menu

ताजा समाचार

सामग्रीको दुर्दशा : 'प्रवर्तक'मा प्रकाशित आलेख

सम्बन्धित भाषाको जानकारी हुनेले खास भाषामा अनुवाद गर्न सक्छ भन्ने धारणा राखिन्छ । सामान्यतः यो कुरा सही हो । अनुवाद त आजभोलि ‘गुगल’ ले  पनि गर्छ,  तर अनुवाद नै हुन चाहिँ गाह्रो छ । यथार्थ के हो भने भाषाको ज्ञान हुँदैमा अनुवाद गर्न सकिन्छ, अनुवाद राम्रो हुन्छ भन्ने छैन । अनुवादकार्य भाषाको ज्ञान मात्रमा सीमित छैन । यो कला र अभ्यास दुवै हो ।
 
हामीकहाँ मूलतः अङ्ग्रेजीबाट नेपाली र नेपालीबाट अङ्ग्रेजीमा अनुवाद गर्ने काम अझ अङ्ग्रेजीबाट नेपालीमा अनुवाद गर्ने काम बढी भएको पाइन्छ । यो सामग्रीको अभावले पनि हो ।  अनुवाद गरिन्छ, अङ्ग्रेजीको ज्ञाताले गरेको अनुवाद भनेर भिडाएर हेरिँदैन, हेर्ने गरिँदैन । भाषा सम्पादनमा पनि ध्यान दिइँदैन । तर हेर्ने जाँगर चलाउँदा र आवश्यक ठान्दा थुप्रै त्रुटिहरू पाइन्छन् ।  अनुवादकार्य भाषा ज्ञानको मात्र कुरा होइन, यो अनुवादका लागि चयन गरिएको सामग्रीप्रतिको अनुवादकको ज्ञानको प्रश्न पनि हो । अनुवादकर्ताको सामग्रीप्रति राम्रो ज्ञान छ भने भाषाज्ञानमार्फत उसले त्यो सामग्रीको राम्रो अनुवाद गर्नसक्छ । अन्यथा उल्टोपाल्टो र अर्थ न बर्थको अनुवाद हुन्छ । वैचारिक–राजनीतिक अझ त्यसमा पनि दार्शनिक प्रकृतिका सामग्रीहरूको अनुवादमा त झन् डरलाग्दो भद्रगोल पाइन्छ ।  त्यसमा पनि व्यावसायिक र कमाउ प्रकृतिका प्रकाशन संस्थाहरूले अनुवाद र भाषाको हुर्मत नै लिएका छन् ।
 
 नेपाली समाजमा मार्क्सवादी दर्शन, विचार र राजनीतिक सामग्रीहरूको अनुवाद धेरजसो रूसी र चिनियाँ स्रोतबाट भएका छन् । अहिले आएर अङ्ग्रेजीबाट सोझै अनुवाद हुनथाले पनि पहिलेपहिलेका अनुवादहरू हिन्दीबाट भएका छन् । हिन्दीको अनुवाद आफैँमा विरूप हुन्छ, त्यसबाट नेपालीमा गरिएका अनुवादमा  त विषयवस्तुकै भ्रष्टीकरण गरिएको हुन्छ  । रूसी  तथा चिनियाँ भाषाबाट अङ्ग्रेजीमा  र फेरि नेपाली भाषामा गरिएका अनुवादभन्दा सम्बिन्घित भाषाको ज्ञान भएकाहरूबाट सोझै मूल भाषाबाट नेपाली भाषामा गरिएका अनुवादहरू प्रभावकारी हुनु स्वाभाविक छ । रूसी प्रकाशनमा त यो सुविधा छ, तर चिनियाँ सन्दर्भमा यो सुविधा त्यति सहज छैन, अङ्ग्रेजीमै पुग्नुपर्ने हुन्छ ।
 
व्यावसायिक प्रकाशकहरूले अनुवादमा गर्नु नगर्नु गरेका हुन्छन् । पाठक ठग्ने काम हुन्छ त्यहाँ । मूल पाठ मात्र होइन, मूल पाठसित सम्बद्ध फुटनोटहरू पनि गायब हुन्छन् र कतिपय ठाउँमा संक्षेपीकरण गरिएको हुन्छ । यो एकदमै खराब प्रवृत्ति हो । यो ठगी धन्धा हो । वैचारिक–राजनीतिक किताबहरूमा यस्तो गर्नै हुँदैन । माओका रचनाहरूको अनुवादमा समेत यस्तो ठगी पाइएको छ । व्यावसायिक प्रकाशनका नाममा यस्ता दुई नम्बरी धन्धा निकै फस्टाएको पाइन्छ ।

