menu

ताजा समाचार

पार्टी स्थापना दिवसका सन्दर्भमा भाकपा (माओवादी) को आह्वान : हिन्दूत्ववादी फासिवादी सत्ता र शक्तिहरूका विरुद्ध एकताबद्ध सङ्घर्ष गरौँ

सन् २००४ मा भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) पिपुल्स वार र माओइस्ट कम्युनिस्ट सेन्टर, भारतबीच एकता भएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को निर्माण भएको थियो । दुवै पार्टी चारु मजुमदारको हत्यापछि मूल पार्टी छिन्नभिन्न भएको अवस्थामा  निर्माण भएका थिए । पिपुल्स वार आन्ध्रमा बलियो थियो भने माओवादी केन्द्रको प्रभाव बिहार र बङ्गालमा थियो । एकताको समयमा माओवादी केन्द्रका नेता  किसन  थिए भने पिपुल्स वारका मूल नेता  गणपति  थिए । दुवै पार्टीले कार्यदिशाका रूपमा दीर्घकालीन जनयुद्धलाई अँगालेका थिए । सेप्टेम्बर ९, २००४ मा दुवैको हस्ताक्षरमा पार्टी एकता गर्ने घोषणा गरिएको थियो  र सेप्टेम्बर २१ मा दुवै पार्टीका नेता-कार्यकर्ताका बीच पार्टी एकता घोषणा गरिएको थियो । र   सन् २००७ मा पार्टीको विशेष महाधिवेशन भएको थियो

भाकपा (माओवादी) ले हरेक वर्ष सेप्टेम्बर २१ मा विविध कार्यक्रमका साथ पार्टी स्थापना दिवस मनाउने गरेको छ । पार्टी स्थापनाको १७ औँ वार्षिकोत्सवको सन्दर्भमा यसपल्ट पनि  पार्टीले वक्तव्य प्रकाशित गरी प्रतिक्रियावादी मोदी सरकारका विरुद्ध  संयुक्त मोर्चाको निर्माणका लागि आह्वान गरेको छ । प्रस्तुत छ वक्तव्यको पूर्ण पाठ :
----------------------------------------------------------------------------------------------------------


प्रतिक्रान्तिकारी रणनीति ‘समाधान योजना’ लाई परास्त गरौँ
पार्टीको रक्षा गरौँ र मुलुकको मुक्तिका लागि सङ्घर्ष गरौँ

भाकपा (माओवादी)  सत्रौँ वार्षिकोत्सव मनाउन लागिरहेको छ ।  हाम्रो पार्टीको केन्द्रीय समितिले एक महिनाअघि नै यसको विस्तृत क्रान्तिकारी सन्देश दिएको थियो । यस अवसरमा केन्द्रीय समिति समग्र पार्टी कार्यकर्ता, जनमुक्ति छापामार सेनाका कमान्डरहरू, योद्धाहरू, क्रान्तिकारी जन सङ्गठनका नेता तथा कार्यकर्ताहरू,  क्रान्तिकारी जन समितिका  नेता तथा कार्यकर्ताहरू, झूठो आरोपमा फसाएर मुलुकका  विभिन्न जेलमा सजाय भोगिरहेका पार्टीका नेता तथा कायकर्ताहरू र मुलुक र विश्वभरिका मित्र र हितैषीहरू,  जो भारतीय क्रान्तिकारी आन्दोलनको को रक्षा र विकासका लागि निरन्तर प्रयासरत छन्, ती सबैलाई हामी क्रान्तिकारी अभिवादन प्रकट गर्दछौँ । यस अवसरमा हामी पार्टीका संस्थापक कमरेड चारु मजुमदार र कमरेड कन्हाइ  चटर्जी र अन्य  केन्द्रीय समितिका सदस्यहरू कमरेड पूर्णेन्दु सेखर मुखर्जी र कमरेड यापा नारायण जो केही महिनाअघि मात्र सहित हुनु भयो, वहाँहरूलगायत हामी सबै प्रिय  क्रान्तिकारी नेता तथा कार्यकर्ताहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दछौँ । हामी अन्तिम अवस्थासम्म वहाँहरूको आदर्श प्राप्तिका लागि लडिरहने प्रण गर्दछौँ ।

