menu

ताजा समाचार

क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय सङ्गठन निर्माणको प्रश्न: कम्युनिस्ट न्युक्लिअस, नेपाल

'रिम'  को नेतृत्वदायी स्थानमा रहेका नेकपा (माओवादी) को प्रचण्ड एन्ड कम्पनीले गद्दारीको बाटो लिएपछि  र आरसिपी, अमेरिकाका  वभ अभाकियनहरूले ‘न्यु सिन्थेसिस’ मार्फत ‘उत्तर–वादी’ विसर्जनवादको बाटो समातेपछि ‘रिम’ एक हिसाबले विघटनको स्थितिमा पुग्यो । यस्तो बेला विश्वका क्रान्तिकारीहरूले नयाँ किसिमले क्रान्तिकारी अन्तर्राष्ट्रिय सङ्गठन निर्माणका लागि क्रियाशील हुनु स्वाभाविक थियो । यो पहल सन् २०१० देखि नै भएको छ तापनि  क्रान्तिकारी अन्तर्राष्ट्रिय सङ्गठनको निर्माण हुन सकिरहेको छैन । यो विषय यसपल्टको मे दिवसका सन्दर्भमा अलि बढी गम्भीरताका साथ उठेको छ । यस आलेखमा हामीले यसै पक्षमा ध्यान केन्द्रित गरेका छौँ । आउनुहोस् बहसछलफलमा सहभागी बनौँ:

-------------------------------------------------------------------------------------------------------------
क्रान्तिकारीहरूबीच अन्तर्राष्ट्रिय सङ्गठन निर्माणको प्रश्न
 
कोरोना महामारीका कारण गत वर्षझैँ यसपल्ट पनि मे दिवस खुलेर मनाउने स्थिति नभए पनि मे दिवससित जोडिएर आएका वक्तव्यहरू भने विशेष चर्चाका विषय बने । खास गरेर माओवादी क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय केन्द्र निर्माण सम्बन्धी विषय विशेष चर्चाको विषय बन्यो ।  एद्यपि यो नयाँ सन्दर्भ थिएन, यताका एक दशकमा यो विषय विश्वका क्रान्तिकारीहरूबीच बहसछलफलको विषय बन्दै आएको थियो,  र पनि यो वर्ष अलि बढी चर्चाको विषय बन्यो ।
 
माओको मृत्युपछि चीनमा भएको प्रतिक्रान्ति र त्यसले  पारेको विश्वव्यापी नकारात्मक असरका बीचबाट सर्वहारा क्रान्तिलाई अघि बढाउने प्रयाशस्वरूप सन् १९८४ मा क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्दोलन 'रिम' को गठन भएको थियो।  परन्तु  प्रचण्ड लगायत नेपाल कम्युनिस्ट पार्टी  (माओवादी) को नेतृत्व तहमा रहेका केही नेताहरूले गद्दारीको बाटो समातेपछि र आरसीपी, अमेरिकाका बभ अकाकियनले ‘न्यु सिन्थेसिस’ मार्फत वैचारिक विसर्जनको बाटो अँगालेपछि 'रिम' एक किसिमले विघटनको स्थितिमा पुग्यो। यस किसिमको स्थितिबीच विश्वका क्रान्तिकारीहरू नयाँ अन्तर्राष्ट्रिय केन्द्र निर्माणमा सक्रिय हुनु स्वाभाविक थियो । यो केवल केन्द्र निर्माण गर्ने कुरा मात्र नभएर क्रान्तिकारी आन्दोलनलाई नयाँ किसिमले अघि बढाउनु पर्ने आवश्यकताको उपज थियो । यस कार्यमा क्रान्तिप्रति समर्पित सबैको   धेर-थोर क्रियाशीलता भए पनि इटालीको माओवादी पार्टीको क्रियाशीलता सह्राहनीय रहेको छ । क्रान्तिकारीहरूबीच ऐक्यबद्धता र अन्तराष्ट्रिय केन्द्र निर्माणको प्रश्नलाई लिएर थुप्रै भेला तथा वैचारिक छलफलहरू भएका छन्  । यस सन्दर्भमा ह्यामबर्गमा भएको सन्  २०११ को   सम्मेलनको   विशेष महत्व रहेको छ ।

