menu

ताजा समाचार

राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध देशव्यापी आन्दोलन

नेपालको राष्ट्रिय स्वाधीनता र सार्वभौम स्वतन्त्रतालाई नै नामेट पार्ने किसिमको अमेरिकी सहयोग नियोगको परियोजना ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ सितको सम्झौतालाई जसरी पनि सदनबाट पारित गराउन सेरबहादुर देउबाको सरकार लागेपछि यसको देशव्यापी रूपमा आन्दोलनको आरम्भ भएको छ ।

अमेरिकी साम्राज्यवादपरस्त प्रवृत्तिका प्रतिनिधि पात्र र नेपाली क्राङ्ग्रेसका पार्टी सभापति सेरबहादुर देउबा नै जसरी पनि यसै सदनबाट सम्झौतालाई जसरी पनि पारित गराउन लागेपछि यसलाई लिएर सरकारबाहिर रहेका देशभक्त तथा क्रान्तिकारी शक्तिहरू मात्र नभई देउबा सरकारमा सामेल भएका अन्य कतिपय पार्टीका देशभक्त कार्यकर्ताहरू पनि सङ्घर्षमा लागेका छन् ।

यसै क्रममा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) सहित विभिन्न पार्टी र मोर्चाहरूले देशव्यापी आन्दोलनको घोषणा गरेका छन् भने विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीले विविध कार्यक्रमका साथ देशव्यापी आन्दोलनको घोषणा गरेको छ । त्यसै गरी विभिन्न पार्टीका मोर्चाहरूले संयुक्त वक्तव्य प्रकाशित गरेर एमसिसी सम्झौता विरुद्धको आन्दोलनलाई सशक्त किसिमले अघि बढाउन अपिल गरेका छन् ।
राष्ट्रघाती एमसिसी सम्झौता विरुद्ध विभिन्न विद्यार्थी मोर्चाहरूले अमेरिकी दूतावासअगाडि  गरेको प्रदर्शनमा  प्रहरीले लाठीचार्ज गर्दा कतिपय विद्यार्थी घाइते भएको र कतिपयलाई पक्राउसमेत गरिएको छ ।

यसबीच दार्चुलाको तुइन प्रकरणका सन्दर्भमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइ र देउबा सरकारको आत्पसमर्पणवादी प्रवृत्तिलाई लिएर अनेरास्ववियु सम्बद्ध विद्यार्थीहरूले मोदी र देउबाको पुत्लासमेत जलाएका छन् ।

 राष्ट्रिय स्वाधीनता र सार्वभौम स्वतन्त्रतालाई नै नामेट पार्ने एमसिसी सम्झौता ‘परिमार्जन’ का नाममा जसरी पनि पारित गर्ने खराब नियत भएकाले यसलाई पूर्ण रूपमा खारेज गर्नुपर्छ भन्ने आवाज नेपाली देशभक्त नागरिकहरूको रहेको र क्रान्तिकारी शक्तिहरूले यस यथार्थलाई आत्मसात गरी आन्दोलनलाई नयाँ किसिमले उठान गर्नु आवश्यक छ ।  दुईबीच केही अन्तर्विरोध भए पनि यतिखेर भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको गठजोडले विविध प्रकरण र सम्झौताका नाममा नेपालको सार्वभौम सत्तामाथि खुला आक्रमण गरिरहेको अवस्था छ र यसले संयुक्त आन्दोलनको माग गरेको छ  ।

भिडियो फिचरview all