menu

ताजा समाचार

कमरेड किरणको अपिलप्रति

‘जनमेल’ टिप्पणी
यही जेठ १९ मा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)  सम्बद्ध अनलाइनमा सो पार्टीका महासचिव कमरेड किरणको चारबुँदे अपिल प्रकाशित भएको थियो र त्यसको भोलिपल्ट ‘देशको जटिल अवस्था र विकल्पको प्रश्न’ शीर्षकमा एउटा लेख प्रकाशित प्रकाशमा आएको छ । दुइटै सामग्री मुलकको वर्तमान स्थिति र क्रान्तिकारीहरूको दायित्वमा केन्द्रित छन्  । एक हिसाबले यी दुवै सामग्री क्रान्तिकारी अपिल हुन् ।

संसदी राजनीतिका पक्षधरहरू अहिले भागबन्डाका लागि लुछाचुँडीको अवस्थामा छन् । उनीहरूबीच हुने फूट र एकता राष्ट्रहित-जनहित भन्दा सत्तालिप्सा र लुटतन्त्रका लागि हुन्छ । क्रान्तिकारीहरू उच्च आदर्श प्राप्तिका लागि एकता र सहकार्यमा जोड दिन्छन् । निकै होहल्लाका साथ केही महिनाअघि ‘रणनीतिक मोर्चा’ को समाचार आएको थियो । त्यसले उत्साहको साटो उल्टै अविश्वास उब्जाएको थियो । अहिले पनि कार्यगत र सहकार्यका नाममा ‘२२ दल’ र ‘१४’ को लामबन्दीको  समाचार फेसबुकका पढ्न पाइन्छ । तर कमरेड किरणको जेठ १९ को अपिल र २० को आलेख  यी सबै परिदृश्यभन्दा अलि फरक किसिमले आएको हुनाले यसले गम्भीर किसिमले ध्यानाकर्षण गर्नु स्वाभाविक छ ।

 जेठ १९ गते जारी चारबुँदे अपिलको पहिलो बुँदा यस्तो छ :

सरकारद्वारा पहिलोदेखि दोस्रो पटकसम्म प्रतिनिधि सभा विघटन गरेयता अहिलेसम्म आउँदा देशको राजनीतिक परिस्थिति असामान्य बन्दै जान थालेको देखिन्छ । गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता लगायत जनयुद्ध तथा जनआन्दोलनका आंशिक उपलब्धि गुम्ने मात्र होइन, देशको राष्ट्रिय स्वाधीनता माथि नै गम्भीर खतरा पैदा हुन थालेको छ । यो बेला एकैसाथ राष्ट्रियता तथा जनतन्त्रका समस्या पहिले भन्दा झनै गम्भीर बन्दै गएका छन् र देश निरङ्कुशतावाद, फासिवाद तथा राष्ट्रघातको कहालीलाग्दो अवस्थामा पुग्न थालेको छ । साथै, यो बेला कोरोना महामारी समेतका कारण जनजीविकाका समस्या निकै विकराल बनेका छन् । यसरी जटिल तथा गम्भीर बन्दै गएका समस्याहरूको समाधान उही असफल प्रमाणित भैसकेको संसदीय प्रतिनिधि सभाको मध्यावधि निर्वाचनद्वारा कदापि हुन सक्दैन । यस स्थितिमा वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा नयाँ जनवादी राज्यसत्ताको स्थापना गरी वैज्ञानिक समाजवाद तर्फ अगाडि बढ्न अनिवार्य रूपमा आवश्यक भएको धारणा हाम्रो पार्टी पुनः स्पष्ट गर्दछ । यो बेला हाम्रो पार्टी विभिन्न ढङ्गले स्वतन्त्र तथा सङ्गठित रूपमा रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध हुन, क्रान्तिकारी विकल्पबारे गम्भीरतापूर्वक चिन्तन मनन गर्न र संयुक्त रूपमा सङ्घर्षलाई अगाडि बढाउनका लागि विशेष अपिल गर्दछ । त्यसैगरी हाम्रो पार्टी सबै सच्चा देशभक्त, जनतान्त्रिक तथा वामपन्थीहरूसित देशको राष्ट्रिय स्वाधीनताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाका समस्याको समाधानका लागि संयुक्त सङ्घर्षको तयारीमा जुट्न हार्दिक अनुरोध गर्दछ ।

जेठ २० को ‘देशको जटिल अवस्था र विकल्पको प्रश्न’ एक हिसाबले जेठ १९ को अपिलकै निरन्तरता र पूरक सामग्री हो । यसमा पनि चारवटा बुँदामा मुलुकको वर्तमान स्थितिप्रति चिन्ता जाहेर गरिएको  छ र चिज धेरै जटिल बन्दै गएकाले अब पुरानै तरिकाले चलेर र सोचेर हुँदैन भनिएको छ:

