menu

ताजा समाचार

कुटिल चिन्तन: ‘माओइज्म अ ग्लोबल हिस्ट्री’

ऋषिराज बराल 
सार्वभौम माओवाद, 'उत्तर-मार्क्सवादी' विभ्रम र वैचारिक सङ्घर्ष पुस्तक लेख्ने क्रममा चिनियाँ इतिहासकी अध्येता भनेर चर्चामा आएकी ब्रिटिस प्राध्यापक जुलिया लोभेलको सन् १९१९ मा प्रकाशित पुस्तक माओइज्म अ ग्लोबल हिस्ट्री पनि अध्ययन गर्नु पर्ने पुस्तकका रूपमा  नाम टिपेको थिएँ । पहिलो कुरा, यो मैले लेख्न थालेको पुस्तकको शीर्षकसित  मिल्दोजुल्दो थियो, दोस्रो कुरा, माओवादी आन्दोलनका सम्बन्धमा  पश्चिमा लेखकहरूले लेखेको पछिल्लो पुस्तक थियो । तेस्रो कुरा, यसको प्रशंसामा निकै लेखिएको थियो र महत्वपूर्ण ब्रिटिस संस्थाले उत्कृष्ट पुस्तकका रूपमा यसलाई पुरस्कृत पनि गरेको थियो । चौथो कुरा, यसमा नेपालको माआवादी आन्दोलन र जनयुद्धको चर्चाका साथै पछिल्लो स्थितिको समेत चर्चा गरिएको थियो  । यस अर्थमा यो पुस्तक पढ्नु आवश्यक थियो । ६ महिनाको पर्खाइपछि पुस्तक हात पर्यो । पुस्तक पढेपछिको अनुभूतिले चाहिँ आकर्षक शीर्षकमा कसरी गलत सन्देश दिइँदो रहेछ भन्ने कराको गजबको अनुभव भएको छ  । 

यसबारे विस्तृत  मेरो पुस्तकको एउटा अध्याय “माओवाद  र ‘ग्लोबल माओइज्म’ को सन्दर्भ” मा पढ्न पाइनेछ । सिङ्गो पुस्तकको नेपाली र अङ्ग्रेजी समीक्षाको अलग्गै तयारी गरिएको सन्दर्भमा यहाँ नेपालको दसबर्से जनयुद्धको सन्दर्भको मात्र सङ्क्षिप्त जानकारी दिने प्रयाश गरेको छु ।

माओवादको विश्वव्यापी प्रभाव, शीर्षक आकर्षक छ । पढ्दै जाँदा बडो छक्क पर्नु पर्ने स्थिति छ , ओहो ! भन्नु पर्ने अवस्था छ । कसरी सत्यतथ्यलाई तोडमरोड गरेर विभ्रमीकरण गरिँदो रहेछ भनेर अचम्म मान्नु पर्ने अवस्था आउँछ । यो अवस्था  पुस्तकको  ‘इन्ट्रोडक्सन’ अध्यायबाट नै आरम्भ हुन्छ । कतै सकारात्मक र  कतै एकदमै नकारात्मक देखिने यो पुस्तक सरसरती हेर्दा माओवादी आन्दोलनप्रतिको आलोचनात्मक हेराइ जस्तो लाग्छ, लेखक तटस्थ हुन खोजेजस्तो लाग्छ । तर, समग्रमा पुस्तकले छाड्ने प्रभाव नकारात्मक छ, वैचारिक विभ्रमीकरण छ  ।
 
कतिपय सन्दर्भहरू पाठकहरूमा,  अझ माओवादी आन्दोलनबारे त्यति सारो जानकारी नभएकाहरूमा आन्दोलनप्रति नकारात्मकता ज्नमाउने मात्र नभई वितृष्णा नै जगाउने खालका छन् । चीन,  पेरू, कम्बोडिया, युरोपको सन्दर्भ छाडेर नेपालको सन्दर्भ अध्ययन गर्दा मात्र पनि लेखकको नियत र आसय प्रस्ट हुन्छ । नकारात्मक सन्दर्भ सामग्रीहरूको आड लिएर माओ, माओवाद र माओवादी आन्दोलनप्रति वितृष्णा जगाउनु, माओको विम्ब विद्रूपीकरण गर्नु यो पुस्तकको उद्देश्य रहेको प्रस्ट हुन्छ । 

