menu

ताजा समाचार

जनयुद्ध जिन्दावादका साथ जनयुद्धको स्मरण

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा २०५२ साल फागुन १ गते आरम्भ भएको जनयुद्ध २४ वर्ष पूरा गरी २५ औँ वर्षमा प्रवेश गरेको सन्दर्भमा ‘जनयुद्ध स्मरण समिति’ को आयोजनामा विशेष कार्यक्रम सम्पन्न भयो । काठमाण्डौको बागबजारमा सम्पन्न सहिद योद्धा तथा बेपत्ता योद्धाहरूप्रति विशेष समर्पित कार्यक्रममा जनयुद्धको महत्व र बलिदानको महान् इतिहासको चर्चा गरिएको थियो ।  साथै बलिदानको इतिहासप्रति प्रचण्ड–बाबुराम लगायतका नेताहरूद्वारा गरिएको गद्दारीको पनि चर्चा गर्दै इतिहासबाट शिक्षा लिएर क्रान्तिकारीहरूले एकजुटताका साथ बाँकी कार्य पूरा गर्न प्रतिबद्धका साथ अघि बढ्नु पर्ने कुरामा जोड दिइएको थियो ।

बेपत्ता योद्धा परिवारसित सम्बद्ध  वरिष्ठ अधिवक्ता एकराज भण्डारीको सभापतित्व तथा सञ्चालनमा भएको कार्यक्रममा  हिजो जनयुद्धसित गाँसिएका र अहिले विभिन्न पार्टीहरूसित आबद्ध नेता तथा कार्यकर्ताका साथै माओवादी बुद्धिजीवीहरूको उपस्थिति थियो  । जनयुद्धको महत्वका साथै जनयुद्धसित गाँसिएका घटनाहरूको संस्मरण गर्दै डा. ऋषिराज बराल, नारायण शर्मा, गंगा लामा, नरेन्द्रजङ पिटर, मंगल बिक, तक्मा केसी, कुमार पौडेल लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रमको आरम्भमा सञ्चालक एकराज भण्डारीले कसरी हिजो जनयुद्ध आरमभ गर्दाका उत्पीडितहरू अहिले उत्पीडक बनेर समाजको क्रान्तिकारी रूपान्तरणका पक्षमा लागेकाहरूमाथि दमन, आतङ्क, धरपकड र हत्या मच्चाइरहेका छन् भन्ने कुराको चर्चा गरेका थिए ।

त्यसै गरी डा. ऋषिराज बरालले जनयुद्धको नेतृत्व गर्ने एक थरीले आत्मसमर्पण र गद्दारी गरे पनि बाँकी रहेका क्रान्तिकारीहरू- नयाँ जनवादी क्रान्ति र वैज्ञानिक समाजवादका पक्षधरहरू एकताबद्ध भएर अघि बढ्नु पर्ने कुरामा जोड दिएका थिए ।

'जनयुद्ध जिन्दावादबाट आरम्भ सो कार्यक्रम जनयुद्ध जिन्दावादको नाराका साथ समापन भएको थियो ।
भिडियो फिचरview all