menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) र साङ्गठनिक द्वन्द्व

'जनमेल' विश्लेषण  
नेकपा (क्रान्तिकारी माओवादी)को पछिल्लो बैठकले गरेको सङ्गठन सम्बन्धी निर्णय सो पार्टीलगायत  बाहिर पनि निकै चर्चा र टिप्पणीको विषय बनेको छ ।  निकै ‘साहसिलो’ लाग्ने तर, कतै केही नमिलेको जस्तो लाग्ने निर्णयलाई सो पार्टीका प्रवक्ता कमरेड प्रतीकले ‘सङ्गठन सुदृढीकरण’ को नाम दिएका छन् । पार्टीले साङ्गठनिक निर्णयहरू सार्वजनिक नगरे पनि निर्णयहरू छताछुल्ल भएका छन् र स्थिति भुसको आगोझैँ बनेको देखिन्छ ।

सङ्गठनका मालेमावादी नीति र पद्धति छन् र व्यवहारमा लैजाने कुरामा केही विसङ्गत पक्ष भए पनि क्रान्तिकारी पार्टी हो भने त्यसले आधारभूत पक्षमा त्यसको पालना गरेकै हुन्छ । विचार, सङ्गठन, कार्यदिशा र नेतृत्व एकअर्कासित अभिन्न रूपमा गाँसिएका हुन्छन् । माओले विकसित गर्नु भएको ‘एकमा तीन’ यसको आधारभूत मान्यता हो ।

नेपालको कम्युनिस्ट आन्दोलनमा नेतृत्व र उत्तराधिकारीको प्रश्न सदैव सङ्कटको विषय रहिआएको छ । एकपल्ट नेतृत्वमा पुगेपछि सास जाने बेलासम्म रहिरहनु पर्ने, उत्तराधिकारीको निर्माणमा जोड नदिने, योग्यता, क्षमता र क्रियाशीलतामा भन्दा आफू नजिकको गुटको, आफ्नो क्षेत्र आदिको खोजी गर्ने र क्षमतावानलाई आफ्नो प्रतिस्पर्धी ठानेर पर धकेल्ने गरिएका कारण पनि योग्य उत्तराधिकारी निर्माण हुन नसकेको र पार्टीहरू फूटमा गएको स्थिति  छ । साथै योग्यता, क्षमता,  अध्ययनको गहिराइभन्दा व्यक्तिगत चाहना, भावनात्मक आवेग, कसैको उक्साहट  र सानै भए पनि पार्टीको प्रमुख हुने अति महत्वाकाङ्क्षाका कारण पनि पार्टीहरू फुट्ने गरेको र उत्तराधिकारीको समस्या देखिने गरेको छ । यो पुष्पलालदेखि अहिलेसम्मकै समस्या हो । यसबाट माओवादी आन्दोलन पनि अछुतो रहेको छैन ।

आवश्यकताअनुसार हरेक पार्टीले सङ्गठन सुदृढीकरण गर्छ र गर्नुपर्दछ । शुद्दीकरण अभियान झन्  आवश्यक छ । कम्युनिस्ट आन्दोलन अड्डाअफिसमा जागिर खाएजस्तो होइन,  जसमा मैले यति वर्ष काम गरेँ, त्यसको ब्याज पाउनु पर्छ, हिजो काम गरेकै हो,  अहिले काम नगरे पनि पदोन्नति हुनु पर्छ, माथि गएपछि तल झर्नु हुन्न  भन्ने छैन र हुँदैन । समयका चुनौती र आवश्यकता पूरा गर्न  नसक्नेहरू पछि पर्दै जान्छन् र उनीहरूको ठाउँ नयाँ र जुधारु कार्यकर्ता र नेताले लिन्छन् । पोलिटब्युरो सदस्यभन्दा पनि तगडा हुनसक्छ एउटा जिल्ला सदस्य । योग्यता, क्षमता, अध्ययनशीलता, क्रियाशीलता छ भने आवश्यकता हेरी केन्द्रीय सदस्यलाई स्थायी सदस्य पनि बनाउनु पर्ने हुन्छ । स्थायी सदस्य हुन कपाल फुलेकै हुनु पर्छ भन्ने छैन । यसका लागि चिनिया महान् सर्वहारा सांस्कृतिक क्रान्तिको इतिहास साक्षी छ । प्रश्न समकालीन चुनौतीको सामनाको हो । आफ्नो समयको वैचारिक सङ्घर्ष, सङ्गठनात्मक क्रियाशीलता र चुनौतीका बीच को कहाँनेरी उभिएको छ भन्ने प्रश्नले अहं महत्व राख्दछ । अनुभववादले मात्रै काम चल्नेवाला छैन । यसै कारणले स्टालिनले ‘सही व्यक्ति सही ठाउँमा’ को अवधारणा अघि सार्नुभएको थियो  । पार्टी होस् अथवा मोर्चाहरू कहाँ कसको आवश्यकता छ र हुन्छ भनेर भन्दा पनि नेताको स्वार्थ र लहडमा नेतृत्व चयन गर्ने  परिपाटी छ हाम्रो आन्दोलनमा । यस किसिमको स्थितिले सही नेतृत्व चयन हुन सक्तैन र यसको असर आन्दोलनमा पर्नु स्वाभाविक हुन्छ ।