माथि भनेझैं अनुवाद जटिल र अल्छीलाग्दो काम हो । भाषिक ज्ञानका दृष्टिले त्यति पोख्त नभए पनि अङ्ग्रेजीका प्रोफेसर साहेबहरूले गरेको अनुवादभन्दा अन्य अनुवादकहरूका अनुवादहरू बढी सटिक हुनेगरेको पाइन्छ । मार्क्सवादी क्षेत्रमा प्रचलित दार्शनिक र राजनीतिक पदावलीबारे राम्रो ज्ञान नभएका कारण र वाक्य गठनमा देखिएको जटिलता फुकाएर नेपाली भाषाअनुसार वाक्य गठन गर्न नसक्ता कतै शब्दको अर्थ नै उल्टोपाल्टो हुने र कतै भाव मात्रै आएको पाइन्छ । यो सम्बद्ध सामग्रीसित परिचित नहुनुको परिणाम हो । उदाहरणका रूपमा ‘दीर्घकालीन जनयुद्ध’ को अनुवाद ‘लङ् टर्म पिपुल्स वार’ भनेर गरिएको अनुवादलाई अघि सार्न सकिन्छ । यसको सही अनुवाद ‘प्रोट्राक्टेड पिपुल्स वार’ हुन्छ । त्यसैगरी ‘दलाल पुँजीपति’ लाई ‘ब्रोकर क्यापिटलिस्ट’ भनेर अनुवाद गरिएको हुन्छ, जब कि यसको सही अनुवाद ‘कम्प्राडर क्यापिटलिस्ट’ हुन्छ ।

त्यस्तै शब्द त्यही भए पनि त्यसको सन्दर्भ फरक हुनसक्छ । नेपाली भाषामा ठ्याक्कै अङ्ग्रेजीमा भन्न खोजेको जस्तो अर्थबोध हुने पदावली नहुन पनि सक्छ, अथवा अङ्ग्रेजीमा प्रयोग गरिएको शब्दको अनुवाद नेपालीमा जस्ताको तस्तै मेल नखान सक्छ । एउटै पदावलीको अर्थ पनि सन्दर्भ हेरेर लगाउनुपर्ने हुन्छ । उदाहरणका रूपमा अङ्ग्रेजीको ‘सार्प’ (expose) को अवस्था हेरी कतै धारिलो, तिखो, कतै पेचिलो, कतै तीव्र प्रयोग गर्न सकिन्छ ।  ‘थोरोली’ (thoroughly) का सन्दर्भमा पनि ‘राम्ररी’, ‘समग्र’ ‘साङ्गोपाङ्ग’ ‘टाउकोदेखि पुछारसम्म’ भन्नुपर्ने हुन्छ । यही कुरा ‘एक्सपोज’ (expose) का सन्दर्भमा पनि लागू हुन्छ ।  अङ्ग्रेजीमा ‘ग्रेट’ (great) लाई बढी प्रयोग गरिएको पाइन्छ ।  सबै ठाउँमा यो पदावली प्रयोग गर्दा नमिलेजस्तो हुन्छ । शब्दार्थले प्रस्ट पारेन भने कतिपय सन्दर्भमा भाव खिच्नुपर्ने पनि हुन्छ ।  कुरा तलमाथि पर्ला भनेर विदेशीहरूले कतिपय अनुवादमा ‘अनअफिसियल ट्रान्सलेसन’ भनेर जनाएका हुन्छन् । भन्न खोजेको कुरा के हो भने अनुवादकार्य जटिल र निरस हुन्छ । यसले गम्भीरता र धैर्यको माग गर्छ । अनुवादक भाषाविज्ञ पनि भयो भने थप राम्रो हुन्छ ।

यसै सन्दर्भमा मेरा सामु थ्रि मेजर स्ट्रगल्स अन चाइनाज फिलोसफिकल फ्रन्ट अर्थात् ''चीनको दार्शनिक फाँटमा चलेका तीन प्रमुख सङ्घर्षहरू" नामक सानो पुस्तिका छ । यहाँ ‘फ्रन्ट’ शब्दको उल्लेख छ र यसको नेपालीमा अनुवाद सामान्यतः ‘मोर्चा’ नै हुन्छ, तर यहाँ ‘दार्शनिक मोर्चा’ भन्दा ‘दार्शनिक फाँट’ पदावली नै सुहाउँछ र उपयुक्त हुन्छ । तर ‘दि नेक्स्ट  फ्रन्ट’ को अनुवाद ‘अर्को फाँट’ उपयुक्त हुँदैन ।
 
