menu

ताजा समाचार

कमरेड किरणको वक्तव्यले उठाएका प्रश्नहरू

‘जनमेल’ विश्लेषण
लेनिन जन्म दिन तथा 'नेपाल कम्युनिस्ट पार्टी' स्थापना दिवसका सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले जारी गरेको प्रेस वक्तव्य सो पार्टी सम्बद्ध माध्यममार्फत सार्वजनिक भएको छ । अहिलेको सन्दर्भमा कमरेड किरणको वक्तव्यमा उठान गरिएका केही सन्दर्भहरूले विशेष अर्थ राख्दछन् । नेकपा स्थापनाका सन्दर्भमा जारी वक्तव्य भएका कारण मात्र यो वक्तव्य विशेष महत्वको नभएर यसमा उठाइएका केही महत्वपूर्ण पक्षहरूका कारण यसको विशेष महत्व रहेको छ ।

 
१. वक्तव्यको आरम्भमा नेपालको कम्युनिस्ट आन्दोलनको सङ्घर्षमय यात्रा, दक्षिणपन्थीहरूसित क्रान्तिकारीहरूको सङ्घर्षका  साथै कम्युनिस्ट नाममा ओली-प्रचण्डको अमेरिकी सामज्यवाद तथा भारतीय विस्तारवादपरस्त चरित्रको भण्डाफोर गरिएको छ ।  ''झापा आन्दोलनका नाइके ओली र जनयुद्धका नाइके प्रचण्ड घरेलु प्रतिक्रियावादका संरक्षक र साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा दलाल बनेका छन्"  भन्दै ओली सरकारको राष्ट्रघाती तथा जनघाती चरित्रलाई यसरी प्रस्ट पारिएको छ :

झापा आन्दोलनका नाइके ओली र जनयुद्धका नाइके प्रचण्ड घरेलु प्रतिक्रियावादका संरक्षक र साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा दलाल बनेका छन्  “ नेपाली कम्युनिस्ट आन्दोलनको विकासमा दक्षिणपन्थी संशोधनवाद प्रमुख बाधक रहँदै आएको छ । यति बेला नेपालमा कम्युनिस्ट नामधारी करिब  दुई-तिहाई  बहुमतको सरकार गठन भएको छ । परन्तु यही नै बेला नेपालको राष्ट्रिय स्वाधीनतामाथि साम्राज्यवादी तथा विस्तारवादीहरुको हस्तक्षेप बढेर गएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई आफ्नो देशमा गाभेर भारतीय विस्तारवादी शासकहरुले नयाँ नक्सा सार्वजनिक गर्दा पनि नेपालको कथित कम्युनिस्ट सरकारले त्यसको विधिसम्मत विरोध दर्ज गर्नसम्म सकेको छैन । नेपालमा सैन्य अखडा स्थापना गरी दक्षिण तथा पूर्वी एसियामा आफ्नो प्रभाव विस्तार गर्ने र चीनमाथि आक्रमण गरेर नेपाललाई रणभूमि बनाउने योजना अनुसार अमेरिकी साम्राज्यवादले अगाडि सारेको एमसिसी परियोजनालाई चौतर्फी विरोधका बावजुद संसदबाट पारित गर्न नेपाल सरकार आफै लागिपरेको छ । जनतन्त्र तथा जनजीविकाका समस्या विकराल बनेका छन् । भ्रष्टाचार व्यापक छ । यतिसम्म कि कोभिड-१९ महामारी रोकथामका लागि बाहिरबाट स्वास्थ्य उपकरण आयात गर्ने क्रममा समेत ओली सरकार कमिसनका पछाडि दौडिराखेको छ । वस्तुतः सरकारले कम्युनिस्टको नामबाट कम्युनिस्टकै बदनाम गरिराखेको छ । झापा आन्दोलनका नाइके ओली र जनयुद्धका नाइके प्रचण्ड घरेलु प्रतिक्रियावादका संरक्षक र साम्राज्यवाद तथा विस्तारवादका भरपर्दा दलाल बनेका छन् । साथै, यहाँनेर कुन कुरा पनि उल्लेख गर्न जरुरी छ भने कोरोना भाइरसको महामारीका विरुद्ध सिङ्गो देश एकढिक्का भई लाग्नु पर्ने बेलामा ओली गुट सत्ता लिप्साको निरन्तरताका लागि आफ्नै पार्टीभित्र सङ्घर्ष चर्काउँदै थप निरङ्कुशताको बाटोमा लागि रहेको छ । वैशाख ८ गतेको अध्यादेश प्रकरण यसै कुराको एक अभिव्यक्ति हो ।

