menu

ताजा समाचार

उमा भुजेल ‘शिलु’ पुनः पक्राउ, अनिल शर्माको पेसी आइतवार

प्रतिबन्धित नेकपा सम्बद्ध अनलाइन 'इरातोखबर' अनुसार सो पार्टीकी केन्द्रीय सदस्य उमा भुजेल ‘शिलु’ लाई रिहा भएलगत्तै अदालत परिसरबाटै पुनः गिरफ्तार गरिएको छ । उनलाई जेठ १५ गते  धनुषा जिल्ला अदालतले ३० हजार धरौटी लिएर रिहा गर्ने आदेश दिएको थियो । भुजेललाई बम विस्फोटसम्बन्धी मुद्दा लगाइएको थियो । 

भुजेलमाथि लगाइएको मुद्दाको थुनछेक बहसका क्रममा अधिवक्ता कपिलचन्द्र पोख्रेल, चितवन बारका निवर्तमान अध्यक्ष गोपीलाल देवकोटा, अधिवक्ताहरू गङ्गा कोइराला, नारायण गिरी, कला त्रिताल, पेशल न्यौपाने र विनोदकुमार तिमिल्सिनाले नेत्री भुजेलका पक्षमा बहस गरेका थिए ।
भुजेललाई पक्राउपुर्जीबिनै गिरफ्तार गरिएपछि अदालत परिसरको अवस्था केहीबेर तनावपूर्ण बनेको थियो । अदालतको आदेशमा रिहा भइसकेको अवस्थामा पुनः बिनापुर्जी गिरफ्तार गर्न खोजीएको भन्दै कानुन व्यवसायी र भुजेलले पुर्जी दिन माग गरेका थिए । धनुषाका प्रहरी प्रमुख एसपी रमेश बस्नेतले अन्य जिल्लाहरूमा पनि मुद्दा रहेकाले गिरफ्तार गरिएको बताएका थिए  ।

यसअघि झापा जिल्ला अदालतले पनि उनलाई १ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पुनः गिरफ्तार गर्ने तयारी गरिएपछि धरौटी नबुझाई उनी जिल्ला कारागार चन्द्रगढीमा बसेकी उनी  जेठ ११ गते धरौटी बुझाएर रिहा भएलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी धनुषा लगेको थियो ।

नेकपाकी नेता  भुजेललाई प्रहरीले गत पुस १२ गते सुनसरीको चक्रघट्टीबाट गिरफ्तार गरेको थियो । 

चितवनमा पक्राउ गरी पुर्पक्षका लागि हिरासतमा राखिएका सो पार्टीका केन्द्रीय सदस्यको मुद्धाको पछिल्लो पेसी यही  जेठ १८ गते आइतवार हुने कुरा सम्बद्ध वकिलहरूले बताएका छन् ।

भिडियो फिचरview all