यसै क्रममा सन् २०१० देखि नै विश्वका क्रान्तिकारी माओवादीहरूले क्रान्तिकारी ऐक्यबद्धता र केन्द्र निर्माणका सन्दर्भलाई लिएर हरेक वर्ष मे दिवसको अवसरमा संयुक्त वक्तव्य प्रकाशित गर्दै आएका छन् । परन्तु पछिल्ला तीन–चार वर्षयता एकल संयुक्त वक्तव्यको साटो दुइटा अलगअलग संयुक्त वक्तव्यहरू प्रकाशित हुने गरेका छन् ।  यसले विभाजित स्थितिलाई दर्शाउने हुनाले यो सन्दर्भ  चिन्ता र चासोको विषय बनेको छ ।

खास गरेर केही ल्याटिन अमेरिकी र युरोपेली माओवादी सङ्गठन  तथा समूहहरूले अलग्गै संयुक्त वक्तव्यहरू प्रकाशित गर्ने गरेका छन् र सबैको एकल संयुक्त वक्तव्यका लागि गरिएका प्रयासहरू सफल हुन सकेका छैनन् । केही कुरामा विवाद भए पनि आधारभूत रूपमा उनीहरूका धारणामा समानता पाइन्छ  । इटालीको माओवादी पार्टीको पहलमा जारी यसपल्टको वक्तव्यमा पनि क्रान्तिकारीहरूबीच ऐक्यबद्धता र अन्तराष्ट्रिय केन्द्र निर्माणको प्रश्नलाई गम्भीरताका साथ उठाइएको छ । जस्तो यसमा भनिएको छ:

 ''अभाकियनवाद र  'प्रचण्डको ‘पथ’ ले दक्षिणपन्थी बाटो समातेपछि नयाँ कदमका लागि क्रान्तिकारीहरूबीच नयाँ कम्युनिस्ट केन्द्र निर्माण गर्न र कम्युनिस्ट अन्तर्राष्ट्रियतर्फ अघि बढ्नु पर्ने कुरालाई महसुस गर्दै  मार्क्सवाद-लेनिनवाद-माओवादमा आधारित पार्टी तथा सङ्गठनहरूको एउटा अन्तर्राष्ट्रिय एकताबद्ध सम्मेलनको आवश्यकताका लागि सर्वहारा अन्तर्राष्ट्रियवादले आज हामीलाई आह्वान गरेको छ ।” 

त्यसै गरी ‘ज्वाइन्ट इन्टर्नेस्नल मे डे डिक्लरेसन: युनाइट अन्डर द रेड ब्यानर अफ माओइज्म’ शीर्षकको अर्को संयुक्त वक्तव्यमा भनिएको छ: दुई लाइन सङ्घर्ष, आलोचना–आत्मालोचनाका माध्यमबाट नै   संयुक्त अन्तर्राष्ट्रिय माओवादी सम्मेलन र सर्वहाराको नयाँ अन्तर्राष्ट्रियको निर्माण हुनेछ ।  यो यस दिशाका लागि अपरिहार्य कदम हो, यो नै आवश्यक फड्को मार्नका लागि ऐतिहासिक आवश्यकता हो ।” 

बहसछलफल,  आलोचना–आत्मालोचनाका माध्यमबाट मतभेदहरूलाई साम्य पार्दै एकताबद्ध किसिमले अघि बढ्नु पर्छ, क्रान्तिकारीहरूबीच एकताबद्धता र नयाँ अन्तर्राष्ट्रिय  सङ्गठनको आवश्यकता छ भन्ने कुरामा सबैको समान धारणा छ । कम्युनिस्ट न्युक्लिअस, नेपाल र नेकपा (क्रान्तिकारी माओवादी)  न्युक्लिअसको पनि यस्तै धारणा छ । इटालीको माओवादी पार्टी नजिकको माध्यम ‘माओइस्ट रोड’ मा भर्खरै प्रकाशित अभिमत पनि यस कार्यमा सकारात्मक पाइलो हो । जस्तो यसमा भनिएको छ:

