menu

ताजा समाचार

'नेपालपाटी' बाट जस्ताको तस्तै यो लेख

लाखौंका लागि उजाड छ यो देश, मुट्ठीभरलाई स्वर्ग छ ! : दीपेन्द्र पाण्डे

सर्वसाधारण मानिस ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा बुझ्दैनन् । उनीहरू मुलुकको जिडिपी, आर्थिक वृद्धिदर, रेमिट्यान्स, पुँजीगत खर्च, सोधान्तर घाटा, विप्रेषण जस्ता शब्द पनि बुझ्दैनन् । उनीहरू बुझ्छन्, गाँस, बास, कपास र केवल पेटको भाषा ! पानी पर्दा, घाम लाग्दा, अनेक ढङ्गले मुलुक वा मुलुक बाहिर सर्वसाधारणले पसिना बगाउँदा सरकारको पक्षमा बद्लिने तथ्याङ्क उनीहरूको नजरमा अर्थ नै राख्दैन । मुलुक सबै ढङ्गले सामान्य अवस्थामा रहेको समयमा जनताले सरकार नामको प्राणीसँग कुनै अपेक्षा समेत राख्दैनन् । तर यति बेला मुलुक विशेष परिस्थितिबाट गुज्रिरहेको छ । कोरोनाले विश्वको सोच, शैली र हैसियत नै डामाडोल बनाइदिएको अवस्थामा गरिब जनता फेरि एक पटक टुहुरो भएको महसुस गर्दै छन् ।

महामारीको कारण मुलुक अप्ठ्यारो अवस्थामा प्रवेश गरिसकेको छ । यस महामारीबाट मुलुकवासीलाई बचाउन सरकारले ‘लकडाउन’को साथ लिँदै छ । यहाँसम्म जनताले सरकारको कदमलाई सहज ढङ्गले बुझे । अपर्झट घोषणा गरिएको लकडाउन पछि सरकारको उपस्थिति गरिब मजदुरले महसुस गर्न सकेनन् । पेट पाल्नको निम्ति देशका दूरदराजबाट काठमाडौँ आएका मजदुरलाई घरसम्म पुग्ने व्यवस्था गर्न वा यहीँ सहज ढङ्गले बस्ने वातावरण मिलाउन सरकारले आवश्यक ठानेन । मजदुर नेता नै प्रधानमन्त्रीको प्रमुख सल्लाहकार हुँदा समेत दैनिक कमाएर जीवन धान्नेहरूको पिडा सरकारले बुझ्नै चाहेन । फलस्वरूप ठुलो सङ्ख्यामा कार्यस्थलमा थुनिएका मजदुरहरू जसरी भए पनि आफ्नै घर जान हतारिए । उनीहरूको समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने सरकारले सोच्न पनि चाहेन । खान नपाएर छट्पटिनु भन्दा जसरी भए पनि गाउँ पुग्ने अभिलासासाथ सडक मार्गबाट पैदलै लामो र कठिन यात्रा पार गरेको दृश्य पछि सरकार गरिब जनताको निम्ति वा आपत् विपतमा कसैको निम्ति काम लाग्छ भन्ने अवस्थामा रहेन । विगतमा ‘बसाइँ हिँड्नेको ताँतीले बस्नेको मन रुवाउँछ’ भन्ने गीत गाउँदै गरिब किसानको झुपडीमा पुगेको पार्टी सत्तामा हुँदा पनि गरिब, मजदुरको हुन सकेन । उसले चाहेको भए सहज व्यवस्थापन गर्न सक्ने अवस्था हुँदा हुँदै गरिएको भयङ्कर लापरबाहीले वर्तमान सरकार मुट्ठीभर वर्गको सेवामा तल्लीन भएको आरोप खेप्दै छ ।
                दीपेन्द्र पाण्डे

