menu

ताजा समाचार

प्रहरीद्वारा माओवादीलाई हतियार सप्लाइ, प्रतिक्रियावादी क्याम्पमा खैलाबैला

सन् २०२१ सम्ममा माओवादीलाई समाप्त पार्ने भनेर लागेको भारतीय फासिवादी सत्ता पछिल्ला दिनमा उल्टै आफ्नो चक्रब्यूहमा फसेको छ । ड्रोनबाट माओवादीको लोकेसन पत्ता लगाउने र जमिन र आकास दुवैतिरबाट आक्रमण गरेर माओवादीका आधारसिबिरहरू ध्वस्त पार्ने भनेर खासखास ठाउँमा आपतकालीन  एयरपोर्ट निर्माण गर्ने र  मोटर बाटो निर्माण गर्ने कामलाई तीव्रता दिएको  भारतीय फासिवाद यतिखेर दोहोर चपेटामा परेका छ ।
 
कोरोना महामारीका कारण प्रहरीहरूको ठूलो सङ्ख्या महामारीमा परेको अवस्था छ । खास गरेर  पछिल्लो समयमा प्रहरीको ठूलो सङ्ख्या माओवादी कारवाहीमा परेपछि प्रहरीहरूको पेट्रोलिङ र अपरेसन अभियान पनि निरन्तरतामा  छैन । महामारीको फाइदा माओवादीले लिए भनेर  मोदीका माध्यमहरूले रट लगाइरहेका छन् । केही दिन अघिमात्र गाडचिरोली जिल्लामा माओवादी एम्बुसमा  परेर सइसहित ५ जना ठहरै भएका थिए ।

त्यसै गरी बहुराष्ट्रिय कम्पनीको कामका लागि भनिएको बाटो निर्माण र एयरपोर्ट निर्माणको काम अघि नबढाउन माओवादीले चेतावनी दिएपछि  ती कार्यहरू पनि अघि बढ्न सकेको स्थिति छैन । आदिवासी क्षेत्रबाट सेना र प्रहरी भर्ना गरेर ‘बस्तर ब्रिगेड’ बनाए पनि त्यो भरपर्दो हुन नसकेको भन्ने सरकारी निष्कर्ष छ । 

उमेर र स्वास्थ्यका कारण कमरेड गणपतिले नेतृत्व कमरेड वसबराजलाई हस्तान्तरण गरेपछि भाकपा (माओवादी) बढी आक्रामक  भएको भन्ने मोदी सरकारको निष्कर्ष छ । 

यसैबीच मोदी फासिवादी सत्ताका थुप्रै अपरेसन असफल हुनुमा प्रहरीहरू नै माओवादीहरूसित मिलेको भनेर प्रहरीका प्रमुखहरूले बयानबाजी गरेका छन् । माओवादीहरूलाई  गोप्य सूचना उनीहरूलाई दिने गर्नुको साथै प्रहरीले नै माओवादीलाई हतियार सप्लाइ गर्ने गरेको भनेर भारतीय सञ्चारमाध्यमहरूले समाचार प्रकाशमा ल्याएका छन् । भारतीय माध्यमहरूका अनुसार  छत्तिसगढ राज्यको सुक्मा जिल्लामा असई अनन्त जादब र  हवल्दार सुभाष सिंहलाई  माओवादीलाई हतियार सप्लाइ गरेको अभियोगका साथ पक्राउ गरिएको छ । 
यसमा ठूलै समूह संलग्न भएको हुन सक्ने भएकाले अनुसन्धान भइरहेको र  केकति हातहतियार सप्लाइ गरियो भन्ने कुराको  सोधखोज भइरहेको भन्ने समाचार पनि प्रहरी प्रमुखको हवाला दिएर पत्रपत्रिकाले प्रकाशित गरेका  छन्  ।

भिडियो फिचरview all