स्कुलिङ सारै महत्वपूर्ण पक्ष हो । नेकपा (चोथो महाधिवेशन) धेरै टुक्रामा विभाजित भयो । मालेमावाद  र जनयुद्धको स्कुलिङ नेकपा (मशाल) को स्कुलिङ हो र यसको निर्माणमा कमरेड भक्तबहादुर श्रेष्ठ र कमरेड किरणको भूमिका उच्च तहको छ  । आज  थुप्रैले आत्मसमर्पण गरे पनि जो यो स्कुलिङप्रति इमानदार छन्, उनीहरूले नै माओवादी क्रान्तिकारी विराशतलाई निरन्तरता दिइरहेका छन् । यो यथार्थलाई बिर्सनु हुन्न ।

आजभोलि चौबिसै घण्टा फेसबुकमा रल्लिने संस्कृति हाबी हुन थालेको छ र यो महारोग नेकपा (क्रान्तिकारी माओवादी)  भित्र पनि फस्टाउन थालेको देखिन्छ । केन्द्रीय सदस्य र त्यो भन्दा पनि  माथिल्ला सदस्यहरूले गरेका ‘लाइक’ र ‘कमेन्ट’ हेर्दा स्कुलिङ पक्षको हबिगत प्रस्ट हुन्छ । कतिपय  सन्दर्भ त लाजलाग्ने किसिमका पनि हुन्छन् । उनीहरूको समय के मा खर्च भइरहेको छ र उनीहरूमा कस्तो चिन्तन र जीवनशैलीको विकास भइरहेको छ भन्ने कुरा पनि  प्रस्ट हुन्छ । नेकपा (क्रान्तिकारी माओवादी ) का माथिल्लै तहका कतिपय नेताहरूको  पनि अध्ययन- चिन्तन र गतिशीलता जमेको पोखरीझैँको स्थितिमा रहेको बोध हुन्छ । कम्तीमा पनि पार्टीले नै तयार पारेको र इच्छुक सांस्कृतिक प्रतिष्ठानले प्रकाशित गरेको दार्शनिक र साङ्गठनिक सिद्धान्त पुस्तक  मात्र अध्ययन गरे पनि महान् काम हुने थियो । सबैतिर, तल मात्र नभएर माथिल्लो तहमा पनि अध्ययनशीलताको समस्या देखिएको छ । सबै कुरा अनुभववाद र तदर्थवादमा फसेको छ । टपर्टुइयाँ अध्ययनले काम चलाउने गरिएको छ। अध्यावधिक हुनु आवश्यक ठानिदैन । सबैको सहरकेन्द्रित बसाइ छ, ग्रामीण जीवन र सङ्घर्षसितको सम्बन्ध टुटेको छ । युवा पुस्ता अध्ययनमा रुचि नराख्ने, फेसबुक, होहल्ला र फोटो प्रचारमा रमाउने र पुरानो पुस्ता इतिहास पल्टाएर हकदाबी गर्ने स्थिति अहिलेको समस्या हो । नेकपा (क्रान्तिकारी माओवादी) मा देखिएको साङ्गठनिक समस्याको एउटा पाटो यो पनि हो ।

स्कुलिङका लागि कमरेड माओको प्रत्यक्ष निर्देशनमा तयार पारिएको चाइना टेक्स्ट बुक दार्शनिक र साङ्गठनिक सिद्धान्त अन्तर्गतको ‘सर्वहारा वर्गको क्रान्तिकारी उद्देश्यका निम्ति उत्तराधिकारीहरूलाई तालिम’ निकै महत्वपूर्ण दिशाबोधात्मक दस्ताबेज  हो । पार्टीमा कायकर्ताको मूल्याङ्कन र उत्तराधिकारीका सम्बन्धमा त्यसमा प्रस्टताका साथ भनिएको छ :

