menu

ताजा समाचार

सूर्यबहादुर : ऋषि बस्ताकोटी


बिहान सूर्य उदाउनु अघि नै
हातमा नाम्लो बोकेर हिँडेको
सूर्यबहादुर तामाङ्ग
सूर्य अस्ताउनु अघिनै
कीर्तिपुरको बीच सडकमा
हातमै नाम्लो च्यापेर अस्तायो ।
अस्ताए पछि सूर्यबहादुर
एकाएक अखबारहरूमा छायो
मध्यान्हमै बीच सडकमा
नाम्लो च्यापेर अस्ताएको सूर्य बहादुर
अखबारका पानाभर तस्बिर बनेर आयो
अनि मात्रै सूर्य अस्ताएको खबर
लोकले चाल पायो ।
शरीरमा अलिकति तागत हुञ्जेल
नशामा दुइ थोपा रगत रहुञ्जेल
सूर्यबहादुर कहिले नाम्लो च्यापेर
कहिलेभारी बोकेर
बाघभैरव
पाँगा
नयाँबजार
कालीमाटी गरिरह्यो ।
पसिनाको धारा चुहाउँदै
कहिले बल्खुको तरकारी बोक्यो उसले
कहिले साहुको सिमन्टी घिसार्यो उसले
धेरैलाई खुवायो सूर्यबहादुरले
धेरैका घर बनायो सूर्यबहादुरले
आफुभने सधैको बेघर सूर्यबहादुर
बन्दाबन्दीमा सायद भोकभोकै पर्यो
र त आकाशमा सूर्य नअस्ताउँदै
बीच सडकमै गर्लम्मै ढल्यो ।
जिउँदो रहुञ्जेल बगेको
सूर्यबहादुरको स्वाभिमानी पसिना
न उसको सरकारले देख्यो
हुनेखानेको सहरमा
हुँदाखाने सूर्यबहादुरको बेदना
न त कुनै अखबारले लेख्यो
मरेपछि भने
सूर्यबहादुर एकाएक शीर्ष समाचार बन्यो
र सूर्यझैं चम्कियो ।
खै कसलाई थाहा छ ?
धादिङको सूर्यबहादुर
बाबुआमाका सपना बोकेर
झार्लांगबाट झरेको थियो कि
प्रियसीको दुःखका दिन फेर्नका लागि
सर्पु या तोप्लांगबाट याम्बुरी छिरेको थियो।
अब ऊ फर्केर आउने छैन र भन्ने छैन
ऊ धादिङबाट यो शहर किन पसेको थियो ।
सहरले उसलाई डस्यो
ठूलाहरूको सहरमा
सानाहरूका मसिना
सपनाको कुनै हिसाब हुँदैन
तैपनि केही होला भनेर
सूर्यबहादुरले
ठूलाहरूको आशामा
ठूलाहरूकै आदेशमा
कहिले “हलो“ समायो
कहिले “रूख“ को सहारामा रमायो ।
सूर्यबहादुरले
गरिखानेहरूको सुदिन फिर्ला कि भनेर
“सूर्य“ लाई आफ्नो ठम्याएर
सूर्यकै सरकार बनायो
तर अफसोच्
भोकको भुमरीमा परेर
राजधानी कै मुटुमा
सूर्यबहादुर ढल्यो ।

('साहित्यपोस्ट' बाट)
भिडियो फिचरview all