अब फाटेको टालोमा  फेरि टालो हालेर हुन हुँदैन, किनभने टालो हाल्दा हाल्दै अर्को टालो हाल्ने ठाउँ पनि सिद्धिइसकेको छ । अब धेरै गुनासो गरेर पनि हुँदैन । पुरानो सत्ता तथा व्यवस्था टिकिरहनुमा एउटा प्रमुख कारण अग्रगामी शक्ति साँच्चैको विकल्प बनेर प्रस्तुत हुन नसक्नु पनि हो । त्यसैले आफूलाई अग्रगामी परिवर्तनका पक्षपाती ठान्ने हामी सबैले अत्यन्तै गम्भीर तथा  जिम्मेवार भएर सोच्न र तदनुसार अगाडि बढ्न जरुरी छ ।

वर्तमान सत्ता र व्यवस्थाका सामु विद्यमान सङ्कटको असली समाधान एकातिर त्यस प्रकारको सत्ता र व्यवस्थाको अन्त्य र अर्कोतिर नयाँ जनवादी क्रान्ति सम्पन्न गरी वैज्ञानिक समाजवादको दिशामा अगाडि बढ्नु नै हो । अर्को शब्दमा भन्नु पर्दा यसको अर्थ मजदुर वर्ग र आम जनसमुदायका हातमा राज्यसत्ता सुम्पनु नै हो । यसलाई सर्वहारा वर्गको नेतृत्वमा जनताको जनवादी अधिनायकत्वको स्थापनाका अर्थमा नै बुझ्नु पर्दछ ।

आज देशमा राष्ट्रिय स्वाधीनताको रक्षा, सङ्घीय जनतन्त्रको स्थापना र जनजीविकाको सुनिश्चितताका समस्या फेरि पनि जटिल बन्दै एकैसाथ प्रस्तुत भइरहेका छन् । देश निकै गम्भीर र जटिल मोडमा खडा हुँदै गइरहेको छ । अब हामी विकसित हुँदै आएको नयाँ परिस्थितिमा क्रान्तिका लागि फेरि पनि  निकै गम्भीर तथा मनोयोगपूर्ण तरिकाले सोच्न, आफनो शक्तिलाई सुदृढ तुल्याउन र विचारधारात्मक, राजनीतिक तथा प्राविधिक तयारीका काममा संलग्न हुन जरुरी छ । यस प्रकारको तयारी मध्ये एउटा महत्वपूर्ण काम कम्युनिस्ट क्रान्तिकारीहरूका बीच सिद्धान्तनिष्ठ  एकताको प्रक्रियामा जानु र सो नहुँदासम्म स्वतन्त्र, संयुक्त मोर्चा वा कार्यगत एकता गरी सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु नै हो ।

पहिलो अपिलको जोड “ वर्तमान सत्ता तथा व्यवस्थाको विकल्पका रूपमा नयाँ जनवादी राज्यसत्ताको स्थापना”  र त्यसका लागि “विभिन्न ढङ्गले स्वतन्त्र तथा सङ्गठित रूपमा रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध हुन, क्रान्तिकारी विकल्पबारे गम्भीरतापूर्वक चिन्तन मनन गर्न र संयुक्त रूपमा सङ्घर्षलाई अगाडि बढाउने”  भन्ने कुरामा थियो । त्यसै गरी “सबै सच्चा देशभक्त, जनतान्त्रिक तथा वामपन्थीहरूसित देशको राष्ट्रिय स्वाधीनताको रक्षा, जनताका जनतान्त्रिक हक अधिकारको प्राप्ति र जनजीविकाका समस्याको समाधानका लागि संयुक्त सङ्घर्षको तयारीमा जुट्न” पनि आह्वान थियो ।

पछिल्लो वक्तव्यमा देशको स्थिति एकदमै गम्भीर भएको र विकल्पमा जाने तयारी ढिलो भइसकेको चिन्ता जाहेर गर्दै भनिएको छ : “देश निकै गम्भीर र जटिल मोडमा खडा हुँदै गइरहेको छ । अब हामी विकसित हुँदै आएको नयाँ परिस्थितिमा क्रान्तिका लागि फेरि पनि  निकै गम्भीर तथा मनोयोगपूर्ण तरिकाले सोच्न, आफनो शक्तिलाई सुदृढ तुल्याउन र विचारधारात्मक, राजनीतिक तथा प्राविधिक तयारीका काममा संलग्न हुन जरुरी छ । यस प्रकारको तयारी मध्ये एउटा महत्वपूर्ण काम कम्युनिस्ट क्रान्तिकारीहरूका बीच सिद्धान्तनिष्ठ  एकताको प्रक्रियामा जानु र सो नहुँदासम्म स्वतन्त्र, संयुक्त मोर्चा वा कार्यगत एकता गरी सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु नै हो ।”