 “केही कमरेडहरूले “सम्पत्तिअनुसार पुस्ताको वर्गीकरण” गर्नुपर्दछ भन्ने सोच्छन् । उनीहरूले, अनुभवलाई मात्र “सम्पत्ति” ठान्दछन् । क्रान्तिकारी अनुभव निकै मूल्यवान वस्तु हो भन्ने हामी मान्दछौँ । यदि एउटा कार्यकर्तासँग अनुभवको यथेष्ट सम्पत्ति छ भने, सामन्यतः कार्यदिशाको प्रश्नमा उसको उच्च चेतना हुन्छ र काममा अझ धेरै अनुभव पनि । त्यसकारण, हाम्रो पार्टीले पुराना कार्यकर्ताहरूलाई मूल्यवान सम्पत्तिका रूपमा हेर्छ । परन्तु, यदि एकातिर अनुभवको सम्पत्ति र अर्कोतिर प्रतिभा र योग्यतालाई तुलना गर्ने हो भने अघिल्लो चाहिँ दोस्रो उत्तममा पर्दछ । हामीले अनुभवलाई अति धेरै महत्त्व दिनु हुँदैन, यो क्षमता र योग्यताभन्दा माथि होइन । यदि हामीले पुस्तालाई तिनीहरूको “संपत्ति” का आधारमा “वर्गीकरण” गर्यौं भने हामीले कार्यकर्ताको “क्षमता” र “योग्यता” तिर होइन, बरु कार्यकर्ताको “संपत्ति” र उनीहरू कुन “पुस्ता”का हुन् भन्नेतिर मात्र हेरेको हुनेछ र यसरी मजदुर र गरीव तथा निम्न-मध्यम किसानको बीचबाट उत्कृष्ट क्षमताहरूलाई छान्न र तिनीहरूलाई नेतृत्वदायी पदमा राख्न असम्भव हुनेछ, धेरै प्रतिभाहरू बिग्रेर जानेछन् र पार्टीको उद्देश्यले धोका खाने छ । हामीले “सम्पत्ति” का आधारमा पुस्ताको “वर्गीकरण” गर्ने गलत दृष्टिकोणलाई पूरै त्याग्नुपर्छ र साहसपूर्वक नयाँलाई प्रोत्साहित गर्नुपर्दछ ।”

प्रतिभाको चिनारी र मूल्यांकनका सम्बन्धमा यो आधारभूत मान्यता हो । हकदाबी गर्ने सबैले यस यथार्थलाई आत्मसात गर्नु जरुरी छ ।

पछिल्लो समयमा नेकपा (क्रान्तिकारी माओवादी) ले संगठनात्मक क्षेत्रमा केही नयाँ निर्णय गर्यो  । सो निर्णय पोखरा भेलाको निर्णयको निरन्तरतामा आएको व्यावहारिक निर्णय थियो । पोखरा बैठकमा ५ वटा सर्तका साथ केन्द्रीय सदस्य हुनुको योग्यताको किटान गरिएको थियो । त्यतिबेला राजकुमार कुवँरसहित १० जनाले सो निर्णयको पालना गर्दै स्वेच्छिक अवकास रोजेका थिए भनेर समाचार प्रकाशित भएको थियो । पार्टीका लागि पूर्णकालीन समय दिन नसक्ने, पार्टीले जहाँ खटायो त्यहाँ जान नसक्ने, उमेर र स्वास्थ्यका कारण भौतिक क्रियाशीलता देखाउन नसक्नेहरूले तल बसेर अरूलाई अघि बढ्न प्रोत्साहित गर्ने  स्पिरिट राम्रो हो । भारतीय कम्युनिस्ट पार्टी (माओवादी) ले  यही नीति लागू गरेर कमरेड गणपतिले उमेर स्वास्थ्यका कारण कमरेड बसवराजलाई पार्टी महासचिवमा अघि सार्नुभएको उदाहरण हाम्रा सामु छ ।

पछिल्लो निर्णयमा नेकपा (क्रान्तिकारी माओवादी) ले सङ्गठनका क्षेत्रमा केहीलाई वैकल्पिक केन्द्रीय सदस्य बनायो,  केहीलाई पोलिटब्युरो सदस्य बनायो । पार्टी नीतिअनुसार चल्न नसक्नेलाई घर बस्न भन्यो । निर्णयसँगै विवादहरू बाहिर आए । पोलिटब्युरोमा पदोन्नति नभएकोमा कतिपयले पार्टी छोड्ने धम्की दिएको कुरा पनि बाहिर आयो  । तर दुख:को कुरा पार्टीमा वैचारिक-राजनीतिक मतभेद र  फरक मत र प्रस्ट रूपमा दुई लाइन सङ्घर्षका कुरा आएनन् ।

