menu

ताजा समाचार

भारत जनताका लागि झ्यालखानमा परिणत भएको छ : आइसिएसपिडब्लुआइ

 विश्वभरिका राजबन्दीहरूको रिहाइ तथा भारतमा चलिरहेको जनयुद्धको समर्थनमा गठित अन्तर्राष्ट्रिय संस्था ‘इन्टरनेस्नल कमिटी इन सपोर्ट अफ दि पिपुल्स वार इन इन्डिया’ ले केही वर्षदेखि अभियानकै रूपमा सञ्चलन गर्दैआएको कार्यक्रम यो वर्ष  पनि विशेष कार्यक्रमका साथ यही नोभेम्बर २४ तारिखका दिन आयोजना गरेको कुरा सो संस्थाले सार्वजनिक गरेको छ । यसलाई आरसिपी अमेरिका र नेपालका ‘माओवादी’ पार्टीहरू’ बाहेक नयाँ रिम निर्माण अभियानसित सम्बद्ध विश्वका ३० भन्दा बढी माओवादी पार्टीहरू तथा सङ्गठनहरूको सहभागिता तथा ऐक्यबद्धता रहेको छ । नेपालका तर्फबाट 'क्रान्तिकारी बौद्धिक–सांस्कृतिक मञ्च नेपाल' ले अभियानप्रति ऐक्यबद्धता जनाएको छ ।

यसै सन्दर्भमा आइसिएसपिडब्लुआइले आफ्नो मूल दस्ताबेज पनि सार्वजनिक गरेको छ । यसको घोषणापत्रको रूपमा रहेको सो दस्ताबेजमा भारतमा हिजोका दिनदेखि नै सत्ताधारी वर्गहरूको भन्दा फरक विचार राख्नेहरूमाथि कसरी दमन हुँदै आयो भन्ने विश्लेषणात्मक इतिहास प्रस्तुत गरिएको छ र मुलुक स्वाधीन भनिए पनि अहिलेसम्म साम्राज्यवादी शक्तिहरूको आडमा भारतका सत्ताधारी वर्गले फरक विचार राख्नेहरू र जनअधिकारका लागि लड्नेहरूमाथि निरन्तर दमन भइरहेको छ, भनिएको छ । दस्ताबेजमा  खास गरेर मणिपुरदेखि काश्मिरसम्मका जनताले लडेको राष्ट्रियताको लडाइँका साथै आदिवासी,  दलित र मुस्लिम समुदायले अधिकारका लागि लडेको लडाइँमाथि जुन निर्मम दमन भइरहेको छ, यसले मध्ययुगीन बर्बरताको सम्झना दिलाउँछ भनिएको छ ।

दस्ताबेजमा भारतका भनिएको छ : भारतका अदालतहरू कहिले पनि जनताका लागि भएनन् । आम जनताले न्याय नपाई मर्नु परेको छ । सन् १९७० दशकमा नक्सलवाडी अन्दोलनपछि जनताले बन्दुकको शासन अन्त्यका लागि बन्दुक नै चाहिने रहेछ भनेर महसुस गरेर हतियार उठाए, त्यस बेलादेखि यता हजारौँको हत्या भएको छ र हजारौँलाई मुद्दै नचलाई हिरासत र जेलमा राखिएको छ । जेलमा कसको  मृत्यु कतिबेर भयो, थाहा नहुने स्थिति छ । भारत जनअधिकारका लागि लड्नेहरूका लागि बन्दीगृहमा परिणत  भएको छ । जब जनताले अधिकारका बन्दुक उठाएर जनआदालत गठन गरेर अपराधीहरूमाथि कारबाही सुरु गरे, त्यसलाई सत्ताधारी प्रतिक्रियावादी वर्गले अपराध र आतंकको संज्ञा दिएर जनतामाथि दमन गरिरहेको छ । भाकपा (माओवादी) का उच्च नेता तथा प्रवक्ताहरू  आजाद, किसनजी, आप्पा राव  आदिलाई समातेर मुठभेड भनेर हत्या गरियो । वरिष्ठ बिरामी कमरेडहरू सुशील राय लगायतलाई ओषधी उपचार नगरी जेलमे मुत्युको सिकार बनाइयो । अहिले पनि मुटुका बिरामीहरू  कोबाध गान्धी तथा  अजिथहरू बन्दी अवस्थामा  छन् ।

दस्ताबेजमा अगाडि भनिएको छ : यस किसिमको परिस्थितिमा हामी उहाँहरूको रिहाइका लागि अन्तर्राष्ट्रिय स्तरमा अभियान चलाउन तथा जनअधिकारका लागि लडिरहेका भारतका जनताका विरुद्ध चलाइएको ‘अपरेसन ग्रिन हन्ट’ अर्थात् सत्ताधारी वर्गले उत्पीडित जनतामाथि थोपरेको युद्ध, बन्द गर्नका लागि चौतर्फी आवाज उठाउन अपिल गर्दछौँ, साथै भारतमा चलिरहेको जनयुद्ध आफूलाई सबै किसिमका उत्पीडनबाट मुक्त गर्न जनताले चलाएको युद्ध भएकाले यसको पक्षमा उभिन पनि अनुरोध गर्दछौँ ।

जनमेल टिम आइसिएसपिडब्लुआइको अभियानप्रति हार्दिक ऐक्यबद्धता प्रकट गर्छ र कमरेड अजिथ, कमरेड कोबाध गान्धीलगायत जनताको पक्षमा आवाज उठाउँदा जेलमा बन्दी जीवन बिताउन बाध्य सबै राजबन्दीहरूको रिहाइको माग गर्छ । साथै दमन,  बलात्कार र  हत्या अभियानका नामले बदनाम ‘अपरेसन ग्रिन हन्ट’ यथा शीघ्र बन्द गर्न पनि माग गर्छ । यसका साथै आफ्नो वर्गीय मुक्तिका लागि लडिरहेका भारतका उत्पीडित जनताको पक्ष्यमा भाकपा (माओवादी) को अगुवाइमा चलेको जनयुद्धप्रति हार्दिक ऐक्यबद्धता जाहेर गर्छ

(यस सम्बन्धी थप सामग्री हामी २४ नोभेम्बरमा प्रस्तुत गर्नेछौं ।)
भिडियो फिचरview all