menu

ताजा समाचार

नेकपा, राज्यआतङ्क र मित्र शक्तिका कुरा

बुढाहरूले क्रान्ति गर्दैनन् भनेर अप्रत्यासित किसिमले नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गरेर नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नयाँ पार्टी गठन गरेको पनि ६ वर्ष  पुग्न थालेको छ । यसबीच ‘विप्लव’ को नेतृत्वमा रहेको पार्टीले आठौँ महाधिवेशन समेत सम्पन्न गरेको छ र पार्टीमा बढीभन्दा बढीलाई समेट्न र ‘लोकप्रिय’ र ‘सर्वप्रिय’ बनाउन भन्दै पार्टीको नामसित जोडिएको माओवादी पदावली हटाएर नेपाल कम्युनिस्ट पार्टी नामाङ्कित गरेको छ ।
 
उसले केकस्तो सैद्धान्तिक तथा वैचारिक बाटो लिएको छ र केकस्तो किसिमको कार्यदिशा अँगालेको छ भन्ने कुरा उसका दस्ताबेजहरूमा उल्लेखित छन् र मार्क्सवादीहरूले तिनमा निहित गलत र भ्रमपूर्ण सोचाइ र बुझाइको वैचारिक खण्डनमण्डन पनि गर्दै आएका छन् । नेपाली समाजको स्थिति, साम्राज्यवादको चरित्र र क्रान्तिको स्वरूपका बारेमा सो पार्टीका थुप्रै  भ्रमपूर्ण सोचाइ र बुझाइ भए पनि नेपाली समाज र सत्ताका सन्दर्भमा अहिलेको स्थितिमा आधारभूत रूपमा नेकपा (विप्लव) लाई क्रान्तिकारी कित्ताभित्रै राखेर व्यवहार गर्नु पर्छ भन्ने धारणा क्रान्तिकारी मार्क्सवादीहरूको छ । गलत कुराको आलोचना गर्दै सच्याउन प्रोत्साहित गर्ने र सही कुराप्रति सकारात्मक भाव राख्दै नेकपा (विप्लव) लाई आन्दोलनमा सँगै लैजानु पर्छ भन्ने बुझाइ क्रान्तिकारी मार्क्सवादीहरूको छ ।  क्रान्तिकारी मार्क्सवादीहरूको यस किसिमको बुझाइप्रति नेकपा (विप्लव) को व्यवहार जेजस्तो रुखो भए पनि क्रान्तिकारीहरू आफ्नो दायित्त्वप्रति सजग छन् । क्रान्तिकारी शक्ति र व्यक्तिहरूसित टाढा रहने अथवा सहकार्य गर्ने भन्ने कुराको निर्णय नेकपा (विप्लव) आफैँले गर्ने हो । 

प्रस्टताका साथ भन्नु पर्ने हुन्छ, नेकपा-माओवादीसित सम्बन्ध विच्छेद गर्दा विप्लव समूहसित जेजस्तो शक्ति र सामथ्र्य थियो, अब छैन । सङ्ख्यात्मक मात्र नभएर गुणात्मक पक्षको पनि क्षय भएको छ । आरम्भका दिनमा पार्टी जसरी उत्साह र आक्रामकताका साथ गतिवान् थियो, त्यो स्थिति अहिले छैन । यसका पछाडि विविध कारणहरू छन् । कतिपय आफ्नै सीमा र कमजोरीका कारण र कतिपय सन्दर्भमा राज्य दमनका कारण यो स्थिति उत्पन्न भएको हो ।  आम जनताले त गरिरहेकै छन्, स्वयम् पार्टीले पनि यसको समीक्षा  गर्नु पर्ने विषय हो । 
नेकपा (विप्लव) का पछिल्ला विविध किसिमका परिघटनाहरूसित जोडेर आक्रामक बनेको प्रतिक्रियावादी सरकारले  सो पार्टीमाथि प्रतिबन्ध लगाएको छ । दमनको बहाना खोजिरहेको प्रतिक्रियावादी सरकारलाई केही हदसम्म खुराकी दिने काम नेकपा (विप्लव) आफैँले पनि गरेको छ । अन्य मित्र शक्तिहरूप्रति  नेकपा (विप्लव) को व्यवहार जेजस्तो भए पनि पार्टीमाथिको प्रतिबन्ध निन्दनीय भन्दै क्रान्तिकारी शक्ति तथा व्यक्तिहरू खास गरेर कम्युनिस्ट न्युक्लिअस, नेपाल र  नेकपा (क्रान्तिकारी माओवादी) ले प्रतिबन्ध हटाउन जोड दिइरहेका छन् । यो नै मित्र शक्तिप्रतिको सही बुझाइ हो ।
 
