menu

ताजा समाचार

सुदर्शन र माइला लामा एकै ठाउँमा, जीवन्त पुनः पक्राउ

काठमाडौँमा भएका बम विष्फोटसित जोडेर ओली सरकारद्वारा पक्राउ  गरिएका नेकपा (बिप्लव) का केन्द्रीय सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पुर्पक्षका लागि भनेर जेल चलान गरिएको छ । उनलाई काडमाडौँमा एनसेल बमप्रकरणको जिम्मा लिएका नेकपा (बिप्लव)का मध्य कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली 'सुदर्शन' सँगै नख्खु काराकारमा राखिएको कुरा विभिन्न माध्यमहरूले जनाएका छन् ।

त्यसै गरी अदालतले बारम्बार रिहाइको आदेश दिए पनि सोही पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की 'जीवन्त’ लाई प्रहरीले अनेक थरी मुद्दा लगाएर बारम्बार पक्राउ गरेको छ । यही ७ गते अदालतले रिहाइको आदेश दिए पनि प्रहरीले पुनः पक्राउ गरी उनलाई हिरासतमा राखेको छ ।

हरेक दिनजसो नेकपा (बिप्लव) सम्बद्ध ब्युरो सदस्यहरू, जिल्ला इन्चार्ज तथा सेक्रेटरीहरू पक्राउ परिरहेको सन्दर्भमा माइला लामाको पक्राउ विशेष चर्चाको सन्दर्भ बनेको छ । जनयुद्धमा बम निर्माणकै क्रममा काभ्रेमा घाइते भएर आँखा र कानको समस्या भोगेका लामा चर्चित सांस्कृतिक कर्मी पनि हुन् । पहिले ‘सामना परिवार’ का संयोजक रहेका लामा तत्कालीन माओवादी सम्बद्ध ‘अखिल नेपाल जनसांस्कृतिक सङ्घ’ को दोस्रो राष्ट्रिय सम्मेलनद्वारा निर्वाचित कोषाध्यक्ष पनि हुन् ।  एक कालखण्डमा 'इच्छुक प्रतिष्ठान’ का प्राज्ञ सभा सदस्यसमेत रहेका माइला लामा पछिल्लो समयमा बिप्लव समूह सम्बद्ध सांस्कृतिक मोर्चाका अध्यक्ष हुन् ।

बमबारुद र मादल दुवैसित खेल्न अभ्यस्त माइला लामा जुधारु प्रवृत्तिका कलाकार साथै राजनीतिक व्यक्तित्व पनि हुन् । जनयुद्धकालमा उनीद्वारा लेखिएका र गाइएका गीतहरू निकै लोकप्रिय छन् । थुप्रै एलबमहरू प्रकाशित गरिसकेका लामाका सबैभन्दा चर्चित एलबम ‘राता मान्छेहरू’ हो र सबैभन्दा चर्चित गीत “हेर अघिअघि बढिरहेछन् राता मान्छेहरू” हो ।

उनी सम्बद्ध सांस्कृतिक मोर्चा लगायतका संस्थाहरूका साथै विभिन्न  प्रगतिशील लेखकसाहित्यकारहरूले उनको अविलम्ब रिहाइको माग गरेका छन् ।

राजनीतिक गतिविधिसित सम्बद्ध कुनै पनि पार्टीमाथि प्रतिबन्ध लगाउन नपाइने भनेर संविधानमै उल्लेख गरिएको  भए पनि ओली सरकारले जसरी फासिवादी प्रवृत्तिको प्रदर्शन गरिरहेकोछ, यो निन्दनीय छ र यसको व्यापक र सङ्गठित प्रतिरोध गर्नु आवश्यक छ ।

'जनमेल' उनको रिहाइका लागि उठेका आवाज र प्रयासहरूप्रति ऐक्यबद्धता जनाउंछ ।
भिडियो फिचरview all