menu

ताजा समाचार

दयनीय स्थितिमा प्रचण्ड : ओलीको दयाकाे पात्र बन्नुसिबाय प्रचण्डसित अर्को विकल्प छैन

डा. ऋषिराज बराल
विश्वबाट साम्यवादको अन्त्य भयो भनेर साम्राज्यवादले छाती पिटेर अट्टहास गरिरहेको समयमा  ‘हिमालयतिर हेर एउटा नयाँ सूर्य उदाइरहेछ’ भनेर  नेपाली उत्पीडित जनता तथा विश्वमै नयाँ आशा जगाउने महान् दस बर्से नेपाली जनयुद्धको मूल नेतृत्वमा रहेका पात्र हुन् प्रचण्ड । क्रान्तिकारी नेताका रूपमा प्रचण्डको बिम्ब सारै छोटो समयमा निर्माण भएको थियो । यो बिम्व निर्माणको जग माथिल्लो तहमा कमरेड किरणलगायत थुप्रै नेताहरूको भूमिका थियो भने मुक्तिप्रति आस्थावान आम जनता, लाखौँ कार्यकर्ता र बलिदानको महान् बाटो रोज्ने १४ हजारभन्दा बढी सहिदहरूको बलिदानको गरिमामय इतिहास थियो । पुष्पकमल दाहालको ‘प्रचण्ड’ मा भएको विकास प्रतिबद्धता, त्याग र बलिदानको महान् र उदात्त इतिहासको गर्भबाट निर्माण भएको थियो ।  प्रचण्डले धोका दिँदैनन् भन्ने विश्वासको जगमा निर्माण भएको थियो यो विम्ब । परन्तु जसरी र जुन गतिमा प्रचण्ड महान् क्रान्तिकारीका रूपमा देखा परे,  त्यो भन्दा तीव्र गतिमा जनताको विश्वासप्रति धोकेबाज,  सहिदको रगत र क्रान्तिप्रतिको गद्दार र देशीविदेशी प्रतिक्रियावादीहरूको चाकरका रूपमा पतित बने ।

हिजो विश्वका क्रान्तिकारीहरूले गर्वका साथ लिन्थे उनको नाम । आज उनी व्यङ्ग्य र नकारात्मक पात्रका रूपमा स्थापित छन् । विश्व कम्युनिस्ट आन्दोलनमा अहिलेको सन्दर्भमा जनता र क्रान्तिलाई धोका दिने र गद्धारी गर्ने पछिल्ला पात्रहरूको नाम लिनु पर्दा उनी एक नम्बरमा पर्दछन् । वास्तवमा जब कसैले आफ्नो व्यक्तिगत स्वार्थका लागि  क्रान्तिकारी विचार र आन्दोलनलाई धोका दिने काम गर्छ, ऊ केही समय देशीविदेशी प्रतिक्रियावादीहरू— साम्राज्यवादी तथा विस्तारवादीहरूको प्रशंसाको पात्र बन्ला, तर उत्पीडित जनताको आँखामा ऊ सदैव घृणाको पात्र बन्छ । साम्राज्यवादी तथा प्रतिक्रियावादी शक्तिहरूले पनि केही दिन प्रशंसा गर्ने र  प्रयोग गर्ने हुन् र पछि रछानमा फ्यालि दिने हुन् । अहिले प्रचण्डको स्थिति त्यस्तै हो । अहिले उनका अभिव्यक्तिहरू टीठ लाग्दा छन् । उनका अभिव्यक्तिमा कुण्ठा र पीडा तीव्र रूपमा पाइन्छ । साम्राज्यवादी तथा प्रतिक्रियावादीहरूले क्रान्तिकारीहरूलाई सिध्याउन अनेक परिपञ्च र षड्यन्त्र गर्छन् । तर प्रचण्डको अहिलेको स्थिति उनको आफ्नै कारणले उत्पन्न भएको हो, उत्पीडित नेपाली जनता र सहयोद्धालाई धोका दिनुको परिणाम हो । उनका अभिव्यक्ति र स्थिति सुन्दा र देख्दा साँच्चिकै दया जागेर आउँछ ।  बिरालोले मुसा खेलाएझै उनलाई अहिले ओलीले खेलाइरहेका छन् ।  उनमा देखिएको कुण्ठा, निरीहता र दयनीय स्थिति यसैको परिणाम हो ।उनमा विकसित भएको कुण्ठाले उनलाई विक्षिप्ताको स्थितिमा पु¥र्याको कुरा उनले “आफू ओरिजिनल माओवादी होइन” भन्दै बर्बराउनुबाट बोध गर्न सकिन्छ

