menu

ताजा समाचार

भारतीय कम्युनिस्ट पार्टी (माओवादी) भन्छ : ''कास्मिरी जनताको अधिकारको लडाइँका पक्षमा उभिन हामी भारत र पाकिस्तानका जनतालाई आह्वान गर्छौँ

कास्मिरका जनताको सङ्घर्ष, भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा दिनदिनै भएका गोलिबारी र बढ्दो  तनावलाई लिएर भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले विश्लेषणात्मक लामो प्रेस विज्ञप्ति जारी गरेको छ ।  केन्द्रीय प्रवक्ता अभयका नामबाट जारी सो प्रेस विज्ञप्तिमा कास्मिरमा सङ्घर्षरत जनताको पक्षमा समर्थन व्यक्त गर्दै भारत र पाकिस्तानका उत्पीडित जनतालाई आआफ्ना मुलुकका प्रतिक्रियावादी सरकारका विरुद्ध सङ्घर्ष गर्न आह्वान गरिएको छ ।

भारत र पाकिस्तान सीमामा भएका गोली हानाहानका घटना प्रभुत्त्ववादी प्रवृत्तिको द्योतक हो र यसमा भारतीय मिचाहा प्रवृत्ति बढी जिम्मेवार छ भन्ने ठहर पनि विज्ञप्तिमा गरिएको छ । पाकिस्तानले गरेका आक्रमणको जवाफमा भारतले गरेको भनेको सर्जिकल स्ट्राइकको  प्रामाणिकताको कुरा त छँदैछ, यसमा सैन्य पक्षभन्दा पनि राजनीतिक प्रभाव देखाउने उद्देश्य मोदी सरकारको रहेको छ  भनिएको छ । सिमानामा तनाव उत्पन्न गर्ने र पाकिस्तान विरोधी प्रवाहका माध्यमबाट भारतका विभिन्न प्रान्तमा हुन लागेको राज्यसभाको चुनावमा राजनीतिक फाइदा लिने दाउमा हिन्दू फासिवादको अभ्यास गरिरहेको मोदी सरकार रहेको कुरा पनि वक्तव्यमा उल्लेख गरिएको छ ।  

भारतीय जनता पार्टीले अघि सारेको  अखण्ड भारतको नारा छिमेकीलाई तर्साउने र आतङ्कित पार्ने  नारा हो र यसले भारतीय विस्तारवादी चरित्रलाई दर्शाउँछ भनिएको छ ।  भारतीय प्रतिक्रियावाद मणिपुर र कास्मिरका जनताको सङ्घर्षमाथि सैन्यदमन गरिरहेको छ र उता बेलुचिस्तानका जनतामाथि अन्याय भएको कुरा गर्छ । त्यसैगरी पाकिस्तानको प्रतिक्रियावादी सरकार उता बेलुचिस्तनाका जनतामाथि दमन गर्छ, अनि यता कास्मिरका जनताप्रति  चाहिँ सहयोगी र सहानुभूतिको भाव  देखाइरहेको छ । वास्तवमा यी दुवै प्रतिक्रियावादी सरकारहरू यी मुद्दालाई सत्ता स्वार्थमा प्रयोग गरिरहेका छन् । यो तथ्यलाई दुवै देशका जनताले बुझ्नु आवश्यक छ भनी वक्तव्यमा उल्लेख गरिएको  छ ।

वक्तव्यअनुसार अहिलेको द्वन्द्व भारत र पाकिस्तानबीचको जस्तो लागे पनि यो ब्रिटिस, इयु. र मूलतः अमेरिकी साम्राज्यवादको स्वार्थसित गाँसिएको छ ।  आर्थिका मन्दीका बीचबाट गुज्रेको अमेरिकी साम्राज्यवाद भारतमार्फत दक्षिण एसियामा आर्थिक तथा सैन्य पकड कायम गर्न चाहन्छ ।  त्यसैगरी अफगानिस्तानको स्वार्थ गाँसिएकाले अमेरिकी  साम्राज्यवाद पाकिस्तानलाई पनि साथै लिएर जान चाहन्छ । अफगानिस्तान रूस, चीन र इरानसित सम्बद्ध राणनीतिक महत्वको ठाउँ हो ।   अरब युद्ध त्यसमा पनि सिरिया युद्धमा रूस, चीन र इरानबीचको  गठबन्धनलाई ध्यानमा राख्दै अमेरिकाले भारतसित सम्बन्ध बढाउन  खोजेको छ भने पाकिस्तानलाई एक्लो पार्न भारतले अमेरिकासित सम्बन्ध विस्तार गरेको छ ।  यस क्षेत्रलाई साम्राज्यवादको खेल मैदान बनाउन खोजिएकाले दुवै देशका जनताले आफ्नो देशका सत्ताधारीहरूविरुद्ध खबरदारी गर्न पनि वक्तव्यमा जोड दिइएको छ ।

वक्तव्यमा, पाकिस्तान र भारतका बीच सैन्य आक्रमण भएमा जनताले पाउने कुरा केही पनि छैन, बरु गुमाउने कुरा धेरै छन्, जनताले पाउने भनेको आर्थिक बोझ र सैन्य आतङ्क मात्र हो । कास्मिरका जनताको सङ्घर्ष दबाउने नाममा अर्को मुलुकको सार्वभोमसत्तामाथि आक्रमण गर्ने कुराको हामी विरोध गर्छौ, भनिएको छ । त्यसैगरी वक्तव्यमा, भारतबाट अलग हुने अधिकारलगायत कास्मिरी जनताको आत्मनिर्णयको अधिकारलाई हाम्रो खुला समर्थन भएको कुरा हामी दोहोर्याउँछौँ, कास्मिरी जनताको अधिकारको यस लडाइँका पक्षमा उभिन हामी भारत र पाकिस्तानका जनतालाई आह्वान गर्छौँ, भनिएको छ  ।

वक्तव्यको अन्त्यमा कास्मिरका सङ्घर्षरत जनतालाई सम्बोधन गर्दै भनिएको छ —“हामी घोषणा गर्छौँ : तपाईँहरू एक्लो हुनुहुन्न । आउनुहोस्, कास्मिरका जनतामाथि भारतीय सत्ता र सशस्त्र वलद्वारा गरिएको राज्य आतङ्कको विरोध गरौँ । आजादीका लागि कास्मिरी  जनताले गरेको सङ्घर्षलाई समर्थन गरौँ । ”
 
(यो वक्तव्य केही महिनाअघि  प्रकाशित भएको भए पनि अहिले पनि यो उत्तिकै सान्दर्भिक छ  l यसले कास्मिरी जनताको संघर्षप्रति भाकपा (माओवादी) को धारणा बुझ्न सहयोग पुग्छ भन्ने ठानेर हामीले सो वक्तव्यको सार प्रस्तुत गरेका छौं l)


भिडियो फिचरview all