menu

ताजा समाचार

क्रान्तिकारी माओवादीका महासचिवद्वारा क्रान्तिकारी एकीकरण तथा ध्रुवीकरणको आव्हान

२२ अप्रिल विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको जन्मदिन हो र आजकै दिन २००६ साल बैशख  ९ (२२ अप्रिल)  मा नेपालमा कम्युनिस्ट पार्टीको  स्थापना भएको थियो । यस अर्थमा सर्वहारा वर्गको मुक्तिका पक्षमा लागेकाहरूका लागि आजको दिनको  विशेष महत्त्व रहेको छ । यस सन्दर्भमा सर्वहारा वर्गको मुक्तिको पक्षधर पार्टी, संस्था र व्यक्तिहरूले विभिन्न कार्यक्रमद्वारा लेनिनलाई सम्झिरहेका छन् र नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवस पनि मनाइरहेका छन् । 

यसै संदर्भमा नेकपा ( क्रान्तिकारी माओवादी) का महासचिब   कमरेड किरणले व्यक्तव्य  प्रकाशित गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्न क्रान्तिकारी एकीकरण तथा ध्रुवीकरणको प्रक्रियामा सामेल भएर अगाडि बढ्न छरिएर रहेका आम क्रान्तिकारी नेता, कार्यकर्तालाई अनुरोध गरेका छन् l  जस्तो वक्तव्यमा भनिएको छ :

''आज नेपालमा क्रान्तिको लागि वस्तुगत परिस्थिति अनुकुल बन्दै गइरहेको छ र क्रान्ति अनिवार्य आवश्यकता बनेको छ । हामी पार्टी स्थापना दिवसको यो विशेष सन्दर्भमा इतिहासको कसीमा राष्ट्रघाती र जनविरोधी सावित भइसकेका गद्दार नेताहरू  र विभिन्न रूप एवम् रङ्गका छद्म अवसरवादीहरूको पछि लागेर होइन, मालेमावादको आलोकमा सम्पन्न हुने नयाँ जनवादी क्रान्तिको सफलताका लागि क्रान्तिकारी एकीकरण तथा ध्रुवीकरणको प्रक्रियामा सामेल भएर अगाडि बढ्न छरिएर रहेका आम क्रान्तिकारी नेता, कार्यकर्ता तथा जनतालाई हार्दिक अनुरोध गर्दछौँ ।"

प्रस्तुत छ वक्तव्यको पूर्णपाठ :

आज २०७८ साल वैशाख ९ गते, तदनुसार २२ अप्रिल २०२१ एउटा ऐतिहासिक महत्वको दिन हो । आजको ठीक ७१ वर्ष पहिले कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । आज २२ अप्रिल विश्व सर्वहारा वर्गका महान् नेता लेनिनको जन्मदिन पनि हो । यसरी आजको दिनले नेपाली कम्युनिस्ट आन्दोलन मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमा समेत विशेष महत्व राख्दछ ।

नेपाली कम्युनिस्ट आन्दोलन आज ७१ वर्ष पूरा गरी ७२ वर्षमा प्रवेश गरेको छ । ७१ वर्षको लामो इतिहासमा यो आन्दोलन एकता, सङ्घर्ष र रुपान्तरणका अनेकौं श्रृङ्खलासहित संशोधनवादका विरुद्ध विद्रोह र क्रान्तिकारीहरुका बीचमा नयाँ आधारमा नयाँ एकता गर्दै अगाडि बढदै आएको छ । अर्ध-सामन्ती र अर्ध तथा नव-औपनिवेशिक अवस्थामा रहेको देशलाई नयाँ जनवादी क्रान्तिको प्रक्रियाद्वारा मुक्त गरी वैज्ञानिक समाजवाद र साम्यवादको महान् उद्देश्य पुरा गर्नका लागि नेपालमा विभिन्न समयमा जनआन्दोलन, सशस्त्र सङ्घर्ष र जनयुद्ध भएका छन् । त्याग र बलिदानले भरिपूर्ण यो लामो गौरवशाली सङ्घर्षको अवधिमा नेपाली जनताले जनमुक्ति सेनाको निर्माण र जनसत्ताको अभ्यास पनि गरेका छन् । तर, नेपाली क्रान्तिको प्रमुख बाधक रहँदैआएको दक्षिणपन्थी संशोधनवादका कारण नेपाल र नेपाली जनता दलाल तथा नोकरशाही पुँजीवाद एवम् सामन्तवाद र साम्राज्यवाद तथा भारतीय विस्तारबादको शोषण तथा उत्पीडनबाट अझै पनि मुक्त भएका छैनन् ।