माथिको भनाइमा “शक्तिलाई सुदृढ तुल्याउन  विचारधारात्मक, राजनीतिक तथा प्राविधिक तयारीका काममा संलग्न हुन जरुरी छ”  निकै अर्थपूर्ण छ र यसले क्रान्तिको निर्दिट दिशातर्फ सङ्केत गरेको छ । अहिलेको आधारभूत र मूलभूत प्रश्न नै यही हो र यसलाई व्यवहारमा कसरी लैजाने भन्ने प्रश्नले पनि उत्तर खोज्दछ । उत्तरमा “एउटा महत्वपूर्ण काम कम्युनिस्ट क्रान्तिकारीहरूका बीच सिद्धान्तनिष्ठ  एकताको प्रक्रियामा जानु र सो नहुँदासम्म स्वतन्त्र, संयुक्त मोर्चा वा कार्यगत एकता गरी सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु नै हो” भनिएको छ ।

प्रश्न यहीनेर छ । को को हुन् कम्युनिस्ट क्रान्तिकारीहरू ? पहिले नेकपा (क्रान्तिकारी माओवादी) को प्रचण्ड समूहसित एकताको सन्दर्भ चल्दा पनि “क्रान्तिकारीहरूका बीच सिद्धान्तनिष्ठ  एकता” को कुरा उठाएको थियो  र ६ बुँदै आधार अघि सारिएको थियो । मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति र क्रान्तिका तीन जादुगरी हतियार यी आधारभूत आधार हुन् । क्रान्तिकारी कम्युनिस्टहरूले यिनमा तलमाथि गर्ने कामकुरा छैन र हुँदैन  । क्रान्तिका तीन जादुगरी हतियार भन्ने बित्तिकै बलपूर्वक सत्ता प्राप्ति—सशस्त्र सङ्घर्षको कुरा आउँछ । नेपालको बर्तमान परिस्थितिमा सशस्त्र सङ्घर्षको स्वरूप कस्तो हुने ? दीर्घकालीन कि अल्पकालीन यो मनोचाहना भन्दा पनि परिस्थिति र शक्तिहरूको अवस्थितिमा भर पर्छ । क्रान्तिकारीहरूको सचेतन प्रयास र आवश्यकता र स्वतन्त्रताको द्वन्द्वात्मकतामा भर पर्छ । प्रश्न यसैमा छ र बहसछलफल हुनु पर्ने मूल प्रश्न पनि यही हो । कमरेड किरणको आलेखमा “विचारधारात्मक, राजनीतिक तथा प्राविधिक तयारीका” कुरा आएका छन् र यो निकै सकारात्मक पक्ष हो । सधैभरि आत्मगत स्थितिका नाममा गोलचक्करमा रमिरहने कि सचेतन प्रयासका साथ अघि बढ्ने भन्ने कुराले अहिले सटिक उत्तर खोजेको छ । समस्या पहलकदमीमा छ ।

आलेखमा व्यक्त अर्को महत्वपूर्ण  पक्ष भनेको “क्रान्तिकारीहरूका बीच सिद्धान्तनिष्ठ  एकता नहुँदासम्म स्वतन्त्र, संयुक्त मोर्चा वा कार्यगत एकता गरी सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने” भन्ने हो । प्रयास पहिलोमै हुनुपर्छ र त्यसमा समावेश हुन नसकेकासित मुद्दा हेरी सहकार्य हुन सक्छ । हामीले हिजोको ३३ दल पनि हेर्यौँ, २२ दल र १४ दलको नापनक्सा पनि हेरिरहेका छौँ । यस किसिमको स्थितिले व्यापक जनसङ्घर्ष निर्माण गर्न सक्तैन । सहकार्य र संयुक्त मोर्चाको स्वरूप र यसमा रहने शक्तिहरूको बारेमा गम्भीर सोचाइ र बुझाइ हुनु आवश्यक छ । यो बाटोमा जो जो भेटियो त्यसलाई च्यापप समातेर बनाइने मोर्चा होइन । यस्तो प्रवृत्ति अन्ततः समस्यामूलक हुन्छ, यसले उल्टै विकर्षणको स्थिति पैदा गर्छ ।