एकीकृत माओवादी पार्टीमा छँदा उनले पार्टीभित्रका अनुभवी र क्रान्तिकारी नेताहरूको कुरा सुनेनन् र मानेनन् ।  भारतीय एजेन्टका रूपमा परिचित बाबुरामजस्ता पाखण्डी, मार्क्सवाद विरोधी, योजनाबद्ध किसिमले भारतीय विस्तारवादले नेपालको कम्युनिस्ट आन्दोलन त्यसमा पनि माओवादी आन्दोलनलाई ध्वस्त  पार्न प्रवेश ग¥याइएका पात्रको चाहनालाई उनले महत्व दिए । पार्टीभित्रका क्रान्तिकारीहरूलाई लात मारेर बाबुरामजस्ता गद्धारलाई काखी च्यापे । खरिपाटी बैठकमा उनलाई क्रान्तिकारी धारमा ल्याउने प्रयास क्रान्तिकारीहरूले गरे । पालुङ्टार बैठकमा उनलाई बाटो नबिराउन खबरदारी गरे । तर उनी सुध्रेनन् । सिंहले केही समय आफ्नो बथान छाडेर भेडाको बथानमा भेडा बनेर बसे पनि अब ऊ सिंहकै बथानमा हिँड्न तयार छ  भनेर बेलाबेलामा कथा हालेर कार्यकर्तालाई अल्मल्याए पनि उनी भेडाहरूकै बथानमा हिँड्थे ।  अहिले त उनी भेडा होइन, गधाहरूको बथानमा गधा नै बनेर मिसिएका छन् । जनयुद्धकै समयमा नव–प्रतिक्रियावादी पार्टी भनेर घोषणा गरिएको पार्टी नेकपा (एमाले) मा अहिले उनी विलय हुन पुगेका छन्  । ओली, ईश्वर पोख्रेलले मात्र होइन, सूर्य थापाजस्ता केटौले पात्रले समेत उनलाई हेपेर टीकाटिप्पणी गरेको पढ्न पाइन्छ । कटुवाल प्रकरणमा त्यतिबेलाका भारतीय राजदूत राकेश सुदले प्रचण्डप्रति टिप्पणी गर्दै “सिंहलाई कसरी स्याल बनाउने भन्ने कुरा हामीले जानेका छौँ” भनेका थिए । आज आफ्नै कारणले प्रंचण्डको स्थिति टीठ लाग्दो अवस्थामा पुगेको छ । केही लोभीपापीबाहेक उनको साथमा कोही छैनन् र ओलीले हरियो घाँस देखाए भने तिनले पनि साथ छोड्नेछन् ।

बाबुरामको पहिलो प्रयास कमरेड किरणप्रति आस्था राख्ने पार्टीभित्रका क्रान्तिकारीहरूलाई अलग राख्नमा थियो । उनी भरिसक्के विप्लवलाई पनि साथ लिन चाहन्थे र प्रयास पनि गरे । विप्लवलाई केही मात्रामा जुठ्याए पनि । बाबुरामको उद्देश्य  कमरेड किरणहरूलाई धपाउनु र प्रचण्डलाई कमजोर बनाएर पार्टी कब्जा गर्नु थियो । कमरेड किरणप्रति विश्वास राख्नेहरूले नयाँ पार्टी निर्माण गरेपछि प्रचण्डको पार्टीमा नेतृत्व लिन उनले अन्तिम अवस्थासम्म प्रयास गरे, भित्र र बाहिर दुवैतिरबाट दबाब पनि दिए । यो योजना सफल नभएपछि बाबुरामले अर्को पार्टी खोले । उनको नियत बुझेपछि उनका सहयोगी भनिएकाहरूले समेत उनलाई छाडे । अनि भारतमा उनको अनुकूलताको सरकार नबनेपछि अहिले उनी उपेन्द्र यादवका कारिन्दामा परिणत भएका छन्  । जनयुद्धको राजनीतिसित गाँसिएका कारण माऔवादी पार्टीका तर्फबाट प्रधानमन्त्रीसमेत बनेका उनी अहिले मार्क्सवाद र जनयुद्धका विरुद्ध विषवमन गर्दै हिँडेका छन् । वास्तवमा जुन जिम्मेवारी पूरा गर्न भारतीय विस्तारवादले उनलाई माओवादी आन्दोलनमा प्रवेश गराएको थियो, त्यसलाई चाहिँ उनले इमानदारीपूर्वक पूरा गरेका छन् । उनको अध्याय समाप्त भएको छ ।  इतिहासको कलङ्कका रूपमा चाहिँ उनको इतिहास सदैव जीवित रहनेछ ।

