menu

ताजा समाचार

कमरेड किसेनजीलाई लाल सलाम !

नोभेम्बर २४, २०१२ का दिन भारतीय कम्युनिस्ट पार्टी (माओवादी) का  वरिष्ठ पोलिट ब्युरो सदस्य कमरेड मल्लोझला कोटेश्वर राव ‘किसेनजी’ लाई पश्चिम बङ्गालको मेदिनपुर जिल्लाको बुरिसोल गाउँमा भारतीय प्रतिक्रियावादी सुरक्षा बलले घेराबन्दी गरेर कब्जामा लिई निर्ममतापूर्वक हत्या गरेको थियो । उनको शरीरलाई टुक्राटुक्रा पारेर काटिएको थियो ।  आजको दिनलाई भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले कालो दिनको संज्ञा दिएर प्रतिरोधका लागि आह्वान गरेको छ ।  त्यसैगरी  र भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित संस्था ‘इन्टर्नेस्नल कमिटी टु सपोर्ट दि पिपुल्स वार इन इन्डिया’ ले पनि २४  नोभेम्बरका दिन प्रतिरोध दिवसका रूपमा विभिन्न कार्यक्रम गर्दैआएको छ ।

 रावको जन्म १९५४ मा आन्ध्र प्रदेशको करिमनगर जिल्लामा मध्यम वर्गीय परिवारमा भएको थियो । सन् १९७४ सम्म विद्यार्थी आन्दोलनमा सक्रिय र स्नातक तहसम्म अध्ययन गरेका राव सन् १९७४ मा पार्टी सदस्य भएर १९७८ मा संयुक्त जिल्ला कमिटीका सेक्रेटरी । १९८० मा भारतीय कम्युनिस्ट पार्टी (पिपुल्स वार) आन्ध्र राज्य समितिका सदस्य र १९९३ मा भारतीय कम्युनिस्ट पार्टी (पिपुल्स वार) को केन्द्रीय सदस्य र २००१ मा सोही पार्टीको पोलिट ब्युरो सदस्यका रूपमा निर्वाचित भए । सन् २००४मा पिपुल्स वार र बिहार–बङ्गालमा सक्रिय माओइस्ट सेन्टरबीच एकता प्रक्रियालाई अगाडि बढाउन उनको महत्वपूर्ण भूमिका रह्यो ।

२००७ मा भारतीय कम्युनिस्ट पार्टी (माओवादी) को एकता अधिवेशनपछि उनको भूमिका झन् बढ्यो । बङ्गाली पनि राम्रोसित बोल्न सक्ने कमरेड राव पार्टीमा प्रह्लाद, रामजी, बिमल र किसेनजी नामले परिचित थिए र हत्या हुँदाको समयमा उनी माओवादी पार्टीको ‘इस्टर्न रिजनल ब्युरो’  सदस्य तथा सो ब्युरोको प्रवक्ताको जिम्मेवारीमा थिए । 

कथित मुठभेडका नाममा कब्जामा लिएर निर्ममतापूर्वक हत्या गरिएपछि भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले त्यतिबेर २९ नोभेम्बर  देखि ५ डिसेम्बरसम्म एक हप्ते शोक दिवस तथा डिसेम्बर ४–५ भारत बन्दको आह्वान गरेको थियो । कमरेड किसनजीको हत्याको विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माओवादी) र आरिसिपी, अमेरिका बाहेक विश्वका माओवादी पार्टीहरू, इटाली, फ्रान्स, टर्की लगायतका पार्टीहरूले भाकपा (माओवादी) प्रति क्रान्तिकारी ऐक्यबद्धता जनाएका थिए ।

यो हत्या मनमोहन सिंहको नेतृत्वमा रहेको काङ्ग्रेस सरकार र ममता बनर्जीको नेतृत्वमा रहेको पश्चिम बङ्गाल सरकारको संयुक्त योजनामा भएको थियो । उनको  हत्यापछि पार्टीका केन्द्रीय प्रवक्ता कमरेड अभयले वक्तव्यमार्फत भनेका थिए—“क्रान्तिकारी आन्दोलनका अगुवा नेताहरूको हत्या गरेर माओवादी पार्टीलाई समाप्त पार्ने  सपना देख्ने भारतीय प्रतिक्रियावादी शासक वर्ग र तिनका साम्राज्यवादी मालिकहरूलाई उत्पीडित जनताले अवश्य पनि चिहानमा पुर्याउनेछन् ।”

भिडियो फिचरview all