menu

ताजा समाचार

समालोचकहरूको ध्यानाकर्षण गर्ने तीन कविता

अहिले विश्व कोरोना भाइरसले आक्रान्त छ ।  सार्वभौम रूपमा यसले जनसरोकार भन्दा आणविक युद्ध, हस्तक्षेप र अतिक्रमणमा जोड दिने पुँजीवादी–साम्राज्यवादी  अमानवीयतालाई सतहमा ल्याइदिएको छ । साम्राज्यवादी शक्तिहरू बाहिर जतिसुकै बलियो देखिए पनि जनसम्बन्ध र आर्थिक कोणबाट ती जर्जर र सङ्कटको स्थितिमा छन् भन्ने कुरा प्रस्ट भएको छ । लडाइँ कोरोना महामारीसित छ, लडाइँको शैली फरक छ, तर लडाइँ पुँजीवादी-साम्राज्यवादी  शक्तिहरूले उत्पन्न गरेका जैविक र प्राकृतिक प्रकोपसित छ । जे जे भने पनि सारमा यो लडाइँ पुँजीवाद-–साम्राज्यवादी  शक्तिहरूले उत्पन्न गरेको अमानवीयताका विरुद्ध नै हो ।

यो लडाइँको अर्को पक्ष हरेक मुलुकको विशिष्टतामा लडिएको मोर्चा पनि हो । यसले हरेक देशको प्रतिक्रियावादी सत्ता, उसको जनविरोधी चरित्र र भ्रष्टाचारी प्रवृत्तिलाई पनि सतहमा ल्याइदिएको छ । सडकमा निस्केका भोका जनताको पङ्क्ति र सरकारी उदासीनताले सरकार जनउत्तरदायी छैन, निर्दयी र अमानवीय छ भन्ने यथार्थलाई उजागर गरेको छ । यति मात्र नभएर लोरोना माहामारीको अवसर छोपेर कसरी विस्तारवादी शक्तिहरू अर्काको मुलुकको सार्वभौम सत्तामाथि आक्रमण गर्छन् भन्ने सत्य पनि  यसपल्टको महामारीमा खुलस्त भएको छ । कसैको घरमा आगो लाग्यो भने कतिपयको दाउ आगो निभाउने नाममा असल माल चोर्ने हुन्छ ।

नेपालका लेखकसाहित्यकारहरूले यो यथार्थलाई नजिकैबाट आत्मसात गरेका छन् र बडो कलात्मक किसिमले कलाविम्बमा व्यक्त गरेका छन् । हेर्दा कोरोना र यसले उत्पन्न गरेको लेखनजस्तो लागे पनि यसले प्रतिक्रियावादी सत्ताको चरित्र र वर्गीय अन्तर्विरोधलाई पनि प्रस्ट पारेको छ । यहाँ यसै पक्षलाई उजागर गर्ने  तीनवटा कविता प्रस्तुत गरिएको छ  ।

अनिल शर्मा थोरै लेख्ने, तर राम्रो लेख्ने कुशल कवि हुन् । निभा शाह चर्चित कवि हुन् । ‘मनसरा’ ले उनलाई सधैँ जीवन्त बनाइरहने छ । उमेश आचार्य कविता मार्फत क्षमतावान लेखकका रूपमा आफ्नो पहिचान  बनाउन   उद्धत कवि हुन् ।
...............................................................................................................







गिद्ध
अनिल शर्मा

गिद्ध इमानदार छ
जिउँदो सिकार गर्दैन गिद्ध
प्रतीक्षा गर्छ/रुँगेर बस्छ
तर काठमाडौँले जिउँदो सिकार गर्छ
जब कोरोना आउँछ
काठमाडौँले जीवन र लास चिन्दैन
हाँडाभाँडा फालिदिन्छ छिँडीबाट
र यो देशको शरणार्थी
लखेटिन्छ उतै देहाततिर ।

बिसुनाकी दुधे नानी
राजापुरको आकाशमाथि
माछागढको कालोपत्रे सडकहुँदो
आँखा तानेर हेर्छे
तर घरछेउको चौरीमाथि
उड्दै-उड्दैन चिलगाडी
बिसुनाका लागि
हठनीदेवीको खसमका लागि
कोहलपुर-अत्तरिया सडकतिर
गुड्दै-गुड्दैन मोटरगाडी
चिलगाडीले बोक्न त बोक्छ
गोरा बोक्छ/सेठजी बोक्छ/मन्त्राणी बोक्छ
तर निर्दयी वायुपङ्खी घोडाले
सोमलाको बाबा बोक्दै बोक्दैन ।

