menu

ताजा समाचार

छत्तीसगढ भिडन्तका सम्बन्धमा भाकपा (माओवादी) को जनसम्बोधन

भारतको छत्तीसगढ राज्यमा यही अप्रिल ३ तारिखका दिन भाकपा (माओवादी) का जनमुक्ति छापामार सेना र भारतीय सुरक्षा फौजबीच करिब ४ घण्टा चलेको दोहोरो भिडन्तमा सरकारी फौजका २४ जनाको मृत्यु अहिले विश्वव्यापी चर्चाको विषय बनेको छ । यस सन्दर्भलाई लिएर भाकपा (माओवादी) ले जारी गरेको जनताका नामको सम्बोधनलाई यहाँ प्रस्तुत गरिएको छ :
-------------------------------------------------------------------------------------------------

फासिवादी ‘समाधान–प्रहार’ सैनिक अभियानलाई  जिरागुडेम गाउँको नजिक पिएलजिएद्वारा चोटिलो जवाफ

प्रिय जनसमुदाय, 

अप्रिल ३ तारिखको दिन बस्तर आइ.जि सुन्दरराज पीको नेतृत्वमा सुकमा, बिजापुरका गाउँहरूमा भीषण आक्रमणका लागि २००० को सङ्ख्यामा पुलिसहरू आएका थिए । 

२०२० को अगस्तमा अमित साहको नेतृत्वमा दिल्लीमा  भएको एउटा बैठकमा यस किसिमको अभियानको योजना बनाइएको थियो । त्यसपछि रायपुर केन्द्र बनाएर काम गरिरहेका विजयकुमारको नेतृत्वमा अक्टोबर महिनामा पाँच राज्यका पुलिस अधिकारीका साथ तेलङ्गना–बैङ्कटापुरमा भएको बैठकमा यस ‘समाधान–प्रहार’ सैनिक अभियानको आधारभूत योजना तयार पारिएको थियो । बस्तर आइजी सुन्दरराज पीलाई यस सैन्य अभियानको प्रमुख बनाइएको थियो । अहिले केन्द्र सरकारले यस सैन्य अभियानको विशेष पदाधिकारका रूपमा अशोक जुनेजा (डिजिपी) लाई नियुक्त गरेको छ । 

२०२० नवम्बरबाट थालिएको यस अभियानमा उनीहरूले १५० भन्दा बढी ग्रामिण जनताको हत्या गरेका छन् । यिनमा केही हाम्रा नेता, कार्यकर्ता पनि परेका छन् । हजारौँ जनतालाई जेलमा  पुर्याएका   छन् । महिलामाथि अत्याचार गरेर हत्या गरिएको छ । जनताका धनमाल लुटिएको छ, सम्पतिको विध्वंश गरिएको छ । एकातिर यस किसिमका गतिविधि बढाइएको छ भने अर्कातिर पुलिस क्याम्प स्थापनाका साथै निगरानीका लागि बाटो निर्माण पनि गरिएको छ । यसैलाई विकास भनेर उनीहरूले झुठो प्रचार गरिरहेका छन् ।  उनीहरूले जनकल्याणका लागि अस्पताल र स्कुलहरू चलाएका छ्रैनन्, बरु यस अभियानले स्कुल र अस्पताललाई ध्वस्त पारिरहेको छ । अनि यता उल्टै माओवादीलाई विकास विरोधी भनेर झुठो प्रचार गरिरहेका छन् । पुलिस क्याम्प र सरकारी विध्वंशका विरुद्ध दण्डकारण्यमा हजारौँ जनताले आन्दोलन गरिरहेका छन् । उनीहरूले  पुलिस क्याम्प हटाउन र स्कुल र अस्पताल स्थापना गर्न माग गरिरहेका छन् ।
 