थ्रि मेजर स्ट्रगल्स अन चाइनाज फिलोसफिकल फ्रन्ट सारै महत्त्वपूर्ण पुस्तिका हो । यो चिनियाँ सन्दर्भमा मात्र सीमित नभएर सिङ्गै मार्क्सवादी दर्शन र यसको विकाससित सम्बद्ध सार्वभौम मूल्यमा आधारित दार्शनिक सङ्घर्षसित सम्बद्ध दस्ताबेज हो ।  यसलाई नेतादेखि सामान्य कार्यकर्ताले पढ्नुपर्छ अध्ययन–मनन गर्नुपर्छ, पढ्न प्रोत्साहित गर्नुपर्छ । फेसबुकमा रमाउने आजभोलिका कार्यकर्ताहरूको ध्यान यसतर्फ जानु आवश्यक छ । नेपाली राजनीतिमा अलिकति कमरेड भक्तबहादुर श्रेष्ठले र बढीभन्दा बढी कमरेड किरणले यसलाई आम पाठकमाझ परिचित गराउनुभएको हो । कमरेड किरणको पुस्तक सङ्घर्षको दर्शनमा  हामी यसबारे राम्रो जानकारी पाउँछौँ । अङ्ग्रेजीमा सन् १९७३ मा चीनबाट प्रकाशित यो पुस्तिका ६६ पृष्ठको छ र यो अब नेपाली भाषामा पनि उपलब्ध छ ।
 
मैले चर्चा गर्न खोजेको नेपाली अनुवाद ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’ को प्रकाशन प्रवर्तकको पूर्णाङ्क ५ मा प्रकाशित प्रति हो । यो  यसरी पत्रिकामा प्रकाशित गर्नुको सट्टा पुस्तिकाका रूपमा प्रकाशित गरेको भए राम्रो हुन्थ्यो भन्ने सुझावका साथ यसको अनुवादमा देखिएका केही ‘बेमेल' का सम्बन्धमा सामान्य टिप्पणी गर्नु सान्दर्भिक ठान्दछु ।

मैले भनेको कुरा नै सही हो भनेर जिकिर गर्नुभन्दा यहाँ मैले  प्रतिक्रिया मात्र प्रस्तुत गरेको हुँ भन्ने कुरा पनि म प्रस्ट पार्न चाहन्छु । मेरो टिप्पणीको सन्दर्भमा आउने ‘मूल दस्ताबेज’ ले यसको अंग्रेजी संस्करणलाई जनाउँछ भने पत्रिका सन्दभले प्रवर्तकलाई जनाउँछ ।
 
प्रकाशित सामग्रीको पुछारमा “यस दस्ताबेजको अनुवाद इन्द्रमोहन सिग्देलले गर्नुभएको हो र त्यसमा दुर्लभ पुनको पनि सहयोग रहेको छ । वहाँहरू दुवै धन्यवादका पात्र हुनुहुन्छ,” भनिएको छ ।  पहिलो कुरा, अनुवादमा भनिएजस्तो दुर्लभ पुनको सहयोग रहेको कृति यो नभएर अर्को कृति हो र प्रस्तुत अनुवाद चाहिँ कमरेड इन्द्रमोहन सिग्देल एक्लैले गर्नुभएको हो भन्ने मेरो बुझाइ छ ।
 
दोस्रो कुरा,  निकै मेहनताका साथ यसको अनुवाद गरिएको भनेर बुझ्न सकिन्छ । शब्द-अनुवादमा अनुवादकको जोड रहेको देखिन्छ । महत्त्वपूर्ण काम अनुवादकबाट भएको छ तापनि अनुवाद पक्षका साथै सम्पादन पक्षमा पनि टिप्पणी गनुपर्ने केही ठाउँहरू रहेका छन् । यस टिप्पणीले अनुवादकलालाई परिमार्जन गर्न तथा पछिका संस्करणहरूलाई प्रभावकारी बनाउँन सहयोग पुग्छ भन्ने लागेको छ ।  र पनि यहाँ जे-जस्ता समस्याहरू देखिएका छन्, हामी सबैले भोगेका साझा समस्या हुन्, टिप्पणी गर्न सजिलो छ, अनुवाद गर्ने काम चाहिं गाह्रो छ ।

१. समग्र अनूदित सामग्रीमा ‘तिखो’ पदावली धेरै ठाउँ आएको छ, मूलतः यो ‘सार्प’ (sharp)  को अनुवाद हो । तर कतिपय ठाउँमा ‘एक्युट’ (acute) को पनि ‘तिखो’ अनुवाद गरिएको छ । उदाहरणका रूपमा मूल दस्ताबेजको पहिलो उपशीर्षक अन्तर्गत पृ. १ पहिलो अनुच्छेद र पत्रिकाको पृ ८६ लाई लिन सकिन्छ ।  ‘एक्युट’ को शब्दार्थ जे भए पनि यहाँको सन्दर्भमा ‘तिखो’ को सट्टा ‘पेचिलो’ पदावली बढी मेल खान्छ ।

