menu

ताजा समाचार

प्रतिगमन र ध्रुवीकरणको सन्दर्भ

जनमेल विश्लेषण
 
झन्डैझन्डै दुईतिहाईको स्थितिमा रहेको संसदलाई प्रधानमन्त्री केपी ओलीले विघटन गरेर नयाँ चुनावको घोषणा गरेपछि संसदवादका पक्षधरहरूबीच अग्रगमन, प्रतिगमन, वैधानिक, अवैधानिक, बहुमत, अल्पमत, चुनाव आदिआदि पदावली र प्रकरणलाई लिएर निकै चर्काचर्की परेको स्थिति छ । आआफ्नो मुद्दाका साथ संसदवादीहरू क्रियाशील छन् । र उनीहरूबीचको अन्तर्विरोध भनेको संसदीय राजनीतिमा कसको पहुँच र पकड बलियो बनाउने भन्ने मात्र हो ।  

सामान्य रूपमा हेर्दा पनि यो संविधानले केपी ओलीलाई संसद विघटन गर्ने आधार र अधिकार कतैबाट पनि दिँदैन । उनले जबर्जस्ती संसद विघटन गरेर मुलुकमा वैदेशिक शक्तिको भूमिका विस्तार र भद्रगोलको स्थिति निम्त्याएका हुन् र छन् । कतिपय पार्टीहरू खास गरेर नेपाली काङ्ग्रेस र राप्रपाहरूले संसदवादी-वामपन्थीहरू फुटेकै बेला आफ्नो स्थिति बलियो बनाउने बेला हो भनेर दाउ मार्न खोजेको देखिन्छ । ओलीले चुनाव गराउन छँदाखाँदाको दुईतिहाइको स्थिति विघटन गरेका होइनन्, संसद विघटन र चुनाव घोषणा डरलाग्दो षडयन्त्रको अंश हो भन्ने कुरा चुनावमा जान हतारिनेहरूले बुझ्न खोजेको देखिँदैन । यो संविधानको सीमाभित्र रहेर हेर्दा संसद् विघटन संविधानको खारेजी र प्रतिगमनतर्फको यात्रा हो । 

यसरी हेर्दा यी सबै परिघटनाहरू संसदवादीहरूको आफूआफूबीचको मारामारको स्थितिको उपज हुन् र यसमा क्रान्तिकारीहरूले चिन्ता गर्नु पर्ने अवस्था छैन भन्न सकिन्छ । परन्तु ठाडो निष्कर्षले स्थितिको गम्भीरतालाई सम्बोधन गर्दैन ।  स्थिति त्यति सरल र सहज छैन । पहिलो कुरा गणतन्त्रको प्राप्तिका लागि नेपाली जनताले ठूलो सङ्घर्ष र बलिदान गरेका छन् । गणतन्त्रको प्राप्तिका लागि सबैभन्दा बढी बलिदान माओवादी पक्षले गरेको छ । अवश्य पनि बलिदान यति मात्रका लागि गरिएको थिएन, जे–जति उपलब्धी छ, तर यो पनि मूलतः माओवादीकै सङ्घर्षको परिणाम हो । साथै एउटा कित्ता संसदीय राजनीतिमा विलय भएको पनि यथार्थ हो । यसको अर्थ यो संविधानलाई अँगालो हाल्नु पर्छ भन्न  खोजिएको नभएर ओली प्रवृत्तिसित गाँसिएको सम्भावित परिदृश्यतर्फको संकेत हो । 