कामकारवाही र कार्यशैलीमा देखिएको समस्या, सुरक्षाको प्रश्नमा शिथिलता र राज्यदमनका कारण पछिल्लो समयमा नेकपा (विप्लव) का थुप्रै नेता-कार्यकर्ताहरू पक्राउ परेका छन् । कतिपय हिरासतमा छन् र कतिपय जेलमा छन् । राज्य दमन झेल्न नसकेर कतिपयले आत्मसमर्पण पनि गरेका छन् । आन्दोलनका क्रममा पक्राउ पर्ने, जेल पर्ने र भाग्ने प्रवृत्ति नयाँ होइन, एक किसिमले स्वाभाविक प्रक्रिया हो ।  र पनि यसलाई कसरी व्यवस्थित गर्ने, कसरी प्रतिरोध गर्ने र गल्तीबाट सिक्तै कसरी अघि बढ्ने कुरा नै प्रमुख हो । कार्यशैली र व्यवहारगत संचेतना कति महत्वपूर्ण हुन्छ भन्ने कुरा हामीले महान् जनयुद्धका क्रममा अनुभव गरिसकेको कुरा हो । 

मध्य कमान्ड  इन्चार्ज    कमरेड सुदर्शनको गिरफतारी र जेल निर्वासन पार्टीका लागि ठूलो नोक्सानी थियो । फेरि कमरेड वीरजङ्सहितको ठूलो टोली पक्राउ पर्यो  । यो टोली कसरी पर्यो,   कहाँ कमजोरी भयो भन्ने कुरा सो पार्टीले समीक्षा गर्ने विषय हो । भौगोलिक आयाम र नेतृत्व दुवै दृष्टिले यो निकै ठूलो नोक्सानी थियो । त्यसपछि उमा भुजेलको पक्राउ र पछिल्लो समयमा बाबुराम पुनको पक्राउले सो पार्टीलाई थप कमजोर बनाएको छ । पछिल्लो समयमा जिल्लाका इन्चार्जहरू पनि धमाधम पक्राउ परेका छन् । दुस्मनले अनेक तिकडम गर्नु स्वाभाविक छ, तर कहाँ कमजोरी भयो भन्ने कुराले पनि अर्थ राख्दछ । सुदर्शन, वीरजङ, उमा भुजेल, बाबुराम पुन, माइला लामा, लालबहादुर बिसी विभिन्न मोर्चाका अगुवा कमान्डरहरू हुन् र यिनको गिरफतारी र जेल निर्वासनले आन्दोलनको गति प्रभावित हुनु स्वाभाविक छ । 

ओली सरकारसित वार्ताका कुरा पनि चलेका छन् । वार्ताको सरकारी जालो भ्रम मात्र हो भन्ने कुरा सो पार्टीले भन्दै आएको छ । वास्तवमा वार्ता भन्दा पनि सरकार नेकपा (विप्लव) लाई गलाउने र थकाउने पक्षमा छ । सरकार तलका कार्यकताभन्दा माथिल्लो तहका त्यसमा पनि खासखास भूगोलको जिम्मा लिएका अलि जुझारु  र प्रभावशाली किसिमका नेताहरूलाई पक्राउ गरेर पार्टीलाई कमजोर बनाउने स्थितिमा रहेको देखिन्छ । वैचारिक रूपमा आतङ्कित पार्ने, मनोवैज्ञानिक त्रास र भय उत्पन्न गर्ने, सङ्गठनात्मक रूपमा कमजोर र आन्दोलनलाई शिथिल तुल्याउने अभियान र योजनामा सरकार क्रियाशील देखिन्छ । अदालतले रिहा गरे पनि विभिन्न जेलसार अभियान यही थकाउने र गलाउने, मानसिक रूपमा पीडा दिएर पलायन गराउने योजनाकै अंश हो । बाबुराम पुन र लालबहादुरको पछिल्लो स्थिति थाहा हुन सकेको छैन । तर वीरजङ र उमा भुजेलको जेलसार अभियान सरकारी कुटिलता, कुनियत र फासिवादी चिन्तन र व्यवहारको उदाहरण हो । यी थकाउने गलाउने र सिध्याउने अभियानका अंश हुन् । यो यथार्थलाई नेकपा (विप्लव) ले नबुझेको भन्ने छैन तापनि जसरी निरन्तर रूपमा एकपछि अर्को गरेर पूर्वदेखि पश्चिमसम्मका जिल्लाका इन्चार्ज र नेताहरू पक्राउ परिरहेका छन्,  यसले चाहिँ स्थितिको गम्भीरतालाई दर्शाउँछ ।  कतै समस्याहरू  पार्टीभित्र नै त छैनन् भनेर पनि प्रश्न उठाउनु पर्ने स्थिति बनेको छ । 