हाम्रो भारतीय क्रान्तिकारी आन्दोलन पार्टीका गुरु तथा संस्थापकहरू कमरेड चारु मजुमदार  र कमरेड कन्हाइ चटर्जीले प्रदान गरेको सैद्धान्तिक, राजनीतिक र सैन्यसम्बन्धी धारणालाई विकसित तुल्याइरहेको छ, जुन थुप्रै सफलता र असफलताको सामना गर्दै, विभिन्न आरोहअवरोह, घुम्ती र मोड हुँदै र विविध  धक्का खाँदै  ५४ वर्षदेखि जनयुद्धको बाटोमा निरन्तर अघि बढिरहेको छ । यसले जनमुक्ति छापामार सेनाको निर्माण गरेको छ र मुलुकको क्रान्तिकारी जनताको वैकल्पिक जनसत्ता निर्माण गरेर क्रान्तिकारी मार्गलाई सुदृढ बनाइरहेको छ । यसले बलिदानले भरिएको बाटो उज्ज्वल हुन्छ भन्ने यथार्थलाई पुष्टि  गरिरहेको छ र यौ नै विजयको बाटो हो । साम्राज्यवादको आडभरोसा पाएको भारतीय शोषक वर्ग र सबै खाले फासिवादी आक्रमणबाट पार्टीलाई जोगाउन बिगतका वर्षहरूदेखि नै पार्टी दृढ निश्चयका साथ सङ्घर्षरत छ । फासिवादी आक्रमणको अंशका रूपमा १९ अप्रिल २०२१ मा छत्तिसगढ (दण्डकारण्य) राज्य सुकमा जिल्लाको बोटालाङ्का गाउँको नजिक दुस्मनले ड्रोन आक्रमणको थालनी गर्यो  । पछि छत्तिसगढ र महाराष्ट्र प्रहरीले ड्रोन आक्रमण सम्बन्धी घटनालाई  ढाकछोप गर्न  माओवादीहरूले ड्रोनमार्फत सर्भिलेन्स गरेको भनेर  गोयबल्स शैलीमा प्रचार गरे । यी सबै कुराले फासिवादी आक्रमण ‘प्रहार–३’ लागू गरिँदैछ र फासिवादी सत्ताले केही वर्ष अघिदेखि लागू गरेको ‘समाधान’ का विरुद्ध लडिरहेको जनआन्दोलन र जनयुद्धको शक्तिलाई सखाप पार्न उनीहरू थप सक्रिय भइरहेका छन् भन्ने सङ्केत गर्छन् । दुस्मनलाई पराजित गर्न प्रतिरोधका सबै उपायहरूका साथ थप समन्वय र अझ ठूलो उत्साह र अठोटका साथ नलागेसम्म प्रतिक्रान्तिकारी कदमहरूलाई उखेलेर फ्याल्न सकिँदैन ।

आमूल परिवर्तनबिना मुलुकका समग्र उत्पीडित वर्ग र जातजातिहरू शोषण र दमनबाट मुक्त हुँने छैनन् । सशस्त्र सङ्घर्षमा लागेकाहरूदेखि सामान्यभन्दा सामान्य प्रश्नहरू उठाउने सर्वसाधारणमाथि ब्राम्हणवादी हिन्दूवादी फासिवादी शासक वर्गहरू निमर्म दमन गरिरहेका छन् । उनीहरू आम जनताको जीवनलाई असाध्यै कष्टकर बनाइरहेका छन् । यस किसिमको स्थितिमा पार्टीले मुलुकका समग्र उत्पीडित जनताको मुक्तिका लागि दिशाबोध गरिरहेको छ ।