‘इन्ट्रोडक्सन’ र ‘क्न्क्ल्युजन’ बाहेक यो पुस्तक १२ वटा शीर्षकमा लेखिएको छ । पहिलो शीर्षक ‘ह्वाट इज माओइज्म’ र १२ औँ शीर्षक ‘माओ–इस चाइना’ हो । यस सन्दर्भमा माओवाद के हो देखि कुनकुन मुलुकमा माओवादी आन्दोलन भयो, अहिले के भइरहेको छ भन्ने कुराका साथै चीनमा पुनः माओवादीहरू बढ्न थालेको समेत चर्चा गरिएको छ । ११ औँ अध्यायमा ‘नेपाल– माओइज्म इन पावर?’ शीर्षकमा नेपालको माओवादी आन्दोलन र जनयुद्धको चर्चा गरिएको छ । 

सन्दर्भको सुरुवात यसरी गरिएको छ : “ सन् २०१६ अगस्त ३ मा पुष्पकमल दाहाल नेपाली संसदमा बसेर सभामुखले आफूलाई प्रधानमन्त्री घोषणा गरेको शान्तपूर्वक सुनिरहेका थिए । ” नेपालको भूराजनीति र राजतन्त्रको छोटो चर्चा छ र १२ फेब्रवरी १९९६ रातको १० बजे होलेरी चौकी आक्रमणबाट जनयुद्ध आरम्भ भएको भनिएको छ । तर, त्यसै समयमा  रुकुम, सिन्धुली  लगायतका ठाउंमा भएका चौकी आक्रमणको चर्चा गरिएको छैन ।

 त्यसपछि नेपालमा कम्युनिस्ट आन्दोलनको  आरम्भ र  विकासको  छोटो  चर्चा छ । मूल स्रोतका रूपमा खगेन्द्र सङ्ग्रौला, कृष्ण हाथेछु, सिके लाल,  बाबुराम  र हिसिलासितको अन्तवार्ता लिइएको छ । जनयुद्धको आरम्भ र विकासका सन्दर्भमा प्रचण्डभन्दा बाबुराम भट्टराई र हिसिलालाई महत्व दिइएको छ । उनीहरूसितको अन्तर्वालाई जोड दिइएको छ । बाबुरामलाई ‘ब्रेन्स अफ द मुभमेन्ट’ भनिएको छ र जनयुद्धकालभरि कमरेड किरणलाई महत्व नदिएर प्रचण्ड र बाबुराम नै जनयुद्धका मूल नायक हुन् भनेजस्तो गरिएको छ । अझ बाबुराम  भटटराईको पियच्डीको थेसिस  ‘द नेचर अफ अन्डरडेभ्लोप्मेन्ट  एन्ड रिजनल स्ट्रक्चर अफ नेपाल–अ मार्क्सिस्ट्स  एनालिसिस’ ले नेपाली समाजको स्थिति विश्लेषण गर्न र माओवादी जनयुद्धको खाका निर्माण गरेर अघि बढ्न सहज बनायो भनेर लेखिएको छ ।  थुप्रै ठाउँ यस्ता हास्यास्पद लेखाइ र बुझाइ पढ्न पाइन्छ ।
  