२. त्यसैगरी मूल दस्ताबेजको पृ. ३  र पत्रिकाको पृ. ८७  मा “याङ सियन चेनले ल्यु (लिउ?) साओ चीको बोलीमा बोली मिलाएर ‘संश्लेषित  आर्थिक आधार’ भन्ने कथित  सिद्धान्तको मन्थन गरे” भनिएको छ । यहाँ ‘चर्न्ड' (churned) को ‘मन्थन गरे’ भनेर अनुवाद गरिएको छ । यो  पदावली मेल खाँदैन । ‘मन्थन’ ले सकारात्मकतामा जोड दिन्छ । यहाँ ‘चर्न्ड' नकारात्मकतामा प्रस्तुत गर्न आएको छ ।‘चर्न्ड' (churned) को अनुवाद हुँडल्नु, मथ्नु, घोल हो । तर यहाँ जबरजस्ती तयार पार्नुको अर्थमा आएको छ । मथ्नु र मन्थन गर्नु पनि फरक कुरा हुन् । मन्थनले चिन्तनमननमा जोड दिन्छ । मोही पारेर नौनी निकाल्ने काम मथ्नु हो, मन्थन होइन । वास्तवमा मथ्नु पनि सकारात्मक पदावली हो । यहाँ  ‘मन्थन गरे’ को ठाउँमा ‘तयार पारे’  भन्नु उपयुक्त हुन्छ ।

३. त्यसैगरी मूल दस्ताबेजमा ‘प्रोवोकिंग' ( provoking) को प्रयोग धेरै ठाउँ भएको छ । यसको अर्थ उक्साउनु, भडकाउँनु उत्तेजित पार्नु हुन्छ । तर यी पदावलीको प्रयोगले नेपालीमा अर्थसार झल्किँदैन । ठ्याक्कै मिल्दैन ।  अनुवाद गर्दा कतै ‘भडकाउनु’ र कतै ‘उक्साउनु’ लेखिएको छ । मूल दस्ताबेजको तेस्रो पृष्ठमै ‘मन्थन गरे’ पछि  “यसरी दार्शनिक फाँटमा पहिलो ठूलो सङ्घर्ष भडकियो” भनिएको छ । मूल दस्ताबेजमा ‘कमा’ ले जोडेको छ, तर  अनुवादमा अलग वाक्य बनाइको छ । यहाँ पनि ‘यसरी’ को ठाउँमा ‘त्यसपछि’  सही हुन्छ र ‘भडकियो’ को ठाउँमा ‘उक्साइयो’ भन्नु तुलनात्मकरूपमा सही हुन्छ ।

४. कतिपय ठाउँमा अनुवादमा प्रयोग गरिएको पदावलीका कारण सकारात्मक भाव नकारात्मकतामा फेरिएको छ । मूल दस्ताबेजको पृष्ठ ४ को दोस्रो अनुच्छेद र पत्रिकाको ८७ पृष्ठ मा लेखिएको छ : “याङ सियन चेनले आफ्नो प्रतिक्रियावादी भ्रान्त धारणालाई क्रमशः अगाडि बढाउनासाथ उसमाथि सर्वहारा वर्गको ठाडो आक्रमण भयो ।” यो भनाइले उसले त राम्रो कुरा गरेको थियो, तर उसमाथि ठाडै आक्रमण भयो भन्ने भाव दिन्छ । यसको ठाउँमा “उसले सर्वहाराको कठोर प्रहारको सामना गर्नुपर्यो"  भनेर अनुवाद गर्नु उपयुक्त हुन्छ
 
५.त्यस्तै मूल दस्ताबेजको पृष्ठ ७ र पत्रिकाको ८९ पृष्ठमा “माओले याङ सियन चेनको प्रतिक्रियावादी भ्रान्त धारणाको प्रतिक्रियावादी सारतत्त्वलाई तिखो गरी औँल्याउनु भयो” भनिएको छ ।  यहाँ ‘सार्प्ली’ (sharply)  को अनुवाद ‘तीखो गरी’ गरिएको छ । तिखोको अनुवादको सट्टा ‘सटिक’, ढङ्गले पदावली प्रयोग गर्दा उचित हुन्छ । तिखो गरी औँल्याइँदैन ।

