menu

ताजा समाचार

माध्यम, जनमत निर्माण र 'जनमेल' अनुभव

त्यसबेला  प्रचण्ड र उनको झुन्डका विरुद्ध वैचारिक सङ्घर्ष गर्ने क्रममा हामीले वैचारिक प्रकाशन समयबद्ध र वेबसाइट samayabaddha.org आरम्भ गरेका थियौँ । यसले केही हदसम्म हाम्रो आवश्यकता पूरा भएको भए पनि नेपालको माओवादी आन्दोलन, दुईलाइन सङ्घर्षका बारेमा भाइचारा पार्टीहरूलाई जानकारी गराउन, सर्वहारावादी मानवतावादी सम्बन्धलाई जीवन्त बनाउन र प्रतिक्रियावादीहरू तथा संसोधनवादीहरूले फिंजाएको भ्रम निवारण गर्न समयबद्ध मात्र पुग्दो थिएन । त्यसपछि हामीले अङ्ग्रेजीमा thenextfront.com आरम्भ गर्यौं  । यो प्रचण्डसँगै हुँदाको कुरा थियो । 

यसको तयारी र आरम्भ गर्ने क्रममा कमरेड अनिल शर्मा, डा. नन्दीश अधिकारी, डा.बरालको वैचारिक तथा आर्थिक पहल थियो भने, प्राविधिक सहयोग मित्र योगेश खपाङ्गीबाट भएको थियो । बौद्धिक मञ्चका रूपमा यसको आरम्भ गरिएको थियो । 

समयक्रममा समयबद्ध टोली तितरवितर भयो । कोही कता पुगे कोही कता पुगे । अहिले त्यतातिर नजाऔँ । प्रचण्डबाट विद्रोह गरेर आएपछि केही समय समयबद्ध  चले पनि पछिका दिनमा यसको आवश्यकता बोध नगरेर होला, वैचारिक प्रकाशनका रूपमा यो  बन्द भयो । कमरेड किरणको नेतृत्वमा रहेको  पार्टीमा आवश्यकता पूरा गर्न डा. बरालको पहलकदमीमा  thenextfront.com नेपाली र अङ्ग्रेजीमा प्रकाशित भयो । 

नेपालको माओवादी आन्दोलनमा आएको उतारचढाव र स्थितिको सही जानकारीका दृष्टिले अन्तर्राष्ट्रिय क्षेत्रमा thenextfront.com निकै चर्चाको विषय बन्यो । कमरेड किरणको पार्टीभित्रको दुईलाइन सङ्घर्षमा पनि यो सही धारमा उभियो, यसले गलत प्रवृत्तिका विरुद्ध खबरदारी गरिरह्यो  ।केन्द्रीय समितिको पोखरा बैठकपछि     यसले ''बन्द गर्नु पर्ने" धम्की खायो र यसका सम्पादक डा. ऋषिराज बरालमाथि कारबाहीको डण्डा बर्साइयो । तर पनि  thenextfront.com चलि नै रह्यो । यसले महत्वपूर्ण दस्ताबेज नेपालीमा अनुवाद गरेर र नेपालीका महत्वपूर्ण दस्ताबेज अङ्ग्रेजीमा अनुवाद गरेर पाठकसामु पुर्यायो । पछिका दिनमा  यसमा  प्राविधिक लगायत थुप्रै समस्याहरू देखिन थालेपछि  र विसर्जनवादीहरूसित सम्बन्ध विच्छेद गरेर डा. बरालसहितका कमरेडहरू बाहिरिएपछि विचार संवाहकका रूपमा हामीले janamel.com आरम्भ  गर्यौं   । यो अहिले पनि चलिरहेको छ ।
 
केही प्राविधिक र केही आर्थिक समस्याका कारण  पनि एक वर्षदेखि thenextfront.com बन्द छ र यसको डोमेन पनि हाम्रो स्वामित्वबाट गइसकेको छ । भाइचारा पार्टीहरूका चासो र जिज्ञासाका कारणले र आफ्नै आवश्यकताबोधका कारणले अङ्ग्रेजीमा पनि एउटा वेबसाइट आवश्यक छ भन्ने हामीलाई लागेको छ र यसपल्ट विविध सन्दर्भमा हामीलाई यसको बढी नै आवश्यकता बोध भयो । बुर्जुवा माध्यमहरू, कर्पोरेट माध्यमहरू माओवादी आन्दोलनका सम्बन्धमा असाध्यै पूर्वाग्रही  छन्,  समाचार निषेध गर्छन् र दिए पनि गलत सूचना सम्प्रेषित हुने गरी दिन्छन् । त्यसैले पहिलेकै thenextfront.com सम्भव नभए पनि यस्तै-यस्तै नामको एउटा अङ्ग्रेजी अनलाइन चलाउनु आवश्यक छ  भन्ने निर्णयमा ‘जनमेल’ टोली पुगेको छ । ‘जनमेल’ मा English सेक्सन राखेर अङ्ग्रेजीका महत्वपूर्ण सामग्री प्रकाशित गर्ने गरिएको छ तापनि यो त्यति प्रभावकारी नहुने रहेछ भन्ने हाम्रो अनुभव छ । 