जहाँसम्म प्रचण्डको कुरा छ, मार्क्सवाद र कम्युनिस्ट आन्दोलनका दृष्टिले उनी समाप्त भइसकेका छन् । उनको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी रहे पनि उनको पार्टी नव–प्रतिक्रियावादमा पतन भइसकेको छ  र अहिलेको सरकारले यसै चरित्रको प्रतिनिधित्व गर्छ ।  प्रचण्ड जिम्मेवारीका दृष्टिले घर न घाटका भएका छन् । उनी नाम मात्रका अध्यक्ष भएको र पार्टीमा आफू नै सर्वेसर्वा र कार्यकारी भनेर  ओली स्वयंले सार्वजनिक गरेका छन् ।  गनगनसिबाय उनको कुनै अधिकार छैन । यो स्थिति उनी आफैँले निम्त्याएका हुन् । गलत गरिएछ भनेर विद्रोह गर्न सक्ने स्थितिमा पनि छैनन् उनी । कतै पनि चल्दैन उनको । संसदीय दलमा उनको पकड छैन । सिङ्गो पार्टीको के कुरा पूर्वमाओवादी समूहमा पनि उनको पकड छैन । अबको विकल्प भनेको ओलीको दयाको पात्र बन्नु मात्र हो । बढीभन्दा बढी मेडियामा आफ्नो कुण्ठा पोख्नु मात्र हो ।

ओली सरकारका पछिल्ला गतिविधिहरू अमेरिकी स्वार्थतर्फ प्रवृत्त छन् भन्ने कुरा राजनीतिमा सामान्य ज्ञान राख्नेले पनि बुझेको कुरा हो । परराष्ट्र मन्त्री ज्ञवालीले जतिसुकै ढाकछोप गरे पनि अमेरिकामा गएर उनले थुप्रै कुरा सुम्पेर आएको कुरा सत्य हो र ओली सरकार त्यो सम्बन्धलाई पार्टी तहमा समेत निरन्तरता दिन चाहन्छ भन्ने कुरा पनि सत्य हो । प्रचण्डले पनि ओलीले आफूसित सल्लाह नगरी काम गरेकाले  असन्तुष्टि पोखेका मात्र हुन् । उनी पनि अमेरिकाले आफूलाई महत्व देओस्, पत्याओस् भन्ने चाहन्छन्  । ओली विदेशीहरूलाई पार्टी र सरकार सबै आफूले भनेअनुसार चलेको छ र चल्दछ भन्ने देखाउन चाहन्छन् । ओलीको नीति भनेको पूर्वमाओवादीलाई आफ्नो स्वार्थअनुसार परिचालन तथा उपयोग गर्ने मात्र हो । उनी आफ्नो निजी सचिवले झैँ आफूले भनेअनुसार प्रचण्ड चलून् भन्ने चाहन्छन् ।  त्यसो नगरे  अनेक बखेडा निकालरे एकएक बहाना बनाएर प्रचण्डलाई ठेगन लगाउने नै ओलीको सोचाइ हो । महरा प्रकरण यसैको प्रयोग हो ।

महराका गल्ती थिए । अहिले धेरै खोतलखातल नगरौँ, तर  सञ्चारमन्त्री भएदेखि नै उनले यस किसिमका गल्ती गरिरहेका थिए । उनको हैसियतको मान्छे रातविरात महिलामात्रै भएको कोठामा जानु सरासर गल्ती थियो । महरा र रोसनीप्रकरण संसद सचिवालयभित्र सबैले जानेको प्रकरण थियो, महरा र रोसनीको अनैतिकतासित सम्बद्ध खुला सत्य थियो । महराको कमजोरी होइन, बदमासीमा  टेकेर ओलीले एकैचोटि महरा र प्रचण्डमाथि प्रहार गरेका छन् । ओलीले महराले अमेरिकी स्वार्थमा काम नगरेर गल्ती गरेको भनेर सार्वजनिक रूपमै भनेका पनि छन् । इन्डो प्यासिफिक अन्तर्गतको मिलेनियम च्यालेन्ज कर्पोरेसन सहायता सहमतिलाई संसदबाट जसरी पनि पारित गराउने भन्दै एक दैनिक पत्रिकालाई दिएका अन्तर्वार्तामा भनिसकेका छन् ।

