menu

ताजा समाचार

नेकपा (क्रान्तिकारी माओवादी) भन्छ : भारतीय विस्तारवादी प्रवृत्ति नै डुबानको मूल कारण

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले हालै वक्तव्य प्रकाशित गरी बाढी–पहिरो र डुवानका कारण मुलुकभर  भएको जनधनको क्षतिप्रति चिन्ता जाहेर गरेको छ र यसका कारण सरकारको लाचारीपन र भारतीय विस्तारवादी नीति प्रमुख कारण रहेको धारणा व्यक्त गरेको छ । पार्टीका महासचिव मोहन बैद्य 'किरण' द्वारा जारी वक्तव्यमा भनिएको छ :

''भारत सरकारद्वारा एकतर्पी रुपमा सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डको उलंघन गरी दशगजा क्षेत्रमा बनाइएका बाँध र सडकहरुको अवरोधको कारण सुनसरी, सप्तरी, सर्लाही, रौतहट, कपिलवस्तु, बाँके, पर्सा, बारा लगायतका जिल्लाहरुको विशाल भूभाग जलमग्न बन्न गएको छ ।"

वक्तव्यको पूर्ण पाठ यस प्रकार छ :

केही दिनयता आएको अविरल वर्षाको कारण देशका विभिन्न भूभागहरुमा बाढी, पहिरो र डुबानका समस्या गम्भीर बन्दै गएका छन् । र, ठूलो धनजनको क्षति भइरहेको छ । ६० जनाभन्दा बढीको संख्यामा मानिसहरुको निधन र ४० भन्दा बढीको संख्यामा बेपत्ता भएको समाचार आइरहेका छन् । भारत सरकारद्वारा एकतर्पी रुपमा सीमा क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डको उलंघन गरी दशगजा क्षेत्रमा बनाइएका बाँध र सडकहरुको अवरोधको कारण सुनसरी, सप्तरी, सर्लाही, रौतहट, कपिलवस्तु, बाँके, पर्सा, बारा लगायतका जिल्लाहरुको विशाल भूभाग जलमग्न बन्न गएको छ । भारत सरकारले सप्तकोशीको बहावको धारलाई पश्चिमतिर धकेल्दा सप्तरीको हनुमान नगरक्षेत्रमा झण्डै ४ सय परिवार विस्थापित हुन पुगेका छन् । त्यस्तै भारत सरकारले गण्डक नहरको रेड रेगुलेसनको ढोका बन्द गर्दा पर्सा र बाराका नहर क्षेत्रका ठाउँ भत्कँदै गएका छन् । देशका धेरैजसो ठाउँमा बाटा, घाटा, सडक बन्द भएका छन् । यसरी जनताले ठूलो विपद्को सामना गरिरहनु परिरहेको छ ।

त्यस स्थितिमा हाम्रो पार्टी जनताले भोग्नु परेको विपद्प्रति गहिरो दुःख, चिन्ता तथा सहानुभूति प्रकट गर्दछ । र, सम्बन्धित सबै ठाउँमा पार्टी कमिटिहरुलाई जनताको सेवा तथा सहयोग गर्न आव्हान गर्दछ । भारतीय विस्तारवादी सरकारद्वारा अन्तर्राष्ट्रिय मापदण्ड मिची सडक तथा बाँधहरु बनाइएको र डुबान समस्या हल गर्न दुवै देशका प्राविधिक टोलीले ६ महिनाअघि तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्न समेत अटेर गरेकोमा भारत सरकारको कडा विरोध गर्दछ र त्यस प्रकारका सडक तथा बाँधहरुबाट भइरहेको अवरोध हटाउन र त्यसबारे आवश्यक तथा उपयुक्त कदम चाल्न सरकारसित जोडदार माग गर्दछ । साथै, पार्टी विपद्मा परी ज्यान गुमाउन पुगेका मानिसहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछ । घाइतेहरुको निःशुल्क उपचार तथा शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ र विपद्मा परेका जनताको राहत तथा उद्दारको प्रभावकारी पहल बढाउन सरकारसित विशेष आग्रह गर्दछ ।

भिडियो फिचरview all