२. आफूलाई कम्युनिस्ट भन्ने सरकारले जनताका पक्षमा लडिरहेको पार्टी नेकपा (विप्लव) माथि लगाइएको प्रतिबन्ध हटाउन माग गर्नुको साथै जेलमा बन्दीका रूपमा रहेका कमरेड सुदर्शन, कमरेड उमा भुजेल र कलाकार तथा युवा नेता माइला लामाको रिहाइको पक्षमा पनि वक्तव्यमा माग गरिएको छ, यो सकारात्मक पक्ष हो l जस्तो वक्तव्यमा भनिएको छ :

आफूलाई कम्युनिस्ट पार्टीका नाममा प्रस्तुत गर्दै आएको पार्टीको नेतृत्वमा बनेको सरकारद्वारा कम्युनिस्ट पार्टीकै रूपमा सङ्गठित अर्को कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगाई सो पार्टीका नेता तथा कार्यकर्ताहरूलाई धरपकड गर्नु तथा कारागारमा थुनेर राख्नु निकै विडम्वनापूर्ण तथा अशोभनीय विषय हो । तसर्थ, पार्टीस्थापना तथा लेनिन दिवसको यस ऐतिहासिक अवसर तथा उपलक्ष्य र कोरोना भाइरसजन्य महामारीको भयाबह स्थितिमा नेपाली कम्युनिस्ट आन्दोलनका नेता हेमन्त प्रकाश ओली, सांस्कृतिक आन्दोलनका नेता माइला लामा, महिला मुक्ति आन्दोलनकी नेतृ उमा भुजेल लगायतका नेता तथा कार्यकर्ता कमरेडसहित सम्पूर्ण राजबन्दीहरूको अविलम्व रिहाइका लागि हाम्रो पार्टी सरकारसित जोडदार माग गर्दछ ।

३.नेपालभित्रका समस्याहरूप्रति गम्भीर देखिए पनि सभा, सम्मेलन र बैठकमा भारत तथा अन्तर्राष्ट्रिय समस्याबारे त्यति चासो नराख्ने नेकपा (क्रान्तिकारी माओवादी)ले यो बैठकमा भारतमा मोदी फासिवादले मच्चाएको राज्यआतङ्कको विरोधका साथ आजीवन कारावासको सजाय पाएका प्राध्यापक साइबाबा तथा जेलमा निर्वासित क्रान्तिकारी कवि वरवर रावको रिहाइको माग पनि यस वक्तव्यमा गरिएको छ । यो पनि यस वक्तव्यको महत्वपूर्ण पक्ष हो । जस्तो यसमा भनिएको छ :

यसैगरी लेनिन दिवसको ऐतिहासिक अवसर तथा उपलक्ष्य र कोरोना भाइरसजन्य भीषण महामारीको अवस्थामा भारतका जेलमा कष्टकर जीवन यापन गरिरहेका ९० प्रतिशत अपाङ्ग प्राध्यापक जी। एन्। साइबाबा, लेखक तथा सांस्कृतिक योद्घा बरबर राव, लेखक तथा सामाजिक अभियन्ता गौतम नवलखा, प्राध्यापक आनन्द तेलतुम्डे लगायतका लेखन, पत्रकारिता तथा सांस्कृतिक रूपान्तरणका अभियानमा क्रियाशील रहिआएका वाम बुद्घिजीवी राजबन्दीहरूको यथाशीघ्र रिहाइका लागि हाम्रो पार्टी भारत सरकार समक्ष सशक्त आवाज उठाउँछ ।