जब सकिन्छ मामदमारको गुन्द्रुक
सकिन्छन् ढुसी परेका मुलाका चाना
भूकम्प होस् वा कोरोना
जब बन्द हुन्छन् भक्तपुरका इँटाभट्टा
दोजिया फूलमती
अनिकालको लाठीले लखेटिन्छे
नबोली-नबोली सिकार गर्छ काठमाडौँ
तर गिद्धले जिउँदो सिकार गर्दैन
गिद्ध इमानदार छ ।

अपार्टमेन्टहरू/डिपार्टमेन्टहरू/ओम्नीहरू
यत्रतत्र छन् काठमाडौँमा
ताःननी गल्लीतिर/महापालतिर/किलागलतिर
काठमाडौँ छैन
गल्ली छन्ज्या/पु छन्ज्या/मी मात्रै छन्
सोमलाको बाबा बोक्न
जन्मेकै छैनन् ‘राइट ब्रदर्स’
फूलमतीका लागि
आविष्कार भएकै छैन वाष्प–इन्जिन
यो सोह्रौँ शताब्दी हो
दुधे बच्चा काखी च्यापेर रामकली
हेरिरहन्छे लहान–राजविराज सडक
तर बिसुना
मौवा खोलामा रोकिन्छ
बन्द छ युरोप छिर्ने बन्दरगाह
बिसुनाहरू सियाली हुन्

काठमाडौँ र भरतपुर टर्की हुन्
त्यसैले बन्द गरिएको छ
युरोप छिर्ने ढोका ।

जब खुल्नेछन् चन्द्रागिरिका इँटाभट्टा
काठमाडौँले रङ बदल्नेछ
र देहाती अफ्रिकीहरू
चिया/कफी/उखु/भरिया फलाउन
फेरि ओसारिनेछन्
र भरिनेछन् फेरि
ताराताल-काठमाडौँका थोत्रा बस
फेरि सुरु हुनेछ मानव-बधशाला
तर गिद्धले जिउँदो सिकार गर्दैन
गिद्ध इमानदार छ ।
००
.....................................................................................................








बडाहजुर !
निभा शाह
 
जो रोटी तुम्रो कुकुर
नमिठो–नमिठो मानी
–याल नचुहाएरै खान्छ
त्यो रोटी मेरो छोरो
मीठो मानी
–याल चुहाएरै खाँदो भन्या पनि पाउँदैन
 
बडाहजुर !
यो देशको नागरिक
मेरो छोरो की तुम्रो कुकुर ?
बडाहजुर !
देशको नागरिक
मान्छे हुन्छ कि कुकुर ?
 
बडाहजुर !
जो भोटो तुम्रो कुकुर
फेरि फेरि लाइन्छ
त्यो भोटो  मेरो  छोरो
टाला हाली लाउँदो भन्या पनि पाउँदैन
बडाहजुर  !
यो देशको नागरिक
मेरो छोरो की तुम्रो कुकुर ?
बडाहजुर  !
देशको नागरिक
मान्छे हुन्छ कि कुकुर ?
 
बडाहजुर !
तुमी अझै देशको कुरा गर्छौ ?
तुमी राष्ट्रियताको कुरा गर्छौ ?
 
पोहर हिउँदमा मेरो छोरो
चिसा सिरोटोले मर्यो
यो देशको झण्डा मेरा छोराका लागी
बाँच्दा न बर्को भएर आयो
मर्दा न कात्रो भएर आयो
बडाहजुर ! तुमी देशको कुरा गर्छौ ?
तुमी राष्ट्रियताको कुरा गर्छौ ?
 
बडाहजुर !
यो देशको झण्डामा
ओथारो बस्ने चन्द्रसूर्य
मेरा लागी न कहिल्यै ताप भएर आयो
मेरा लागी न कहिल्यै शितल छहारी भएर आयो
बडाहजुर !
तुमी देशको कुरा गर्छौ ?
तुमी राष्ट्रियताको कुरा गर्छौ ?
 
बडाहजुर !
मेरा पुर्खाका रगतले सिएको झण्डा
अचेल मेरा लागि 
दिनदिनै रातो बाकस बोकेर आउँछ
बडाहजुर !
तुमी देशको कुरा गर्छौ ?
तुमी राष्ट्रियताको कुरा गर्छौ ?
 
बडाहजुर !
मेरा बाजे र बराजुहरू  भन्थे
उचेल यो झण्डा
जुना* मालिकहरूका लागि
सेतो डलर बोकेर आउँथ्यो
अचेल यो झण्डा
नयाँ मालिकहरुका लागि
रातो डलर बोकेर आउँछ
बडाहजुर !
तुमी देशको कुरा गर्छौ ?
तुमी राष्ट्रियताको कुरा गर्छौ ?
 