अप्रिल ३ तारिखका दिन २०००को  सङ्ख्यामा  साम्राज्यवादको हितैषी एवं जन विरोधी फासिवादी मोदीको प्रहरी फौज निकै ठूलो आक्रमणका लागि जिरागुडेम गाउँ नजिक आएको थियो । यसैलाई रोक्न जनमुक्ति छापामार सेना (पिएलजिए) ले प्रत्याक्रमण गरेको हो । यो विरतापूर्ण प्रत्याक्रमणमा भाडाका पुलिस २४ जना ठहरै भए र ३१ जनाभन्दा बढी घाइते भए । एकजना बन्दीका रूपमा हामीसित छन् र बाँकी पुलिसहरू भागे । यस घटनाअघि विरागुडेम गाउँमा माडवी सुक्काललाई पक्डेर हत्या गरेका थिए, उनीहरूले यसलाई फायरिङमा एक जना माओवादी मारियो भनेर झुठो प्रचार गरेका छन् । 

अहिलेको साहसिक प्रत्याक्रमणमा हाम्रो जनमुक्ति छापामार सेनाका ४ जना योद्धाहरूले प्राण न्यौछावर गरेका छन् । यसमा १. कमरेड ओडी सन्नी, २. कमरेड पदाम लखमा, ३. कमरेड कोवासी बदरू र ४.कमरेड नेपा सुरेश रहेका छन्, तर कमरेड सन्नीको मृत शरीरलाई हामीले ल्याउन सकेनौँ । अन्य कमरेडहरूलाई जनताको उपस्थितिबीच क्रान्तिकारी रिवाजका साथ अन्तिम बिदाइ  गर्यो । 

वास्तवमा आम प्रहरी हाम्रा दुस्मन होइनन्, शासक वर्गले थोपरेको युद्धमा बलिको बोको नबन्न हामी उनीहरूलाई अनुरोध गर्छौँ । यस भिडन्तमा मृत पुलिसका परिवार जनप्रति हामी दुख प्रकट गर्दछौँ । 

यो विरतापूर्ण प्रत्याक्रमणमा १४ हतियार २००० भन्दा बढी कारतुस र केही बन्दोबस्तीका सामान हाम्रा छापामार सेनाले कब्जा गरेका छन् । 
यो घटनापछि हस्याङफस्याङ गर्दै अमित साह जगदलपुर र बासागुडेम आएको छ । यस घटनालाई लिएर उसले पुलिस मनोबल उच्च छ र माओवादीका खिलाफ यो सैन्य अभियानलाई थप तीव्र बनाइनेछ भनेको छ । यसैबाट उनीहरू साम्राज्यवाद  र त्यसका दललाहरूलाई कति विश्वस्त बनाउन खोजिरहेका छन् भनने कुरा बुझ्न सकिन्छ । 

माथि भनिएको परिस्थितिमा जल, जङ्गल, जमिन, इज्जत र   जीवन-रक्षाका लागि बाध्य हुनु परेको अवस्थामा प्रत्याक्रमण गर्न हामी बाध्य भएका छौँ । 

वार्ताका सम्बन्धमा हाम्रो भनाइ—वार्ताका लागि जुनसुकै बेला पनि हामी तयार छौँ । सरकार इमानदार छैन । पहिलेपहिले भएका वार्ताहरूमा सशस्त्र सङ्घर्ष गर्ने कसैले पनि हतियार त्यागेका थिएनन् । वार्ता गर्न अनुकूल वातावरण बनाउने काम सरकारको हो । पुलिस फोर्स केन्द्रित गर्नु, क्याम्प खडा गर्नु, दमन गर्नु, आक्रमण गर्नु, जस्ता कार्यहरू रोकेर मात्रै वार्ताको वातावरण बन्छ । त्यसो नगरेर सरकार कोडागावँ, नारायणपुर  बिजापुर जिल्लामा सैन्य अभियान चलाइरहेको छ । आत्मरक्षाका लागि प्रत्याक्रमण गर्नु परिरहेको छ । यसै क्रममा पुलिसहरूको मृत्यु भएको हो । यसको जिम्मेवार फासिवादी मोदी, अमित साह, बुपेष बघेल, ताम्रद्वज साहु, विजयकुमार, अशोक जुनेजा र सुन्दरराज पी हुन् । 