६. त्यस्तै मूल दस्ताबेजको  पृष्ठ ८ र पत्रिकाको ८९ पृष्ठको पहिलो अनुच्छेदमा लेखिएको छ : “यसमा वहाँले पदार्थ चेतनामा र चेतना पदार्थमा रूपान्तरण हुनसक्छ” भन्ने असामान्य तथ्यलाई तिखो गरी प्रस्तुत गर्दै मार्क्सवादी ज्ञानसिद्धान्तलाई सिर्जनात्मक ढङ्गले विकास गर्नुभयो” । यहाँ अङ्ग्रेजीको ‘ग्रेट’ (great)  को अनुवादमा ‘असामान्य’ भनिएको छ र त्यसैगरी ‘पेनेट्रेटिङ्ली’ (penetratingly) लाई ‘तिखोगरी’ अनुवाद गरिएको छ । यो त्रुटिपूर्ण छ । ‘ग्रेट’ पदावली अङ्ग्रजीमा धेरै प्रयोग गरिएको पाइन्छ । यसलाई सन्दर्भ हेरी महान्, ठूलो, अजङ्गको आदिका रूपमा प्रयोग गर्न सकिन्छ, यहाँ ‘असामान्य’ को ठाउँमा ‘असाधारण’ पदावली प्रयोग गर्न सकिन्छ । यसमा ‘ग्रेट ट्रुथ’ (great truth)   जोडिएकाले ‘महान् सत्य’ नै उपयुक्त हुन्छ र ‘पेनेट्रेटिङ्ली’ (penetratingly)  का लागि चाहिँ  ‘गहन’  पदावली उपयुक्त हुन्छ ।


७. त्यस्तै यो दस्ताबेजमा  ‘थोरोली’ (thoroughly) पदावलीको प्रयोग पनि धेरै ठाउँ भएको छ । यसको अनुवाद पनि सन्दर्भ हेररे गर्नुपर्ने हुन्छ । यस दस्ताबेजमा यसको अनुवाद धेरजसो ठाउँमा ‘राम्ररी’ भनेर गरिएको छ । तर यसले मात्र पूर्ण भाव दिँदैन । र यसको अनुवाद मूलतः  ‘समग्र’, ‘पूर्णरूपमा’ र ‘साङ्गोपाङ्ग’ नै हो । तर कतिपय सन्दर्भमा ‘सटिक’ र  ‘राम्ररी’ को पनि प्रयोग  गर्न सकिन्छ । यहाँ मूल दस्ताबेजको पृष्ठ १२ र पत्रिकाको पृष्ठ ९१ मा रहेको रहेको उपशीर्षक २ को शीर्षक ‘संश्लेषित आर्थिक आधारको सिद्धान्तलाई  राम्ररी आलोचना गर्नुपर्दछ’ को ठाउँमा ‘समग्ररूपमै आलोचना गर्नुपर्दछ’ को प्रयोग बढी मेल खान्छ ।
 
८.  त्यस्तै मूल दस्ताबेजको पृष्ठ १४ र पत्रिकाको पृष्ठ ९२ मा “माओले तिखो र जस्ताको तस्तै सङ्घर्ष चलाउनुभयो”  भनिएको छ । यो पनि सही छैन । यहाँ ‘जस्ताको तस्तै’ भन्दा ‘जस्तालाई तस्तै’ भन्नु उपयुक्त हुन्छ ।  ‘तीखो’ को सट्टा पनि ‘धारिलो’ अथवा ‘चोटिलो’, अझ चोटिलो सङ्घर्ष नै ठीक हुन्छ ।
 
९. त्यस्तै मूल दस्ताबेजको पृष्ठ २५ मा  र पत्रिकाको ९३ पृष्ठमा ‘कन्सल्टेड विथ’ अर्थात् ‘परामर्श लिएको’ ठाउँमा  ‘परामर्श ल्युको’ भएको छ ।  यो चाहिँ अनुवादकको भन्दा पनि सम्पादनको समस्या हो ।
 
१०. अङ्ग्रेजीमा  that को प्रयोग बढी गरिएको हुन्छ । यो दस्ताबेजमा पनि यस्तै छ । वाक्यको गठन गर्दा ‘भने’ संयोजक प्रयोग गर्दा  राम्रो हुन्छ ।  तर यसका लागि अनुवादकद्वारा ‘कि’ को  बढी प्रयोग गरिएको छ । नेपालीमा  ‘कि’ को प्रयोग त्यतिसाह्रो गरिँदैन ।
 
