menu

ताजा समाचार

महरा प्रकरणको भित्री परिदृश्य

नेपालको राजनीतिमा बडो नाटकीय ढङ्गबाट घटनाहरू घटिरहेका छन् । यसै सन्दर्भमा कृष्णबहादुर महरा प्रकरण जटिल नाटकीय मोडमा पुगेको छ । विदेशी शक्तिको प्यारो हुन पछिल्लो समयमा क्रिस्चियन धर्म अँगालेका महरा जसरी उदाएका थिए, त्यसै गरी अवसानतर्फको बाटोमा देखिए । रोल्पाली हुनुको फाइदा धेरै अयोग्य र अक्षमले पाए पनि उनी भने ‘योग्य’ थिए । उनको योग्यता र क्षमता भनेको पार्टीभित्र होस् अथवा बाहिरका शक्तिकेन्द्रलाई रिझाउन सक्नु र अवसर र फाइदा लिन सक्नु हो । यता पनि ठिक्क, उता पनि ठिक्क भएर फाइदा लिनेमा उनी एक नम्बरमा पर्छन् । आफ्नो फाइदाका लागि उनी हदसम्म पार गर्छन् ।

बाह्य शक्तिमा उनले भारत र चीन दुवैसित नजिकको सम्बन्ध बनाएर फाइदा लिन खोजे । पार्टीमा पनि उनी प्रचण्डको पनि र किरणको पनि नजिक. दुवैको प्यारो हुन खोजे  । किरणले आफू नजिकको भनेर सबै भित्री कुरा सुनाउँथे, तर उनी सबै लगेर प्रचण्डलाई सुनाउने गर्थे । प्रचण्डले भनेका कुरा चाहिँ खटाईखटाई मात्र सुनाउँने गर्थे । छिटै प्रभावमा पर्ने भनेर पार्टीमा चिनिने किरणले “महरा भनेको किरण ठानेर विश्वास गर्नुस्” भनेर कार्यकर्तालाई भनेको भनेर पनि सुनिने गथ्याेे।

यो हिजोको विषय थियो । अहिले महरा प्रकरणले नेपालको सिङ्गो राजनीति तातेको छ । थरीथरीका समाचार  र सन्दर्भहरू बाहिर आएका छन् । कतिपयले यसलाई माओवादी  जनयुद्धसित जोडेर अनेक कथा पनि बुनेका छन् । यो नितान्त महरासित जोडिएको व्यक्तिगत घटना हो र यसलाई माओवादी आन्दोलन र जनयुद्धसित जोड्ने पाखण्डपन गर्नु ठीक होइन । पूर्वसभामुख र वर्तमान उपसभामुखले बनाएको योजनामा महरा फसेका हुन्  भनेर पनि समाचार बनेका छन् । सन्दर्भसित अमेरिकी र भारतीय सन्दर्भ पनि जोडिएका छन् । बलात्कारको आरोप लगाउनेले समेत बयान फेरेकी छन् । जे होस् , एउटा तरङ्ग उत्पन्न भएको छ । हावा नचली पात हल्लिदैन, आगो नबाली धुँवा आउने कुरा पनि भएन । यो घटनाले प्रचण्डका सामु पनि नैतिक प्रश्न उभिएको छ र पार्टीमा उनको स्थिति थप कमजोर बनेको छ । महरा उनका विश्वास पात्रका साथै व्यापारिक िहस्सेदार  र अरबौँका हिसाबकिताका लोखापाल पनि हुन् ।