अहिले नेपालमा नामधारी कम्युनिस्ट पार्टीको सरकार छ । तर विडम्बना, यही नै बेला नेपालमाथि साम्राज्यवादी तथा विस्तारवादी हस्तक्षेप बढेर गएको छ । नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपाललाई हस्तगत गर्नेबारे ओली सरकारले भारतसँग कूटनैतिक प्रयास समेत गरेको छैन भने अर्कोतिर एमसीसी परियोजनालाई संसदबाट अनुमोदन गराई नेपालमा अमेरिकाको सैन्य अखडा स्थापना गर्न र नेपाललाई वैदेशिक शक्तिकेन्द्रहरूको रणमैदान गराउन यो सरकार उद्यत रहेको छ । महान् जनयुद्धको जग र दोस्रो जनआन्दोलनका बलमा प्राप्त जनताका जनतान्त्रिक अधिकारहरु अहिले धरापमा परेका छन् भने जनजीविकाका समस्या झनझन विकराल बन्दै गएका छन् । नवउदारवादको सिरानी हालेर तयार पारिएको साम्राज्यवादी आर्थिक नीति र त्यसैले प्रक्षेपण गरेको “सुखी नेपाली र समृद्ध नेपाल”को नारा फोस्रो गफ बन्न गएको छ । भ्रष्टाचारको सीमा छैन र सरकारका हस्तीहरू  नै यसमा संलग्न रहेका छन् । सरकार कोभिड–१९को नियन्त्रणमा समेत उदासीन रहँदै आएको छ । वस्तुतः सरकारले कम्युनिस्टको नाममा कम्युनिस्टहरुकै बदनाम गरिराखेको कुरा स्पष्ट छ ।

अहिले नेपाल गम्भीर राजनीतिक सङ्कट भएर गुज्रिएको छ । वर्तमान सङ्कट संसदीय व्यवस्थाका पक्षपाती सबै राजनीतिक पार्टीहरू, स्वयम् प्रतिक्रियावादी राज्यसत्ता र संसदीय व्यवस्थाको असफलताको स्वाभाविक परिणाम हो । यो सङ्कट यतिनै बेला विष्फोट हुनुमा मार्क्सवादको नाममा दक्षिणपन्थी संशोधनवादको अभ्यास गर्ने नक्कली कम्युनिस्टहरूको प्रतिक्रियावादी सार र त्यसैका कारण पैदा भएको सुविधा केन्द्रित अन्तर–कलहको भूमिका रहन गएको छ । नाटकीय रूपमा एमाले र माकेका बीच कथित एकता गरी नेकपा (नेकपा)को निर्माण, त्यसमा पैदा भएको पदीय भागबन्डाको झगडा तथा फुट, आपसी गालीगलौज र पछिल्लो विघटनको समग्र प्रक्रियाले नेपालमा दक्षिणपन्थी संशोधनवाद पूर्णतः असफल भएको पुष्टि हुन्छ । फेरि पनि केपी ओली, माधव नेपाल र पीके दाहालहरूले कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने र एकले अर्कोलाई देखाइदिने धम्की दिँदै हिँडेका छन् । यो उनीहरुको आत्मतुष्टि मात्र हो । त्यसमाथि, साम्राज्यवाद र विस्तारवादका असली सेवकहरूले कम्युनिस्ट पार्टीको पुनर्गठन गर्ने र देश र जनताको मुक्ति गर्ने जुन कुरा गर्दै हिँडेका छन्, त्यो जनतालाई पुनः धोका दिने र देश लुट्नेबाहेक अरू  केही होइन । यो कम्युनिस्टको माया गर्ने जनतालाई भ्रममा पार्ने चालबाजी हो ।

आज नेपालमा क्रान्तिको लागि वस्तुगत परिस्थिति अनुकुल बन्दै गइरहेको छ र क्रान्ति अनिवार्य आवश्यकता बनेको छ । हामी पार्टी स्थापना दिवसको यो विशेष सन्दर्भमा इतिहासको कसीमा राष्ट्रघाती र जनविरोधी सावित भइसकेका गद्दार नेताहरू  र विभिन्न रूप एवम् रङ्गका छद्म अवसरवादीहरूको पछि लागेर होइन, मालेमावादको आलोकमा सम्पन्न हुने नयाँ जनवादी क्रान्तिको सफलताका लागि क्रान्तिकारी एकीकरण तथा ध्रुवीकरणको प्रक्रियामा सामेल भएर अगाडि बढ्न छरिएर रहेका आम क्रान्तिकारी नेता, कार्यकर्ता तथा जनतालाई हार्दिक अनुरोध गर्दछौँ ।

बैशाख ९, २०७८

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)

भिडियो फिचरview all