११. मूल दस्ताबेजको पृष्ठ १८ तथा पत्रिकाको पृष्ठ ९४ मा “वस्तुतः कथित ‘संश्लेषित आर्थिक आधार’ भन्ने हुँदैहुँदैन, यो याङ सियन चेन र ऊ जस्तैले गरेको निर्माण हो” भनिएको छ । खासगरेर यहाँ ‘फेब्रिकेसन’ (fabrication) को अनुवाद ‘निर्माण’ गरिएको छ । निर्माण सकारात्मक भाव दिने पदावली हो । यहाँ निर्माण मेल खाँदैन । यहाँ फेब्रिकेसन ‘म्यानुफेक्चर’ को अर्थमा  आएको छ । यहाँ ‘मनगढन्ते’ ‘कपोलकल्पित’ त्यसमा पनि ‘मनगढन्ते’ पदावलीको प्रयोग उचित हुन्छ ।

१२. त्यस्तै मूल दस्ताबेजको पृष्ठ २३ र  पत्रिकाको पृष्ठ ९६मा यस्तो छापिएको छ : “जहाँसम्म व्यक्तिगत अर्थतन्त्रको कुरा छ, अध्यक्ष माओले भन्नु भएजस्तै यो छिर ल्युको र पिछडिएको...”। यसमा अङ्ग्रेजीमा ‘स्क्याटर्ड’ (scattered) पदावली छ र यसको अर्थ ‘छरिएको’ हुन्छ ।  पत्रिकामा  ‘छिर ल्युको’ भएर छापिएको छ । यो पनि सम्पादनको समस्या हो ।
 
१३. दस्ताबेजको पृ. २६ मा उल्लेखित ‘वाइल्डेस्ट रेटोरिक’ ( wildest rhetoric) लाई पत्रिकाको पृष्ठ ९८ मा  ‘जङ्गली फत्तुर’ भनिएको छ । यसको सट्टा ‘जङ्गली प्रलाप’ भन्नु उपयुक्त हुन्छ ।

१४. दस्ताबेजको पृष्ठ २८ मा ‘बिफोर लङ दि क्याट आउट अफ दि ब्याग’ छापिएको सन्दर्भलाई पत्रिकाको पृष्ठ ९८ मा “धेरै पहिले बिरालोलाई झोलाबाट छाडिएको थियो” भनेर अनुवाद गरिएको छ । यो सही अर्थबोधको अनुवाद भएन । वास्तवमा यसको अर्थ “बिरालोले  छिटै नै म्याउँ गरिहाल्यो” हुन्छ, हुनुपर्छ । यहाँ ‘बिफोर लङ’ छ, ‘सिन्स लङ’ होइन ।

१६. त्यसैगरी दस्ताबेजको उपशीर्षक ३ अन्तर्गतको ३१ पृष्ठको तेस्रो अनुच्छेदमा उल्लेख गरिएको ‘सार्प’ को ‘तीखो’ अनुवाद गरिएको छ । त्यसलाई ‘तीव्र’ भन्दा उपयुक्त हुन्छ ।

१७. त्यसैगरी दस्ताबेजको पृष्ठ ४० र पत्रिकाको पृष्ठ १०४ मा लेखिएको छ : “..यसरी अगाडि बढ्ने क्रममा अन्तर्विरोधहरू भण्डाफोर गर्न र तिनलाई समाधान गर्न सक्छौँ” । यहाँ ‘एक्सपोज’ (expose)  को ‘भण्डाफोर’ अनुवाद गरिएको छ । ‘एक्सपोज’ को अर्थ  सन्दर्भ हेरेर उदाङ्गो पार्नु, भण्डाफोर गर्नु,  प्रकाशमा ल्याउनु, सतहमा ल्याउनु  र पत्ता लगाउनु पनि हुन्छ । यहाँ मेल खाने पदावली चाहिँ ‘पत्ता लगाउनु’ हो । अध्ययनका क्रममा अन्तर्विरोधहरू पत्ता लगाउने र समाधान गर्ने हो, भण्डाफोर गर्ने होइन ।

१८. त्यस्तै दस्ताबेजको पृष्ठ ४२  र पत्रिकाको पृष्ठ १०५ मा “...सर्वहारावादी मुख्यालयले पनि याङ सियन–चेन र उसका घनिष्ठ मित्रहरूको आलोचना गर्यो” भनिएको छ । ‘घनिष्ठ मित्रहरू’ ‘क्रोनिज’ (cronies) को अनुवाद हो । यसलाई मतियारहरू पनि भन्न सकिन्छ तापनि ‘दौँतरी’ बढी मेल खान्छ ।