खुलस्त किसिमले भन्नु पर्ने हुन्छ— नेकपा (क्रान्तिकारी माओवादी) ले लिएको कार्यदिशा प्रस्ट छैन, सशस्त्र सङ्घर्ष भनेर मात्र पुग्दो छैन, यसको स्वरूप पनि प्रस्ट हुनु पर्छ ।  चुनावमा भाग लिनेलगायत कतिपय कार्यनीतिक नीतिहरू पनि रणनीतिक उद्देश्यलाई सघाउने खालका छैनन् । कतिपय सन्दर्भमा सो पार्टीमा वर्गीय प्रश्नभन्दा जातीय प्रश्न प्रधान बनेको जस्तो पनि देखिने गरेको छ  । यस्ता प्रश्नहरूका बारेमा फरक मत, वैचारिक मतभेद तथा अन्तरसङ्घर्षका कुराहरू आजभोलि सो पार्टीमा उठेको सुनिँदैन । यसपल्टको बैठकमा पनि अमुक कमरेडले वैचारिक तथा राजनीतिक प्रश्नमा यस किसिमको फरक मत राख्नु भयो भनेर बाहिर आएको सुन्नमा आएन । तर  अमुकलाई पोलिटब्युरो सदस्य बनाइयो, आफूलाई बनाइएन, अमुकलाई के.स बनाइयो र अमुकलाई बनाइएन भनेर निकै ठूलो उखरमाउलो भयो भन्ने चाहिँ केन्द्रीय समितिको बैठक चलिरहेकै समयमै बाहिर आयो । वास्तवमा क्रान्तिकारी भनिएका पार्टीहरूमा पनि पछिल्लो समयमा वैचारिक सङ्घर्षभन्दा पद र प्रतिष्ठाको प्रश्न प्रधान बनेको कुरा गलत होइन । यो कार्यकर्ता तहको मात्र कुरा नभएर माथिल्लो तहको पनि समस्या हो । तल देखिने समस्या माथिकै सरुवा रोगको उपज हो ।

कार्यकर्ताका भनाइअनुसार उमेरका दृष्टिले पोखरा बैठकदेखि नै हर्कबहादुर शाहीलगायत अमुकअमुकले घरबिदा लिएको भए राम्रो हुन्थ्यो भन्ने थियो ।  पद माथिल्लो लिने र घरबाट कहिल्यै बाहिर निस्कन नसके पनि  उमेर हद पार गरेका कसैले पनि स्वेच्छिक रूपमा घरबिदा लिनु आवश्यक ठानेनन् । बरु सक्रिय हुनु पर्ने. बनाउनु पर्ने राजबहादुर कुवँर घरबिदामा बसे  । यो टिप्पणीकारका दृष्टिमा यो उनको पलायनवादी सोच थियो।  बिहानदेखि बेलुकासम्म जागिरमा व्यस्त हुनेले पनि तल बसेर काम गर्ने भन्ने पोखरा भेलाको स्पिरिटलाई साथ दिएनन् । यसै अर्थमा सायद यसपल्टको बैठकले केही ठोस निर्णय गर्नु आवश्यक ठान्यो  ।

सो निर्णयपछि जनयुद्धकालकी सङ्घर्षशील महिला नेतृ लक्ष्मी मुडभरी, पवनमानको जोडबलमा केन्द्रीय सदस्य बनाइएका भनिएका सचिर महर्जन, परि थापासित आएका अमर नेपाली र केबी फुदुङले घरबिदा लिएका कुरा प्रकाशमा आएका छन् । बैठकले जनयुद्धदेखि सक्रिय कमरेडहरू अनुकूल, शिशिर, मिनकुमार, सुरेश श्रेष्ठलाई पोलिटब्युरो सदस्य बनाएको छ  । साथै पार्टीमा शान्तिप्रक्रियापछि आएका र कृष्णध्वजले माथिको निर्देशनमा बुद्धिजीवी संगठनमार्फत अघि बढाएका भनिएका एमाले पृष्टभूमिका चक्रपाणि शर्मा र कनिष्ठ केन्द्रीय सदस्य अम्बिका मुडभरी र कम्युनिस्ट न्युक्लिअसबाट चोइटिएर एकतामा गएको टोलीका संयोजक झपेन्द्र न्यौपानेलाई पनि पोलिटब्युरो सदस्य बनाएको भन्ने कुरा प्रकाशमा आएको छ   । तर जनयुद्धकालमै रोल्पाका सेक्रेटरी रहिसकेका र शिशिरहरूसँगै  राज्यसमिति सदस्य भएका कुमार शाह र ईश्वरचन्द्र ज्ञवालीलाई भने पोलिटब्युरो सदस्यका लागि योग्य नठानिएको कुरा प्रकाशमा आयो   । ज-जसलाई पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्य बनाइएको छ, त्यो पनि पोखरा बैठकको निर्णयभन्दा बाहिर गएर बनाइएको छ भनेर  कतिपयले फरक मत जाहेर गरेको कुरा पनि बाहिर आयो ।

