menu

ताजा समाचार

बिसीसहितका नेताहरू पक्राउ

नेत्रविक्रम चन्द विप्लवको नेतृत्वमा रहेको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरोका इन्चार्ज बाबुराम पुन गिरफ्तार परेको केही दिनमा सो पार्टीका अन्य नेताहरू पनि धमाधम पक्राउ परेका छन् । सो पार्टी सम्बद्ध अनलाइनले दिएको जानकारी अनुसार यही साउन १३ गते सो पार्टीका चितवान जिल्ला इन्चार्ज  लालबहादुर बिसी, दलित मोर्चाका महासचिव रामलाल विश्वकर्मासहितका नेता–कार्यकर्ताहरू पक्राउ परेका छन् । 

लालबहादुर बिसी  तथा रामलाल विश्वकर्मा जनयुद्धकालदेखिका विभिन्न मोर्चाका नेताहरू हुन् । मोहन बैद्यबाट विप्लवले सम्बन्ध विच्छेद गरेपछि विप्लवसँगै गएका बिसी तथा विश्वकर्मा त्यस समयका केन्द्रीय सदस्यहरू हुन् र भूमिगत हुनुअघि बिसी शिक्षक मोर्चाका अध्यक्ष थिए । विप्लवको पार्टीमा निकै जुझारु  र इमानदार नेता मानिने बिसी निर्वाचनको समयमा पनि चितवनमा पक्राउ परेर छुटेका नेता हुन्  । 
एन सेल प्रकरण र बम कान्डसित जोडेर  हेमन्तप्रकाश ओली र माइला लामा जेलमा रहेका बेला वीरजङ, उमा भुजेल, बाबुराम पुन जस्ता भूगोलमा निकै  सक्रियाताका साथ कार्यरत नेताहरू पक्राउ परेको सन्दर्भमा प्रभावशाली नेताका रूपमका विकसित बिसीको पक्राउले नेकपा (विप्लव) लाई निकै ठूलो क्षति हुनु स्वाभाविक छ । 

पार्टीभित्र एक थरीले वार्ता र सहमतिको कुरा गरिरहेको, पछिल्लो समयमा विप्लव र प्रकाण्डबीच पनि त्यति सुमधुर सम्बन्ध नरहेको भन्ने चर्चा चलिरहेको सम्बन्धमा बिसीसहितको पक्राउलाई लिएर विभिन्न टीकाटप्पणी हुनु स्वाभाविक छ । 
 
पछिल्लो समयमा पार्टीका नीतिविपरित गतिविधि गर्ने, धाकधम्की दिएर आर्थिक स्वार्थ पूरा गर्ने तथा दुस्मनसित साँठागाँठ गर्ने भन्दै थुप्रै कार्यकर्ता कारबाहीमा परेका समाचार पनि आइरहेका छन् । सो पार्टीका् ललितपुर जिल्लाको जिल्ला समितिमा रहेकालाई कारबाही गर्नेलाई नै कारबाही गरिएको समाचारसमेत प्रकाशमा आएका छन् । 

सापेक्षित रूपमा क्रान्तिकारी शक्ति भन्ने गरिएका एक थरीले सत्ता साझेदारी र मिलेरावादी धारणा बाहिर ल्याइरहेको समयमा विप्लवको नेतृत्वमा रहेको पार्टीले कार्यदिशा लगायतका कमीकमजोरी सच्याएर अघि बढोस् भन्ने चाहना भैरहेको सन्दर्भमा जसरी पार्टीका नेता एकपछि अर्को गरेर पक्राउ परिरहेका छन्  र जसरी   पार्टीका कार्यकर्ता आर्थिक तथा वैचारिक विचलनका कारण  कारबाहीमा परिरहेका छन्, यसले केही जटिल प्रश्न उब्जाउनु स्वाभाविक छ । 

क्रान्तिकारीहरूले आफ्ना गल्तीकमजोरी सच्याउन् र छरिएर रहेका क्रान्तिकारीहरूबीच एउटै छातामुनि एकत्रित र सङ्गठित हुने स्थिति बनोस् भनेर कामना र चाहना राख्नेहरूका लागि विप्लव र बैद्यका सोचाइ र बुझाइप्रति  आशावादी  हुने ठाउँ नहुनु चाहिँ विडम्बनाकै विषय हो ।  

भिडियो फिचरview all