menu

ताजा समाचार

मार्क्सवादी लेखक अनिल शर्मा पक्राउ

नेपाल कम्युनिस्ट पार्टी (विप्लव) का केन्द्रीय नेता तथा सो पार्टीका प्रचार विभाग प्रमुख अनिल शर्मा ‘विरही’ पक्राउ परेको कुरा सो पार्टी नजिक माध्यमले जनाएको छ । कवि, निबन्धकार र पत्रकारका रूपमा समेत स्थापित अनिल शर्मा सो पार्टीका क्रियाशील नेता हुन् । पार्टी विभाजनका समयमा पोलिब्युरो सदस्य रहेका ‘विरही’  पछिल्लो समयमा पार्टीले पोलिटब्युरोका प्रावधान खारेज गरेपछि केन्द्रीय सदस्यका रूपमा क्रियाशील  थिए ।

 उच्च  रक्त चाप र सुगरका बिरामी अनिल शर्माका कविता, निबन्ध, लेखसङ्ग्रह, संस्मरण आदि गरेर ११ वटा पुस्तकहरू  प्रकाशित छन् । यसमा पनि पार्टीभित्रका दलालहरूका कारण जनयुद्धको समयमा पक्राउ परी भारत पटनाको कुख्यात बेउर जेलमा रहँदाको संस्मरण ‘सम्झनामा भारतीय जेल : २०६५) निकै चर्चित पुस्तक हो । पार्टीको माथिल्लो तहका नेता भए पनि अनिल शर्मा लेखक साहित्यकारकै रूपमा बढी परिचित छन् ।

 विचारको तहभन्दा भावनाको तहबाट काम गर्ने र बढी आवेगशील हुने भनेर साथीभाइहरूबीच बेलाबेलामा टिप्पणीको विषय बन्ने गरेका ‘विरही’ केन्द्रीय सदस्य गुणराज लोहनी पार्टीको प्रकाशन विभागको जिम्मेवारीबाट हटेपछि प्रकाशन विभागको निर्देशकका रूपमा कार्यरत थिए ।

'विरही' के-कति कारणले अस्पताल पुगे भन्ने कुरा प्रस्ट नभए पनि  बिरामी अवस्थामा अस्पतालबाटै गिरफ्तार गर्नु निन्दनीय कार्य हो। विगतमा  ‘प्रलेस’ को केन्द्रीय सल्लाहकारसमेत रहेका 'विरही'  को गिरफ्तारीको भ्रत्सना गर्दै ‘जनमेल’ वहाँको अविलम्ब रिहाइको माग गर्दछ र  वहाँको रिहाइका लागि आवाज उठाउन सम्पूर्ण लेखक,साहित्यकार र पत्रकारहरूसित अपिल पनि गर्दछ ।

भिडियो फिचरview all