मोदी सत्तामा आएपछि यो वर्ष देशको अर्थव्यवस्था गहिरो सङ्कटमा फसेको छ । राजनीतिक सङ्कट गहिरिँदै जाँदो छ । जनताको धनमालको सुरक्षामा खतरा मडारिएको छ । देशको सम्पति कब्जा गर्ने प्रयास भइरहेको छ । देशका सबै वर्ग र उत्पीडित समुदाय—दलित, आदिवासी, धार्मिक अल्पसङ्ख्यक, महिला, मजदुर किसान, कर्मचारी, विद्यार्थी र जनवादी शक्तिहरू र जनसङ्गठनहरूप्रति फासिवादी दमन चलिरहेको छ । विरोध गर्ने बुद्धिजीवी, मानवअधिकार सङ्गठन र  पत्रकारहरूलाई “अर्बन माओइस्ट” भनेर जेलमा कोच्ने गरिएको छ । सँगसँगै संसदीय पार्टीका केही नेताहरूमाथि पनि यो फासिवादी आक्रमण भइरहेको छ । सबै संवैधानिक प्रावधानलाई निष्क्रिय पारेर एन. आइ. ए (राष्ट्रिय अनुसन्धान  एजेन्सी) लाई विस्तृत अधिकार दिएर फासिवादी तरिकाले कानुन बनाइएको छ । उल्टै उनीहरू  आरयसयस र विजेपी देशभक्त छन् भनेर हल्ला गरिरहेका छन् ।
 
जल-जङ्ग-जमिन, इज्जत र अधिकारको नाराका साथ जङ्गल र विशाल ग्रामिण क्षेत्रमा लडाइँको माध्यमबाट जनताले प्राकृतिक संशाधन र सम्पतिको रक्षा गरिरहेका छन् । यथार्थमा यी जनता नै सच्चा देशभक्त हुन् र यी सबै आन्दोलनमा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले नेतृत्व प्रदान गरिरहेको छ । यो आन्दोलनलाई जुझारू किसिमले अघि बढाइरहेको छ । जनआन्दोलनका साथै जनयुद्ध पनि जारी छ । 
आज देश अतन्त्य कठिन परिस्थितिमा छ । देश र जनताको सुरक्षाका विरुद्ध फासिवादी मोदी र अमित साह बडो खतरा किसिमले प्रस्तुत भएका छन् । 

सबै संवैधानिक प्रावधानहरूलाई निष्क्रिय  पारिएको स्थितिमा, कानुनसम्मत आन्दोलनमाथि समेत बर्बर दमन थोपरिएको स्थितिमा जनयुद्ध र जनआन्दोलनका बीच एकाकार भएर गरिने सङ्घर्ष नै एक मात्र बाटोका रूपमा जनताका सामु विद्यमान छ । “जनतालाई सबै अधिकार” का साथ चलेको जनसरकारको अवधारणा नै आजको सही विकल्प हो । सवै उत्पीडित वर्ग र तप्का सम्मिलित  जनसरकारको विस्तार र  सुदृढीकरणमा सामेल हुन हामी अनुरोध गर्छौ । मोदी र अमित साहले जतिसुकै हत्या योजना बनाए पनि ती सबै योजनालाई जनयुद्धका माध्यमबाट हामीले चोटिलो जवाफ दिन सक्छौँ । 

सूचना : सरकारले पहिले ठोस रूपमा मध्यस्थकर्ताको नाम घोषणा गरोस्, त्यसपछि बन्दीका रूपमा रहेको पुलिसलाई हामी सुम्पन्छौँ ।  त्यसबेलासम्म उनी जन सरकारको सुरक्षामा सकुशल रहनेछन् । 

    क्रान्तिकारी अभिनन्दनका साथ
       विकल्प 
 प्रवक्ता : दण्डकारण्य स्पेसल जोनल कमिटी, भारतीय कम्युनिसट पार्टी (माओवादी)
भिडियो फिचरview all