संसद विघटन र त्यससित गाँसिएका प्रश्नहरू  संसदीय राजनीति र सरकारी नेकपाभित्रको झगडामा मात्र सीमित छैन, यो सबै योजनामा भएको छ  ।  एकातिर परम्परागत अति दक्षिणपन्थी शक्ति दाउ खोजेर बसेको अवस्थामा छ भने साम्राज्यवादी तथा विस्तारवादी शक्ति पनि मुलुकलाई अस्तव्यस्त पारेर आफ्नो स्वार्थ पूरा गर्ने दाउमा छन् । के गर्दा आफ्नो भूमिकाको विस्तार गर्न सकिन्छ भनेर उनीहरू अनेक हतकण्डा र हतियारहरू प्रयोग गरिरहेका छन् । नेपाली जनताको हातबाट निर्णयको क्षेत्र र भूमिका वैदेशिक शक्तिको हातमा जाने र अहिलसम्मको उपलब्धी  पनि गुम्ने सक्ने स्थिति छ । क्रान्तिकारी शक्ति छरपस्ट र कमजोर भएको बेलामा नै वैदेशिक प्रतिक्रियावादी शक्तिहरूको चलखेल बढी हुने गर्छ । यस्तो बेला अहिलेको सन्दर्भलाई संसदीय राजनीति र सरकारी नेकपाभित्रको झगडा भनेर पन्छिन मिल्दैन । प्राप्त उपलब्धीहरूको रक्षा र नयाँ क्रमभङ्गतर्फको यात्रामा  क्रान्तिकारीहरू सचेत र गम्भीर हुनु आवश्यक छ । 

संसद विघटनपछि क्रान्तिकारी कित्ताबाट दुइटा महत्वपूर्ण काम भएका छन्, एउटा स्थितिको विश्लेषणका साथ सङ्घर्षका लागि आह्वान र अर्को एकता, ध्रुवीकरण र रणनीतिक मोर्चा निर्माणको प्रयास । त्यसमा पनि एकता, ध्रुवीकरण र रणनीतिक मोर्चा निर्माणको सन्दर्भ महत्वपूर्ण सन्दर्भ हो । यस सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र विप्लवको नेतृत्वमा रहेको नेकपाले अघि सारेका धारणाहरूले विशेष महत्व राख्दछन् । 

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले केन्द्रीय समितिको आकस्मिक बैठकले गरेका निर्णय भनेर नेपाली राजनीतिक क्षितिजमा तीन प्रकारका संभावना वा परिदृश्य देखापरेको उल्लेख गरेको छ : 

पहिलो, संसदीय मध्यावधि निर्वाचन वा पुनस्थापना गरिएका दुवै अवस्थामा विद्यमान सङ्कटको समाधान हुन सक्दैन । 
दोस्रो, देशीय प्रतिक्रियावादी शक्तिहरूबीचका अन्तर्विरोध तथा वैदेशिक चलखेल बढ्दै गएमा वा अन्य कुनै कारणले मध्यावधि चुनाव हुन नसकेमा देश पुनरुत्थानवाद वा झनै निरङ्कुशतावादको बाटोमा जान सक्तछ । 
तेस्रो, वामपन्थी, देशभक्त तथा जनवादी शक्तिहरू एकतावद्ध भई संयुक्त सङ्घर्षलाई प्रभावकारी ढङ्गले विकसित तुल्याउन सकेमा देश अग्रगामी निकास तर्फ अगाडि बढ्न सक्तछ । 

प्रस्तावमा उक्त तीन संभावनामध्ये तेस्रो संभावना तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिइएको छ । 

अग्रगामी यात्राका  सम्बन्धमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले भनेको छ :

वर्तमान सत्ता तथा व्यवस्थामा पैदा भएको सङ्कटको वास्तविक निकास र राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरूको समाधान सङ्घीय जनगणतन्त्रको स्थापना बाटै हुने कुरा उल्लेख गर्दै त्यसका लागि देशभक्त, जनवादी तथा वामपन्थी शक्ति, समूह तथा व्यक्तित्वहरूका बीच बलियो संयुक्त मोर्चा तथा कार्यगत एकता गरी सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउनु पर्ने निष्कर्ष निकालिएको छ । 

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को बुझाइ अहिलेको सन्दर्भमा सही बुझाइ हो । यतिखेर क्रान्तिकारी शक्तिहरूले गर्ने भनेको आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धीको रक्षा र अग्रगामी यात्रातर्फको अगुवाइको तत्परता नै हो ।