काम गराइको शैलीप्रति प्रश्न उठाउन सकिए पनि नेकपा (विप्लव) को भूमिकालाई आफ्नो सुखको स्वर्गका लागि बाधक ठानेर नै  प्रतिक्रियावादी सरकारले प्रतिबन्ध लगाएको हो भन्ने कुरामा विवाद छैन  । अवश्य पनि  नेकपा (विप्लव) सित हाम्रा थुप्रै सैद्धान्तिक तथा वैचारिक मतमतान्तरहरू छन् ।  र पनि प्रतिक्रियावादी सरकारका विरुद्ध लडिरहेको एउटा मार्क्सवादी शक्तिका रूपमा उसलाई लिएर हामीले व्यवहार गर्नु आवश्यक छ । यसका कमजोरी औँल्याउने, गलत कुराको आलोचना गर्ने, उसमा रहेको क्रान्तिकारी स्पिरिटप्रति सकारात्मक बन्ने बुझाइ नै उसप्रतिको सही बुझाइ हो । मुलुकले एउटा जुझारू क्रान्तिकारी शक्तिको माग गरेको छ र नेकपा (विप्लव) आफ्ना गल्ती- कमजोरी सच्याउँदै अघि बढोस् भन्ने कामना गर्नु अन्यथा होइन  । यसै अर्थमा  यतिखेर हामीले पार्टीमाथिको प्रतिबन्ध हटाउन र  राजबन्दी रिहाइ गर्ने प्रश्नलाई गम्भीरताका साथ उठाउनु आवश्यक छ र यो वातावरण मिलाउने कार्यमा नेकपा (विप्लव) स्वयमको  भूमिकाले पनि अर्थ राख्दछ । 
 
यतिबेर मुलुकले एकीकृत क्रान्तिकारी अभियानको माग गरेको छ र ढिलोचाँडो मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी  क्रान्ति  र वैज्ञानिक समाजवादका पक्षधरहरू एउटै झण्डामुनि आउनु आवश्यक छ । माओवादी आन्दोलनको हिजोको विरासतलाई निरन्तरता दिने अर्को बाटो तथा उपाय छैन । एक्लेबीर प्रवृत्ति कति घातक छ र हुन्छ भन्ने कुरा व्यवहारले देखाइ सकेको छ । फेरिएको परिस्थितिले केही नयाँ खोजेको छ । यो भनेको क्रान्तिकारी विचारको केन्द्रीयतामा माओवादी आन्दोलनलाई नयाँ किसिमले पुनर्गठित गर्ने अभियान हो । कम्युनिस्ट न्युक्लिअस, नेपाल,  नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (विप्लव) बीचको सही बुझाइ र ठम्याइँले नै पुनर्गठित अभियानलाई नयाँ र ठोस रूप दिन सक्छ । विसर्जनको समस्या अहिलेको प्रमुख समस्या हो । यथार्थ के हो भने यो समस्याबाट क्रान्तिकारी  शक्तिहरू मुक्त छैनन् ।   विसर्जित भएर सिद्धिने कि चुनौतीका साथ अघि बढ्ने ? प्रश्न यसैमा छ । 

मार्क्सवादीहरू आलोचना-आत्मालोचनामा विश्वास राख्छन् । आन्दोलनको समीक्षा गर्छन् र गल्तीकमजोरीबाट शिक्षा लिन्छन् । कतिपय सन्दर्भमा नेकपा (विप्लव) मा मित्र  शक्ति र दुस्मन शक्ति छुट्याउने र खुट्याउने कार्यमा समेत समस्या छन् । आलोचनाप्रति असहिष्णुता छ र गुलियो बोलीमा लोभिने प्रवृत्ति छ । 

समयले नेकपा (विप्लव) बाट आवेग, आक्रोस, अहम् र असहिष्णुता होइन, गम्भीर बुझाइ, ठम्याइ र दायित्वबोधको माग गरेको छ । मित्र शक्तिहरूसित सम्बन्ध खजमजिएको छ भन्ने कुरालाई नेकपा (विप्लव) ले आत्मसात गर्नु जरुरी छ । यसबाट नै फासिवादी सत्ताका विरुद्ध सामूहिक र सङ्गठित किसिमले अघि बढ्न सकिन्छ । 
०००

भिडियो फिचरview all