बडाहजुर  !
तुमी हामी
एउटै देशका दुइटा देश
तुमी टुप्पा हामी ठेक
 
बडाहजुर !
तुमी टुप्पा बसी गाउँछौ
‘सयौं थुङ्गा फूलका हामी एउटै माला नेपाली
सार्वभौम भई फैलिएका मेची महाकाली'
बडाहजुर !
हामी ठेक बसी गाउँछौं –
सयौं थुङ्गा फूलका हामी फरक माला नेपाली
शरणार्थी भई फैलिएका मेची महाकाली
 
बडाहजुर !
सोलुदेखि बर्दिया हिँड्ने भोको पैताला
शरणार्थी हुन्छ कि सार्वभौम हुन्छ ?
आज देशको परिभाषा बदलिएको छ
आज नागरिकताको परिभाषा बदलिएको छ
हिजो र आजमा फरक यति हो
 
बडाहजुर !
हिजो नागरिकतामा खोल थियो
आज नागरिकता नाङ्गै छ

००
जुना* –पुरानो
...................................................................








छिमेकी
उमेश आचार्य

मेरो आँगनसँगै
जोडिएको छ उसको आँगन
त्यसैले ऊ मेरो छिमेकी हो ।

ऊ आउँछ हरेक दिन मेरो घरमा
म जान्छु हरेक दिन
उसको घरमा,
बास्नादार चियाको चुस्कीसँगै
कुरा हुन्छन् हाम्रा पुर्खाहरुको
विगत र वर्तमानसँगै
सुखी निकट भविष्यको ।

धर्मले,कर्मले,मर्मले र अर्मपर्मले
हाम्रो घाँटी जोडिएको छ
ऊ भन्दै गयो -
त्यसैले एकलाई अर्काको पीडा महसुस हुनु
असल छिमेकीको परिचय हो !
भोलि बिहानको चिया
सँगै खाने सर्तमा
मैले बिदाइका हात मिलाएँ ।

मभन्दा सम्पन्न र शक्तिशाली
मेरो छिमेकीले
मेरो आँगन सम्म र फराकिलो पार्न
मेरो घरमा धारा र बत्ती जोड्न
राम्रो सहयोग गरेकै हो,
पोहोर वर्षामा मेरो घर चुहुँदा
उसैले हो छाना फेरिदिएको,
परार भूकम्पको राहत बोकेर
उही हो पहिले आइपुगेको
ऊ विचार गरिरहन्छ
मेरो चुल्हो बलेको , निभेको
निश्चिन्त म गर्व गर्छु
छिमेकी होस् त मेरो जस्तो !

ऊ राम्ररी जान्दछ
मेरा पुर्खाले सन्ततिका लागि
जोगाएर राखिदिएको धन
मेरो घरको कुन कुनामा छ !
उसलाई थाहा छ
मेरो असली हैसियत कति छ !

तर अचानक आज बिहान
मेरो घरको बलेंसीमा ठडिएको थियोे
एउटा अग्लो पर्खाल जुन मेरै छिमेकीले
मध्यरातमा लगाएको रहेछ !
थाहा छैन दिनभर छतमा घाम तापेर बस्ने ऊ
रातमा किन यति सक्रिय !

अब आफ्नै आँगनमा
उसका केटाकेटी खेलेको दृश्य
कर्के नजरले हेर्दै
मलाई छोरीले आदेश दिनेछिन्
बाबा ! खेद्नुहोस् सबैलाई हाम्रो आँगनबाट !
अनि हामी खेल्नुपर्छ 'मुसो बिरालो' खेल !
निशव्द म
खै, कसरी सम्झाऊँ छोरीलाई !
कसरी निभाऊँ चुल्होमा बलिरहेको आगो !

लाचार म सम्झिन्छु क्रमशः
असल छिमेकी , हाम्रो जोडिएको घाँटी
नियाल्दै यो अग्लो पर्खाल
जसले मलाई मेरै आँगनमा
प्रवेश निषेध गरेको छ !

इतिहासको गर्हौं झापड गालामा चड्किदा
अनायास स्मृतिमा आउँदै जान्छन्
कालापानी, सुस्ता,लिपुलेक र लिम्पियाधुरा
नालापानी, देउथल र भीषण युद्धका
गौरवशाली परिदृश्यहरु !

घाइते मृगले हाँसिरहेको ब्याधालाई हेरेझैँ
आँखा मिच्दै हरेक बिहान
हतास मुद्रामा हेर्ने गर्छु यही अग्लो पर्खाल
एकाएक सर्दै-सर्दै मध्यरातमै
मेरो सानो अनि सुन्दर घर
कतै छिमेकीको सीमाभित्र त पुगेको छैन !
००

भिडियो फिचरview all