नेकपा (क्रान्तिकारी माओवादी) भित्रको अहिलेको विवादको मूल चुरो यही नै हो ।

यसै सन्दर्भलाई लिएर कतिपयले पार्टी छाड्ने, कतिपयले साधारण सदस्यका रूपमा मात्र रहने भनेर फरक मत जाहेर गरेको कुरा बाहिर आएको छ भने कतिपयले लिखित रूपमै फरक मत जाहेर गरेको कुराको फोटोकपी अनलाइनहरूले प्रकाशित गरेका छन् । यसरी लिखित फरक मत जाहेर गर्नेहरूमा पार्टी महासचिवका पारिवारिक दृष्टिले नजिक रहेका पात्रदेखि  पार्टीले पहिले सल्लाहकारमा राख्नु आवश्यक ठानेका र पछि निवेदन हालेर केन्द्रीय सदस्यमा ल्याइएका र अहिले पोलिटब्युरो सदस्य हुनुको  आशा गर्नेहरू पनि छन् ।  विधानमा वैकल्पिक सदस्य राख्ने प्रावधान नरहे पनि माथिल्लो निकायले विधान मिचेर पोलिटब्युरो सदस्य र केन्द्रीय सदस्यमा पदोन्नति गरेको भनेर उनीहरूले आफ्नो फरक मत लेखेका छन् ।

कसलाई केन्द्रमा ल्याउने, कसलाई पोलिटब्युरो  सदस्य बनाउने  र कसलाई नबनाउने र घटुवा गर्ने भन्ने कुरा सो पार्टीको नीति, योजना र आवश्यकतासित सम्बद्ध मूल्याङ्कनका कुरा हुन् । विधानभन्दा बाहिर गएर त्यसो गर्नु पर्ने आवश्यकता र बाध्यताका बारेमा सो सङ्गठनले प्रस्ट्याउने  कुरा हो । पहिले पनि  पार्टीमा बिप्लवको बहुमत हुन्छ भनेर क्षमता र योग्यता पुगेका अनुभवी र सक्रिय कमरेडहरूलाई समेत वैकल्पिक  सदस्य बनाएर टाउकामा रहेका  नेताहरूले आफ्नो कुर्सी सुरक्षित रहन्छ भन्ने किसिमले  तारतम्य मिलाएकै  हुन्  ।  अल्पमतमा परिने हो कि भन्ने भयले नेताहरूमा हरहमेसा काम गरेको थियो ।    पछि बिप्लवले सम्बन्ध विच्छेद गरेर गएपछि मात्रै पहिलो भेलाले ती बबुरा वैकल्पिकहरूलाई पूर्णकालीन सदस्य बनाइएको थियो । अहिलेको भित्री यथार्थ र स्थितिबारे चाहिँ भन्न सकिँने स्थिति छैन  ।