बाबुराम र हिसिलाको स्रोतको उल्लेख गर्दै महिनौं सम्म प्रचण्ड र बाबुरामको बोलचाल नभएको, प्रचण्डले बाबुरामलाई जिउँदै खाल्डोमा पुर्न रोल्पामा कार्यकर्तालाई निर्देशन दिएको भनिएको छ । नेपालको जनयुद्धलाई सबैभन्दा बढी बदनाम गर्ने सन्दर्भहरू पृ. ४०५ देखि ४०७ सम्ममा छन् । ठाउँठाउँमा प्रशंसा गरेजस्तो गरी नेपालको माओवादी आन्दोलनको बदनाम गर्न खोजिएको छ । नेपालको जनयुद्धको मात्र नभएर पेरू र अन्य मुलुकको जनयुद्धका सन्दर्भमा पनि यस्तै छ । नेपालको सन्दर्भमा जनताबाट माओवादी कार्यकर्ताले लुटेर खान्थे, शिक्षकसित महिनावारी पैसा असुल्थे र नदिए हत्या गर्थे भनिएको छ ।  जनयुद्धकालमा आरम्भ गरिएको टिलादेखि थवाङसम्म बाटो निर्माणको सन्दर्भलाई लिएर जबर्जस्ती भोकभोकै काम लगाए सुत्केरीलाई समेत जबर्जस्ती काम लगाए, ज्याला दिएनन् भनिएको छ । पार्टी, जनसेना, जनसत्ता र स्वैच्छिक जनसहभागिताका साथै विदेशका भाइचारा पार्टी कार्यकर्ताको सहभागितामा टिलादेखि थवाङसम्मको बाटो निर्माण कार्यको थालनी भएको यथार्थ हामीलाई थाहा छ । विरोधीहरूका गलत सामग्री स्रोतहरूको सहयोग लिएर माओवाद र जनयुद्धको विरोध गर्नु माओवादी आन्दोलन विरोधीको आम चरित्र हो । नेपाली जनयुद्धका सन्दर्भमा पनि यस्तो हुनु अनौठो कुरा भएन ।

 त्यसै गरी माओवादीले महिला समानताको कुरा गरे पनि व्यवहारमा त्यसको प्रयोग देखिएन भनिएको छ  । स्रोतका लागि व्यक्ति हुन् अथवा लिखित सामग्रीहरू, माओवादी आन्दोलन विरोधीहरू तथा दक्षिणपन्थीहरूका मौखिक र लिखित सामग्रीहरूको सहयोग लिइएको छ, नकारात्मक प्रस्तुतिका लागि योजनाबद्ध घटना र सन्दर्भहरूको चयन गरिएको छ  । आतङ्क उत्पन्न गरेर पहिलो संविधान सभामा बहुमत ल्याएको भन्न खोजिएको छ । सिङ्गो अध्यायमा जनयुद्धकालको चर्चाका सन्दर्भमा कमरेड किरणको भूमिकालाई न्यूनीकरण गरिएको छ र प्रचण्डभन्दा बाबुरामको भूमिकालाई बढाइचढाइ गरिएको छ ।

वैचारिक विश्लेषणभन्दा लेखाइमा रागात्मकताको प्रभाव छ र पत्रकारिता शैलीको प्रयोग   छ । गलत बुझाइ र सोचाइले गलत सामग्री स्रोतहरू प्रयोग गर्नु स्वाभाविक छ । आलोचना बढी आउँछ भनेर हो अथवा सन्तुलिन हुन खोजिएको हो कतिपय ठाउँमा प्रशंसाका पदावलीहरू पनि छन् । तर के गर्दा नकारात्मक पक्ष प्रस्तुत गर्न सकिन्छ, त्यसै अनुसार घटनाहरू र सन्दर्भ सामग्रीहरू  प्रस्तुत गरिएको छ । 

सन् २०१८ सम्मको नेपाली माओवादी आन्दोलनको चर्चा भएकाले माओवादी पार्टीमा आएको फूट र विभाजनको  पनि चर्चा छ ।  प्रचण्डले वैचारिक र आर्थिक पक्षमा गलत बाटो लिएपछि किरणको नेतृत्वमा अलग पार्टी बन्यो र पछि विप्लव पनि प्रचण्डबाट अलग भए र  किरण र विप्लवबीच पार्टी एकता भयो भनिएको छ । यो गलत सूचना हो भन्ने कुरा तपाईं  हामीलाई थाहा भएकै कुरा हो । त्यतिबेर चल्तीमा आएका पदावलीहरू “ड्यास माओवादी र क्यास माओवादी” पदावली पनि किताबमा  प्रयोग गरिएको छ । 