त्यसै गरी नेकपाका महासचिव विप्लवले पनि आफना लेखादिमार्फत स्थितिको विश्लेषण गर्दै अबको अगाडिको बाटेका बारेमा धारणा व्यक्त गरेका छन् । पछिल्लो समयमा विप्लवका ‘रणनीतिक संयुक्त मोर्चा निर्माणबारे’ र ‘पूर्वमाओवादीका साथीहरूलाई’ शीर्षकमा दुइटा लेख प्रकाशित छन् । ‘रणनीतिक संयुक्त मोर्चा निर्माणबारे’ मा एकता नभनेर ‘रणनीतिक संयुक्त मोर्चा’ भनिएको छ । एउटै पार्टीभित्र त वर्गसङ्घर्षले उच्च  रूप लिँदै गएपछि कतिपय थेग्न नसकेर पलायन हुने र भाग्ने गर्छन् भने ‘रणनीतिक संयुक्त मोर्चा’ मा सहभागी हुने भनिएकाहरू पछिसम्म,  अन्तिम उद्देश्यसम्म टिक्छन् टिक्तैनन्, अथवा प्रचार सामग्री मात्र बन्छन्, त्यो अलग कुरा हो, तर पनि ‘रणनीतिक संयुक्त मोर्चा’  निर्माणको प्रयासलाई सकारात्मक नै मान्नु पर्छ । 

विप्लवका दुवै आलेखमा आत्मसमीक्षाका कुरा बडो गम्भीरताका साथ उठाइएका छन्,  र यो महत्वपूर्ण पक्ष हो । विप्लवको पछिल्लो अन्तर्वार्ता ‘तपाईँहरू तयार हुनुस्, क्रान्तिको मात्रालाई जुनसुकै स्तरमा उठाउन हामी तयार छौँ’ र ‘रणनीतिक संयुक्त मोर्चा निर्माणबारे’ र ‘पूर्वमाओवादीका साथीहरूलाई’ मा आएका सन्दर्भहरूको अलग्गै चर्चा र विश्लेषण आवश्यक छ ।  र पनि यी लेखमा व्यक्त भनाइ इमानदारीका साथ आएका हुन् भने स्वागतयोग्य छन् । ‘म’ बाट विप्लव ‘हामी’ तर्फ प्रवेश गर्न थालेको र मनोगताबाट मुक्त हुने क्रममा स्थितिलाई गम्भीरतापूर्वक लिन थालेको भन्ने कुराको सङ्केत यी लेखोटले दिन्छन् ।  

आफ्नो  सङ्गठन र  आफ्नो नेतृत्वको सेरोफेरोभन्दा माथि उठेर सिङ्गो मुलुक र जनताको मुक्तिका लागि गम्भीरताका साथ सोचिएको हो र त्यसै अनुसार अघि बढ्ने सङ्कल्प गरिएको हो भने यसले मूर्त रूप लिने कुराप्रति विश्वस्त हुन सकिन्छ । एकता, ध्रुवीकरण र संयुक्त मोर्चा आजका आवश्यकता हुन् । थुप्रै कुराहरू प्रस्ट हुन बाँकी छन् र प्रस्ट हुँदै र गर्दै जानु पर्ने हुन्छ । इमानदारीपूर्वक चालिने पहलकदमीबाट नै यो आवश्यकतालाई व्यावहारिक रूप दिन सकिन्छ र विश्वास आर्जन गर्न सकिन्छ । वैचारिक अस्पष्टता त छँदै छन् । साथसाथै विश्वासको प्रश्न पनि छ  । 

 नयाँ पुराना प्रतिक्रियावादीहरूबीचको झगडा भएका कारण क्रान्तिकारीहरूबीच एकता र  ध्रुवीकरण आवश्यक छ भन्ने नभएर राष्ट्रिय स्वाधीनता र नेपाली जनतालाई सबै किसिमका उत्पीडनबाट मुक्त गर्न क्रान्तिकारीहरूको एउटा दरिलो सङ्गठित शक्ति र क्रान्तिकारी पहलको आवश्यकता छ । आवश्यकता क्रमभंगको छ । यसका लागि पहिलो कुरा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र  विप्लव नेकपाबीच आधारभूत सैद्धान्तिक–वैचारिक पक्ष, कार्यदिशा, नीति, योजनाका सन्दर्भमा आधारभूत धारणासहित को एकता खाका पहिलो आवश्यकता हो । एकताको यो प्रक्रियाको स्वरूपपछि नै धु्रवीकरणको नयाँ चरण आरम्भ हुन्छ भन्ने ‘जनमेल’ को बुझाइ छ ।
००० 

भिडियो फिचरview all