menu

ताजा समाचार

ओली सरकार विरुद्ध बढ्दो जनआक्रोस

डा. ऋषिराज बराल

नेपाली काङ्ग्रेसको राष्ट्रघाती-जनघाती चरित्रबाट दिक्क भएका नेपाली जनताले पछिल्लोपल्ट वाम नामधारी ओली-प्रचण्ड गठबन्धनलाई भोट हालेर करिबकरिब दुईतिहाईको स्थितिमा पुर्याएर सरकारको नेतृत्वको जिम्मा दिएका थिए । परन्तु, दुई वर्षको समयमा जनजीवीका, राष्ट्रिय स्वाधीनता तथा प्रजान्त्रिक मूल्यहरूको निर्वाहका सम्बन्धमा कुनै पनि क्षेत्रमा यसले जनविश्वास आर्जन गर्न सकेन, असाध्यै स्खलनको स्थिति देखा पर्यो । भ्रष्टाचार, महँगी, नातावाद-कृपावाद र विदेशी शक्तिका सामु आत्मसमर्पण ओली सरकारको मूल चरित्र बन्यो ।

३३ किलो सुन काण्ड ओली र ओली सरकारसित गाँसिएर फाइल बन्द भयो । वायु सेवा निगमसित जोडिएको वाइडबडी काण्ड रवीन्द्र अधिकारीलाई ‘सहिद’ बनाएर सेलायो । बालुवाटार जग्गा काण्डमा जनताका आँखामा छारो हाल्न खोजिरहेको छ । र पछिल्लो पटक राणाहरूले आफ्ना आसेपासे र चाकरीबाजलाई बक्सिस र निगाहका रूपमा जग्गा बाँडेझैँ मुलुकको स्वामित्वमा रहेको जग्गा, राष्ट्रिय सम्पति ‘यति’  नामको संस्थालाई एकपछि अर्को गरेर ओली सरकारले बक्सिस दिइरहेको छ । भारतले लिपुलेकलगायत सिङ्गो कालापानी क्षेत्र आफ्नो बनाएर नक्सा सार्वजनिक गर्दा पनि केही नभएजस्तो गर्ने ओली सरकार अब एमसिसीका नाममा जसरी पनि  अमेरिकी सेना नेपालमा भित्र्याउने षड्यन्त्रकारी योजनामा तल्लिन रहेको छ । खास गरेर ओलीसहित ओली सरकारका दुई मन्त्री प्रदीप ज्ञवाली र गोकुल बाँस्कोटा -(राजिनामा दिए) नेपालका मन्त्रीहरूको साटो अमेरिकी प्रतिनिधिको व्यवहार गरिरहेका छन् ।

ओली सरकार अहिले निकै आत्तिएको देखिन्छ । आफ्ना भ्रष्टाचारी र राष्ट्र विरोधी गतिविधिको समीक्षा गरेर गल्तीकमजोरी सच्याएर अघि बढ्नुको साटो सरकार ढाल्न खोजे भनेर कोकोहोलो मच्चाइरहेको छ । नयाँ विधेयकका नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज, फरक मत राख्ने पार्टीमाथि प्रतिबन्ध, जनतामाति करको बढ्दो बोझ, सिमाना मिचाइमाथि मौनता र एकोहोरो एमसिसीको रटानका कारण ओलीको कोकोहोलो प्रतिध्वनित भएर उनकै कानमा ठोकिएको छ । बढ्दो महँगी्, भ्रष्टाचार, राष्ट्रघात विरुद्धको आन्दोलन,  भारतीय विस्तारवाद विरुद्ध र एमसिसी खारेज गरको जनताको नाराका बीच हराएको छ ओलीको हारगुहार । जनताले ओलीको रोदन-क्रन्दन सुन्न रुचि राखेका छैनन् ।

आफ्नै पार्टीभित्र कमजोर स्थितिमा पुगेको बेला आएको ओलीको हारगुहार “जेसुकै गर्न तयार छु, मेरो कुर्सी बचाइदेऊ’ को व्यक्तिवादी छटपटाहट र राष्ट्रघाती मानसिकताको उपजभन्दा अरू केही होइन । दुई वर्षपछि आफ्नो पालो भनेर ओलीको पछिपछि झोला बोक्तै कुदेका प्रचण्ड निरास भएपछि घुमाउरो पाराले ‘पार्टी विघटन’ र सरकार परिवर्तनको धम्की दिइरहेका छन् । पुरानो एमालेभित्रै पनि भीम रावलहरूको आवाजको आयाम विस्तारित भइरहेको स्थिति छ । यता एमालेमा विलय हुन गएको प्रचण्डको नेतृत्वको  पूर्व-माओवादी गुट नयाँ किसिमले धुवीकृत र क्रियाशील हुन थालेको संकेत मिल्छ ।

