menu

ताजा समाचार

रामदेवको फोनादेश र 'कमरेडहरू' को लामबन्दी

सोझै सैन्य आक्रमण गरेर खास ठाउँलाई अधीनमा लिएर शासन गर्नु साम्राज्यवादको चरित्र हो ।  साम्राज्यवादको यो चरित्र बुझ्न सजिलो थियो, जनपरिचालन र  सङ्घर्ष गर्न पनि सजिलो थियो । तर नवउपविनेशवाद निकै खतरनाक छ, यसले सोझै आक्रमण नगरी दलालहरू निर्माण गर्छ,  तिनको प्रयोगमार्फत अनेक तरिकाले खास मुलुकमा  आफनो आर्थिक, राजनीतिक र सांस्कृतिक आधिपत्य कायम गर्छ । खासगरेर सन् ६० को दशकपछि साम्राज्यवादले यो प्रक्रियालाई बढी प्रभावकारी ठानेर प्रयोग गरिरहेको छ । यो साम्राज्यवादको नव–उपनिवेशवादी चरित्र हो । माओका भनाइमा यो अझ  खतरनाक प्रवृत्ति हो । माओले यसलाई यसरी प्रस्ट पार्नुभएको छ :

“दोस्रो विश्वयुद्धपछि साम्राज्यवादीहरूले उपनिवेशवादलाई अवश्य पनि तिलाञ्जली दिइसकेका छैनन् । बरु नयाँ  रूप, नवउपनिवेशवादको विकास गरेका छन् । यस्तो नव उपनिवेशवादको महत्त्वपूर्ण चरित्र के हो भने साम्राज्यवादीहरूले केही क्षेत्रमा आफ्नो औपनिवेशिक शासनको पुरानो शैली बदल्न नयाँ  शैलीको औपनिवेशिक शासन उनीहरूले चयन गरेका र प्रशिक्षित गरेका आफ्ना एजेन्टहरूमाथि भर गरेर शोषणलाई वृद्धि गरिरहेका छन् । संयुक्त राज्य अमेरिकाको नेतृत्वमा साम्राज्यवादीहरूले औपनिवेशिक मुलुकहरूसित सैनिक गठबन्धन गरेर, सैन्य आधारहरू मिलाएर, ‘सङ्घहरू’ र ‘समुदायहरू’ स्थापना गरेर तथा कठपुतली शासन कायम गरेर आफ्नो स्वतन्त्रताको घोषणा गरेक मुलुकहरूलाई अधीनस्थ बनाउँछन् । आर्थिक ‘सहयोग’ र अरू रूपहरूद्वारा उनीहरूले ती देशहरूमा आफ्ना मागहरूका लागि बजार, कच्चा पदार्थको स्रोत, उपनिवेशका लागि विशेष उपाय वा तरिका अँगाल्छन्, धनदौलत लुट्छन् र ती देशका जनताको रगत चुस्छन् । ...यो नव–उपनिवेशवाद उपनिवेशवादभन्दा धेरै घातक र षड्यन्त्रकारी छ ।”

अहिले भारतीय विस्तारवाद यही काम गरिरहेको छ । भारतीय विस्तारवादले आफ्नो पुरानो धन्धा सिमाना मिच्ने काम जारिराखेको छ । नयाँनयाँ दलालहरू उसको सेवामा नाम लेखाउन तछाडमँछाड गरिरहेका छन् । त्यसैगरी भारतीय विस्तारवाद नेपालको कच्चा पदार्थ र स्रोतसाधन कसरी कब्जा गर्ने भनेर अनेक उपाय र प्रयोग गरिरहेको छ । अनेक थरीका बाबाहरूको ‘रामलीला’ यसैको उपज हो ।

भारतमा कथित बाबाहरूले एकएकओटा पार्टी र भूगोलका साथै समुदायलाई च्यापेका छन् । तिनीहरू आफूलाई राजनीतिभन्दा माथि भन्छन्,  तर खास राजनीतिको स्वार्थ र सेवामा ती क्रियाशील भइरहेका हुन्छन् । सत्ता र राजनीतिक प्रभावका आडमा तिनले गरेका काला करतुतहरू समयसमयमा बाहिर आउँछन् । एक हिसाबले सत्ताभित्रकै खेलमा ती बाहिर ल्याइन्छन् । आशारामलगायत थरीथरी रामका पछिल्ला घटनाहरू यसैका उपज हुन् ।

नेपाल जटिबुटी र खनिज पदार्थको खानी हो । नेपालका दलालहरूका कारण  डाबरलगायतका कम्पनीहरूले नेपालका  जडिबुटीहरू कब्जा गर्दै आइरहेको सन्दर्भमा अब आएर मोदीका महागुरु ‘बाबा रामदेव’ को विशेष ‘कृपादृष्टि'  नेपालका जटिबुटीहरू र अन्य कच्चा पदार्थतर्फ पर्नथालेको कुरा पछिल्ला घटनाक्रमहरूले प्रस्ट पारेका छन् ।