“माओइस्ट रोड' ले सबै मालेमावादी पार्टी तथा सङ्गठनहरूलाई एउटा संयुक्त अन्तर्राष्ट्रिय  सम्मेलनका लागि आह्वान  गर्दछ र विश्वमा सर्वहारा क्रान्तिलाई अघि बढाउन मालेमावादी सिविरका पार्टी  तथा सङ्गठनहरूले घोषणा गरेका सबै किसिमका संशोधनवाद र अवसरवाद विरुद्धको घोषणालाई समर्थन गर्दछ ।  बहसछलफल, प्रस्टता, भीषण वर्गसङ्घर्ष, अन्तराष्ट्रिय सर्वहारा तथा जनसमुदायसितको सम्बन्ध विस्तारका लागि पचि(नाविस्ट) ले सन् २०२१ को मे डे घोषणापत्रमा  गरेको अडानको समर्थन गर्दै विश्वका क्रान्तिकारी अग्रदस्ताहरूबीच एकताबद्धताका लागि अन्तर्राष्ट्रिय मञ्च निर्माणका लागि हामी दुईपक्षीय तथा बहुपक्षीय सबै किसिमका बैठकका लागि आह्वान  गर्दछौँ ।” 

विवाद र बहस बढी युरोपेली तथा ल्याटिन अमेरिकी माओवादीहरूबीच रहेको जस्तो देखिए पनि बैचारिक तथा सङ्गठनात्मक छलफल सबैको आवश्यकताको विषय हो ।नयाँ किसिमले बहसछलफललाई अघि बढाउनु आयश्यक छ  ।  हिजोका कतिपय माओवादी  पार्टी  र संगठनहरू पलायन र विसर्जनको स्थितिमा  पुगेका छन् भने कतिपय नयाँ माओवादी पार्टीहरू निर्माण भएका छन् र तिनीहरू सक्रियताका साथ काम गरिरहेका छन् । विश्व परिस्थितिमा पनि केही फेरबदल आएको छ । खास गरेर भूमण्डलीकरण र ‘उत्तर–वादी’ प्रवृत्ति सर्वहारा वर्ग र माओवादी आन्दोलनका विरुद्ध खतरनाक किसिमले क्रियाशील छन् । 'उत्तर-मार्क्सवादी' देखि 'उत्तर- माओवादी' विभ्रमहरू फैलाइएका छन् ।  यस किसिमको स्थितिमा क्रान्तिकारीहरूको एकताबद्धताका लागि बहसछलफलका लागि आव्हान गर्नु सही छ,  यो आवश्यक छ । 

यस सन्दर्भमा मे दिवसको अवसर पारेर जारी गरिएको भाकपा (माओवादी) को वक्तव्यले विशेष अर्थ राख्दछ । विगतका कतिपय संयुक्त व्यक्तव्यमा भाकपा (माओवादी) को सहभागिता भए पनि सुरक्षा र सम्पर्कका समस्याका कारण  पछिल्लो समयमा यसले संयुक्त वक्तव्यमा सहभागिता जनाउन सकेको छैन  । यस पल्ट प्रकाशित वक्तव्यमा भाकपा (माओवादी) ले निकै महत्वपूर्ण सन्दर्भहरू उठाएको छ ।

 क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय सङ्गठन र साम्राज्यवाद विरोधी फोरमको आवश्यकता र औचित्यमाथि प्रकाश पार्दै  व्यक्तव्यमा  भनिएको छ:

“अहिले अन्तर्राष्ट्रिय सर्वहारा वर्गका सही अग्रदस्ता सङ्गठनहरूका सामु दुई रणनीतिक कार्यहरू विद्यमान छन् ।  पहिलो भनेको पुँजीवादी–साम्राज्यवादी देशहरूमा मजदुर र अन्य उत्पीडित वर्गहरूको क्रान्तिकारी आन्दोलन सञ्चालन गर्नु हो ।  प्रत्येक अर्ध–औपनिवेशिक, अर्ध–सामन्ती देशका सर्वहारा वर्ग, किसान, अन्य जनवादी वर्ग र सामाजिक  तह र तप्का सङ्गठित हुनुपर्दछ र राष्ट्रिय जनवादी आन्दोलनको निर्माण र नेतृत्व गर्नुपर्दछ । दोस्रो भनेको पुँजीवादी देशहरूमा कम्युनिस्ट आन्दोलनको दरिलो साम्राज्यवाद विरोधी मोर्चा निर्माण गर्नु र नव–औपनिवेशिक, अर्ध औपनिवेशिक देशहरूमा साम्राज्यवाद र यसका समर्थकहरू  विरूद्ध राष्ट्रिय जनवादी मोर्चा निर्माण गर्नु हो ।  यस उद्देश्यका लागि सच्चा सर्वहारा पार्टीहरू र  सङ्गठनहरूले वर्तमानको ठोस स्थितिअनुरूप एउटा सही अन्तर्राष्ट्रिय क्रान्तिकारी सर्वहारा सङ्गठन स्थापना गर्नु आवश्यक छ । यसका लागि माओवादी शक्तिहरू हरेक मुलुकमा समग्र प्रगतिशील, जनवादी शक्तिहरू र विश्वव्यापी दुस्मनका विरूद्ध सम्पूर्ण साम्राज्यवाद विरोधी जनवादी शक्तिहरूसँग एकताबद्ध हुनु पर्दछ ।” 

त्यसै गरी नेकपा (क्रान्तिकारी माओवादी ) ले पनि यस सन्दर्भमा आफनो धारणा यसरी प्रस्ट पारेको छ । मे दिसका सन्दर्भमा सो पार्टीले जारी गरेको वक्तव्यमा भनिएको छ: 

''भूमण्डलीकृत साम्राज्यवादको वर्तमान युगमा, समाजवादको विश्वव्यापी विजयका लागि मात्र होइन कुनै पनि देशको सर्वहारा क्रान्तिको विजयका लागि पनि अन्तर्राष्ट्रिय कामको महत्व पहिले भन्दा निकै बढेर गएको छ । त्यसका लागि विश्वका सच्चा क्रान्तिकारीहरुका सामु छिट्टै पुरा गर्नु पर्ने दुईवटा अन्तर्राष्ट्रिय कार्यभार रहेका छन् । ती हुन्,  एक, मालेमावादको वैचारिक निर्देशनमा एउटा अन्तर्राष्ट्रिय सङ्गठनको निर्माण र दुई, साम्राज्यवाद विरोधी संयुक्त मोर्चाको गठन ।” 

नेकपा (क्रान्तिकारी माओवादी) को  वक्तव्यले समकालीन विश्व परिस्थिति र क्रान्तिकारीहरूको भूमिकाबारे  प्रस्ट धारणा राखेको छ । यो सही छ र यसले भाकपा (माओवादी) को स्पिरिटलाई समातेको छ । 

माओवादी क्रान्तिकारीहरूको एउटा अन्तर्राष्ट्रिय केन्द्र बनाउने र साम्राज्यवाद विरोधी मोर्चा बनाउने सन्दर्भमा विश्वका क्रान्तिकारीहरूको विमति हुनु पर्ने आवश्यकता छैन । यो आजको आवश्यकता हो । मे दिवसका सन्दर्भमा जारी दुवै संयुक्त वक्तव्यको स्पिरिट यही हो र कम्युनिस्ट न्युक्लिअस, नेपाल  यसप्रति ऐक्यबद्धता जनाउँछ । त्यसमा पनि भाकपाको वक्तव्यले  विशेष अर्थ राख्दछ । यसलाई हामीले गम्भीरतापूर्वक लिनु पर्दछ । 

क्रान्तिकारीहरूबीच एकता, र अन्तराष्ट्रिय केन्द्र निर्माणको प्रश्नलाई लिएर भारतीय कम्युनिस्ट पार्टी ( माओवादी)  ले आफ्नो धारणा  प्रस्ट पार्ने सन्दर्भमा सन् २०१७  जारी गरेको ‘आवर स्ट्यान्ड अन द फर्मेसन अफ ऐन इन्टर्नेस्नल अर्गनाइजेसन अफ द प्रोलेटरियट’ शीर्षकको दस्ताबेज यस सन्दर्भमा निकै महत्वपूर्ण दस्ताबेज हो ।