अहिलेको गणतन्त्रको मूल सूत्रधार दसबर्से जनयुद्धप्रति ओली गुट, त्यसमा पनि खासखास व्यक्तिको व्यवहारका कारण पूर्वमाओवादीका अधिकाश कार्यकर्ता निकै आक्रोसित छन् र ठीक ढङ्गले स्थितिलाई व्यवस्थित गर्न नसके आक्रोस ओलीमाथि होइन, प्रचण्डमाथि नै केन्द्रित हुनेछ र यसले नयाँ किसिमको धु्रवीकरण उत्पन्न सक्छ भन्ने कुरा चतुर भनिएका प्रचण्डले नबुझ्ने कुरा भएन । महरा प्रकरणको नाटकीय तारतम्य र रिहाइपछि स्थिति नयाँ किसिमले विकसित र ध्रुवीकृत हुन थालेको कुरा प्रचण्डले बुझेका छन् र हरेक अवसरलाई आफ्नो पक्षमा पार्न माहिर प्रचण्डले घुमाउरो पाराले ओलीलाई ‘सम्झाउनु’ भनौँ धम्क्याउनु अस्वाभाविक भएन ।

मुलक अहिले आन्दोलनरत छ । आन्दोलनको चरित्रमा विविधता छ र यसका स्वरूपहरू पनि भिन्नभिन्न छन् । नेपाली काङ्ग्रेसको एउटा तप्का खास गरेर सेरबहादुर गुट अमेरिकी खान्कीको सोझो गर्दे जसरी पनि एमसिसी पास गराउन ओलीका साथ हिँडेको छ । अर्को गुट  हिन्दूवादी नाराका साथ भारतको तीर्थाटनमा छ । तराईका जनताका नाममा भ्रष्टाचारमा लिप्त तराईकेन्द्रित (मधेस केन्द्रित ?) पार्टीहरू गतिलो वैदेशिक अभिभावकको अभावमा कोही ओलीतिर हेरिरहेका छन् र कोही मोदीतिर । काङ्ग्रेस आइको बेहालपछि बेहालमा रहेका नेपालका मधेसकेन्द्रित दलहरू भारतलाई खुसी पार्न लिपुलेक भारतको हो भनेर दलाली गरिरहेका भए पनि मोदी सरकाले खासै महत्व नदिएका कारण अन्योलमा देखिन्छन्–अबको उनीहरूको आन्दोलन भनेको लूटतन्त्रको कसले नेतृत्व गर्ने भन्ने मात्र हो ।

ओलीको भ्रटाचारीहरूलाई काखी च्याप्ने राष्ट्रघाती चिन्तनको विरोधको अर्थ गणतन्त्रको विरोध होइन । नेपाली जनताले निकै ठूलो बलिदान दसबर्से जनयुद्ध र १९ दिने आन्दोलनको जगमा अहिलेको गणतन्त्र आएको हो–ओली र उनको मण्डलीलाई कसैले बिर्ता तथा बक्सिस दिएको होइन । गणतन्त्रको प्राप्तिमा अलिकति पनि लगानी नगरेका ओलीलाई यसको माया नभए पनि गणतन्त्रका लागि रगत बगाएका नेपाली जनतालाई यसको आवश्यकता र माया छ । अहिले ओली सरकाकारका विरुद्ध जनताको बढ्दो आक्रोससँगै जनताले आन्दोलन गरेर फ्यालेको पुरानो शक्ति पनि पुनः दाउ मार्न सकिन्छ कि भनेर ताउरमाउर गरिरहेको छ । इतिहासको विषय बनिसकेको राजसंस्था र तिनका अन्तिम पात्रलाई चुपचाप बाँकी जीवन शान्त किसिमले बिताउन नेपाली जनताले थान्को लगाइसकेका हुन् । रहलपहल राजावादीहरूलाई आफ्नो नायकको पक्षमा जिन्दावाद भन्न पाउने अधिकार संविधानले दिएको छ । वास्तवमा, अब कोही राजतन्त्रको पुनस्र्थापनाका लागि ताउरमाउर गर्छ भने उसले नेपाली जनताको शक्ति र सामथ्र्यलाई नबुझेको ठहरिन्छ । नेपाली जनताले चाहेको राजतन्त्रको पुनस्र्थापना पनि होइन, सैन्य ‘कु’ पनि होइन, जनगणतन्त्र हो र सबै आर्थिक, राजनीतिक विसङ्गति, भ्रष्टाचार, राष्ट्रघात र जनघातबाट मुक्त हुने बाटो यही मात्र हो ।