वास्तवमा महराको सन्दर्भ जटिल सन्दर्भ हो । महरालाई जान्न थुप्रै कोणबाट विश्लेषण गर्नुपर्छ । वर्षमानसित मात्र नभएर पछिल्लो समयमा रुकुमरोल्पाका समकालीन कमरेडहरूसित पनि उनको सम्बन्ध सुमधुर नभएको कुरा सार्वजनिक भइसकेको कुरा हो । युद्धकालमा वर्षमान र विप्लवबीच प्रतिस्पद्र्धा थियो र पछिल्लो समयमा वर्षमान र ओनसरीहरूसितको महराको सम्बन्ध राम्रो छैन भन्ने कुरा रुकुमरोल्पाका माथिल्लो तहका सकैलाई थाहा भएको कुरा हो । आफ्नो स्थिति कमजोर भएपछि शक्ति आर्जन गर्न बिप्लव पार्टीका प्रकाण्डलाई भित्र्याउन उनले प्रयास गरेको कुरा पनि चर्चाको विषय बनेको हो । वास्तवमा महरा नेपालको कम्युनिस्ट आन्दोलनमा सारै थोरै लगानी गरेर धेरै अवसर लिने पात्र हुन् । पदका लागि जोसित पनि जता पनि ढल्कने पात्र हुन् उनी ।  आर्थिक भ्रष्टाचारलाई वैधानिक रूप दिएर वैध बनाउन माहिर महरा सञ्चारमन्त्री हुँदा पम्फा भुसाल, रुक्म लामिछानेसहित भएर कर्मचारी सरुवा र बढुवामा कति हजम गरे त्यसको लेखाजाखा छैन । समयक्रममा त्यो पनि बाहिर आउला ।

ऋषिराज बरालले यसबारे केही सकेत २०६४ सालमै गरेका थिए । त्यतिबेर ‘साँघु’ साप्ताहिकमा प्रकाशित तलको लेखले केही कुरा भन्छ । पुरानो भए पनि हामीले यहाँ प्रस्तुत गरेका छौँ ।

------------------------------------------------------------------------

महरा ‘आउट’ र काजी ‘इन’ का  कुरा

डा. ऋषिराज बराल

कृष्णबहादुर महरा गृहमन्त्रीबाट हटेर नारायणकाजी श्रेष्ठ गृहमन्त्रीमा आएपछि विभिन्न पत्रपत्रिकाले विभिन्न टीकाटिप्पणी गरेका सन्दर्भमा 'दि टेलिग्राफ नेपाल' वेबसाइटले यसलाई भारत र चीनसित जोडेर ‘महरा (चीन) आउट र नारायणकाजी (भारत) इन’ शीर्षकमा टिप्पणी गरेको छ । म यसबारे केही प्रस्ट पार्नु आवश्यक ठान्दछु ।

यता शान्तिप्रक्रियामा आएपछि पार्टीले दिएको जिम्मेवारीअनुसार महराजीसित  सबैभन्दा बढी काम कमरेड महेश्वर दाहाल र ऋषिराज बरालले ग¥यौं । पहिलो अन्तरिम काल अर्थात् गिरिजाप्रसाद कोइरालाको प्रधानमन्त्रीत्वमा उनी संचारमन्त्री हुंदा हामीले जीउज्यान लगाएर उनलाई सहयोग ग¥यौं । उनी सफल मन्त्रीको रूपमा दरिए पनि । ज्ञानेन्द्र कालमा विश्वसनीयता गुमेका र स्तरीकरणमा ह्रास आएका सरकारी सञ्चरमाध्यमको छवि उकास्न र विश्वसनीयता र स्तरीकरणको अभिवृद्धि गराउन महेश्वरजी र हाम्रो पूरै टिम समर्पित भएर लाग्यो र यसमा हामी केही हदसम्म सफल पनि भयौं । तर पछिल्लो काल अर्थात् प्रचण्डको प्रधानमन्त्रीत्व कालमा महरा असफल मन्त्रीका रूपमा दरिए । हेर्दा भद्र, तर स्वार्थी चरित्रका चिसा मान्छे रहेछन् उनी । धेरैमा उनीप्रति अझै भ्रम रहेको देखिन्छ ।

