menu

ताजा समाचार

चारु मजुमदारको सम्झनामा विशेष कार्यक्रम

२७ जुलाई १९७२ का दिन पश्चिम बङ्गालको कारागारमा  भारतीय माओवादी आन्दोलनका नेता कमरेड चारु मजुमदारको मुत्यु भएको थियो । लामो अवधिसम्म गोलघरमा औषधीउपचारबाट वञ्चित भएका कारण कमरेड मजुमदारको मृत्यु भएको थियो । मुटुका बिमारी कमरेड मजुमदारको स्वाभाविक मृत्यु नभएर एक हिसाबले हत्या नै थियो भन्ने ठहर क्रान्तिकारीहरूको छ ।

कमरेड मजुमदारको जन्म सन् १९१८ मा भएको थियो ।

कमरेड मजुमदारको विरासतलाई निरन्तरता दिइरहेको भाकपा (माओवादी) ले वहांको सहादत  भएको दिनलाई सहिद दिवसका रूपमा लिएर २७ जुलाईदेखि १ हप्तासम्म ‘विशेष सहिद सप्ताह’ का रूपमा मनाउँदै आएको छ । यसपल्ट पनि भाकपा (माओवादी) लगायत विश्वका क्रान्तिकारीहरूले विशेष कार्यक्रमका साथ कमरेड चारु मजुमदारको सम्झना गरिरहेका छन् ।

यसैक्रममा यही जुलाई २७ तारिखका दिन कोलकातामा विशेष कार्यक्रमको आयोजना हुने भएको छ । विचारगोष्ठीका रूपमा रहेको सो कार्यक्रममा चारु मजुमदार र नक्सलबाडी आन्दोलनका अध्येताहरूले आआफ्ना विचार प्रस्तुत  गर्नेछन् ।

 'चारु मजुमदार सत्तवार्षिकी दिवस समारोह समिति' को आयोजनामा ‘कमरेड चारु मजुमदारको राजनीति : ऐतिहासिक परिप्रेक्ष र विरासत’ शीर्षकमा हुन लागेको सो विचारगोष्ठीमा चारु मजुमदार र भारतीय माओवादी आन्दोलनबारे महत्वपूर्ण पुस्तकहरूका लेखक तथा बुद्धिजीवी बर्नाड डिमेलो, ‘विरसम’ का महासचिव पाणी, लेखक तथा सामाजिक अभियन्ता बि. अनुराधा, लेखक वारालक्ष्मी, ‘दस्तक’ की सम्पादक तथा माओवादी आन्दोलनकी अध्येता सीमा आजाद, झारखण्ड श्रमिक नेता बच्छप्रसाद सिंह र पश्चिम बङ्गालका अन्य प्रतिष्ठित व्यक्तित्वहरूले चारुमजुमदारको योगदान र त्यसको विरासतीय राजनीतिका सम्बन्धमा प्रकाश पार्ने छन् ।

स्मरणरहोस्, विश्वका माओवादीहरूले यताका तीन वर्षमा अक्टोबर क्रान्तिको शतवार्षिकी, मार्क्सको २००औँ जन्म दिवस, चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्तिको ५० औँ वर्षगाँठ र भारतीय नक्सलबाडी किसान विद्रोहको ५० औँ वर्षगाँठलाई विशेष अभियान र कार्यक्रमका साथ मनाएका छन् ।

चारु मजुमदार र नक्सलबाडी किसान आन्दोलनको महत्व भारतीय सन्दर्भमा मात्र सीमित छैन । यो संशोधनवादका विरुद्ध माओवादी क्रान्तिकारीहरूको “बसन्ते गर्जन” थियो । हाल भारतमा चलिरहेको महान् जनयुद्ध त्यसैको विरासत हो  र यो विश्व कम्युनिस्ट आन्दोलनको अभिन्न अङ्ग हो । कमरेड चारु मजुमदारलाई सम्झिनुको अर्थ संशोधनवाद विरुद्ध र माओवादी क्रान्तिकारी आन्दोलनको लाइनमा उभिनु हो । सारमा भारतलगायत फिलिपिन्स, टर्की आदि मुलुकहरूमा चलिरहेको जनयुद्धको पक्षमा दृढताका साथ उभिनु हो ।

भिडियो फिचरview all