त्यसै गरी संयुक्त मोर्चा र ‘रणनीतिक मोर्चा’ पनि फरकफरक कुरा हुन् । ‘रणनीतिक मोर्चा’ एक हिसाबले “सिद्धान्तनिष्ठ  एकता” तर्फ प्रवृत्त मोर्चा हो । यो उच्च स्तरको मोर्चा हो ।  यो अन्तिम उद्देश्य प्राप्तिका लागि निर्माण  गरिने मोर्चा हो र यो मोर्चा ‘कार्यनीतिलाई रणनीतिको सेवामा लगाउ‘ सिट सम्बद्ध  मोर्चा हो । फरकफरक कार्यनीति अँगालेर संलग्न समूहहरू कुद्ने अति ‘रणनीतिक मोर्चा’ भन्नुको अर्थ छैन । सगरमाथातिर जाने हो त्यतैको बाटो तय गर्नु पर्छ,   नारायणीमा र्याफ्टिङ गर्दै दखिन बोर्डरतिर लागेर हुँदैन ।  चारवटा समूह चार दिशातिर कुद्ने अनि ‘रणनीतिक मोर्चा’ भन्ने हो भने यो रमाइलो मेला मात्र हुन्छ । यस किसिमको मोर्चामा कमरेड किरणले “ विभिन्न ढङ्गले स्वतन्त्र तथा सङ्गठित रूपमा रहेका क्रान्तिकारी कम्युनिस्टहरूलाई एकताबद्ध हुन गरेको आह्वान” ले सार्थकता पाउँछ जस्तो लाग्दैन ।

वर्गको अस्तित्व र वर्गसङ्घर्षलाई खारेज गर्ने र पहिचानवादमा जोड दिने, जनयुद्ध र माओवाद नस्वीकार्ने र रणनीतिक उद्देश्यलाई ‘जनमत सङ्ग्रह’ मार्फत हासिल गर्ने कार्ययोजना अघि सार्नेहरूसित खासखास मुद्दामा कार्यगत एकता हुन सक्ला, तर दीर्घकालीन किसिमको संयुक्त मोर्चा तथा ‘रणनीतिक मोर्चा’ ले गति लिने कुरा सिद्धान्त र व्यवहार दुवै दृष्टिले सम्भव होला जस्तो लाग्दैन र यो दिगो पनि हुन सक्तैन । दुईचार दिन चर्चामा आउन पत्रपत्रिकामा एउटा ‘इस्यु’ छोडिदिनु, प्रचार मोहमा रमाउनु  र “विचारधारात्मक, राजनीतिक तथा प्राविधिक तयारीका काममा संलग्न हुनु ” फरक कुरा हुन् । पहिलोमा ‘सेलिब्रटी’ हुने हुटहुटी छ र दोस्रोमा क्रान्तिप्रतिको गम्भीरता छ । र पनि आन्तरिक छलफलको ढोका नै बन्द गर्नु पर्छ भन्ने चाहिँ होइन ।

गुनासा धेरै भए “पुरानो सत्ता तथा व्यवस्था टिकिरहनुमा एउटा प्रमुख कारण अग्रगामी शक्ति साँच्चैको विकल्प बनेर प्रस्तुत हुन नसक्नु पनि हो” भन्ने कमरेड किरणको चिन्ता र चिन्तन वक्तव्यका लागि मात्र होइन भने यसको व्यावहारिक  क्रियाशीलताको थालनी हुनु आवश्यक छ ।  यसका लागि सिद्धान्तनिष्ठ एकताका आधारभूत पक्षको उद्घोषका साथ व्यावहारिक क्रियाशीलताको आवश्यकता छ  ।  प्रश्न सबैलाई समेट्ने भन्दा क्रान्तिकारीहरू समेटिने हो । यसको थालनी सानो स्केलबाट पनि हुन सक्छ । तर “क्रान्तिकारी कम्युनिस्टहरू”, “सिद्धान्तनिष्ठ एकता” का आधारहरू,   खास गरेर कार्यदिशाको प्रश्नमा प्रस्ट हुनु पर्छ । “क्रान्तिकारी कम्युनिस्टहरू” बीच  “सिद्धान्तनिष्ठ एकता” को अर्थ जोडजाड, थपथाप र मिसिने कार्य नभएर  क्रान्तिकारी पुनर्गठन हो र हुनुपर्छ भन्ने ‘जनमेल’ को ठहर छ । “क्रान्तिकारी कम्युनिस्टहरू” बीच एउटा ‘कार्यदल’ बनाएर यसको थालनी गर्न सकिन्छ ।
000

भिडियो फिचरview all