menu

ताजा समाचार

कोरोना महामारी विरुद्ध एक जुट हुन नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण' को अपिल

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य 'किरण' ले यही चैत १२  गते  बुधबार एक वक्तव्य जारी गर्दै कोरोना भाइरस कोरोना भाइरसजन्य प्राणघातक रोगले विश्वभरी महामारीको रुप लिएको डरलाग्दो स्थितिमा सरकारका गलत र अस्पष्ट  निर्णयहरु सच्याउन आवश्यक सुझाव दिंदै र सही निर्णयहरु कार्यान्वयनमा सिंगो देश एकताबद्ध भएर महामारीका विरुद्ध लड्न जनसमुदायलाई अपिल  गरेका छन् । वक्तव्यमा महासचिव किरणले पश्चिमी विकसित देशहरुमा ज्यामितीय रुपमा बढिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि भित्रभित्रै तीव्र रुपमा फैलिएको हुन सक्ने भन्दै सरकारलाई संक्रमितहरुको पहिचानमा विशेष ध्यान दिन र उपचारमा संलग्न डाक्टर, नर्स तथा कर्मचारीहरुको स्वास्थ्य सुरक्षामा ध्यान दिन  सरकारसित आग्रह गरिएको छ ।

वक्तव्यमा महामारीका बेला भ्रष्टाचारी, काला बजारिया, दलाल, माफिया, बिचौलिया र नाफाखोरहरुले औषधि, खाद्यान्न र इन्धन जस्ता दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाब सिर्जना गरी अनुचित फाइदा उठाउन खोज्छन् र यसको असर नेपालमा देखिन थालिसकेको उल्लेख गर्दै त्यसका साथै विभिन्न व्यवसायहरु बन्द हुन गएको स्थितिमा थुप्रै  श्रमजीवि मजदुरहरु बेरोजगार हुन गई तिनको रोजीरोटीको समस्या गंभीर बन्न गएको भन्दै समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराइएको छ  ।

वक्तव्यको पूर्णपाठ

गत साल २०१९को डिसेम्बरदेखि चीनको हुबेइ प्रान्तको राजधानी बुहान सहरबाट सुरु भएको कोरोना भाइरसजन्य प्राणघातक रोग कोभिड–१९ले अहिले पुरै विश्वभरी महामारीको रुप लिएको छ । यो सङ्क्रमणलाई पहिलो १ लाख मानिसमा विस्तार हुन ४ महिना लागेको थियोे भने दोस्रो एक लाखमा विस्तार हुन करीव १३ दिन, अर्को १ लाखमा विस्तार हुन ४ दिन र पछिल्लो एक लाखमा विस्तार हुन २ दिन मात्र लागेको देखिन्छ । यसको विस्तार ज्यामितीय तरीकाले हुँदै गएको छ, यो निकै डरलाग्दो स्थिति हो । पछिल्लो आँकडा अनुसार यसबाट प्रभावित १९७ वटा देशमा ४,२४,८६३ जना सङ्क्रमित भएका छन्, ती मध्ये १,०९,२०९ जना उपचारको क्रममा निको भएका छन्, १८,९३९ जनाको मृत्यु भइसकेको छ र यो सङ्ख्या बढिरहेको छ ।

अहिलेसम्म नेपालमा दुई जनामा मात्र कोभिड–१९को सङ्क्रमण भएको घोषणा गरिएको छ । तर, नेपालमा दुईजना मात्र सङ्क्रमित छन् भन्ने स्थिति छैन । यस बीचमा बाहिरबाट थुप्रै मानिस भित्रिएका छन्, ती मध्ये धेरै मानिस सङ्क्रमित हुन सक्छन् । यो बेला राज्यको ध्यान सङ्क्रमितहरुको पहिचान गर्न व्यापक परीक्षण गर्ने, तिनलाई अनिवार्य रुपमा क्वारेन्टाइन र आइसोलेशनमा राखी सङ्क्रमणको विस्तार हुन नदिने, सङ्क्रमितहरुको उपचार गर्ने र उपचारमा संलग्न डाक्टर तथा नर्सहरु लगायत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुलाई सङ्क्रमणबाट बचाउनका लागि आवश्यक सामग्रीको आपूर्ति गर्ने काममा केन्द्रित हुनु जरुरी छ । सङ्क्रमणलाई विस्तार हुन नदिन सरकारले गरेको देशैभरी लक डाउन गर्ने निर्णय सही छ तर यति मात्र पर्याप्त छैन । यो स्थितिमा लक डाउन गर्ने निर्णयलाई निर्वाध रुपमा कार्यान्वयन गराउन र माथि उल्लिखित काममा जोड दिन सरकार समक्ष हाम्रो पार्टी विशेष माग गर्दछ ।

अर्कोतिर महामारीका बेला भ्रष्टाचारी, काला बजारिया, दलाल, माफिया, बिचौलिया र नाफाखोरहरुले औषधि, खाद्यान्न र इन्धन जस्ता दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाब सिर्जना गरी अनुचित फाइदा उठाउन खोज्छन् र यसको असर नेपालमा देखिन थालिसकेको छ । त्यसका साथै विभिन्न व्यवसायहरु बन्द हुन गएको स्थितिमा थुपै्र श्रमजीवि मजदुरहरु बेरोजगार हुन गई तिनको रोजीरोटीको समस्या गंभीर बन्न गएको छ । हामी यस प्रकारको स्थितिमाथि ध्यान दिंदै समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छौं ।

अहिले विश्वमा जुन महामारी आएको छ त्यसको नियन्त्रण गर्न राज्यको मात्र होईन जनताको पनि महत्वपूर्ण भूमिका रहन्छ । गत ४ महिनाको अनुभवले के देखाएको छ भने जुन देशमा राज्यले महामारीलाई सुरुबाटै गंभीर रुपमा लियो, प्रभावित क्षेत्र वा सिङ्गो देशलाई लकडाउन गरेर सङ्क्रमितहरुबाट बचाउन सेल्फ क्वरेन्टाईन र आइसोलेशनमा जान निर्देशन दियो र जनताले त्यसलाई साथ दिए ती देशमा सङ्क्रमणको गति धीमा भएको छ । त्यसको विपरीत सरकार सुरुबाटै कडा रुपमा प्रस्तुत नभएका अथवा सरकारका सही निर्णयहरु पनि कार्यान्वयन नगरिएका देशहरुमा भने यो सङ्क्रमण फैलिंदै गएको छ । नियन्त्रण उन्मुख चीनको स्थिति र अनियन्त्रित बन्दैगएको इटली, स्पेन र अमेरिका जस्ता देशको स्थितिले यसलाई स्पष्ट पारेको छ ।

अन्तमा, यतिबेला सिङ्गो देश कोभिड–१९ जस्तो भयानक महामारीको लपेटामा परेको छ । यसको प्रकोपलाई सिङ्गो राष्ट्र एक ढिक्का भएर मात्र सामना गर्न सकिन्छ । यो स्थितिमा, सरकारका सही निर्णयहरुलाई निर्वाध रुपमा कार्यान्वयन गर्न, गलत र अपुरा निर्णय सच्याउनका लागि उपयुक्त आलोचनात्मक सुझावहरु दिन र महामारीका विरुद्ध एकतावद्ध भएर लड्न हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) आम नेपाली जनतामा हार्दिक अपिल गर्दछ ।

 किरण
महासचिव
नेकपा (क्रान्तिकारी माओवादी)


भिडियो फिचरview all