यस विषम परिस्थितिमा मुलुकका अङ्ग, निकायमा पुगेका व्यक्तिहरू गैर जिम्मेवार रहेकोप्रष्ट भएको छ । रक्षा र गृहमन्त्रीको भूमिका जनताले महसुस गर्न पाएका छैनन् । जनतालाई घर जान नदिने, उनीहरूको व्यवस्थापन गर्न नसक्ने वा घर पुर्या उन पनि नसक्ने औचित्यहीन मन्त्री र निकायहरूको कारण असङ्ख्य मानिसले अकल्पनीय पिडा भोग्न बाध्य भएका छन् । ‘लुटको सिंहदरबार’ चलाई रहेका अराजनीतिक झुन्डहरू नागरिकको आपतविपत सामु रातारात ‘ लोभी स्याल’मा रूपान्तरित भएका छन् । दुई घण्टा पनि नटिक्ने निर्णय गर्ने, आफ्नो अयोग्यताको भारी अरूको थाप्लोमा हाल्ने मन्त्री र निकायको कारण मुलुकवासी आफ्नै देशमा पराई बन्न पुगेका छन् । ‘गाडीमा जाँदा कोरोना सर्ने तर हुलका हुल हिँडेर जाँदा कोरोना नसर्ने ‘ नवीन सिद्धान्त जन्माउने गृह र रक्षामन्त्रीको कारण मुलुक खतरनाक दुर्घटना तर्फ बढ्दै छ ।

यति बेला मुलुक विपदमा छ। मुलुकवासी विपद्को चपेटामा परेका छन् । कानुनले व्यवस्था गरेको विपद् व्यवस्थापनको जिम्मा प्रधानमन्त्रीले उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिएका छन् । कानुन अनुसार गठन हुने परिषद्का सदस्यमा सरोकारवाला मन्त्री, प्रतिनिधिसभाको विपक्षी दलका नेता, प्रदेशका मुख्यमन्त्री, मुख्यसचिव, प्रधानसेनापति, मन्त्रालयका सचिव रहने व्यवस्था छ । विडम्वना ! मुलुकले उनीहरूको सार्थक उपस्थिति कहिँकतै देख्न पाएको छैन । गृह मन्त्रालय अन्तर्गतका सिडिओहरू पासको दुरुपयोग गर्नमा मस्त छन् । प्रहरी हातमा लाठो लिएर जनता सम्झाउँदै थकित छ । स्थानीय निकाय र प्रदेश हाम्रो ठाउँमा तिमीलाई आउन दिँदैनौँ भन्नमा व्यस्त छ । कुम्लो बोकेर भोको पेटले कठिन यात्रामा निस्किएका मजदुरको पिडा बुझ्न सत्तासीन मनहरूलाई फुर्सत र जाँगर छैन । यस्तोमा रोगी प्रधानमन्त्री चक्रवर्ती सम्राट बनेर उदाएका छन् ।

अन्याय,अत्याचारको विरुद्ध आवाज उठाउँदै जनताको झुपडीमा जन्मिएको कम्युनिष्ट पार्टी आज जनताबाट धेरै टाढा पुगेको छ । नम्र, भद्र, सरल, जनमुखी बन्नु पर्ने पार्टी र सरकार आज दलालहरूको स्वर्गस्थल बनेको छ । मजदुर, किसान, गरिब,अपहेलितहरू सरकार र पार्टी कसको निम्ति भन्ने प्रश्न गर्न विवश छन् । न्याय, विकास, समानता ‘मुसाको सिङ’ बनिसकेको छ । प्रधानमन्त्री ओली विचित्रसँग घेरिएका छन् । उनी पार्टीलाई चिन्दैनन् । त्यसैले छलफल अन्तर्क्रिया गर्दै समस्यासँग लड्न, भिड्न चाहँदैनन् । उनी पार्टी निर्णयलाई मान्दैनन् । आफ्नो फर्मान र लहड पार्टीलाई सुनाउँछन् । उनको लहड यति शक्तिशाली बन्दै छ कि कार्यवाहक अध्यक्ष प्रचण्ड ‘देश र जनताको भविष्य’ भुट्दै छन् । ‘माओवादी’ नामको पसल टाट पल्टिने अवस्था बुझ्दै ‘एमाले’सँग मर्ज गर्न राजी प्रचण्ड प्रधानमन्त्री ओलीको ‘चक्रवर्ती सम्राट’ बन्ने नवीन सोचपछि ‘देवताको वस्त्र’को कहानी पार्टी कमरेडहरूलाई सुनाउँन हौसिएका छन् ।

