menu

ताजा समाचार

डायस्पोरा, ग्रेटर नेपाल' र विवादास्पद सन्दर्भ

डा. ऋषिराज बराल

द नेप्लिज इन नर्थइस्ट इन्डिया अ कम्युनिटी इन सर्च अफ इन्डियन आइडेन्टिटीइन्डियन नेपाली इसुज एन्ड पर्स्पेटिभ्स हुँदै नेपाली डायस्पोरा इन अ ग्लोबलाइज्ड  एरा ,  अर्थात् ‘भारतीय नेपाली’ बाट ‘नेपाली डायस्पोरा’ मा फड्को मारेका टङ्क सुब्बाहरू ‘भारतीय नेपाली’ का सन्दर्भमा ‘भिन्न’  देखिन चाहन्छन् । यो  कुरा उनको लेख ‘रेस, आइडेन्टिटी एन्ड नेस्नालिटी : रिलोकेटिङ नेपाली नेस्नालिज्म इन इन्डिया’ बाट पनि अवगत गर्न सकिन्छ  । यो लेखमा नेपाल, नेपाली, भारतीय नेपाली आदिआदि थुप्रै  पदावलीहरू प्रयोग गरिएका  छन् र कतिपय कुराहरू विरोधमाभासपूर्ण पनि छन् । ‘ग्रेटर नेपाल’ को सन्दर्भ जोड्दै सुगौली सन्धिले नेपालको भूगोल  खुम्चिए पनि नेपालले उल्लेख्य मात्रामा सांस्कृतिक क्षेत्र हात पारेको  छ, भन्ने उनको भनाइ छ ।  उनले “डायस्पोरिक नेपालीहरू, खास गरेर भारतीय नेपालीहरू” ‘ग्रेटर नेपाल’ को नाराप्रति सतर्क हुनुपर्छ भनेर भनेर पनि उल्लेख गरेका छन् ।

चर्चाको सन्दर्भ नेपाली डायस्पोरा भएको र ‘ग्रेटर नेपाल’ को सन्दर्भ फरक भएकाले यहाँ यसबारे बृहत् चर्चा गर्नु आवश्यक ठानिएको छैन । तर, नेपालको भूमि नेपालीले दाबी गर्नु स्वाभाविक छ, सुगोली सन्धिअघि नेपालीले आर्जेको भूभागको त कुरै नगरौँ, अहिले त लिम्पियाधुराका लागि समेत लड्नु परेको स्थिति छ । अङ्ग्रेजले छोडेपछि नेपालीको हकसित जोडिएको त्यो जमिन नेपालको हो, नेपालीको हो ।  तर आफ्नो भूमि दाबी गर्नु र ‘ग्रेटर नेपाल’ को आकाङ्क्षा राख्नु फरक कुरा हुन् । पहिलो कुरा ग्रेटर नेपाल’ पदावली र अवधारणा आफैँमा अमूर्त छ । कहाँसम्म हो ‘ग्रेटर नपाल' भन्ने कुरा पनि प्रस्ट छैन । दोस्रो कुरा ‘ग्रेटर नेपाल’ को धारणा नेपालका नेपालीको धारणा होइन, यो निर्देशित नारा हो । यो नेपालीले दाबी गर्दै आएको आफ्नो भूमि, हकदाबीको भूमिको मागसम्बन्धी मागलाई दिग्भ्रमित पार्न र गलत दिशा दिन अगाडि सारिएको प्रायोजित नारा हो । नेपालीले आफ्नो भूमि मात्र मागेका हुन् र  छन्, ‘ग्रेटर नेपाल’ होइन । यसमा प्रस्ट हुनु आवश्यक छ । यसका साथै टङ्क सुब्बाले कसलाई ‘डायस्पोरिक नेपाली’ भनेका हुन् र कसलाई ‘भारतीय नेपाली’ भनेका हुन्, त्यो पनि प्रस्टरूपमा खुलेको छैन । नेपाली डायस्पोरा इन अ ग्लोबलाइज्ड  एरा मा  विभिन्न किसिमले भारत पुगेर उतै बसोबास गरेका ‘भारतीय नेपाली’ र ‘नेपाली जाति’ अवधारणाप्रति टङ्क सुब्बाहरूमा देखिएको भिन्नता ‘रेस, आइडेन्टिटी एन्ड नेस्नलिटी : रिलोकेटिङ नेपाली नेस्नलिज्म इन इन्डिया’ मा थप खुलेर  आएको छ ।