जनमुक्ति छापामार सेना, क्रान्तिकारी जनसङ्गठन र क्रान्तिकारी जनता पार्टीको नेतृत्वमा बहुआयामी दुस्मनका विरुद्ध अपूर्व किसिमले लडिरहेका छन् । वामपन्थी, प्रगतिशील, धर्मनिरपेक्ष, आदिवासी जनताका शुभचिन्तकहरू, देशभक्त शक्तिहरू र महिलाहरू दुस्मनको पार्टीमाथिको बहुआयामी आक्रमण विरुद्ध  विरोधको आवाज उठाइरहेका छन् । दलित, आदिवासी, धार्मिक अल्पसङ्ख्यकहरू र महिलाहरू जनतामाथि हिन्दूवादीहरूको बढ्दो आक्रमणको प्रतिरोध गरिरहेका छन् । उनीहरू मोदी सरकारका प्रतिक्रियावादी साम्राज्यवादपरस्त, हिन्दूत्ववादपरस्त नीतिहरूको भण्डाफोर गरिरहेका छन् । मुलुकका किसानहरू २६ नोभेम्बर २०२० देखि सम्झौताहीन लडाइँ लडिरहेका छन् ।

यो वर्षको मे १२ देखि बस्तर सिलिङ्गरका आदिवासी जनताले कर्परेटीकरण र कार्पेट सेक्युरिटीका विरुद्ध अथक सङ्घर्ष गरिरहेका छन् ।  विभिन्न तह र तप्काका जनताले  छत्तिसगढ राज्यभरि चलिरहेको सङ्घर्षप्रति ऐक्यबद्धतापूर्ण सङ्घर्ष जारी राखेका छन् । झारखण्ड राज्यमा आम जनता खास गरेर महिलाहरू गिरिडिह जिल्लाको पिर्तान्डमा रहेको प्रहरी क्याम्प विरुद्ध लडिरहेका छन् । साहिनबाग, सिंही, टिकरी, गाजिपुर, काडियामेत्ता र अन्य यस्तै ठाउँहरू जनसङ्घर्षका आदर्श बनेका छन् । जनताको आत्मसम्मान र अस्तित्वका लागि चलिरहेको उठिवास विरुद्धजस्ता सङ्घर्षहरूलाई थप सशक्त बनाउन  आफ्नो प्रयासलाई पार्टीले तीव्र पारिरहेको छ । यी सङ्घर्षहरूले त्यो नक्कली स्वतन्त्रतालाई नाङ्गेझार पारेको छ, जसलाई शासक वर्गले ‘आजादी को  अमृत महोत्सव’ नामले बढाइचढाइ गर्ने गरेको छ ।

विश्वभरि विकसित भइरहेको अनुकूल परिस्थितिलाई क्रान्तिका पक्षमा उपयोग गर्न अहिलेको समय पार्टीलाई लौह अनुशासनका साथ मजबुत बनाउँदै र उच्च गोपनीयता कायम गर्दै दुस्मनका सामु अपराजेय शक्तिका रूपमा बलियो बनाउने समय हो । यो समय माओवादी कार्यशैली र कार्यपद्धतिलाई दरोसँग पालना गर्ने समय हो । यस किसिमको स्थितिमा केन्द्रीय समितिले क्रान्तिकारी आन्दोलनलाई अघि बढाउनका लागि पार्टी सुदृढीकरण अभियानका लागि आह्वान गरेको थियो । यो अभियानको  राम्रो परिणाम मिलिरहेको छ । पार्टी सुदृढीकरणको एउटा अंशका रूपमा नयाँ दस्ताबेजहरूको तयारी र नयाँ नेतृत्वपङ्क्तिको चयनजस्ता थुप्रै कार्यक्रमहरू थिए । पार्टी थप लाल र निपुणताका साथ युद्ध मोर्चा, लडाइँ, जनसङ्घर्ष र जनसत्तालाई समन्वय अघि बढिरहेको छ  ।