रामदेवको उद्देश्य अरबौँको ब्यापार सुरक्ष्या र विस्तार नै हो । साथै योग शिविरका नाममा नेपालका नेताहरूलाई आशीर्वादमार्फत भारतमुखी बनाएर भारतको राजनीतिक प्रभाव विस्तार गराउनु पनि हो । अर्को कुरा आम जनमानसमा भारत विरोधी भावना कम गराउन अनेक तालमेल र परिपञ्च रच्नु पनि हो । योग शिविर र पतञ्जली योगपीठका नाममा  नेपालको जमिनको ठूलो हिस्सा कब्जामा लिएर वर्षौँसम्म अड्डा जमाएर—तरार्ईदेखि हिमालसम्म प्रभाव र प्रभृत्व कायम गर्नु रामदेव पतंजली अभियानको अर्को नाम हो । यसरी जमिन, जडिबुटी र जनमस्तिष्कलाई प्रभावित पारेर अन्ततः नेपालमा भारतीय नव-औपनिवेशिक आधिपत्यलाई सुदृढ पार्नु रामदेव अभियानको मूल उद्देश्य हो ।

भारतमै पनि  रामदेवको  पाखण्डपनको तीव्र भण्डाफोर भइरहेको छ । उनी काङ्ग्रेस आइका विरोधी र भारतीय जनता पार्टीका प्रबल समर्थक भएकाले मात्रै उनको विरोध भएको होइन ।  उनी दलित र आदिवासी जनताप्रति उपेक्षा र अपमान गर्ने  पात्र हुन् । त्यति मात्र नभएर उनी मार्क्सवाद विरोधी पात्र पनि हुन् । उनलाई कम्युनिस्टको ‘क’ पनि मन पर्दैन । “दलितहरूको बस्ती  भनेको हनिमुन मनाउने ठाउँ हो” भनेर उनले भनेको कुराको विरोध भइरहँदा उनले चिनियाँ सामान बहिष्कारको भारतव्यापी अभियान चलाए । उनले विचारको कुरा नगरेर सामान वष्हिष्कारको कुरा गरे–अर्थात् अर्थराजनीतिको ।  यस अर्थमा रामदेव धार्मिक र योग साधनाको आडम्बरमा हिन्दू फासिवादी सत्ताका अर्थब्यापारी हुन् । उनको नेपालमा गर्ने गरेका अभिनय र अभ्यान यसै उद्देश्यद्वारा निर्देशित छन् । ज्ञानेन्द्र सिंगापुर, भारत र चीन धाइरहेको अवस्था, मोदीले हिन्दू राष्ट्रको वकालत गरिरहेको अवस्था  र संविधान संशोधनको  सन्दर्भले नेपालको राजनीति तरल बनिरहेको समयमा नेपालमा रामदेवको पतंजली क्याम्प स्थापना रहस्यमय मात्रै छैन,  षड्यन्त्रपूर्ण पनि छ ।

रामदेव नेपाल र नेपालीप्रति कति उपेक्षाभाव राख्छन् भन्ने कुरा उनले वीरगन्जमा  ‘राष्ट्रपति’ प्रति गरेको अपमानबाट पनि अवगत गर्न सकिन्छ । दस वर्ष जनयुद्ध लडेका नेताहरूसमेत रामदेवको आर्शीवाद थाप्न तँछाडमछाड गर्छन् भने रामदेवबाट नेपालका अन्य नेताहरूको उपेक्षा र अपमान भयो भन्नुको पनि कुनै अर्थ छैन । परार साल टुडिखेलको शिविरमा लम्पसार भएवापत आलोचनाको पात्र बनेका प्रचण्ड  रामदेवको दर्शन गरेर आशीर्वाद लिन हरिद्वारा पुगेको कुरालाई “‘बाबाको आशीर्वाद’ सत्ताको  भर्यांग” भनेर पत्रपत्रिकाले त्यतिबेर हेडलाइन बनाउनु आनौठो कुरा थिएन । सत्तामा पुग्न आर्शीवाद लिन  नेपालका नेताहरू आफ्नो शरणमा आउँछन् भन्ने थाहा पाएका रामदेवले राष्ट्रपति  विद्यादेवी भण्डारीको  अपमान गरे भन्नुको पनि कुनै तुक छैन । लम्पसार गर्न गएपछि हुने कुरा त्यही नै  हो र भयो ।