१९. यसैगरी दस्ताबेजको पृष्ठ ४५ र पत्रिकाको पृष्ठ १०७ अनुवादमा “यहाँनेर उसले चोर आफैँले ‘चोरलाई रोक’ भनेर कराएको जस्तो अभिनय गरेको थियो” भनिएको छ ।  ‘चोरलाई रोक’  को अङ्ग्रेजीमा ‘स्टप थिफ’ ( 'Stop thief') छ । वास्तवमा हामी यसो भन्दैनौँ ।  यसको अनुवाद : “यहाँ चोर आफैँले ‘चोर ! चोर ! समात्’ भनेर कराइरहेको थियो” भन्दा नेपाली बोली र बुझाइसित मेल खान्छ
 
२०. त्यस्तै दस्ताबेजकै पृष्ठ ४५ र पत्रिकाको पृष्ठ १०७ मा “बर्नस्टिनले चिन्तन र सत्ताका बीचको एकत्वलाई ‘चिन्तन र सत्ता उस्तै हुन्’ भन्ने आदर्शवादी सिद्धान्तमा जानबुझी विकृत गरेर मार्क्सवादी ज्ञान सिद्धान्तको परिमार्जन गर्यो”,  भनिएको छ ।  यहाँ ‘डिस्टोर्टिङ’ (distorting) को ‘विकृत गरेर’ अनुवाद गरिएको छ भने  ‘परिमार्जन’ लाई अङ्ग्रेजीको ‘एमेन्डमेन्ट्स’ को अनुवादका रूपमा प्रस्तुत गरिएको छ । ‘डिस्टोर्टिङ’ को भाव आएको छ । यसलाई ‘बङ्ग्याएर’ पनि भन्न सकिन्छ । तर ‘परिमार्जन’ होइन, संशोधन हो । परिमार्जनको प्रयोग बढी सकारात्मक अर्थमा गरिन्छ । वास्तवमा यो वाक्यको गठन नै नमिलेको जस्तो लाग्छ । यसलाई : “बर्नस्टिनले ‘चिन्तन र सत्ता एकै हुन्’ भनेर ‘चिन्तन र सत्ता’ बीचको सम्बन्धलाई आफूखुसी आदर्शवादी सिद्धान्तमा बङ्ग्याएर (विकृत पारेर) ज्ञानसम्बन्धी मार्क्सवादी सिद्धान्तको ‘संशोधन’” गर्यो भन्नु सही हुन्छ ।

२१.दस्ताबेजको उपशीर्षक ४, पृष्ठ ४८ को पहिलो अनुच्छेदको अनुवादमा पनि मेल खाने पदावली प्रयोग गरिएको छैन । पत्रिकाको पृष्ठ १०८मा भनिएको छ : “भौतिकवादी द्वन्द्ववादको तिखो व्याख्या गरेको छ ” । यहाँ ‘तीखो’ होइन,‘गहन’ पदावली उचित हुन्छ । त्यस्तै, यसै अनुच्छेदको तल लेखिएको छ । “सर्वहारा वर्गको अधिनायकत्व अन्तर्गत निरन्तर क्रान्तिलाई अगाडि बढाउनका लागि चिनियाँ जनताको तिखो हतियार हो ।” यहाँ ‘धारिलो हतियार’ भन्नु सही हुन्छ । अनुवादकले सन्दर्भ हेरेर ‘सार्प’ को अनुवाद गर्नुसट्टा शब्दानुवादमा जोड दिँदा यस्तो भएको हो ।

२२. त्यस्तै दस्ताबेजको पृष्ठ ५० र पत्रिकाको पृष्ठ १०९मा “चीन विरोधी प्रतिकूल धार” भनिएको छ । ‘प्रतिकूल’ ‘एड्भर्स’ (adverse) को अनुवाद हो । यसको ठाउँमा ‘ चीन विरोधी धार' मात्रै भन्नु उचित हुन्छ ।

२३. दस्ताबेजको पृष्ठ ५० र पत्रिकाको १०९ पृष्ठमा “अध्यक्ष माओको चतुर नेतृत्वमा पार्टीले ...” भनेर अनुवाद गरिएको छ । यो ‘चतुर’ ‘वाइज’ (wise)  को अनुवाद हो । यहाँ ‘चतुर’ होइन,  ‘बुद्धिमतापूर्ण’ पदावली प्रयोग गर्नु उचित हुन्छ ।

२४. त्यसैगरी दस्ताबेजको पृष्ठ ५६ मा उल्लेख गरिएको अङ्ग्रेजी शब्द ‘पेनेट्रेटिङ्ली’  को पत्रिकाको पृष्ठ ११२ मा  ‘तिखो’ भनेर अनुवाद गरिएको छ । ‘पेनेट्रेसन’ (penetration) को  धेरै अर्थ लाग्छ । वास्तवमा यहाँ पनि ‘तिखो’ होइन, ‘गहन किसिमले’  भन्नु उपयुक्त हुन्छ । यसैको तल नेपाली अनुवादमा प्रयोग गरिएको “मुटुमा नै हिर्काइदियो” को सट्टा “मुटुमा नै प्रहार गर्यो ” भन्नु सही हुन्छ ।
 