 ४. वक्तव्यको अन्तयमा उठाइएका कुराहरू निकै महत्वपूर्ण छन् र तिनले व्यावहारिक क्रियाशीलताको माग गर्छन् । माथि भनेझैँ कम्युनिस्टको नाममा प्रचण्डओलीहरू अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको चाकरीबाज बनेका छन् र राष्ट्रिय स्वाधीनता तथा जनतन्त्रको प्रश्न असाध्यै नाजुक स्थितिमा छ । समयले नेपालका क्रान्तिकारीहरूबीच व्यापक बहसछलफल, समीक्षा र संश्लेषणको माग गरेको छर सरमाः क्रान्तिककारीहरूबीच  एकता र ध्रुवीकरणको आवश्यकता औँल्याएको छ । कमरेड किरणको वक्तव्यमा यो प्रश्नले ठाउँ पाएको छ तापनि यो अझ खुलस्त रूपमा आउनु आवश्यक छ । जस्तो यसमा भनिएको छ :

क्रान्तिले गंभीर धक्का खाएको बेला, हामीले दक्षिणपन्थी संशोधनवादका विरुद्ध सैद्धान्तिक भण्डाफोर गर्दै र सच्चा कम्युनिस्ट शक्तिहरुसंग एकता–संङ्घर्ष–रुपान्तरण मार्फत् नयाँ आधारमा नयाँ एकता निर्माण गर्नका लागि स्वच्छ वैचारिक सङ्घर्ष चलाउँदै क्रान्तिकारीहरुलाई एकताबद्घ गर्ने कोशिस गर्दै आएका छौं । पार्टी स्थापनाको यस अवसरमा हामी क्रान्तिको प्रक्रियालाई अगाडि बढाउनका लागि पुनः प्रतिबद्धता जाहेर गर्दछौं र पार्टीका सम्पूर्ण कमरेडहरु, आम जनसमुदाय र विश्व सर्वहारा वर्गप्रति हार्दिक अभिवादन व्यक्त गर्दछौं ।  दक्षिणपन्थी संशोधनवादका विरुद्ध सैद्धान्तिक भण्डाफोर गर्दै र सच्चा कम्युनिस्ट शक्तिहरुसंग एकता-संङ्घर्ष-रुपान्तरण मार्फत् नयाँ आधारमा नयाँ एकता निर्माण गर्नका लागि स्वच्छ वैचारिक सङ्घर्ष चलाउँदै क्रान्तिकारीहरुलाई एकताबद्घ गर्ने कोसिस  गर्दै आएका छौं ।

यो कोसिसलाई कसरी व्यवहारमा उतार्ने भन्ने प्रश्न नै आजको अहम् प्रश्न हो र नगरी नहुने कार्य हो । यो अहिलेको समयले निर्देशित गरेको सत्य हो । नेकपा (विप्लव) पछिल्लो  समयमा जेजस्तो स्थितिबाट गुज्रिरहेको छ, उसले पनि नयाँ किसिमले सोच्ने र समीक्षा गर्ने बेला आएको छ । यति मात्र नभएर नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पनि इतिहासको गम्भीर समीक्षा गर्नु आवश्यक छ र आफूहरूसित पनि थुप्रै समस्या रहे र  अझै पनि थुप्रै कमीकमजोरी रहेका छन् भन्ने यथार्थलाई आत्मसात गर्नु जरुरी छ भन्ने ठहर ‘जनमेल’ को  छ ।
०००  

भिडियो फिचरview all