पुस्तकमा थुप्रै विवादास्पद र जनयुद्धलाई बदनाम गर्ने सन्दर्भहरू छन् । सतही किसिमको प्रस्तुति छ र जनयुद्ध भनेको वैचारिक कार्य भन्दा आतंक उत्पादन गर्ने कार्य भन्ने किसिमको संदेश दिन खोजिएको छ ।  प्रचण्ड  र  ‘शान्तिपूर्ण राजनीति” मा जाने प्रतिबद्धता जनाएकाहरूका लागि यो पुस्तकले त्यति नघोच्ला, तर हिजोको जनयुद्धको इतिहासको विरासतको निरन्तरतामा रहेकाहरू र नयाँ जनवादी क्रान्तिप्रति प्रतिबद्ध भएकाहरूलाई चाहिँ यो पुस्तकले निकै घोच्तछ । कम्तीमा पनि नेकपा (क्रान्तिकारी माओवादी) का नेता तथा बुद्धिजीवीहरूले पढेर आफ्ना कार्यकर्तालाई जानकारी गराउनु आवश्यक छ । 

जनयुद्धको भूमिकामा कमरेड किरणको भूमिकालाई न्यूनीकरण गरे पनि प्रचण्डले माओवादी आन्दोलन छोडेर संसदीय राजनीतिमा लागेपछि “सिनियर आइडियोलग” किरणले नयाँ पार्टी गठन गरेर अघि बढ्ने निर्णय गरे भनिएको छ । कमरेण किरणको सन्दर्भलाई १ पेज दिँदै भनिएको छ  : “ सन् २०१६ को  डिसेम्बरमा बाँकी रहेका नेपालका माओवादीहरूमध्येका एक जना एकदमै निष्ठावान कमरेड किरणलाई मैले भेटेँ...।” (कमरेड किरणका बारेमा अरू के भनिएको छ भन्ने कुरा अर्को टिपोटमा ।) 

मार्क्स -एङ्गेल्सको समयदेखि नै मार्क्सवादलाई बदनाम गर्ने, यसको भ्रष्टीकरण गर्ने र विम्ब-विदू्रपीकरण गर्ने कार्यहरू भएका थिए । स्टालिन र माओको समयसम्म आइपुग्दा यो काम अझ तीव्र बन्यो, साम्राज्यवाद र यसका दलाल शक्तिहरूले यसलाई योजनाबद्ध किसिमले अघि बढाए । स्टालिनका विरुद्ध सिमोन सेबाग मोन्तेफियोरेको पुस्तक स्टालिन द कोर्ट अफ रेड जार र माओका विरुद्ध लि झिसुइको द प्राइभेट लाइफ अफ चेयसम्यान माओ,  जङ चाङ र जोन ह्यालिडेको माओ अनोन स्टोरी र फ्र्याङ्क डिकोटरको पुस्तक माओज ग्रेट फ्यामिन : द हिस्ट्रिी अफ चाइनाज मस्ट डिभास्ट्रिङ क्याटस्थ्रोप यस मामलामा प्रतिनिधि पुस्तकहरू हुन् । यस्ता भ्रमपूर्ण लेखनका विरुद्ध चिनियाँ क्रान्तिकारीहरूले गरेको वैचारिक सङ्घर्षका सम्बन्धमा मैले विस्तृत चर्चा गरिसकेको  छु (हेर्नुहोस्, ऋषिराज बराल, ‘विम्बविदू्पीकरण : साम्राज्यवादी योनाबद्धता’, आजको साम्राज्यवाद र माओवादी आन्दोलन, (काठमाडौँ : अभियान बुक हाउस, २०६९)। पृ. १८७–२१२ । र म यहाँ थप चर्चा गर्न चाहन्न । यी अति निच किसिमले प्रस्तुत विचारका प्रतिनिधिमूलक पुस्तकहरू हुन्  ।
 
यस्तै किसिमले नभए पनि पछिल्लो समयमा माओवादको विश्वव्यापी प्रचारको चर्चा गर्ने नाममा देशकाल सापेक्षमा माओवादलाई बदनाम गर्ने र माओको विम्ब विदू्रपीकरण गर्ने कामहरू भएका छन् । माओइज्म अ ग्लोबल हिस्ट्री ले एडगर स्नोको पुस्तक रेड स्टार ओभर चाइना देखि हालसम्मको माओवादी आन्दोलनको भौगोलिक प्रभाव र विस्तारको चर्चा गरे पनि यसले विचार र मूल्यभन्दा आवेग र आतङ्कको प्रभावमा जोड दिएको छ । नेपालको जनयुद्धको चर्चाको सार पनि यस्तै किसिमको छ । 
००० 

भिडियो फिचरview all