२५. दस्ताबेजको पृष्ठ ५७ मा उल्लेखित ‘इल्क’ (ilk) को अनुवाद गुट भनिएको छ । यसलाई बेठीक नै त नभनौँ । तर यसको  ठाउँमा ‘मतियार’ भन्नु बढी सान्दर्भिक हुन्छ ।

२६. त्यसैगरी दस्ताबेजको पृष्ठ ५८मा उल्लेखित Chen Tu-hsiu को  ‘छन तु सु’ भएको छ र पृष्ठ ६३ मा पनि Kautsky को अनुवाद काट्स्की भएको छ, नेपालीमा काउत्स्की भन्ने गरिएको छ ।

२७. त्यसैगरी दस्ताबेजको  पृष्ठ ६४ को अन्तिम अनुच्छेद, पत्रिकाको पृष्ठ ११६ को अनुवादमा  केही अस्पष्टता देखिएको छ । त्यहाँ लेखिएको छ : “मार्क्सवादका विरुद्धको प्रतिकूल संशोधनवादी धारका सामु अध्यक्ष माओले महान्... ।” यहाँ “ मार्क्सवादी दर्शनको विपरीत धार संशोधनवादी धारका विरुद्ध माओले महान् ...।” अनुवाद गर्नु बढी प्रभावकारी हुन्छ ।

२८ त्यसैगरी दस्ताबेजको अन्तिम अनुच्छेद पृष्ठ ६६ र पत्रिकाको पृष्ठ ११७ मा “यी महाशक्तिहरू र आफ्नै स्पष्ट सीमाङ्कन गर्न” उल्लेख छ । यहाँ ‘लाइन अफ डिमार्केसन’ ( line of demarcation) को ‘स्पष्ट सीमाङ्कन’ भनिएको छ । यहाँ पनि ‘विभाजनको स्पष्ट रेखा कोर्न’ भन्दा राम्रो हुन्छ । त्यस्तै, यसै अनुच्छेदमा “क्रान्ति गर्न तिखो हतियार” भनिएको छ, यहाँ पनि  धारिलो हतियार भन्दा राम्रो हुन्छ ।

२९. यो लामो आलेखमा फुटनोटहरू पनि छन्,  तर अनुवादमा त्यसको कतै नामोनिसान पाइँदैन । यस किसिमको त्रुटि हुनुमा अनुवादकको भन्दा सम्पादकको कमजोरी रहेको देखिन्छ ।
 
३०. यसमा सर्वनाम रूपको प्रयोगमा पनि एकरूपता छैन । कतै “ल्यु साउचीले गर्यो ”,  “याङ सियन–चेनले गर्यो ” भनिएको छ भने कतै “ल्यु साउचीले गरे”, “याङ सियन–चेनले गरे” भनिएको छ । यो अनुवादकले दोहोर्याएर नपढ्दा र सम्पादकले गम्भीरता नदेखाउँदा देखिएको समस्या हो ।

अन्त्यमा,
१. महत्त्वपूर्ण दस्ताबेज पाठकसामु आएको छ, यो खुसीको कुरा हो । यसका लागि  अनुवादकलाई धन्यवाद दिनैपर्छ, तर ठाउँठाउँमा ढुङ्गा लागेर पढ्नुको मिठासलाई मात्र होइन, सम्प्रेषण पक्षलाई पनि अवरुद्ध पारेको छ । पछिका दिनमा यसप्रति सजगता अँगाल्नु आवश्यक छ ।
 
२. यसमा अँगालिएको वर्णविन्यासका आधारमा प्रवर्तक मात्र नभएर ‘इच्छुक सांस्कृतिक प्रतिष्ठान’पनि  नेपाली भाषा र वर्णविन्यासलाई विकलाङ्ग बनाउनेहरूको जमातमा सामेल भएको छ भन्न सकिन्छ

माथि उल्लेख गरिएबाहेक अन्य पनि सानातिना केही अस्पष्टताहरू  छन् ।  यो अनुवादकार्यको समस्या भन्दा पनि भाषा, अर्थ, भाव र अभिप्राय मिलानको समस्या हो । यसमा विषयवस्तुको राम्रो ज्ञान भएको सम्पादकको आवश्यकता पर्छ । विषयवस्तुको ज्ञानको मात्र कुरा नभएर वर्णविन्यास र भाषासम्पादनप्रति पनि गम्भीरताको अभाव यहाँ देखिएको छ  ।
बराल
०००

भिडियो फिचरview all