यसमा मार्क्स –एङ्गेल्स  र पहिलो 'अन्तर्राष्टिय' को निर्माणदेखि 'रिम' र 'कम्पोसा' सम्मको चर्चा गरिएको छ । 'रिम'को समीक्षा गरिएको छ र यसका सकारात्मक पक्षका साथै कमीकमजोरीको पनि चर्चा गरिएको छ ।  क्रान्तिकारीहरूको अब बन्ने अन्तर्राष्टिय संगठनले विगतबाट शीक्षा लिनु पर्ने कुरामा प्रकाश पार्दै  वैचारिक तथा साङ्गठनिक आधारको पनि चर्चा गरिएको छ । सबैको  विस्तृत चर्चा यहाँ सम्भव छैन, तर केही  गम्भीर  मुद्दाहरू यसमा उठाइएका छन्, तिनको गम्भीरतापूर्वक अध्ययन–मनन गर्नु जरुरी छ ।
 
अहिले भाकपा (माओवादी)  फिलिपिन्स कम्युनिस्ट पार्टी र टर्कीको माओवादी पार्टीले जनयुद्ध चलाइरहेका छन् । साथै माओवादी पार्टी गठन भएका मुलुकहरूमा खास मुलुकको स्थिति अनुसार वर्गसङ्घर्षका गतिविधिहरू  पनि भइरहेका छन् ।  फिलिपिन्सको पार्टी हिजोका दिनमा पनि ‘रिम’ सित आबद्ध भएन र अहिले पनि ऊ आफ्नै शैलीमा चलिरहेको छ । अब पनि उसको आबद्धताको  त्यति सुनिश्चितता  छैन । दसबर्से जनयुद्ध लडेको पार्टीको एउटा महत्वपूर्ण हिस्साका रूपमा रहेको पार्टीका नाताले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले क्रान्तिकारीहरूको अन्तर्राष्ट्रिय सङ्गठन निर्माणमा जुन किसिमको सक्रियता देखिनु पर्ने थियो, त्यसको अभाव रह्यो भन्ने टिप्पणी  भाइचारा पार्टीहरूले गर्ने गरेका छन् ।

धेरथोर  बहसका मुद्धाहरू सबैसित छन् तापनि बढी  विवाद केही ल्याटिन अमेरिकी र युरोपेली संगठनहरू बीच रहेको देखिन्छ । अन्य सन्दर्भसहित विवादका क्रममा ‘गोन्जालो थट’, ‘प्रिन्सिपल्ली माओइज्म’ जस्ता सन्दर्भहरू पनि आएका छन् । मार्क्सवाद–लेनिनवाद–माओवादको कुरा गर्दा प्रमुख रूपमा मार्क्स, लेनिन र माओको नाम लिने गरिन्छ । र सामान्य रूपमा यो सही पनि हो । तर, आजको मार्क्सवाद अर्थात् माओवाद  मार्क्स–एङ्गेल्स, लेनिन, स्तालिन र माओको समग्र योगदानको परिणाम हो भन्ने कुरामा हामी प्रस्ट हुनु आवश्यक छ । यो समग्रताबाट एङ्गेल्स र स्टालिनको भूमिकालाई खारेज गर्नु उचित हुँदैन,   त्यसमा पनि एङ्गेल्सको भूमिकालाई न्यूनीकरण गर्नु सही हुँदैन । आजको मार्क्सवाद यी सबैको योगदानको समुच्चय हो । यस अर्थमा ‘रिम’ को निर्णयका नाममा विगतमा जसरी   मार्क्स, एंगेल्स, लेनिन, स्टालिन  र माओ सम्मिलित मूल लोगो (   पाँच   टाउका) बाट एङ्गेल्स र स्टालिनको फोटो हटाएर मार्क्स, लेनिन र माओमा मात्र सिमित गरियो, यो  त्रुटिपूर्ण थियो । यसको पुनर्समीक्षा गरिनु आवश्यक छ । 

