menu

ताजा समाचार

अहिलेको अहम् प्रश्न

आज महान् लेनिनको जन्म दिन हो र आज नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन पनि हो । आजकै दिन २००६ ( सन् १९४९ ) साल वैशाख १० गते २२ अप्रिलका दिन नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । कसैकसैले १५ सेप्टेम्बरलाई नेकपाको स्थापनाको दिन भने पनि आजको दिन नै नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको हो ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन नेपालको कम्युनिस्ट आन्दोलमा देखिएका विविध आरोहअवरोको समीक्षा गर्दै र इतिहासबाट शिक्षा लिँदै अघि बढ्ने प्रतिबद्धता जाहेर गर्नु हरेक मार्क्सवादी व्यक्ति तथा पार्टीको दायित्व हो ।

नेपालमा कम्युनिस्ट नामधारी थुप्रै पार्टीहरू छन् । आफूलाई मार्क्सवादी र कम्युनिस्ट भन्न चाहने र रुचाउने पनि थुप्रै व्यक्तिहरू छन् । कम्युनिस्ट पार्टीका नाममा संशदीय राजनीतिको अभ्यास गरिरहेका पार्टीहरूका बारेमा अब नेपाली जनतालाई भ्रम छैन । कम्युनिस्ट पार्टीका नाममा प्रचण्ड र ओलीले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  कसरी नव-प्रतिक्रियावादमा पतन भएको छ र त्यसको नेतृत्वमा बनेको सरकार कसरी जनविरोधी र राष्ट्रिय स्वाधीनता विरोधी अभ्यासमा लीन छ भन्ने कुरा पनि नेपाली जनताका सामु दिनको घामजत्तिकै छर्लङ्ग भएको छ ।

कम्युनिस्ट पार्टी नाम राखेका अर्का थरीहरू सारसङ्ग्रहवादी अवसरवादमा फसेका छन् । ती सङ्घर्ष र बेलबेलामा क्रान्तिका कुरा पनि गर्छन् । तर सत्ताधारीहरूसित टाँसिएर संसदीय सुविधामा चुर्लुम्म डुबेका छन् । नयाँ जनवाद र  माओ विचारधाराको कुरा गर्ने यस किसिमको  प्रवृत्ति सारतः नेपाली विशिष्टता बोकेको दक्षिणपन्थी  अवसरवादी प्रवृत्ति नै हो ।

नेपालमा मार्क्सवाद-लेनिनवाद-माओवाद मान्ने  क्रान्तिकारी परिवर्तनप्रति प्रतिबद्ध पार्टीहरू छन् । सशस्त्र सङ्घर्षद्वारा नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर वैज्ञानिक समाजवादको बाटोमा अघि बढ्ने मूल्यमान्यताप्रति प्रतिबद्ध पार्टीहरू र व्यक्तिहरू, र यो अभियानमा सहभागी जनसमुदाय नै सही अर्थमा नेपाली क्रान्तिका संवाहक हुन् र सही अर्थमा नेपाल कम्युनिस्ट पार्टी र यसको  क्रान्तिकारी विरासतको हकदार हुन् ।

नेपालको कम्युनिस्ट आन्दोलन आफैँमा वर्गसङ्घर्षको दस्ताबेज हो । समयक्रममा कहिले उग्रवामपन्थी धार र कहिले दक्षिाणपन्थी धार विरुद्ध मूलतः दक्षिणपन्थी धारका  विरुद्ध सङ्घर्ष गर्दै नेपाली कम्युनिस्ट आन्दोलन आजको स्थितिमा आइपुगेको हो । संसदवादी दक्षिणपन्थी अवसरवाद, विसर्जनवाद र सारसङ्ग्रहवादका विरुद्धको सङ्घर्षमा आर्जित अनुभव र निष्कर्षका रूपमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को जन्म भएको र यसको नेतृत्वमा अघि बढेको महान् जनयुद्धले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ गति र दिशा दिनुका साथै नयाँ गुणात्मक स्वरूप प्रदान गर्यो  । यस आन्दोलनसित सम्बद्ध एक थरीले गद्दारीको बाटो समाते पनि मार्क्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादी क्रान्ति र क्रान्तिका तीन जादुगरी हतियारप्रति प्रतिबद्धहरू इतिहासले सुम्पेको जिम्मेवारीप्रति प्रतिबद्ध भएर समयसापेक्षित रूपमा अहिले पनि सङ्घर्ष गरिरहेका छन्  ।