साँच्चै भन्ने हो भने कमरेड अनुकूल, शिशिर र मिनकुमारमाथि अन्याय भएको छ ।  उहाँहरू पूर्ण पोलिटब्युरो सदस्यका लागि योग्य कमरेडहरू हुनुहुन्छ ।  एकसमयमा माओवादी केन्द्रमा छँदा बिप्लव र हितमानलाई निकै साथ दिएका सुरेश श्रेष्ठ जसरी वैचारिक प्रश्नमा अडिग  भएर निरन्तरतामा रहे,  उनका बारेमा पनि प्रश्न गर्ने ठाउँ छैन । सानै समूह भए पनि संयोजक भएर गएका झपेन्द्र न्यौपाने पनि होहल्ला, फेसबुके  प्रचार नगरी आफ्नो क्षमताअनुसार इमानदारीपूर्वक लुरुलुरु काम गर्ने नेता मानिन्छन् ।   हुनु पर्ने र  दिनु पर्ने लक्ष्मी मुडभरीलाई भए पनि पछिल्ला दिनमा उनको क्रियाशीलतामा  देखिएको  सिथिलता र विविध कारणवस घर बिदामा बसेपछि महिलाको क्षेत्रबाट अम्बिका मुडभरीले पोलिटब्युरो सदस्य पाउनु अन्यथा होजस्तो लाग्दैन । चितवनजस्तो प्रतिक्रियावादी केन्द्रीय शक्ति नै केन्द्रित भएको ठाउँमा सक्रियताका साथ लागेकी महिला नेता हुन् उनी ।  शान्तिप्रक्रियापछि  पार्टीमा प्रवेश गरेका र कमरेड किरणको विशेष जोडका कारण महराले सञ्चारमन्त्रालयमा राजनीतिक नियुक्ति दिएका भनिएका चक्रपाणी शर्माको बारेमा चाहिं बढी प्रश्न उठेको छ । उनको योग्यता र क्षमताबारे 'जनमेल' लाई धेरै थाहा नभएकाले धेरै टिप्पणी गर्नु आवश्यक लाग्दैन   । तर चक्रपाणीहरू योग्य हुने कुमार शाह, ईश्वरचन्द्र ज्ञवालीहरू अयोग्य हुने मापदण्डबारे प्रश्न उठ्नु/ उठाउनु,  टिप्पणी हुनु तथा सम्बद्ध व्यक्तिहरूले असन्तुष्टि जाहेर गर्नुलाई अन्यथामा लिन मिल्दैन । वास्तवमा अमुकअमुकलाई किन पोलिटब्युरो सदस्य बनाइयो भन्दा पनि अमुकअमुकलाई किन उपेक्षा गरियो भन्ने कुराले  गम्भीर अर्थ राख्छ भन्ने लाग्छ ।

बाहिरबाट हेर्दा  सो पार्टीले गरेको निर्णय कस्तोकस्तो लागे पनि उसले गरेको मूल्याङ्न उसका ठाउँमा सही नै होला भन्नु पर्ने पनि हुन्छ । किन अमुकलाई पोलिटब्युरो सदस्य बनायो,  किन अमुकलाई बनाएन भन्ने कुरा सो पार्टीको आवश्यकता र स्वतन्त्रताको कुरा हो । लामो अनुभव भएका नेताहरू भएको पार्टीसित यसका आधारहरू होलान् । वैज्ञानिक तर्कहरू होलान् । परन्तु, कम्युनिस्ट पार्टी र आन्दोलन सो पार्टी र त्यसका कार्यकर्तामा मात्र सीमित नभएर आम जनतासित सरोकार राख्ने विषय भएकाले अमुकअमुक बन्दा अमुकअमुक किन बनेनन् भनेर चासो राख्नुलाई अन्यथामा लिन मिल्दैन । यो जनताको पनि चासोको विषय हो ।

हुन त सो पार्टीका कतिपय नेताहरूले यस किसिमको तर्क गरेको पनि पाइन्छ :

“पहिले सल्लाहकारबाट केन्द्रीय सदस्यमा आउन जोड गर्ने, केसमा आएपछि पोलिटब्युरो चाहियो भन्ने, अनि गरेको काम चाहिँ केही होइन,  बिहानदेखि बेलुकासम्म जागिरमा रहने, जिम्मेवारीलाई लथालिङ्ग पार्ने  र पार्टी काममा भन्दा अरूको टिप्पणी गरेर समय बिताउने, आफूले लिएको जिम्मेवारी भन्दा कताबाट पैसा आउँछ भनेर ध्याउन्ना गर्ने, घरजग्गाको कारोवारमा रूचि राख्ने, जिल्लाको जिम्मेवारी लिने, तर काडमाडौँमा स्थायी किसिमले डेराडन्डा गरेर बस्न मन गर्ने र कार्यक्षेत्रमा ट्युरिस्टका झैँ मौसम हेरेर जाने, अनि कसैले  मेरो बाबु यो पदमा थिए, सो पद मैले पाउनु पर्छ भनेझैं  गर्ने प्रवृत्तिले  कसरी चल्छ पार्टी ? ”