अहिलेको समय भूमण्डलीकरणको समय हो भन्ने कुरामा विमति छैन । अहिले नेपालीहरू भारततिर होइन, समुद्रपारितिर लाग्ने गरेका छन् । भारतमा रहेका नेपालीहरू पनि मेसो मिलाएर अमेरिका र बेलायततिर कुद्न थालेका छन् र यो कुदाइमा तीव्रता देखिएको छ । भारतीय नेपाली हुन् अथवा ‘डायस्पोरा नेपाली, ती हिजोकै घटना-सन्दर्भसित बढी जोडिएका छन् ।  हिँडडुल गर्न, अमुक ठाउँमा पुग्न सहज हुनुको अर्थ जो जुनसुकै प्रयोजनका लागि जहाँ पुगे पनि डायस्पोरा हुने कुरा होइन र हुँदैन । भूमण्डलीकरणको युगको नाममा रातारात ‘भारतीय नेपाली’ ‘डायस्पोरा नेपाली’ मा फेरिने कुरा पनि हुँदैन ।

समालोचक तथा चिन्तक कुमार प्रधानले बितेका डेढ–दुई सय वर्षभित्रमा दार्जीलिङमा जनगोष्ठीको विकास भएको र उत्तरोत्तर जातीय भावना प्रबल भएको, आफूहरू विदेशी नभएको भन्दै दार्जीलिङको नेपाली .साझा अनुभूति, समान भावना र एउटै भाषाका सूत्रमा बाँधिएको जाति भएको छ,  भनेका छन् । साथै भारतमा रहेका समग्र ‘नेपाली’ लाई ‘नेपाली जाति’ नेपाली भाषा र ‘भारतीय नेपाली’ ले समेट्छ, भन्ने कुरामा उनको  जोड रहेको छ  । व्याख्याका सन्दर्भमा प्रधानले  दार्जीलिङलाई आधार माने पनि भारतका सन्दर्भमा ‘भारतीय नेपाली’  र ‘नेपाली जाति’ साझा धारणाको रूपमा विकसित भएको छ भन्ने उनको भनाइ छ । भारतमा छरिएर स्थायी किसिमले बसेका सबै थरी नेपालीहरूले ‘भारतीय नेपाली’  र ‘नेपाली जाति’ लाई साझा धारणाका रूपमा ग्रहण गरेका छन् र यसैप्रति दृढता प्रकट गरेका छन् । यो ऐतिहासिक, भौगोलिक र राष्ट्रिय यथार्थको जगमा आधारित बुझाइ हो । 

‘फुटाउ र शासन गर’ को नीति प्रतिक्रियावादी वर्गको पुरानो नीति हो र अबका दिनमा ‘भिन्नताको सिद्धान्त’ मा आधारित घुसपैठी ‘उत्तर–वादी’ प्रवृत्ति ‘पहिचानवाद (identity politics) ले  भारतीय नेपालीलाई  नपिरोल्ला भन्न सकिँदैन । नेपाली जातिको समानता, पहिचान र अस्तित्व र मूल्यका लागि लडिने लडाइँ र ‘पहिचानवाद’(identity politics)  फरक कुरा हुन् । ‘पहिचानवाद’ ले वर्गचिन्तनलाई निषेध गर्छ र जातीयतावादी राजनीतिमा फसाउँछ, यो खतरनाक योजनाबद्धता हो । यसका प्रारूपहरू भारतीय नेपाली समाजमा व्यवहारमा देखिन थालेका छन्, एक अर्थमा देखिएका पनि छन्, पछिल्लो स्थितिले यसतर्फ सङ्केत गरेको छ ।

त्यस्तै भारतको सत्ताधारी वर्गसित साँठगाँठ गरेर आफ्नो आर्थिक–राजनीतिक वर्गस्तर वृद्धि गर्ने  एउटा जमात ‘भारतीय नेपाली’ र ‘नेपाली जाति’ भित्रैबाट विकसित भइरहेको अवस्थामा वर्गीय दृष्टिले पनि ‘भारतीय नेपाली’ र ‘नेपाली जाति’ मा समेटिएको एकताबद्धताले दिगो रूपमा काम गर्न सक्ने सम्भावनाप्रति प्रश्न उठ्नु स्वाभाविक छ । र पनि अहिलेसम्मको स्थिति हेर्दा भारतका विभिन्न प्रान्तमा छरिएर रहेका ‘नेपाली जाति’ ले आफ्नो चिनारी ‘नेपाली डायस्पोरा’ का रूपमा होइन, ‘भारतीय नेपाली’ का रूपमा दिएको यथार्थ नै सत्य हो ।