म आफू टेलिभिजनको प्रमुख छँदा पार्टी हेडक्वार्टरदेखि लैनचौरलगायत कताकताबाट  कहिले सोझै र कहिले घुमाउरो किसिमले के के विषयमा क–कसका फोन र दबाव आउंथे, यी सबै पछि लेखौंला । कमरेड महेश्वर दाहालसहित एकैचोटि हामी १६ जनाले किन राजिनामा दियौं, यसका पछाडि अन्तर्निहित कथा रोचक र गम्भीर दुवै प्रकृतिको छ । हामीले राजिनामा दिएको विषयलाई लिएर न त महराले एक शब्द सोधे, न त प्रचण्ड र किरणले नै सोधे । खुसी लाग्यो, हामीले पनि  बुझ्यौं– हामी अलि देशभक्त रहेछौं, स्वाभिमानी र क्रान्तिकारी रहेछौं ।
एउटा कुरा के सत्य हो भने महराले आफूलाई प्रचण्डको उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न थालिसकेका थिए र उनको बोली, हामीसितको व्यवहारको शैली र प्रस्तुतिमा महरा होइन, प्रचण्डको रूप प्रतिविम्बित हुन थालेको आभास हामीलाई हुन्थ्यो । कहिलेकाहीं रोल्पाका अस्तिसम्मका मास्टर महरा नै त हुन् यिनी ! भन्ने पनि लाग्दथ्यो हामीलाई । असाध्यै घमण्ड चुलिएको थियो महरा कमरेडमा । पार्टीमा उनी माथि पुगे होलान् देशकाल सन्दर्भमा । तर यो काठमाडौं र सिंहदरवारलाई उनले भन्दा हामीले बढी बुझेका छौं भन्ने कुरा उनले बिर्सिए । गजब हुंदो रहेछ यो पार्टी भन्ने कुरा पनि ।  मान्छेको सम्पूर्ण योग्यता, क्षमता र दक्षताको समग्र मापदण्ड उसको पार्टी हैसियतले निर्धारण गर्दो रहेछ । गजबको विडम्बना ! अहिलेका केही मन्त्रीहरूलाई हेर्छु, व्यङ्ग्यले हांस्न मन लाग्छ ।

गजबको छ महरा कमरेडको इतिहास र राजनीतिक परिदृश्य । रोल्पाको माटोसित जोडिनुको अर्थ बोकेका,  त्यहांका पढेलेखेका मास्टर हुनुको नाता पनि जोडिएको, ‘यसम्यान हुन सक्ने चरित्र, स्वभाव र खुबी’ भएकाले र लाभहानीको हरहिसाबलाई ठीकठीक ढङ्गले राख्नसक्ने विशेषता बोकेका तीव्र महत्वाकाङ्क्षी महरालाई थोरै समयमा नै परख गर्न प्रचण्ड सक्षम भए । रोल्पाले बोकेको राजनीतिक इतिहासको मनोवैज्ञानिक पक्षलाई समेत दीर्घकालीन दृष्टिले आफ्नो प्रभावमा पार्न विप्लव, अनन्त र पासाङका समेत गुरु भनिएका महरालाई आफ्नो नजिक राख्नु पछिका लागि निकै उपयोगी हतियार हुनसक्छ भनेर प्रचण्डले समयमै बुझेका थिए । त्यसैले पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनको निर्णयमा, मुस्किलले एक दशकको इतिहास बोकेका महरालाई प्रचण्डले त्यति लामो इतिहास बोकेका  कमरेड गौरव र  कमरेड कान्छाबहादुर भन्दा अघि बढाएर उच्च महत्व र स्थान दिए ।

भूमिगत कालमा अधिकांश समय भारतमा बिताएका महरालाई दिएको जिम्मेवारीअनुसार उनको भारतीय खुपिया एजेन्टहरूसित र नेपाली काङ्ग्रेसमा भारतका सबैभन्दा प्रिय मानिने पात्र सिटौलााहरूसित पनि राम्रो–सौहाद्र्र सम्बन्ध बन्नु स्वाभाविक थियो । भारतको दवाबपछि पार्टीले बाबुरामजी माथि गरेको कार्बाही फिर्ता लिएको थियो र भारतीयहरूसित कुरा गर्न बाबुरामजी सहितको टोली पठाउंदा महराजी पनि साथै हुनुहुन्थ्यो भन्ने कुरा पनि सबैलाई थाहा छ । महराबाट सिटौला र सिटौलामार्फत यताउता कुरा पुग्ने नै भए । त्यसै गरी सिटौलाबाट महरा र महराबाट प्रचण्डसम्म पनि कुरा पुग्ने भए—भारत र नेपालको मितेरी पुलजस्तै । यता गौरव र किरण कमरेडहरूलगायतका कमरेडहरू  लगातार पक्राउ परिरहेका थिए र उता अर्का थरी कमरेडहरू मितेरी पुल बनिरहेका थिए ।