जसले गणतन्त्रका लागि रगत बगायो, उसलाई गणतन्त्र प्यारो छ र राष्ट्रिय स्वाधीनता पनि प्यारो छ । अहिले सानै भए पनि सचेतन शक्ति सडकमा निस्केको छ । लिपुलेक हाम्रो हो भनेर सडकमा नारा लागेका छन् । अमेरिकी सेना नेपालमा भित्र्याउने एमसिसी चाहिँदैन, मुलुक बेच्न पाइँदैन भनेर सडकमा दिनहौँ नाराजुलुस र भाषण चलिरहेका छन् । कलम चलाउनेहरू हुन् अथवा राजनीति चलाउनेहरू हुन्, पैसामा बिकेकाहरू, वैदेशिक शक्तिको दलालीमा राजनीतिक भविष्य देख्नेहरू राष्ट्रिय स्वाधीनताका विरुद्धमा छन् र सिङ्गो मुलुक, आम जनता जनतन्त्र र राष्ट्रिय स्वाधीनताका पक्षमा छन् । मुलुकको यस किसिमको धु्रवीकरण अहिलेको स्थिति हो ।

अहिले नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) लगायतका पार्टीहरू तथा माओवादी बुद्धिजीवीहरू तथा क्रान्तिकारी आम जनसमुदाय लिपुलेक सन्दर्भ, एमसिसी खारेजी, ओली सरकारको भ्रष्टाचार आदि विषयलाई लिएर आ-आफ्नो ठाउँबाट सङ्घर्षरत छन् । यसलाई सकारात्मक रूपमा लिएर सघाउ पुर्याउनु पर्छ । यो आन्दोलन,जति सघन, व्यापक र सङ्गठित हुनु पर्ने थियो, त्यति हुन सकेको चाहिँ छैन, यसमा आम जनताको भन्दा नेतृत्व गरिरहेका पार्टीहरूमा कमीकमजोरी र सीमाहरूले काम गरेका छन् । र पनि, मुलुकमा सबै राष्ट्रघातीहरू छैनन्, सबै लुटेरा भ्रष्टाचारीहरू छैनन्,  राष्ट्रिय स्वाधीनता र जनतन्त्रको पक्षमा आन्दोलनरत शक्तिहरू, बुद्धिजीवीहरू पनि छन् भन्ने कुराको जुन सन्देश गएको छ, यो सकारात्मक छ ।

ओली सरकारको राष्ट्रघाती प्रवृत्तिका विरुद्ध आक्रोसित जनमानसिकतालाई गलत तत्वहरूले आफ्नो स्वार्थमा प्रयोग नगरून् भन्नका लागि पनि आन्दोलनलाई नयाँ किसिमले सङ्गठित र व्यवस्थित गर्नु आवश्यक छ । अब पुरानो ढर्राको, स्टेरियो टाइपको आन्दोलनको स्वरूपलाई पनि फेर्नु पर्ने हुन्छ । जनताले नयाँ किसिमको सङ्गठित शक्ति, नेतृत्वमा नयाँ अनुहार र जुझारु कार्यशैलीको माग गरेका छन् भन्ने कुराप्रति पनि ध्यान जानु आवश्यक छ ।

जनआक्रोस र असन्तुष्टिलाई वैचारिक सङ्घर्षमा फेर्नु अहिलेको आवश्यकता हो । ओली सरकारको विकल्प ओलीको ठाउँमा अर्को पात्र अथवा अर्को पार्टीको सरकार होइन, आवश्यकता क्रान्तिकारी विकल्पको हो र वैचारिक सङ्घर्ष, ध्रुवीकरण र आंदोलनलाई सँगसँगै लगेर मात्र विकल्पको दिशामा अघि बढ्ने स्थिति बन्छ ।
०००

भिडियो फिचरview all