menu

ताजा समाचार

सङ्क्रमणकालीन परिवेश

कुमार दिङ्लाली
गाउँ ! गाउँजस्तो पनि छैन
सहर ! सहरजस्तो पनि छैन
गाउँ सहर पसेजस्तो छ, र
सहर गाउँ पसेजस्तो छ ।
गाउँको आफ्नै चुलोचौको छ
काम नचले पनि ग्याँस बलेको छ
ठोसिँदै बालिने दाउराको आगो
झन्झन् भर्भराउँदै बलेको छ ।
गाउँमा पुराना बाटा हराएका छन्
एक प्रकारले टुक्राकटुक्रामा विभाजित छन्
नयाँ बाटा जताततै खुलेका छन्
तर, मान्छे हिँड्दैनन्
मान्छेलाई मेसिनले बोकेर
कतै झारिदिन्छ, धुलैधुलो...
पुराना बाटाहरू झार, जङगल र
झाडीभित्र पुरिएका छन् ।
आफ्नै खुट्टाले हिँडन खोज्ने मान्छे
नयाँ बाटामा धुलोमैलोले पुरिन्छ

फोहोरमा को डुब्ने ?
त्यता जान खुट्टा लाग्दैन
पुराना बाटामा झार, जङ्गल र
काँडाले कोरिन्छ
ऐँजेरु पलाएको बुढो रुख
कसै गर्दा नि जाग्दैन
लछार्दै हिँडेका छन् बुढो रुखलाई
कत्ति जोगाउँदा नि जोगिँदैन
अलमल अलमलले बितेको छ
गाउँको यो सङ्क्रमण काल !

गाउँको भूगोल उही छ
आवश्यकता उही छ
परिवेश उही छ
परिस्थिति उही छ
खालि कोरिएका छन्
नयाँ रेखाहरू !
कतै बाटाका नाममा
कतै सिमानाका नाममा
अजङ्का ठूलाठूला राक्षसी
दाह्रा भएका मेसिनले
यता कोतरेका छन्
उता चिथोरेका छन्
मेरो गाउँको भूगोल !

विकासको नाममा गाउँको
अनुहार बिगारेका छन् !
आधुनिकताको नाउँमा
चीर हरण गरेकाछन्
निरीह बनेको छ मान्छे !
कोठेबारीमा बराँठ पसेर
 बिग्याइं गर्दा पनि
हाँच का हाँच अर्ना पसेर
बिरुवा, बाली बिगार्दा पनि
उही पुरानो लाहुरेको थोत्रो
कोटपेन्टमाथि टोपी लगाएको
ढोड, सन्ठी, पराल वा झिक्राले बनाएको
तर्साउने बुख्याँचा बारीमा ठड्याएर
ढुक्क परेको छ मान्छे !
बाली बिगार्न भैँसी पसे पनि
बराँठ पसे पनि
बाली सपार्न मान्छे पसे पनि,
बुख्याँचा न हो
स्वागतको मुद्रामा उभिरहन्छ
सलाम बझार्छ ।

मान्छे बुख्याँचाकै भरमा बस्न थालेको छ !
न विरोधमा निस्कन्छ !
न समर्थनमा उभिन्छ !
न आफूलाई मरेको घोषणा गर्छ !
न जिउँदो भएको साबित गर्छ !
के हेर्छ, के हेर्छ ?
निस्पृह बनेको छ !
सङ्क्रमणकालीन परिवेश !
के यस्तै हुन्छ ?
०००

भिडियो फिचरview all