menu

ताजा समाचार

अतिक्रमण : राजकुमार कुँवर

राजकुमार कुवँर

अतिक्रमण

सूर्यलाई ग्रहणले निलेपछि प्रकाश रोएजस्तै
घातैघातले निलेर यो भू–खण्डमा रोइरहेका छन् टिस्टाहरू
सिमलको भुवाजस्तो हलुङ्गो मृत्यु बेहोर्दैछन् कालापानीहरू
आवाद जमिन पहिरोले बगरमा फेरिएजस्तै
रगतले कोरिएका सीमाहरू खण्डहर छन्
र धमिराले झैँ टुक्राटुक्रा चपाइइका छन् सुस्ताहरू

टनकपुर एफ्लक्सतिर देश प्रवासीजस्तै छ
परासन प्यारा तालमा देशको रगत बग्दैन
सन्दकपुर कोरूबारीमा देशको पैँयु फुल्दैन

हरेक वर्ष अछामहरू बम्बई जान्छन् करियाजस्तै
श्रीमतीको धोती फेर्न जुठा भाँडा माझेर
नासोस्वरूप एड्स बोकेर फर्किन्छन्
हरेक वर्ष जुम्लाहरू हिमाञ्चल जान्छन् भरियाजस्तै
हिउँद काट्ने मानो जोर्न स्याउ बोक्छन्
र आफ्नो बारीमा कुहिएका स्याउहरूको सम्झनामा आँसु चुहाउँछन्

आठौँ आश्चर्य मान्नुपर्दैन सगरमाथा
प्रिय मात्रीभूमिमा हावा बग्न स्वतन्त्र छैन
पानी बग्न स्वतन्त्र छैन, आदेश चाहिन्छ
घाम झुल्कन स्वतन्त्र छैन, आदेश चाहिन्छ
घाम अस्ताउन स्वतन्त्र छैन, आदेश चाहिन्छ
कुन स्वतन्त्र राष्ट्रको रङ्ग हो यो
जहाँ उपनिवेशको दुर्गन्धित वाग्मती पोतिन्छ
कुन स्वाधीन राष्ट्रको ढङ्ग हो यो
मालिकहरूको इसारामा सगरमाथा नै लिलिपुट बन्छ ।
जब चराहरू चिर्बिराउँछन् बिहानीपख सोध्छु म
कुन देश खोजेर लडेँ र हिँडेँ  बारुदका पाइलाहरू
जब घरको छानोमा घामले चुम्दैन र सोध्छु म
कुन देश खोजेर लडेँ र हिँडे रगतका पाइलाहरू

लोडसेडिङ हुनेबित्तिकै कुलेखानीमा
हुम्लाले सल्काउने झरो सम्झेर आत्महत्या गर्ने देश होइन
तरकारी बजारमा भन्टा, काउली टमाटर कुहाएर
सेतो नुनढिकी फुटालेर रोटी खाने देश होइन
हिरोसिमा नागासाकीमा अनुमोदित प्रजातन्त्र दुलहीझैँ भित्र्याएर
गौतम बुद्धलाई धमाधम बिक्री गर्ने देश होइन
सिक्किमको अद्भुत बाटोमा ठमठम हिँडेर
कञ्चनजङ्घालाई  आइसक्रिम बनाएर खाने देश पनि होइन
ओहो !
मैले खोजेको देशको आकास पनि पृथक छ
जहाँबाट झुल्कियोस् मुक्तिको नयाँ बिहानी
मैले खोजेको देशको धर्ती पनि पृथक छ
जहाँबाट फक्रियोस् स्वतन्त्रताको लालीगुराँस ।
०००

भिडियो फिचरview all