माओवादी पार्टीभित्र भारत र  नेपाली काङ्ग्रेससित समेत राम्रो सम्बन्ध भएका र प्रचण्डका पनि भारतीय सूत्रका लागि सबैभन्दा विश्वासिला र प्रिय पात्र महराजी नै थिए । अहिले आएर प्रचण्ड महरालाई यति सहजै र सजिलै गृहमन्त्री र उपमन्त्रीबाट हटाउन तयार होलान् र महरा पनि यति सजिलै हट्लान् भनेर मैले सोचेकै थिइन । गुदी कुरा अझै प्रस्ट छैन । मभित्र थुप्रै प्रश्नहरू छन् ।
 
रोल्पाली हुनुको मजा र स्वभावका कारण महरा माथिमाथि चढदै गए । सञ्चारमन्त्री हुँदाको अवसरको प्रयोग र छोराको उन्नति र प्रगतिलाई पनि व्यवस्थित गर्नुपर्ने कारणले  चिनियाँहरूसित पनि उनको राम्रो सम्बन्ध बन्दै गयो । मौसम हेरेर कहिले किरण समूहसित  र कहिले प्रचण्डसित टांसिने अवसरवादी प्रवृत्तिका महरामा पछिल्लो समयमा प्रचण्डले महराको महत्वाकाङ्क्षालाई चुली बनाइदिए  । ‘तपाईं भावी प्रधानमन्त्री’ प्रचण्डले हावा भर्दै गए र महराले रोल्पाली धरातल र साथीसँगी बिर्सिदै गए । हामीले महराजीका बारेमा सहीसही विश्लेषण गर्दा हामीसित जङ्गिने साथीहरू त्यसमा पनि बिप्लवजीका नजिकका भनिएका साथीहरू अहिले आएर दङ्दास परेका छन् । कमरेड किरणभन्दा महरालार्इृ अझ नजिकको नेता मान्ने विप्लव कमरेडलाई महराजीको स्थितिले सबैभन्दा बढी पीडा भएको हुनुपर्छ ।

पद र शक्तिका लागि सदैव छटपटिइ रहने प्रचण्डको यता फेरि सिङ्गापुर आवतजावत बढ्दै जानथाल्यो । यस्डी मुनिमार्फत फेरि प्रधानमन्त्री बन्न प्रचण्डको हारगुहार र कुदारेकुद चलिरहेको बेला महराजीसित जोडिएर पैसाका बारेमा चिनियॉहरूसित गरेको कुराकानीको  टेप प्रकरण बाहिर आयो । आफ्नो स्वार्थका लागि जसको पनि र जतिबेर पनि बलिको बोको बनाउन माहिर प्रचण्ड आफैंले यो टेप प्रकरण भारतलाई रिझाउन महरामार्फत गरेको योजनबद्धता थियो भन्ने कुरा पनि चर्चामा आयो । बाहिर दुईचार दिन होहल्ला भए पनि पार्टीमा खासखुस चल्यो, सकियो । अहिले पनि भन्ने गरिन्छ— चीनलाई बदनाम गरेर भारतसित सम्बन्घ बनाउन र बढाउन टेप प्रकरण एउटा प्रायोजित परिपञ्च थियो ।
यता झलनाथ खनालको नेतृत्वमा सरकार बनेपछि गृृहमन्त्रीको पद कसका भागमा पर्ने भन्नेदेखि लिएर को गृहमन्त्री हुने कुरा बहस र विवादका विषय बने । साधन, स्रोत, सुविधा, जनसम्पर्क, राष्ट्रिय सुरक्षा र ग्लामरका दृष्टिले निकै महत्वपूर्ण ठाउँ हो यो । गृहमन्त्रीको विवाद मूलतः देव  गुरुङ्जीलाई नल्याउनेमा केन्द्रित रहेछ भन्ने कुरा महराजी गृहमन्त्री भएपछि यो प्रसङ्ग विस्तारै सेलाउनु र  हराउनुबाट थाहा पाउन सकिन्छ । को र कस्तो व्यक्ति गृहमन्त्री बन्ने कुरा विचार र राष्ट्रियतासित सम्बद्ध प्रश्न पनि हो र यसका लागि देव गुरुङजीलाई रोक्नु आवश्यक थियो ।

