menu

ताजा समाचार

‘जनमेल’मा प्रकाशित कुराकानीका सम्बन्धमा कमरेड प्रतीकको प्रस्टीकरण

(नेकपा (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको पछिल्लो पूर्ण बैठकपछि उठेका विविध सन्दर्भलाई लिएर ‘जनमेल’ ले आफ्ना सल्लाहकार डा. ऋषिराज बरालमार्फत सो पार्टीका प्रवक्ता कमरेड प्रतीकसित औपचारिक रूपमै कुराकानी गरेर सो कुराकानीलाई “मिलाएर ‘जनमेल’ मा प्रकाशित गर्ने” सहमति  भएअनुसार प्रकाशित गरेको थियो  । वहाँले के भन्नु भयो अथवा के भन्नु भएन भन्ने कुरा हामीसित सबै रेकर्डेड छ –सुरक्षित । कुनै खराब नियत नराखी त्यतिसम्म प्रकाशित गर्दा पार्टीका बारेमा बजारमा चलेका भ्रम निवारण गर्न सघाउ नै पुग्छ भन्ने ठानेर कमरेड प्रतीकका भनाइको मूल अंशलाई प्रस्तुत गरेका थियौँ । परन्तु, आफूले भनेको कुरा ठीक ढङ्गले नआएको र ''अन्तर्वार्तामा अन्यथा भएको हुँदा'' भन्दै वहाँले आफूले भनेको कुरालाई प्रस्ट पार्दै “स्पष्ट पारिएको बारे” प्रस्टीकरण पठाउनु भएकोले वहाँको प्रस्टीकरणको  सम्मान गर्दै हामीले त्यसलाई जस्ताको तस्तै प्रकाशित गरेका छौँ । )

--------------------------------------------------------------------------

स्पष्ट गरिएको बारे

श्री सम्पादकज्यू,

हालै जनमेल अनलाइन सम्बद्ध श्री ऋषिराज बरालजीले मसँग भएका अनौपचारिक कुराकानीलाई अन्तर्वार्ताका रूपमा सोही अनलाइनमा प्रकाशित गरिएको रहेछ । उहाँले अन्य कतिपय कमरेडहरूसँग पार्टी केन्द्रीय समिति बैठकको विषयमा कुराकानी भएको कुरासमेत जानकारी गराउँदै मसँग केही प्रसङ्ग अगाडि बढाउनु भएको थियो । मेरो बरालजीसँग भएको कतिपय कुराकानीलाई अन्तर्वार्ताले ठीक ढङ्गले समेट्न नसकेको र कतिपय विषयवस्तु फरक परेकाले यसमा मेरो ध्यान आकर्षण भएको छ । त्यसबाट पार्टीका नेता कार्यकर्ता र पाठकहरूमा पर्न सक्ने नकारात्मक असरलाई स्पष्ट गर्न थप आवश्यक देखिन गएको छ ।

 हाम्रो पार्टी नेकपा (क्रान्तिकारी माओवादी) केसको पूर्ण बैठक २०७६ असार १२ देखि १७ गतेसम्म बसी सम्पन्न भैसकेको र त्यसका निर्णयहरू प्रेस विज्ञप्तिमार्फत सार्वजनिक पनि भैसकेका छन् । यसै सन्दर्भमा पार्टीले निश्चित विधि र मान्यता निर्धारण गरी केन्द्रीय समिति सदस्य र राजनीतिक ब्युरोमा थप गर्न निश्चित संख्या मात्र तोकिएकोले त्यसमा अपेक्षित सबै कमरेडहरू अटाउन सक्ने कुरा भएन । जे-जति थप गरिए र बाँकी पर्नु भएन– त्यस विषयमा सक्षम/असक्षम आदि भन्नेबारे मैले कोही कसैको टीका-टिप्पणी वा अन्य केही उच्चारणसम्म गरेको थिइन ।
 यसै प्रसङ्गमा पार्टीसम्बद्ध पत्रपत्रिका प्रकाशनलाई व्यवस्थित र स्तरीय बनाउन आवश्यकछलफल भैरहेकोले छलफल/बहसबाट निष्कर्षस्वरूप आएका विषयवस्तुलाई समेटी आवश्यक थपघट गरी पत्रिका व्यवस्थित र सुदृढ गर्ने भनिएको थियो । वैकल्पिक पिबी थपको प्रसङ्ग र यस विषयबारे अन्तर्वार्तामा अन्यथा भएको हुँदा सोही अनुरूप सच्याउन आग्रह गर्दछु ।

अन्त्यमा बरालजीले मसँग गरेको अनौपचारिक कुराकानी यस प्रकार अन्तर्वार्ताको रूपमा प्रकाशन भएर पर्न गएको भ्रमप्रति मैले नैतिक कमजोरीका रूपमा लिएको छु । यसले मलाई थप गम्भीर बनाएको छ ।
२०७६ असार २५ गते

                                 
प्रतीक
पार्टी प्रवक्ता तथा स्थायी समिति सदस्य
नेकपा (क्रान्तिकारी माओवादी)

भिडियो फिचरview all