अहिलेको समय तीव्र ध्रुवीकरणको समय हो l माध्यमहरू यसको सबैभन्दा सशक्त माध्यम हुन् । हरेक मोर्चामा वैचारिक संघर्ष तीव्र पार्नु पर्ने समय हो । यो समय जनमत निर्माणको समय हो । जनमत निर्माण गर्ने काम असाध्यै छरपस्ट, अस्तव्यस्त जस्तो देखिन्छ l क्रान्तिकारी भनिएका पार्टीहरूका प्रकाशन हेर्यो, ती माओले भनेझै 'स्टेरियो टाइप' का हुन्छन्, अलिनो, निस्तो बोध हुन्छन्, माध्यमहरू चलाउनका लागि चलेजस्ता  मात्र छन् । विचारले ऊर्जा दिने हो र  संघर्षले सामग्री उत्पादन गर्ने हो,  दुवै कुराको अभाव भएपछि  सामग्रीको  अभाव  हुनु स्वाभाविक हुन्छ । 

चारैतिर कर्पोरेट माध्यमहरू र दक्षिणपन्थीहरूको होहल्ला छ र क्रान्तिकारी आवाज हराएजस्तो आवस्था छ । हामी सूचना साम्राज्यवादको सिकार भएका छौं । यस्तो स्थिति छ भने अंग्रेजी माध्यमको के कुरा. अरूहरूको के कुरा,  क्रान्तिकारी विचार सम्बहन गर्ने भनिएका नेपाली माध्यमहरूबीच पनि सहकार्य हुन् नसकेको आवस्था छ । ‘जनमेल’ को यस सन्दर्भमा निकै तीतो अनुभव छ  । केही वैयक्तिक सन्दर्भ रहे पनि e: ratokhabar सितको अन्तरविरोध बढी  वैचारिक हो, सबैभन्दा तीतो अनुभव    कमरेड किरणले नेतृत्त्व गरेको पार्टीका माध्यमहरूले दिएका छन् । खुराफातको पनि  हद हुन्छ...   ।  समय सन्दर्भमा सबै बाहिर आउँछन्  । 

आन्दोलनलाई बिभिन्न किसिमले सहयोग गर्न सकिन्छ । आजको  आवश्यकता वैचारिक सामग्रीको हो, नेता-कार्यकर्ताको अध्ययन-चिन्तन, लेखन-पढ्नमा रुचि छैन  । कतिपय हिजोको इतिहास अघि सारेर हाइसंचोमा   रहेका देखिन्छन् ,   कतिपय चौवीसै घण्टा फेसबुकमा रमाइरहेका हुन्छन् ।    वैचारिक छलफल, लेखादिहरू , अनि  राम्रा वैचारिक रचनाहरू अंग्रेजीमा अनुवाद गर्ने, अंग्रेजीका महत्त्वपूर्ण रचनाहरू नेपालीमा अनुवाद गर्ने र व्यापक पाठकसम्म पुर्याउने काम पनि अन्दोलनकै काम हो ।
  
समाचार माध्यमहरू  चलाउने भन्ने कुरा वैचारिक साथै  प्राविधिक कार्य  हो ।  यससित समय, श्रम र सीप सबै कुरा गाँसिएका छन् । आर्थिक पक्ष पनि गाँसिएको छ, तर सबैभन्दा प्रमुख कुरा भावनात्मक हार्दिकता हो, विचार र कामप्रतिको दृढता र प्रतिबद्धता हो l हाम्रा माध्यमहरूबीच सहकार्य   गरौँ , हाम्रा विचार र आवाजलाई व्यापक पाठकसम्म पुर्याऔं, विचार मिल्नेहरूसित सहकार्यको हात बढाऔं । 
 
००० 




भिडियो फिचरview all