menu

ताजा समाचार

प्रचण्डको कुरूप अनुहारको पछिल्लो संस्करण

काठमाडौँ, २८ फागुन, ओलीको प्रिय पात्र तथा ओली-भ्रष्टाचार प्रकरणका अगुवा भनेर आम जनताबीच परिचित गोकुल बास्कोटाको निर्माणाधीन घरमा बम विष्फोटपछि विभिन्न किसिमका प्रतिक्रियाहरू प्रकाशमा आएका छन् । चौविसै घण्टा प्रहरी निगरानीमा रहेको भनेर प्रहरी प्रमुखले भनिरहेको अवस्थामा भएको यो विष्फोटलाई कतिपयले प्रहरीको कमजोर निगरानीका रूपमा व्याख्या गरेका छन् भने कतिपयले नेकपा (विप्लव) को साहसी कारवाही भनेका छन् । आआफ्नो हेराइ र बुझाइ अनुसार यस घटनाको व्याख्या गरिए पनि, निश्चय पनि यस घटनाले राजनीतिक वृत्तमा निकै ठूलै तरङ्ग ल्याएको छ ।

गोकुल बास्कोटाको घरमा भएको बम विष्फोटनले ओली मार्काकाहरू अत्तालिनु र बर्बराउनु स्वाभाविक थियो, तर यतिखेर सबैभन्दा बढी पीर,  पीडा र छटपटी प्रचण्डलाई परेको देखिन्छ । हिजो जनयुद्ध र जनयुद्धका नेताहरूलाई प्रतिक्रियावादीहरूले आतङ्कवाद र आतङ्कारीको बिल्ला भिराएका थिए । आज पुष्पकमल दाहाल त्यही ठाउँमा पुगेका छन् ।

वक्तव्यमार्फत उनले भनेका छन् :

''हाम्रो पार्टीका केन्द्रीय कमिटी सदस्य, प्रतिनिधिसभा सदस्य तथा पूर्व मन्त्री कमरेड गोकुलप्रसाद बास्कोटाको मध्यपुर नगरपालिका वडा नं १, लोकन्थली, भक्तपुरस्थित निजी निवासमा आतंककारी समुहले प्रेसर कुकर बम प्रहार गरेर क्षति पुर्याधएको छ । म हाम्रो पार्टीको तर्फबाट उक्त आपराधिक घटनाको घोर निन्दा एवं भ्रत्सना गर्दछु l"

 प्रचण्ड नेकपा (नेकपा) का अध्यक्ष्य भएकाले उनले व्यक्त गरेको भनाइ व्यक्तिगत हुने कुरा भएन र पतनको सीमा नाघेका प्रचण्डका लागि नयाँ कुरा पनि भएन । तर प्रचण्ड-ओलीको पार्टीमा अलिकति पनि नैतिकता भएकाहरू, खास गरेर जनयुद्धसित गाँसिएकाहरूमा अलिकति पनि नैतिकता छ भने उनीहरूले प्रश्न उठाउनु पर्छ । तर प्रचण्ड-ओलीको पार्टीमा नैतिकता भएकाहरू छन् भनेर आश गर्ने ठाउँ छैन ।

विप्लवको  राजनीतिका विविध पक्ष खास गरी नेपाली क्रान्तिको चरित्र र कार्यदिशाका सम्बन्धमा क्रान्तिकारी माओवादीहरूको सहमति छैन, तर विप्लव समूह आतङ्कारी हो भन्ने कुरा पनि क्रान्तिकारी माओवादीहरूलाई मान्य छैन । थुप्रै कमीकमजोरी र कार्यदिशागत अन्यौलका बाबजुद पनि उसलाई सकारात्मक रूपमा लिनु पर्छ भन्ने क्रान्तिकारीहरूको बुझाइ छ । तर बम विष्फोटको घटनालाई लिएर प्रचण्डले नेकपा (विप्लव) लाई जसरी आतङ्कवादी भनेका छन्, यो निन्दनीय र भ्रत्र्सनायोग्य छ र एकपल्ट फेरि प्रचण्डको कुरूप अनुहार उदाङ्गिएको छ ।


भिडियो फिचरview all