प्रश्न गृहमन्त्रीको मात्र होइन, महराजीले सञ्चारमन्त्री भएको थोरे दिनमा नै एउटा कोर्स पूरा गरिसकेका थिए । सर्वप्रथम उनको होम वर्क भारतीयहरूलाई खुसी पार्ने कामबाट आरम्भ भयो ।  यो उखानको सान्दर्भिकताका बारेमा टिप्पणी गर्न सकिन्छ । तर अहिलेका मन्त्रीहरूमा कृष्णबहादुर महरा र ‘क्रान्तिकारी’ खड्गबहादुर विश्वकर्मा “गाई मारी गधा पोस्नेहरू” हुन् । सञ्चारमा महराले जे गरे यसबाट उनी चीनपरस्त त के नेपालपरस्त पनि रहेनछन् भन्नुपर्ने स्थिति भएको छ । म टेलिभिजनमा छँदा आफ्नै साथीहरूले खुलेर र लैनचौरले  घुमाउरो स्रोतमार्फत दवाब दिँदा पनि नेपाल टेलिभिजनको नियमावलीलाई संशोधित गरी वैज्ञानिक बनाएर एउटै व्यक्ति राजनीतिक आड र अनेक अवैद्य कार्यमार्फत घरीघरी प्रमुख हुने परिपाटी अन्त्य गर्ने सन्दर्भमा शुक्लालगायत दुई जना पूर्व प्रमुखहरूलाई सदाका लागि घर पठाएको थिए‘ । पछि माधव नेपाल प्रधानमन्त्री भएपछि दक्षिणको कोटामा शुक्ला रेडियो नेपालमा प्रमुख भएर पसे, उनले टलिभिजनकै लागि प्रयास गरेका थिए भन्ने कुरा पनि चर्चामा आएको थियो । महराजी मन्त्री भएपछि थुप्रै कुरामा प्रश्न उठाएर रेडियो नेपालमा कर्मचारी र पत्रकारहरू र आफ्ना कमरेडहरू समेतले शुक्लालाई हटाउन  अनुरोध गर्दा हटाउनुको सट्टा महराले उल्टै शुक्लालाई पुरस्कृत गरे । महराले आफूलाई साथीहरूको धरातल भन्दा माथि ठाने ।

‘गोरखापत्र’मा त महराजीले झन् ठूलो अपराध गरेका छन् । हरिगोविन्दजस्तो माओवादी विरोधी र काङ्ग्रेसपरस्तलाई कार्यकारी अध्यक्ष बनाएर पठाए । त्यतिले नपुगेर महराजीले  लैनचौरको तलबी भनेर गोरखापत्र संस्थानमै टिप्पणीको विषय बनेकालाई गोरखापत्रको जिम्मेवारी दिन निर्देशित गरे । राइजिङ नेपालमा  पनि गच्छेदार फोरमकै ढलीमली बनेको स्थिति छ । विजय चालिसेले समेत गर्न नमानेको काम हरिगोविन्दले गर्न थालेका छन् ।   कार्यालयभन्दा ल्न्इ र क्ष्ल्न्इ को काममा बढी चाहर्ने भनेर गोरखापत्र संस्थानमा ‘चर्चित’ एकजना पात्रका लागि मात्र हुने गरी भर्खरै राइजिङ नेपालमा खोलिएको विज्ञापनलाई लिएर यतिखेर राइजिङ नेपालका कर्मचारीबीच बबण्डर मच्चिएको छ । त्यो विज्ञापन रद्द गरिनुपर्छ भनेर आवाज उठेको छ ।  यी सबै सन्दर्भहरू ‘इन’ र ‘आउट’ सित जोडिएका घतलाग्दा सामग्री बनेका छन् ।  दि नेक्स्ट फ्रन्ट वेबसाइटले त्यतिबेरै ‘महरा कमरेडको कृपादृष्टि र गोरखापत्र संस्थान’ मार्फत यसबारे प्रस्ट पारेको हो  । महरापछि मन्त्री बनेका अग्नि कमरेडको छोटो अवधि दारा किट्तैमा बित्यो । छक्कापञ्जा नजान्ने भनिने बोगटी कमरेड कुन धूर्तको घुमाइमा पर्ने हुन् थाहा छैन । अहिले सरकारी सञ्चारमाध्यमहरू आर्थिक अपारदर्शीता, अराजकता र प्रशासनिक अस्तव्यस्तताको सिकार बनेका देखिन्छन् र ती र मेलोमेसोबिना चलेका अनुभूत हुन्छन् । ती मियोबिनाको दाइ‘ गरेको अवस्थामा छन् ।  एक थरी माओवादीले राम्रो पारेका सञ्चारमाध्यमहरू अर्काथरी ‘माओवादी’ ले ध्वस्त पारेका छन् । सरकारी सञ्चारमाध्यम र माओवादीका सन्दर्भमा लेखिने इतिहास अब यस्तै हुनेछ ।