सही हो, आवश्यकताअनुसार पार्टीले सङ्गठन सुदृढीकरण गर्छ, शुद्धीकरण अभियान पनि चलाउँछ । यो अभियान सङ्घर्ष र आन्दोलनका लागि हो, पार्टीमा नयाँ गति प्रदान गर्न, थप ऊर्जाशील बनाउन हो भने  क्रान्तिकारी उत्साह र विश्वासका साथ ताली पिट्नु पर्ने हुन्छ । यसमा तलमाथि गर्ने कुरा हुँदैन । पात्रहरू स्वयंले  पनि आत्मसमीक्षा गर्नु पर्ने हुन्छ । तर, अहिले जेजस्तो रीति र स्थिति नेकपा (क्रान्तिकारी माओवादी) मा देखिएको छ, यसबाट कुमार शाह तथा ज्ञवालीहरूलाई बाहिर धकेल्नु पर्ने र अमुकअमुकलाई काँधमा बोक्नु पर्ने अवस्था हो जस्तो लाग्दैन  ।

यथार्थको अर्को पाटो पनि छ र यो बडो गजबको छ । हिजो ऋषिराज बरालहरूलाई जबर्जस्ती घरबाहिर धकेलियो । बिप्लवहरू गएपछि योजनाबद्ध किसिमले हट्न बाध्य पारियो । लामो समयदेखि बसेको घर छोड्न बाध्य पार्दा उसको पनि त मन दुख्यो होला । बादललाई मात्रै दोष नदिऔँ,  यसमा किरण पनि उत्तिकै दोषी छन्, पन्छिने कुरा हुँदैन  ।  हिजो बरालहरू धकेलिँदा खुसी मान्नेहरू, भोजभतेर गर्नेहरूले  आफूहरू पनि धकेलिन्छु भनेर सोचेनन्, सोच्नु आवश्यक ठानेनन्  । पछि रोशन जनकपुरी पनि बाहिरिए । गर्वका साथ भन्न सकिन्छ, सो पार्टीले ऋषिराज बराल, रोशन जनकपुरीको स्थान पूरा गर्न सकेको छैन, र गर्न पनि सक्तैन ।

कसैलाई धकेल्न सजिलो छ, तर सो स्थान पूरा गर्न गारो छ । लामो सङ्घर्षका बीचबाट बराल, जनकपुरी र शाहहरू निर्माण भएका हुन् । बरालले सातौ महाधिवेशनदेखि नै वैचारिक-राजनीतिक पक्ष, खास गरेर कार्यदिशाको प्रश्नमा आफ्नो फरक मत जाहेर गरेका थिए र हरेक भेला-बैठकमा आफ्नो फरक मत संझाएका थिए । त्यस्तै, प्रस्टै देखिने गरी नै इच्छुक सांस्कृतिक प्रतिष्ठानमा आर्थिक अनियमितता भयो, इच्छुकको नाम बदनाम नगरियोस् भनेर निवेदन हालेका थिए उनले किरण कमरेडको नेतृत्त्वमा रहेको पार्टी हेडक्वार्टरमा । यसो भन्नु उनको अपराध भयो  । चोरलाई चौतारी र साधुलाई सुली भयो ! एउटा असल कार्यकर्ता, इमानदार र निष्ठावान नेता निर्माण गर्ने कुरा सहज र सरल छैन कमरेडहरू !

दुःखको कुरा टाउकामा रहेका नेताहरूले हिजोका दिनदेखि समयक्रममा गरेका गल्तीकमजोरीको कतै आत्मसमीक्षा गर्नु नपर्ने, आफूलाई सबै गुणले सम्पन्न ठान्ने, दूधले नुहाएको ठान्ने र तलका नेता र कार्यकर्ताहरू चाहिँ एकएक नाममा सदैव प्रताडित हुनु पर्ने ! नेताहरूलाई चौविसै घण्टा आफ्नो कुर्सीको चिन्ता हुने, कार्यकर्ताले आफ्नो योग्यता-क्षमता अनुसारको जिम्मेवारी पाउँ पनि भन्न नपाउने ! गजबको संस्कृति हाम्रो आन्दोलनमा फस्टाएको छ । र पनि भन्छु, वैचारिक तथा रणनीतिक आधारभूत प्रश्नमा नेकपा (क्रान्तिकारी माओवादी) ठीक ठाउँमा छ । बलपूर्वक सत्ता कब्जाको धारणा अर्थात् सशस्त्र सङ्घर्षको प्रश्नमा पनि यो सही छ । तर सशस्त्र सङ्घर्षको स्वरूपमा चाहिं प्रस्ट हुनु आवश्यक छ-सारसंग्रहवादी किसिमको होइन  । रूस पनि होइन, चीन  पनि होइन, के हो त ? कस्तो हो सशस्त्र  सङ्घर्षको स्वरूप ? खुला पार्टीमा 'देजमो' केका लागि र किन भन्ने प्रश्न उठ्नु पनि स्वाभाविक छ । चुनावप्रतिको आसक्ति हो भने भारतमा विनोद मिस्रहरूको इतिहास पढ्न जरुरी छ र  मालेमावाद पनि भन्न छाडे हुन्छ ।

