menu

ताजा समाचार

नेपाल प्रज्ञा प्रतिष्ठानको दादागिरी विरुद्ध लेखकहरू आक्रोसित

काठमाडौँ चैत, ८ कुनै पनि सम्पादक तथा प्रकाशन संस्थाले कुनै लेखकको रचना छाप्नु पर्यो  तथा  सङ्ग्रहमा समाविष्ट गर्नु पर्यो  भने सम्बद्ध लेखक तथा अधिकारवाला संस्थासित स्वीकृति लिनु पर्ने हुन्छ, कपि राइटसम्बन्धी नियमकानुनले पनि यसै भन्छ । तर वामपन्थी भनाउँदो सरकारको मातहत रहेको नेपाल प्रज्ञा प्रतिष्ठान नामको संस्थालाई यसो गर्नु आवश्यक छैन , मनपरी गर्न छुट छ । लेखकको शोषण गर्न  पाएकोमा  सो संस्थालाई  एक हिसाबले गर्व भएको बुझिन्छ ।

पहिलेपहिले यसरी सम्पादन गर्दा लेखकसित सोध्ने तथा जसका रचना राखिएको हो, उसलाई पारिश्रमिक दिने नीति.नियम थियो ‘ नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान’ मा । अहिले ओली र प्रचण्डहरूका कारिन्दाहरूले प्रज्ञा प्रतिष्ठानहरू भरिएपछि लेखकहरूलाई पारिश्रमिक दिने कुरा त परै जाओस्, लेखकलाई सोध्ने र पुस्तक दिने चलन पनि हराएको छ  । उदाहरणका रूपमा समसामयिक प्रगतिवादी नेपाली कथा  र नेपाली कथामा दलित जस्ता संग्रहलाई लिन सकिन्छ ।

समसामयिक प्रगतिवादी कथा को सम्पादन बिन्दु शर्माले गरेकी हुन् भने नेपाली कथामा दलित को सम्पादन चाहिँ तेजविलास अधिकारी र पुरुषोत्तम रिजालले गरेका हुन् र यी दुवै सङ्कलनको प्रधान सम्पादक चाहिँ त्तकालीन ‘प्राज्ञ’ मातृका पोखरेल हुन् । 

प्रधान सम्पादकले सबैभन्दा बढी पैसा लिने, सम्पादकहरूले पनि पैसा लिने, तर, जसका रचनाहरू राखेर सङ्कलन तयार पारिएको छ, उसलाई रचना राख्ने कुरामा नसोध्ने, छापिइसकेपछि जानकारी पनि नदिने र पारिश्रमिक तथा -वायल्टी को कुरा गर्दा दिने नियम छैन भन्ने गरेपछि लेखकहरूले  यसलाई नेपाल प्रज्ञा प्रतिष्ठानको दादागिरीको संज्ञा दिएका छन् , जमिन्दारी प्रवृत्ति भनेका छन्।

यसैबीच हामीले केही सम्बद्ध लेखकहरूसित सम्बन्ध राखेका थियौँ । उनीहरूका भनाइमा लेखकहरूको शोषण गर्ने  अहिलेका प्रज्ञा प्रतिष्ठानका पदाधिकारीहरूको प्रवृत्ति पञ्चायती कालका पदाधिकारीहरूको भन्दा पनि निकृष्ट रहेको र उनीहरूका विरुद्ध मुद्दा हाल्नुबाहेक विकल्प नरहेको भन्ने छ । कथाकारका रूपमा परिचय नै नबनाएकाहरूका लागि कथा छापिनु नै ठूलो कुरा हुनसक्छ, अमुक लेखकले दाबी नगर्न पनि सक्छ ।  तर कथाकारका रूपमा स्थापित भएकाहरूका लागि र आफ्नो सत्त्वप्रति सचेत लेखकका लागि भने यो अति नीच प्रवृत्तिको व्यवहार हो ।

यसै क्रममा हामीले कथाकार ऋषिराज बरालसित सोद्धा उनको जवाफ यस किसिमको थियो :

“समसामयिक प्रगतिवादी कथा मा ‘खत्री बालाई आजभोलि निन्द्रा लाग्दैन’ र नेपाली कथामा दलितमा ‘कदमलाल ततमाको गीत’ राखिएको छ । तर सङ्कलनमा यी रचना राख्दा मसित एक शब्द पनि सोधिएन र पछि किन यसो गरियो भन्दा चित्तबुझ्दो जवाफ पनि पाउन सकिएन । पारिश्रमिकको कुरा गर्दा उल्टै उपेक्षाभाव प्रदर्शन गर्ने व्यवहार गरियो र नियम छैन भनेर टकटकिने काम भयो ।”

प्रमुख सम्पादक मातृका पोखरेलसित सम्पर्क राख्न खोज्दा सम्पर्क हुन सकेन ।

'प्रगतिवाद' को असली परिभाषा के हो र  कस्तालाई मात्र 'प्रगतिवादी' लेखक भन्न सकिन्छ र के-कस्ताहरू प्रगतिवादका नाममा समावेस भएका छन्, त्यतातिर नजाउँ, यो अर्कै चर्चा र टिप्पणीको विषय हो,मूल कुरो त,शोषणका विरुद्ध लेख्ने कथाकार नै शोषणमा परेभन्ने कुरा हो ।

यसैबीच केही कथाकारहरूले नेपाल प्रज्ञा प्रतिष्ठानको यस किसिमको व्यवहारका विरुद्धमा कपिराइट र पारिश्रमिकको कुरालाई लिएर मुद्दा हाल्ने तयारी गरेको कुरा पनि थाहा हुन आएको छ ।


भिडियो फिचरview all