menu

ताजा समाचार

भोजपुर ''भिडन्त” र नेकपा (बिप्लव) को मौनता

'जनमेल' विश्लेषण
असार २५ गते दिनभरिजसो भोजपुरमा नेकपा (बिप्लव) र प्रहरीबीचको ‘भिडन्त’ र ‘मुठभेड’ को समाचार प्रमुख समाचार बन्यो र अहिले पनि यो समाचार विशेष र राष्ट्रिय मुद्दाको विषय  बनेको छ । पत्रपत्रिकादेखि सबैजसो अनलाइनहरूले यसलाई विशेष समाचारका रूपमा प्रस्तुत गरेका छन् । परन्तु अनलाइन र पत्रिकैपिच्छे फरकफरक समाचार, विवरण र आख्यानहरू प्रकाशित भएकाले घटनाका सन्दर्भमा थुप्रै आशंका उब्जिएका छन् ।

सुरुमा घटनासन्दर्भ जसरी बाहिर आएको थियो, यसले दोहोरो भिडन्तकै सङ्केत गर्दथ्यो। तर, घटनासन्दर्भहरू जसरी जेलिएर आए यसले शङ्काउपशङ्का उत्पन्न हुनु स्वाभाविपक बन्यो । यो घटना पनि सर्लाहीको जस्तै पक्राउ गरेर हत्या गरिएको त होइन भनेर तर्क गर्नु पर्ने स्थिति आएको छ । तथ्यहरू प्रष्ट छैनन् । खस गरेर प्रहरीसमेतको मृत्युले घटनालाई जटिल बनाएको छ ।

 नेकपा (बिप्लव)माथि सरकारले प्रतिबन्ध लगाएको छ । केही दिनअघि देखि  नै सङ्खुवासभा, सोलुखुम्बु र  भोजपुरमा नेकपा (बिप्लव)का गतिवित्रि तीव्र बनेको भनेर समाचार आइरहेका छन् । यस्तो बेला श्रीमती भेट्न खास जिल्लाका  इन्चार्ज भनिएका मान्छे हाट लाग्ने दिन, त्यो पनि सदरमुकाममा दिउँसै  किन आए ? उनी भोजपुरवासी भएकाले अधिकांशले चिन्नु स्वाभाविक हुन्छ । यस्ता पात्र खुला र सदरमुकाममा हिँड्नुले प्रश्न उठाएकै छ । सर्लाहीका झैँ यहाँ पनि अरू कार्यकर्ताहरू भागे भनिएको छ । मूल नेता मारिने र अरू भाग्ने एकै किसिमको घटना दोहोरिएको छ । भाग्नेहरू थिए नै भने पनि कतै उनीहरू बिप्लव पार्टीका कार्यकर्ताका नाममा सरकारी सूचकहरू त थिएनन् भनेर प्रश्न उठाउनु पर्ने आवस्था देखिन्छ ।

कतिपय समाचारमा मारिने राई बिहानैदेखि जाँडले टन्न थिए पनि भनिएको छ। मर्ने प्रहरी र बिप्लवका नेताबीच पहिलेदेखि चिनापर्ची थियो पनि भनिएको छ । घम्साघम्सीमा बिप्लवका जिल्ला नेताले गोली ठोकेर  मारे र भाग्न खोज्दा प्रहरीको निसानामा परे भनिएको छ ।  बिप्लव कार्यकर्ता सुरक्षित हुन भाग्दा उनलाई लखेट्ने क्रममा घम्साघम्सी परेर अरू प्रहरी घाइते भए भन्न सकिन्छ र घाइते भए पनि लखेटेर बिप्लवका नेतालाई समाते, डोरीले हात बाँधेर गोली ठोके भनेर पनि तर्क गर्न सकिन्छ । घटना सन्दर्भ र मृत शरीरको प्रकृत्ति हेर्दा यो तर्क बढी तर्कसङ्गत देखिन्छ ।
र पनि प्रहरीको हत्या कसरी भयो भन्ने प्रश्न अनुत्तरित नै रहन्छ । भागेको बेला प्रहरीले गोली हान्दा बिप्लवका नेताको सट्टा उनलाई लखेट्ने प्रहरीलाई  गोली लागेको भनेर पनि समाचार आएका छन् । प्रहरीले बोक्ने पेस्तोलहरू कुन ट्रेडमार्काका छन् ? चाइनिज पेस्तोलको कुरा पनि टिप्पणीको विषय हुन सक्छ । जेहोस्, प्रहरीको गोलीले प्रहरीकै हत्या भएको हो भने “दोहोरो भिडन्त” का लागि यो आधार बनाउने गतिलो बहाना बन्न सक्छ ।

जिल्लाका नेता पकड्ने, भरिसक्के आत्मसमर्पण गराउने नभए हत्या गर्ने शृङ्खलामा प्रतिक्रियावादी सरकार लागेको छ भन्ने कुरामा विवाद छैन । तर प्रश्न फेरि पनि नेकपा (बिप्लव) तर्फ सोझिन्छ । श्रीमती भेट्न भनेर गएका जिल्लावासी राई किन भोजपुर बजारमा  हाट लाग्ने दिनमा  गए ?  डेरा (डेरा लिएर अन्यत्रै बसेको भनिएको छ ) नगएर किन होटलमा बसे ?  प्रतिबन्धित अवस्था र एक हिसाबले मर्नेमार्ने स्थितिमा पुगेको पार्टीको जिल्ला नेताले हतियार बोक्ने  कुरा सामान्य हो । त्यहाँ त्यसरी जानुमा उनको पनि कमजोरी देखिन्छ । कि त उनलाई अन्यत्र कतै पक्राउ गरेर हत्याको परिपञ्च मिलाइएको हो, अथवा उनमा नै केही समस्या छन्,  यो कुरा प्रस्ट हुन केही समय लाग्ला ।

नेकपा (बिप्लव) ले यसबारे केही नबोल्नुले पनि केही प्रश्न उठाएको छ । उनको लासको प्रकृति हेर्दा पौड्याललाई झैँ उनलाई पनि कतै समातेर सो ठाउँमा हत्या गरिएको भन्न सकिन्छ तापनि सुनसान, जङ्गल अथवा अन्यत्र कतै हत्या नगरेर बीच बजारमा किन हत्या गरियो भनेर चाहिँ प्रश्न उठेको छ । पौड्यालको हत्या-प्रकरणभन्दा यो घटना केही जटिल छ  र  प्रश्न राईमाथि पनि उठ्नु स्वाभाविक छ ।

यस विषयमा नेकपा (बिप्लव)को आधिकारिक धारणा नै पर्खनुपर्ने हुन्छ ।

जे-जस्तो घटनासन्दर्भ भए पनि ओली सरकार फासिवादको अभ्यासतर्फ प्रवृत्त छ भन्ने  कुरा चाहिँ प्रस्ट भएको छ ।

टिप्पणी : आज असार  २६ गते बिप्लवद्वरा प्रकाशित विज्ञप्तिमा दोहोरो भिडन्तमा मारिएको भनेर प्रस्ट पारिएको कुरा पनि यहाँ स्मरणीय छ l
भिडियो फिचरview all