द नेप्लिज इन नर्थइस्ट इन्डिया अ कम्युनिटी इन सर्च अफ इन्डियन आइडेन्टिटी', इन्डियन नेपाली इसुज एन्ड पर्स्पेटिभ्सनेपाली डायस्पोरा इन अ ग्लोबलाइज्ड  एरा  ‘भारतीय नेपाली’ र ‘भारतीय डायस्पोरा’ का सम्बन्धी धारणाहरूका सङ्कलन हुन् भने जस्तो लागे पनि सूक्ष्म किसिमले अध्ययन गर्दा दुवै पुस्तक ‘भारतीय नेपाली’ र ‘नेपाली जाति’ र अस्मिताको प्रश्नप्रति मिहिन पाराले भ्रम उत्पन्न गर्ने खालका सङ्कलन हुन् । सम्पादक ए.सी सिंहाको लेख ‘सेयर्ड डेस्टिनी : इन्डियन्स अफ  नेप्लिज ओरिजिन (आइएनओ) एन्ड नेप्लिज अफ इन्डियन ओरिजिन (एनआइओ)’ पढेपछि अझ यो कुरा प्रस्ट हुन्छ । उनी भारतीय नेपाली र नेपाली जातिका सन्दर्भमा मात्र नभई नेपाल र नेपालीका सन्दर्भमा समेत  विभाजनको रेखा कोरेर भ्रम उत्पन्न गर्न उद्यत् छन् भनेर बुझ्न सकिन्छ । उनले गौतम बुद्ध नेपालमा जन्मेका होइनन् भन्ने कुरालाई पनि घुमाउरो किसिमले पुष्टि गर्न खोजेका छन् र तराईवासी नेपालीका सम्बन्धमा पनि भ्रमपूर्ण धारणा व्यक्त गरेका छन् ।  अङ्ग्रेजी भाषामा भएकाले नेपाली भाषाका पाठकहरूका लागि यी पुस्तकहरूको अध्ययन त्यति सहज छैन तापनि नेपाल, नेपाली, भारतीय नेपाली,  नेपाली जाति र ‘नेपाली डायस्पोरा’ बारे यी  ‘विद्वानहरू’ को बुझाइ र ठम्याइ जान्न यी पुस्तकहरू अध्ययन गर्नु आवश्यक छ ।

‘डायस्पोरा’ सन्दर्भ खास घटनाको उत्पादन तथा आप्रवासनको एउटा विशिष्ट पक्ष मात्र होइन र रहेन । योसित अब राजनीतिक पक्ष पनि सँगसँगै गाँसिएर सक्रिय भएको छ । नेपाली डायस्पोरा र भारतीय सन्दर्भमा पनि यो कुरा प्रस्टताका साथ आएको छ । ए .सी. सिंहाले प्रयोग गरेको (आइएनओ) र (एनआइओ) जस्ता पदावलीहरू र टङ्क सुब्बाले प्रयोग गरेको ‘डायस्पोरिक नेपाली’ र ‘भारतीय नेपाली’ का साथै “धार्मिक क्षेत्र माथिको पकड” (religious territory)  पदावलीहरूले थुप्रैथुप्रै अर्थ राख्दछन् । सरसरती हेर्दा डायस्पोरा सम्बन्धी विवाद  पदावलीको विवादजस्तो लागे पनि यो मूलतः अन्तर्वस्तुकै विवाद हो  । चाहे घरेलु राजनीति होस् अथवा साम्राज्यवादी हस्तक्षेप, अन्ततः डायस्पोरा निर्माणको साइनोसम्बन्ध राजनीतिसित जोडिएको हुन्छ भन्ने कुरा प्रस्ट छ । यसको प्रमाण टङ्क सुब्बा र ए .सी. सिंहाले पनि दिएका छन् ।  इन्डियन नेपाली इसुज एन्ड पर्स्पेटिभ्स र नेपाली डायस्पोरा इन अ ग्लोबलाइज्ड  एरा एउटा व्यवस्थित राजनीतिक परियोजना हो ।

(भर्खरै प्रकाशित ऋषिराज बरालको पुस्तक आजको समालोचना अन्तर्गत  ‘डायस्पोराः  नेपाली सन्दर्भ र साहित्य’ एउटा उपशीर्षक '‘डायस्पोरा र भारतीय नेपाली'  को एउटा सानो अंश । मूल पाठमा रहेको फुटनोट यसमा राखिएको छैन । )




भिडियो फिचरview all