ब्राम्हणवादी-हिन्दूत्व फासिवादी शक्तिहरू दलालका रूपमा साम्राज्यवादको सेवा गरिरहेका छन् भने अर्कातिर उनीहरू राष्ट्रव्यापी रूपमा उन्मादपूर्ण र नक्कली देशभक्ति फैलाइरहेका छन् र भारतलाई ब्राम्हणवादी हिन्दूत्वमा आधारित मुलुकमा परिणत गर्ने एजेन्डालाई अघि बढाइरहेका छन् । त्यसैअनुसार उनीहरू नयाँ शिक्षा नीति लागू गरिरहेका छन् । आत्मनिर्भरताका नाममा उनीहरू मान्छेको जीवनलाई कष्टकर बनाइरहेका छन् । तिनीहरू विरोधको आवाजलाई दमन गरिरहेका छन् र विरोधी कार्यकर्ताहरूलाई जेलमा कोचरिरहेका छन् । अनि तिनीहरूले जनता र कार्यकर्ताको हत्या पनि गरिरहेका छन् । वास्तवमा यो नयाँ भारत हिन्दू धार्मिक उन्माद, कट्टर हिन्दूत्व र दमनकारी जातिहरूको आधिपत्यमार्फत विभिन्न राष्ट्रियताहरूको अस्तित्व र वर्गसङ्घर्षलाई समाप्त पार्ने, शोषणलाई निरन्तरता दिने र मुलुकको विविधतालाई समाप्त पार्ने वर्तमान शोषक साशक वर्गीय प्रयासको परिणाम हो ।

यो दलित, आदिवासी र पछि परेका जातजातिहरू, धार्मिक अल्पसङ्ख्यक र महिलाहरूको विरुद्धमा छ । समग्र जनवादी, प्रगतिशील, मार्क्सवादी-लेनिनवादी पार्टी र सङ्गठनहरू  र शक्तिहरूको  संयुक्त मोर्चा  बनाएर सङ्घर्षका सवै रूपहरूमार्फत हिन्दूत्ववादी शक्तिहरूका विरुद्ध सङ्घर्ष गर्नका लागि एकताबद्ध हुनु जरुरी छ । जनपक्षधर प्रगतिशीलहरू, जनवादी लेखकहरू, कलाकारहरू, इतिहासकारहरू, मानव वैज्ञानिकहरू र यस्तै अन्य बुद्धिजीवीहरू यस्ता मोर्चाहरूको हिस्सा बन्नु पर्दछ । हामी भन्छौं, नयाँ भारत ब्राम्हणवादी हिन्दूत्व फासिवादी भारत होइन, नयाँ जनवादी भारत हुनु पर्छ ।

साम्राज्यवादीहरू र तिनका दलालहरूले उत्पन्न गरेका कोरोना महामारी र भ्याक्सिन ब्यापारको षडयन्त्रको मुलुकका जनताले निर्ममतापूर्वक प्रतिरोध गरिरहेका छन् ।  यी सबै कुराहरू शासक वर्गको गम्भीर सङ्कटका सङ्केतहरू हुन् । यी अनुकूल कारक पक्षहरू हुन्, जसले हाम्रो क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन सुनिश्चित गर्छन् । यिनको उपयोग गरौँ र नयाँ उत्साह र दृढताका साथ भारतीय क्रान्तिकारी आन्दोलनलाई अघि बढाउन लागौँ । 

स्थापनाको सत्रौँ वार्षिकोत्सवको उपलक्ष्यमा पार्टी केन्द्रीय समिति समग्र उत्पीडित तह र तप्काका जनतालाई शोषण र दमनबाट मुक्ति र जनताको राज्यसत्ता स्थापनाका लागि अघि बढ्न आह्वान गर्दछ ।
 
अभय,
प्रवक्ता
केन्द्रीय समिति भाकपा (माओवादी)

सेप्टेम्बर ५, २०२१

अनु : ऋषिराज बराल

भिडियो फिचरview all