साथै कमरेड गोन्जालोको पक्राउपछि भएका घटना सन्दर्भहरूमा ‘कोरिम’ को भूमिका जति रचनात्मक र सहयोगात्मक हुनु पथ्र्यो, त्यसमा पनि केही कमी रहेको छ । खास गरेर आरसिपी, अमेरिकाको भूमिका बढी नकारात्मक रहेको भन्ने टिप्पणी गर्ने गरिन्छ । गम्भीर अध्ययन नगरी  कतिपय निर्णयहरू हतार भएका छन् भन्ने गरिन्छ । यी सबै सन्दर्भहरू छलफलको विषय हुनुलाई अन्यथा मान्नु हुँदैन भन्ने हाम्रो बुझाइ छ । कमरेड गोन्जालोको ऐतिहासिक  योगदानलाई खारेज गर्न सकिँदैन र हुँदैन । माओपछिको क्रान्तिकारी निरन्तरता, माओवाद र जनयुद्धको आवश्यकता र औचित्य स्थापनाका दृष्टिले कमरेड गोन्जालोको ऐतिहासिक भूमिकालाई न्यूनीकरण गर्नु ठूलो भूल हुने छ र यो मार्क्सवादी बुझाइ हुन सक्तैन । यो मुद्धालाई पनि गम्भीरतापूर्वक लिनु आवश्यक छ ।

 कतिपय संगठनहरूले ‘गोन्जालो थट’ र  ‘प्रिन्सिपल्ली माओइज्म’ जस्ता  सन्दर्भहरूलाई बहसमा ल्याएका छन्  ।  ‘गोन्जालो थट’ र ‘प्रचण्ड पथ’ खास पार्टीका धारणा हुन सक्छन्, तर ती सार्वभौम धारणा बन्न सक्तैनन् ।  यस्तो घोषणा गर्नु सही थिएन भन्ने कुरा समयले पुष्टि गरिसकेको छ l साथै माओवाद मार्क्सवाद–लेनिनवादमा भएको पछिल्लो विकास हो र यसलाई समग्रता,  निरन्तरता र अविच्छिन्नतामा लिनु पर्छ । जसरी  कतिपय संगठनबाट  ‘प्रिन्सिपल्ली माओइज्म’ भन्ने धारणा आएको छ, त्यो पनि सही छैन भन्ने हाम्रो बुझाइ  छ । वैचारिक पक्षहरू  भावना र आवेगद्वारा निर्धारित हुँदैनन् । 

अवश्य पनि हिजोभन्दा अहिलेको स्थिति जटिल छ तापनि अन्तर्राष्ट्रिय केन्द्र निर्माण अहिलेको आवश्यकता हो l यसका लागि  बैठक, गोष्ठी र सम्मेलनको आयोजनाको प्रस्ताब   गरिए पनि महामारीका  कारण भौतिक रूपमा  उपस्थिति हुने सम्भावना   छैन । कतिपय पार्टीका लागि सुरक्षाको प्रश्न पनि छ  l त्यसैले सापेक्षित रूपमा खुला रहेका पार्टीहरूबीच बहसछलफललाई अघि बढाउनु आवश्यक छ । यो कार्य जमघटबाट नभई विविध माध्यमहरूबाट पनि सम्भव छ । प्रारम्भिक तहमा यसो गर्न सकिन्छ । 
 
एकदशकदेखि थालनी गरिएको प्रयासलाई अब ठोस रूप दिनु आवश्यक छ । हाम्रो विचारमा माओवादीहरूको  अन्तर्राष्ट्रिय संगठन  निर्माण र साम्राज्यवाद विरोधी फोरमका  सम्बन्धमा भाकपा (माओवादी) ले अघि सारेको  धारणालाई छलफलका आधारभूत पक्षका रूपमा लिन सकिन्छ ।   विगतको अनुभव र वर्तमानको यथार्थलाई अघि राखेर यस कार्यमा अघि बढ्नु नै सही हुन्छ भन्ने हाम्रो बुझाइ छ । 

कम्युनिस्ट न्युक्लिअस, नेपाल 
 
५ मे, २०२१  
भिडियो फिचरview all