यो संविधानलाई पूर्णरूपमा खारेज गर्ने र मालेमा,  नयाँ जनवाद र वैज्ञानिक समाजवादप्रति प्रतिबद्ध हुनेहरू बीचको एकता तथा धु्वीकरणसित नै नेपाली क्रान्तिको गति, दिशा र भविष्य जोडिएको छ । वर्तमानले यस यथार्थलाई अझ प्रस्टताका साथ पुष्टि गरेको छ ।
मार्क्सवाद-लेनिनवाद-माओवाद तथा वैज्ञानिक समाजवादप्रति प्रतिबद्ध नेकपा (विप्लव) माथि प्रतिबन्ध लगाइएको छ । उसका दर्जनौँ नेता तथा कार्यकर्ताहरू जेलमा छन् तापनि उसले आफ्ना गतिविधिलाई निरन्तरता दिइरहेको छ । मालेमा, नयाँ जनवाद र क्रान्तिका तीन जादुगरी हतियारप्रति बोलीमा प्रतिबद्धता जाहेर गर्ने नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) राष्ट्रिय स्वाधीनता र जनजीवीकाका प्रश्नहरूलाई लिएर सङ्घर्षरत छ । नेपाली समाजको सापेक्षतामा अहिलेका क्रान्तिकारीहरू एउटै झण्डामुनि गोलबद्ध हुनुपर्छ भनेर वैचारिक सङ्घर्षसँगै एकता प्रक्रियाका जोड दिइरहेको  कम्युनिस्ट न्युक्लिअस, नेपाल ले पनि आफ्नो प्रयास जारी राखेको छ । क्रान्तिकारीहरू एउटै झण्डामुनि लामबद्ध हुनु पर्छ भनेर चिन्ता जाहेर गर्ने बुद्धिजीवीहरू तथा आम जनसमुदायको पनि ठूलो हिस्सा नेपाली समाजमा छ ।

कम्युनिस्ट पार्टो थापनाको सन्दर्भ र जिम्मेवारीको कुरा गर्दा  एउटा वक्तव्य पत्रिकामा फ्यालि दिनु अथवा एउटा लेख र टिप्पणी लेख्नु मात्र पुग्दो छैन । यो औपचारिकतावाद भन्दा माथि उठेर व्यावहारिक गतिशीलतामा जानु पर्ने खाँचो छ ।  विसर्जन हुनुबाट मुक्त हुने हो भने, सही अर्थमै  नेपाली जनता,  राष्ट्रिय स्वाधीनता र क्रान्तिप्रति चिन्तित छौँ भने ,क्रान्तिकारीहरूबीच गोलबद्धता, एकता र ध्रुवीकरणतर्फ हाम्रो  चिन्ता, चासो, चिन्तन र प्रयासहरू केन्द्रित  हुनु पर्छ । यसका लागि इतिहासको समीक्षा, शिक्षा, आलोचना र आत्मालोचनाबो बाटो भएर अघि बढ्नु पर्ने हुन्छ । समयले बहस-छलफल र इतिहासको संश्लेषणको माग गरेको छ । यथार्थतः यो जिम्मेवारीबोधको प्रश्न हो । यसको आवश्यकता नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)नेकपा (विप्लव) ले बोध गर्ने कि नगर्ने भन्ने प्रश्न नै अहिलेको अहम् प्रश्न हो ।
आशा गरौँ, बोधको प्रश्नले सही गति र दिशा लिनेछ ।
०००
भिडियो फिचरview all