीतिक विश्लेषकहरूले जनाएका छन् ।
भिडियो फिचरview all