महरा, प्रचण्डका राजनीतिक र आर्थिक विश्वास पात्र हुन् भन्ने कुरा सबैलाई थाहा छ । अब आर्थिक मामिला, क्यान्टोन्मेन्ट घटनामा प्रचण्ड नफस्लान् अथवा उनलाई नफसाउलान् भन्न सकिन्न ।  त्यहाँ अरबौँको हिसाबकिताब महरामार्फत मिलान भएकै हो । प्रचण्डको गनगन बढ्दै गएमा क्यान्टोन्मेन्ट र भ्रष्टाचारको कुरा अघि नबढ्ला भन्न सकिन्न ।

साम्राज्यवादी शक्तिहरू र तिनका दलालहरूले संसदवादी राजनीति नै माने पनि उनीहरूको चाहनाअनुसार नचल्नेहरू, त्यसमा पनि  पूर्वमाओवादीहरूलाई सिध्याउन चाहनु स्वाभाविक हो  । त्यसैले महान् जनयुद्ध र सहिदहरूप्रति गद्दारी गर्ने, क्रान्तिकारी साथीहरूलाई लात मारेर ओलीको नेतृत्वमा रहेको नव–प्रतिक्रियावादी पार्टीमा विलय हुने प्रचण्डका सामु अहिलेको अवस्थामा ओलीको इमानदार आज्ञापालक बन्नुबाहेक अर्को विकल्प छैन । सबै कुरा गुमाइसकेपछि रोइकराई गर्नुको अर्थ छैन । ओलीले पार्टी अध्यक्ष पनि छाड्नेवाला छैनन् र सरकारको नेतृत्व पनि छाड्नेवाला छैनन् । त्यस्तै प¥यो भने माधव नेपाल अथवा वामदेवलाई छाड्लान्, माओवादी आन्दोलनसित जोडिएको पात्रलाई हिजोका एमालेहरू, बहुदलीय जनवादको वकालतगर्नेहरूले सरकार तथा पार्टीको प्रमुख दिनेवाला छैनन् । यो एमाले संस्कार र संस्कृति हो ।

प्रचण्डले सबै बाटो बन्द गरेका छन् र ओलीको कारिन्दा बन्ने बाटोबाहेक अर्को बाटो छेन । यो सत्यतथ्यलाई नबुझी गनगन गर्नु र कुण्ठा पोख्दै हिँड्नु भनेको आफ्नो दयनीयपन र निरीहताको थप प्रदर्शन गर्नु मात्र हो ।

आफूअनुकूल चलाउन पार्टी र सरकारमा रहेका पूर्वमाओवादी समूहलाई तर्साउने र सिआइए शैलीको प्रयोग गरेर बदनाम गराउने, र यो संविधान र बहुदलीय संसदीय व्यवस्था नमान्ने मालेमाप्रति प्रतिबद्ध क्रान्तिकारीहरूमाथि दमन गर्ने साम्राज्यवादीहरू तथा तिनका दलालहरूको आधारभूत नीति हो र ओली सरकार यसै नीतिलाई व्यवहारमा लागु गरिरहेको छ । यो प्रचण्डहरू सिद्धिए भनेर खुच्चिउँ भन्ने बेला होइन, साम्राज्यवाद र तिनका दलालहरूले बाँकी रहेका क्रान्तिकारीहरूलाई आफूजस्तै बनाउन खोज्नेछन् र नमाने दमनको हतियार प्रयोग गर्नेछन् । अलिकति पनि जुझारु कार्यक्रमका साथ आउनेबित्तिकै ओली सरकार आक्रामक बनेर दमनमा आउने निश्चित छ र  आइरहेको पनि छ । यो स्थितिलाई समयमै क्रान्तिकारीहरूले पनि बुझ्नु आवश्यक छ ।
०००
भिडियो फिचरview all