यी सबै कुराहरूलाई हेर्दा  ‘दि टेलिग्राफ नेपाल’ ले भनेजस्तो नभएर सारमा उनी माओवादीभित्र काङ्ग्रसले सबैभन्दा बढी विश्वास गरेका र भारतले नजिकैबाट पत्याएका मान्छे हुन् । महत्वाकाङ्क्षी र अवसरवादी नारायणकाजी नयाँ जोगी हुन् र उनी केटौले स्वभावका व्यक्ति हुन् । उनको राट्रिय धरातल  त्यति बलियो छैन । उनको भारतीयहरूसित सुमधुर सम्बन्ध रहेको कुरा छापाहरूमा आइरहेका सन्दर्भहरू हुन् ।  तुलनामा महरा चीन र भारत दुवैलाई रिझाउन सिपालु व्यक्ति हुन् । यथार्थतः आफूलाई प्रचण्डको उत्तराधिकारी, भावी प्रधानमन्त्री ठान्ने महरा, प्रचण्डले रोल्पाली कमरेडहरूमाझ एकता हुन नदिन र क्रान्तिकारी धारलाई कमजोर पार्न विभाजनका लागि प्रयोग गरेका चेसका प्यादा  हुन् । यसपल्ट भने महराको अङ्क गणितले नराम्रो गरी धोका दिएको छ । भारत  माओवादीभित्र नयाँनयाँ, विश्वासिला र भरपर्दा रिक्रुटहरूको खोजी र निर्माणमा सक्रिय भएर लागेको छ भन्ने कुरामा चाहिँ विवाद गरिरहनु आवश्यक ठान्दिन ।

अब केही समयमै यी सबै पर्दाहरू खुल्दै जानेछन् । भर्खरै एउटा कुरा सुन्नमा आएको छ । भ्रम र अविश्वास उत्पन्न गर्ने कुरा पनि हुन सक्छ । सही के हो थाहा छैन । क्रान्तिकारी धारका एक जना वरिष्ठ कमरेड र भारतीय राजदूत राकेश सूदबीच केही दिनअघि गोप्य भेटघाट भएको गाइ‘गुइ‘ चलेको छ । त्यसै गरी  एमाले नेता ओली र बाबुरामजीका बीच अपारदर्शी भेटघाटका शृङ्खलाका सन्दर्भहरू पनि बाहिर आइरहेका छन् । ‘आउट र इन’ को यो चक्करले नजानिंदो भय र आशङ्का भने जन्माएको छ । त्यसैले खुलेर भन्नुपर्ने हुन्छ;—''राष्ट्रिय आत्मसमपणर्वादका विरुद्ध उठौ ! नयॉ जनवादी क्रान्तिका पक्षमा जुटौ !
००


भिडियो फिचरview all