भारतमा धार्मिक  गुरुहरूले एक किसिमको आतङ्क नै मच्चाएका हुन्छन् ।   विरोध गर्नेहरू गायब हुन्छन्,  अतिवादी भन्दै कतिपय ‘इन्काउन्टर’ मा पनि पर्छन् । र पनि भारतमा धार्मिक  पाखण्डपन र बाबाहरूका लीला र ढौँगी चरित्रविरुद्ध सचेत नागरिकहरू  बोलेकै छन् । भारतबाट प्रकाशित  इन्डिया न्युज साप्ताहिकले रामदेवको पाखण्डपनको भण्डाफोर गरेर विशेषाङ्क निकालेको थियो  । तर सो पत्रिकामाथि नै प्रतिबन्ध लगाइयो । त्यसैगरी मार्क्सवादी युवाहरूको  प्रकाशन आह्वानले ‘बाबा रामदेव का स्वाभिमान और खातापिता मध्यवर्ग’ शीर्षकमा रचना प्रकाशित गरेर रामदेव मजदुर विरोधी, प्रभृत्ववादी ब्यापारी हुन् र धार्मिक पाखण्डी हुन् भन्दै यसरी व्यङ्ग्य गरेको छ :
“बाबा रामदेव मध्यवर्गको एउटा ठूलो हिस्साका सिङ हुन् । नङ हुन् । चार भुजाधारी विष्णु हुन्, जो एउटा भुजाबाट बिमारीको संहार गर्छन्,  अर्को भुजाबाट भ्रटाचारको, तेस्रो भुजाबाट स्वदेशी शङ्ख बजाउँछन् र चोथौ भुजाबाट स्वाभिमानको राग अलाप्छन् ।”
सो लेखमा उनले केकस्ता आर्थिक शोषण र अनियमितता गरेका छन् र उनको धार्मिक पाखण्डपनभित्र के–कस्तो स्वार्थ लुकेको छ भन्ने कुरा प्रस्ट पार्दै निष्कर्षमा भनिएको छ :
“आजको अँध्यारो समयमा जनताका पछौटेपन, गतिहीनता, परिवर्तनकारी शक्ति कमजोर हुनुको लाभ पाखण्डी अन्धराष्ट्रवादी धार्मिक फासिवादीहरूले लिइरहेका छन् । आज नभए पनि भोलि जनताले यिनका काला करतुतहरू बुझ्नेछन् । वर्तमानको लुटेरा व्यवस्था र यी पाखण्डीहरूबीचको सम्बन्धलाई जनताले राम्रोसित जान्नेछन् ।”

नेपालका नेताहरू लम्पसारवादमा फसे पनि आम जनता र युवा जमात कति सचेत  छ भन्ने कुरा कतिपय अनलाइनका समाचारहरू र सामाजिक सञ्जालमा व्यक्त  ''रास्ट्रपति रामदेवको ब्रान्ड एम्बास्डर", 'हरियो बन रामदेवको धन" जस्ता  टिप्पणीहरूबाट बोध गर्न सकिन्छ ।

 प्रणव मुखर्जीको नेपाल भ्रमणका बेला प्रचण्ड एन्ड कम्पनी लम्सार परेको थियो र अहिले राष्ट्रपति, प्रधानमन्त्री देखि झलनाथसम्म लम्पसार परेका समाचार आएका छन् । सबैले आआफना तीर्थपोखरीमा टाउको चोपलेर आफ्नो असली अनुहार सार्वजनिक गरेका छन् । यस किसिमको स्थितिमा रामदेवले राष्ट्रपतिलाई  अपमान गरे भन्ने प्रश्न नै होइन, यो त  हाम्रा सम्माननीयहरूको दासत्व मानसिकताप्रतिको रामदेवको प्रतिक्रिया मात्र हो । रामदेवको एउटा फोन–आदेशमा लाखौँ रुपियाँ खर्च गरेर हेलिकप्टरमा दर्शन गर्न जाने प्रचण्डजस्ता पात्रहरू अपमानित नभएर अरू को हुन्छ ! प्रश्न रामदेवले के गरे भन्ने होइन, प्रश्न हामीले आफूलाई कुन ठाउँमा उभ्यायौँ भन्ने नै हो ।
 
रामदेव प्रवृत्ति भारतीय विस्तारवादी ठालुपनको उपज हो । जल, जमिन, जडिबुटी र जनमस्तिष्क कब्जा गर्ने रामदेव तराईदेखि हिमालसम्मको यात्रामा निस्केका छन् र बाजागाजासहित लम्पसारवादीहरू उनको यात्रालाई सहज बनाइरहेका छन् । आशीर्वादका लागि लामबद्ध शीर्ष टाउकाहरूले देखाएको यर्थाथ  यही हो ।

रामदेव अभियान एक्लै आएको  छैन, यो नव–उपनिवेशवादी सारतत्वका साथ अक्टोपस बनेर आएको छ । यस अर्थमा रामदेववाद र लम्पसारवाद दुवैका विरुद्ध चनाखोपनको आवश्यकता छ ।
डा. ऋषिराज बराल
०००

भिडियो फिचरview all