 वास्तवमा माओले देखाएको बाटोमा अघि बढ्ने हो भने राजनीतिक र साङ्गठनिक क्षेत्रमा क्रमभङ्गमा जानु आवश्यक छ । सक्रिय भएर काम नगर्ने र नसक्नेले लक्ष्मी मुडभरीले झैँ घरै बसेर सक्दो किसिमले पार्टीलाई सहयो गर्ने हो । तर सक्रिय भएर काम गर्न चाहनेहरूलाई 'खाए खा नखाए घिच', 'बस्न मन लागे बस नत्र गए हुन्छ' भनिएको हो भने कोही पनि उपेक्षित र अपहेलित भएर पार्टीमा  बस्छ होला भन्ने लाग्दैन  । महान् जनयुद्धको यात्रा पार गरेर आएका र अझै क्रान्तिप्रति प्रतिबद्ध कमरेडहरूप्रतिको उपेक्षाभाव त्यति परिपक्व निर्णय होइन ।

गल्ती हिजोबाटै भयो । प्रचण्डबाट सम्बन्ध विच्छेद गरेर आएपछि सातौँ महाधिवेशनको समयको सेरोफेरोमा जुन आठ जनाको पदोन्नतिको कुरा उठेको थियो, त्यसलाई पूरा नगर्नु नै पहिलो सङ्गठनात्मक कमजोरी र समस्या थियो । बिप्लव र बादलबीचको द्वन्द्वका कारण त्यसले मूर्त रूप लिन सकेन भनिए पनि माथिल्लो नेतृत्वपङ्क्तिमा निहित भयवाद नै प्रमुख कारक तत्व बनेको  थियो । को-को थिए आठ जनामा भन्ने कुरा कम्तीमा पनि कमरेड किरण र  कमरेड गौरवलाई थाहा छ । आठजनामध्ये को को कताकता पुगे थाहा छैन, तर बराल र जनकपुरी अहिले पनि चुनौतीका साथ मोर्चामा सङ्घर्षरत छन्  ।

अर्को पार्टीको  कुरा हो, जेसुकै होस् अघि बढोस् कि सिद्धियोस् पनि भन्न सकिन्छ । तर प्रश्न क्रान्तिकारी विचार र मालेमाको झण्डाको रक्षाको हो । प्रचण्ड-बाबुरामले प्रतिक्रियावादका सामु आत्मसमर्पण गरिसकेका छन् । बिप्लव आँखा चिम्लेर कुदेका छन्,कहाँ कुदेका हुन् थाहा छैन । घनघोर जङ्गलमा अभिभावकविहीन कुनै बालक जङ्गल पार गर्न कहिले यता कहिले उता कुदेझैँ स्थिति छ उनको । यस्तो बेला लामो इतिहास बोकेका नेताहरू भएको पार्टी क्रान्तिकारी विकल्प बन्न सक्नु पर्ने थियो । नेताहरूको  चिन्ता पार्टी बाहिरका क्रान्तिकारीहरू तथा बिप्लव पार्टीलगायत अन्य पार्टी छाड्नेहरूलाई कसरी गोलबद्ध गर्ने भन्ने कुरामा केन्द्रित हुनु पर्ने थियो । क्रान्तिकारी केन्द्र निर्माणको विश्वासका आधार तयार पार्नु पर्ने थियो । अप्ठयारो समयमा साथ दिने कमरेडहरू, माओवादप्रति प्रतिबद्ध र जनयुद्धको विराशतसित जोडिएकाहरू नै बस्न नसक्ने, उपेक्षित हुने अवस्था उज्यालो पक्ष होइन ।

नेकपा ( क्रान्तिकारी माओवादी ) को उद्देश्य राम्रो होला, राम्रै गर्न खोजेको होला । तर जे-जस्तो राजनीतिक कोर्सबाट  पार्टी र आन्दोलन अहिले गुज्रिरहेको छ, त्यसमा पछिल्लो निर्णय त्यति उपलब्धिमूलक हुन सक्ला भन्ने चाहिँ यो टिप्पणीकारलाई लाग्दैन । यसलाई कुनै पनि तर्कमा माओवादी झण्डाको रक्षा र क्रान्तिप्रतिको चिन्ता भन्न सकिँदैन ।
भिडियो फिचरview all