राजालाई एउटा फटाहाले भन्यो । तपाई चक्रवर्ती सम्राट । तपाईँसँग सब थोक रहेछ तर एक कुराको कमी रहेछ । तपाईँसँग देवताको लुगा छैनन् । म तपाईँलाई देवताको वस्त्र ल्याइदिन सक्छु । फटाहाको कुरा सुन्नासाथ सम्राटले भने । कति पैसा लाग्छ ? फटाहाले भन्यो । हजुर देवता लोकबाट ल्याउनु पर्छ । सबै देवता लोभी र बेइमान भएका छन् । सबैलाई खुवाउनु पर्छ । पैसा धेरै लाग्छ । राजाले भने । पैसाको चिन्ता नगर । जसरी भए पनि वस्त्रको व्यवस्था गर । देवताको लुगा ल्याउन सत्तरी करोड लिएर फटाहा हिडयो ।

लामो समय पछि फटाहा एक बाकस सहित राजा सामु उपस्थित भयो । राजा देवताको लुगा लगाउन आँतुर थिए । फटाहाले राजालाई भन्यो । यस्तो लुगा लगाउन जनता र छिमेकी देशका राजाहरूलाई निमन्त्रणा पठाउनु पर्छ । सबै झ्याली पिटियो । सारा मानिस दरबार सामु उपस्थित भए । राजा सामु फटाहा गयो र भन्यो । सम्राट म लुगा ट्क्र्याउँछु । हजुर लुगा खोली बक्सियोस् । राजाले माथिको बस्त्र खोले । उसले बाकस खोल्यो र हात भित्र पसायो । अनि भन्यो । यो बस्त्र त्यसले मात्र देख्न सक्छ । जसलाई आफ्नै बाबुले जन्माएको होस । उसले बाकसबाट खाली हात निकाल्यो र भन्यो । सम्राट देवताको फेटा लगाइ बक्स्योस् । राजाले देखे । उसको हातमा केही थिएन । फटाहाले सोध्यो । देख्नु भयो । छैन भनौँ । आफ्नो बाबु प्रति शङ्का हुने । अनि राजाले मुन्टो हल्लाए । देखे । राजासँगै सबैले मुन्टो हल्लाए । फटाहाले राजालाई सबै लुगा खोल्न भन्यो । देवताको बाँकी लुगा लगाउने लोभमा राजा नाङ्गो भए । फटाहाले बाकसमा हात हाल्यो । अनि एक एक गर्दै देवताको लुगा हेर्नुस् भन्दै खाली हात देखाउँदै भन्थ्यो । देवताको लुगा देख्न आफ्नै बाबुले जन्माएकाले मात्र सक्छन् । फटाहाले राजालाई फेरि सोध्यो । सम्राट देख्नु भयो । राजाले टाउको मात्र हल्लाए । उसले भन्यो । अब सवारी चलाउनु पर्छ । सबैलाई देवताको लुगा देखाउनु पर्छ । राजाले मन मनै भने । यसले दरबारमा त मलाई नाङ्गो बनायो बनायो । सबै जनताले पनि नाङ्गो देख्ने बनायो ।

आज मुलुकको स्थिति ठिक त्यही अवस्थासँग मेल खाँदै छ । आफ्नो एकल नेतृत्वमा सम्पूर्ण उपलब्धि हासिल भएको र बाँकी उपलब्धि समेत आफ्नै नेतृत्वमा गर्ने लालच सहित चक्रवर्ती सम्राट बन्न हतारिएका प्रधानमन्त्री ओली ‘देवताको लुगा’ लगाउन हतारिएका छन् । ‘ओली युगको’ सुरुवात गर्न हतारिएका प्रधानमन्त्री, देवताको लुगा लगाउन राजी गर्नेहरूको घेराबन्दीमा छन् । उनी आफ्ना भक्तहरूको तथ्याङ्क माथि अटुट विश्वास गर्छन् । जसको कारण उनी चक्रवर्ती सम्राट जस्तो नाङ्गो बन्दै बालुवाटारमा सुतेर सबै ठिकठाक चलेको मान्दै छन् ।

यति बेला मानिसहरू घरमा थुनिएका छन् । भोक प्यासले सताएका मानिसहरू पोको बोकेर सडक मार्गबाट गाउँ जान विवश छन् । गरिब , मजदुर, किसान, सुकुम्वासी, निमुखाको सरकार भाषण बाजीमा मक्ख छ ।

(लेखक र माध्यमप्रति आभारसहित )
भिडियो फिचरview all