menu

ताजा समाचार

कोरोना माहामारीबीच मे दिवसको तयारी

श्रमजीवी वर्गको सबैभन्दा महान् चाड भनेर सम्बोधन गरिने मे दिवस आउन अब दुई हप्ता पनि बाँकी छैन । कोरोना भाइरस र नेपालको सन्दर्भको कुरा गर्दा सबैभन्दा बढी पीडित मजदुरहरू नै देखिए । चाहे ती भारतमा मजदुरी गर्नेहरू हुन्, चाहे नेपालमा एक ठाउँबाट अर्को ठाउँमा गएर विभिन्न किसिमका काममा दैनिक ज्यालादारी गर्नेहरू हुन् , अथवा फुटपाथमा सामान राखेर व्यवसाय गरेर दैनिक गुजारा गर्नेहरू हुन्, बढीभन्दा बढी ज्यालादारी मजदुर र फुटपाथ व्यापारीहरू नै कोरोना महामारीबाट पीडित  छन् ।

कोरोना महामारी रोक्न सरकार आफैँ अन्योल र अस्तव्यस्ततामा रहेको देखिएको छ ।  वास्तवमा  सम्बद्ध निकायको उध्यान  कसरी भ्रष्टाचार गर्न सकिन्छ भन्नेमा नै रहेको छ । सरकार यही मौका हो आफूखुसी गर्ने भने जसरी चलेको छ । सर्वसाधारण जनताप्रति सरकार एकदमै गैरजिम्मेवार देखिएको छ ।

ट्रेड युनियन निर्माण गरेर मजदुरहरूको हकहित गछौँ भन्ने पार्टीहरूमा पनि कोरोना समस्या र मजदुरहरूको अवस्थाका सन्दर्भमा खासै क्रियाशीलता देखिएन । 'लकडाउन' का नाममा ती हाइसन्चोमा सुतेको देखियो । र पनि, नेकपा (विप्लव) सम्बद्ध ट्रेड युनियन मजदुर समस्याप्रति बढी चिन्तित रहेको र उसले केन्द्रीय तहबाटै वक्तव्य प्रकाशित गरेर खबरदारी गरेको छ  । पार्टीगत रूपमा पनि नेकपा (विप्लव) ले  राहत वितरण गर्नुका साथै राहत वितरणमा देखिएको अनियमितताप्रति खबरदारी गरेको देखिन्छ । आफूलाई क्रान्तिकारी पार्टी तथा क्रान्तिकारी ट्रेड युनियन भन्ने अन्य समूहहरू चाहिं हुनुको बोध गर्न सक्ने अवस्थामा देखिएनन् ।

नेपालका क्रान्तिकारी भनिने पार्टीहरू यसपल्टको मे दिवस कसरी मनाउँछन् भन्ने कुरा प्रस्ट नभए पनि विश्वका क्रान्तिकारी पार्टीहरूले कोरोना महामारीकै बीच ‘कोरोना महामारी विरुद्ध उत्पीडित वर्गहरूको सङ्घर्षप्रति ऐक्यबद्धताका’ साथ मनाउने तयारी गरेका छन् । माओको मृत्युपछि एक हिसाबले विशृङ्खलको स्थितिमा रहेको आन्दोलनलाई नयाँ गति दिन ‘क्रान्तिकारी अन्तर्राष्ट्रियतावादी आन्लोलन (रिम) को गठन सन् १९८४ मा भएको थियो । अहिले ‘रिम’ एक हिसाबले विघटन भएको स्थितिमा रहे पनि फेरिएको स्थितिमा विश्वका क्रान्तिकारीहरूको अब नयाँ केन्द्र बनाउनु पर्छ भनेर विश्वका माओवादीहरू मूलतः  हिजो ‘रिम’ सित सम्बद्ध युरोपका माओवादीहरूले सन् २०१० देखि मे दिसका दिन संयुक्त वक्तव्य जारी गर्ने अभियान चलाएका छन् । पछिल्लो समयमा विश्व कम्युनिस्ट आन्दोलनको इतिहास, गोन्जालो सन्दर्भलगायतका विषयलाई लिएर ल्याटिन अमेरिकी माओवादी सङ्गठनहरू र युरोपेली माओवादी पार्टीहरूबीच केही मतभेद रहे पनि बहसछलफलमार्फत एकताबद्ध भएर गतिविधि गर्ने प्रयासहरू जारी छन् ।

मे दिवसका सन्दर्भमा प्रकाशित गरिने संयुक्त वक्तव्यमा नेपालबाट पहिले 'क्रान्तिकारी बौद्धिक मंच' र पछि ‘कम्युनिस्ट न्युक्लिअस, नेपाल’ सहभागी हुँदै आएको छ ।

अन्तर्राष्ट्रिय  स्तरमा अहिलेको विशिष्ट स्थितिमा मे दिवस कसरी मनाउने भन्ने विषयमा बहसछलफल चलिरहेका छन् । कोरोना महामारीसित  जैविक तथा वातावरणीय  प्रश्न गाँसिएको भए पनि कोरोना प्रकरण मूलतः साम्राज्यवादी होडबाजी र श्रेष्ठता कायम गर्ने योजनाबद्धताको उपज हो । यसै पक्षमा केन्द्रित रहेर आआफ्नो मुलुकको  विशिष्ट समस्याका साथै साम्राज्यावादीहरू विरुद्धको सङ्घर्षमा जोड दिएर मे दिवस मनाउने कुरामा विश्वका माओवादी क्रान्तिकारीहरूबीच समझदारी हुने कुरा प्रस्ट छ ।  ‘पुँजीवादी÷साम्राज्यवादी भाइरसका विरुद्ध सर्वहारावादी आन्दोलन अघि बढाऔँ’ भन्ने नारा नै मे दिवसका सन्दर्भमा सही नारा हुनु स्वभाविक छ ।
०००  

भिडियो फिचरview all