menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) भन्छ : सरकार असाध्यै गैरजिम्मेवार भयो

कोरोना महामारीका सम्बन्धमा सरकारी प्रवृत्ति एकदमै गैरजिम्मेवार र अविश्वसनीय भएको, दैनिक उपभोग्य वस्तुको चरम अभाव र काला बजारियाहरू मालामाल हुन थालेको  भनेर आम जनता तथा बौद्धिक समुदायबाट तीव्र विरोध भइरहेको समयमा नेकपा (क्रान्तिकारी माआवादी) ले सरकारको  गैरजिम्मेवार प्रवृत्तिप्रति खबरदारी गर्दै तत्काल गर्नु पर्ने भनेर ७ वटा बुँदामा आफना भनाइ अघि सारेको छ ।

सो पार्टी का महासचिव कमरेड किरणद्वारा १५ चैतमा जारी वक्तव्य मा भनिएको छ : “हाम्रो देशको सरकारले भने देशलाई लकडाउन गरेपछि सबै समस्याको समाधान भए झैं गरी सुतुर्मुगले जस्तो टाउको लुकाएर बसेको छ । यो सरकारको अत्यन्त गैरजिम्मेवारीपन हो। हाम्रो पार्टी नेपाल सरकारको यस्तो रवैयाको तीव्र विरोध गर्दछ र महामारी नियन्त्रणका अतिरिक्त लकडाउनले सिर्जना गरेका थप समस्याको समाधान गर्न सरकारले मूख्यतः निम्नानुसारका विषयमा आधारमा अविलम्ब योजना निर्माण गरी त्यसको कार्यान्वयन गरोस् भन्ने जोडदार माग गर्दछ । "

वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

यतिबेला कोरोना भाइरसजन्य महामारी कोभिड-१९ले पुरा विश्वलाई नै आफ्नो लपेटामा लिएको छ । संसारभरि  सङ्क्रमित हुनेको सङ्ख्या ६,००,९०१ पुगेको छ र त्यसमध्ये २७,४१७ जना मरिसकेका छन् । सङ्क्रमण भएका विरामीहरुबाट बच्न विश्वभरीको आधा जनसङ्ख्या लकडाउनमा गइसकेको छ । अर्कोतिर, लकडाउनले विश्वभरि गंभीर आर्थिक सङ्कट, आम बेरोजगारी तथा भोकमरीको समस्या पैदा गरेको छ । यस्तो विकराल स्थितिमा विभिन्न देशका सरकारहरुले कोविड-१९का विरुद्ध लड्न र लकडाउनले पैदा गरेका थप समस्याहरुको समाधान गर्नका लागि एकीकृत प्याकेज तयार पारेर त्यसलाई कार्यान्वयनमा लगेका छन् । यो उनीहरुको जनताप्रतिको जिम्मेवारी बोधको अभिव्यक्ति हो ।

तर विडम्बना, हाम्रो देशको सरकारले भने देशलाई लकडाउन गरेपछि सबै समस्याको समाधान भए झैं गरी सुतुर्मुगले जस्तो टाउको लुकाएर बसेको छ । यो सरकारको अत्यन्त गैरजिम्मेवारीपन हो । हाम्रो पार्टी नेपाल सरकारको यस्तो रवैयाको तीव्र विरोध गर्दछ र महामारी नियन्त्रणका अतिरिक्त लकडाउनले सिर्जना गरेका थप समस्याको समाधान गर्न सरकारले मूख्यतः निम्नानुसारका विषयमा आधारमा अविलम्ब योजना निर्माण गरी त्यसको कार्यान्वयन गरोस् भन्ने जोडदार माग गर्दछ ।

एक, विदेशबाट आएका नेपालीहरुलाई अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइनमा राखी सङ्क्रमितहरुको पहिचान गर्नु पर्दछ । यो समस्या मूख्यतः पछिल्लो चरणमा भारतबाट नेपाल प्रवेश गर्नेहरुमा बढी देखिन्छ ।

दुई, परीक्षण तथा उपचार सामग्रीहरुको तुरन्त व्यवस्था गरी सङ्क्रमित विरामीहरुको उपचार गर्ने, सङ्क्रमणको संभावना भएका सबैलाई अनिवार्य रुपमा परिक्षण गर्ने र पछि परीक्षणको प्रक्रियालाई आम रुपमा विस्तार गर्दै तलसम्म लैजानु पर्दछ । सङ्क्रमित भएकाहरु सबैको पहिचान भएपछि तिनलाई क्वारेन्टाइनमा राखी लकडाउन खुकुलो पार्न सकिन्छ ।

तीन, सरकारले निजी र सरकारी दुवैथरी अस्पतालहरुलाई आवश्यक सबै सामग्रीहरु समान अनुपातमा उपलव्ध गराई उपचारको कमाण्ड गर्नु पर्दछ । सरकारले सरकारी र निजी अस्पतालमा भेदभाव गर्न हुँदैन र निजी अस्पतालहरुलाई पनि विभिन्न बहानामा जिम्मेवारीबाट उम्किन दिनु हुँदैन । यसका साथै, कोभिड–१९ बाहेक अन्य विरामीहरुको उपचारलाई पनि आवश्यकता अनुसार निरन्तरता दिनु पर्दछ ।

चार, उपचारको अग्रमोर्चामा लड्ने डक्टरहरु, नर्सहरु र अन्य सबै कर्मचारीहरुको जीवनविमा गरिदिनु पर्दछ ।
पाँच, महामारीले पैदागरेको कठीन स्थिति सहज नहुँदासम्म विभिन्न उद्योग तथा व्यवशायमा कामगर्ने मजदुरहरु, स्वरोजगारीबाट जीवन निर्वाह गर्ने श्रमिकहरु र आम गरीव तथा अशक्त जनताका आधारभूत आवश्यकता पुरा गर्नका लागि सरकारले आर्थिक प्याकेज बनाई त्यसलाई तुरन्त कार्यान्वयनमा लैजानु पर्दछ ।

छ, सरकारले खाद्यान्न, ग्यास, पानी, दुध, तरकारी जस्ता आधारभूत आवश्यकताका वस्तुहरुको आपुर्तिको जिम्मेवारी लिनु पर्दछ । घरघरमा खाद्यान्न पुर्याउने नाममा महङ्गी बढाउने र कालोबजारी गर्ने निजी स्टोरहरुलाई सख्त कार्वाही गर्नु पर्दछ ।

सात, सरकारले लाठी लगाएर लकडाउन सफल भएको देखाउनेतिर होइन कि जनताका न्युनतम आधारभुत आवश्यकता पुरा गरेर लकडाउनको कष्टपूर्ण जीवनलाई सहज बनाउन विशेष जोड दिनु पर्दछ ।

अन्त्यमा, अहिले देश गंभीर स्थितिमा छ । सरकार जिम्मेवार नबन्ने हो भने कोरोनाजन्य महामारी र त्यसले पैदागरेका समस्या अरु भयावह बन्दै गई देश उम्किनै नसक्ने सङ्कटमा फस्ने कुरा निश्चित छ । यो स्थितिमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)ले सरकारलाई जिम्मेवार भएर पेश हुन र देशलाई संभावित सङ्कटबाट बचाउनका लागि उपरोक्त बुंदाका आधारमा सरकारमाथि दवाव सृष्टि गर्न आम जनतालाई हार्दिक अपील गर्दछ ।

किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी )
२०७६/१२/ १५
भिडियो फिचरview all