menu

ताजा समाचार

तीव्र बहसका बीच नेकपा (क्रान्तिकारी माओवादी) को बैठक जारी, पोखरा भेलाको निर्णय लागू गर्न सदस्यहरूको जोड

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) को केन्द्रीय समितिको बैठक जारी रहेको छ । पार्टी बैठकमा महासचिव कमरेड किरणद्वारा प्रस्तुत दस्ताबेज राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थितिको चर्चाका साथै मूलतः सङ्गठन, सङ्घर्ष, एकता र ध्रुवीकरणमा केन्द्रित रहेको कुरा बैठकमा सहभागी एक जना केन्द्रीय सदस्यबाट जानकारी हुन आएको छ ।

बैठकमा कतिपय केन्द्रीय सदस्यले दुई वर्ष हुन लाग्दा पनि सङ्गठनका सन्दर्भमा पोखरा भेलाले गरेका निर्णय व्यवहारमा लागु नभएकाले त्यसलाई व्यवहारमा ल्याउनु पर्ने कुरामा जोड दिएको कुरा पनि थाहा हुन आएको छ । पोखरा भेलाले सबै केन्द्रीय सदस्य पूर्णकालीन हुनुपर्ने, केन्द्रीय सदस्य हुन १० वर्षसम्म सङ्गठन र सङ्घर्षका कार्यक्रममा सहभागी भएको हुनुपर्ने, स्वास्थ्य र उमेर र अन्य कारणले पार्टीमा समय दिन नसक्ने  अवस्थामा पुगेकाहरूले पार्टीको महत्वपूर्ण पदबाट बिदा लिएर समय र शरीरले धान्ने किसिमको जिम्मेवारी लिन स्वेच्छिक निर्णय गर्नुपर्ने आदि किसिमका निर्णय गरेको थियो ।

सो भेलापछि विविध कारणले कतिपय केन्द्रीय सदस्य  सो पार्टी परित्याग गरेर प्रचण्ड समूहमा पलायन भएका थिए भने कतिपय विविध कारण बताउँदै केन्द्रीय सदस्यबाट बिदा लिएर साधारण सदस्यका रूपमा रहेर घरव्यवहारमा सीमित  भएका छन् । त्यसैगरी कतिपय पार्टी निर्णय विपरीत गएका कारण पार्टीको कारबाहीमा परेका छन् । पोखरा भेलापछि नयाँ  केन्द्रीय सदस्य थप्ने तथा पदोन्नति गर्ने काम पनि भएको छैन । विगतमा योग्यता, क्षमता र आवश्यकताभन्दा  नेताका आासेपासेहरू, विवादास्पद मान्छेहरू केन्द्रमा आएका भनेर पार्टीभित्रैबाट व्यापक टीकाटिप्पणी भएको र यसबारे कतिपयले फेसबुकमा समेत खुला रूपमा लेख्ने गरेका छन्  । अहिले पनि राज्यसमिति स्तरका कार्यकर्ताले समेत पोखरा बैठकका निर्णय कार्यान्वयन हुनु पर्छ भनेर फेसबुकमा लेखेको पाइन्छ ।

सो पार्टीका पोलिटब्युरो सदस्य हर्कबहादुर शाहीको मृत्यु भइसकेको छ भने माओवादी आन्दोलनको लामो अनुभव भएका कमरेड श्रीनाथ अधिकारी 'श्याम' पनि क्यान्सर रोगका कारण अशक्तताका साथ केही महिनादेखि ओषधीउपचारमा हुनुहुन्छ । कतिपयले पदीय हैसियतअनुसार जिम्मेवारी बहन नगरेको कुरा पनि सो पार्टीमा टिप्पणीको विषय बन्ने गरेको छ । सो पार्टीमा कतिपयले पूर्णकालीनकै परिभाषा प्रस्ट नभएको, कसलाई पूर्णकालीन कार्यकर्ता भन्ने र कसलाई  नभन्ने भन्ने कुरा पनि प्रस्ट नभएको किसिमका गुनासो  पनि गर्ने गरेका छन्
खास गरेर एकताप्रक्रियामा परि थापाको नेतृत्वमा आएका कतिपय व्यक्तिहरूको विगत सम्बद्ध सन्दर्भहरू तथा वर्तमानको हैसियतलाई लिएर माओवादी आन्दोलनमा लामो समयदेखि कार्यरत जिल्ला तथा प्रदेश समिति सदस्यहरूको व्यापक असन्तुष्टि रहेको कुरा पनि सो पार्टीका कार्यकर्ताहरूले बताउने गरेका छन् ।

ओली सरकार असाध्यै फासिवादी शैलीमा आइरहेको अवस्थामा सङ्घर्षका कार्यक्रमलाई नयाँ र जुझारु किसिमले लैजानु पर्ने र यसका लागि सङ्गठनलाई चुस्त र फुर्तिलो बनाउनु पर्ने आवश्यकता रहेको र नेतृत्वमा नयाँ पुस्तालाई अगाडि लानु पर्ने कुरा पनि कार्यकर्ताबीच जोडदार रूपमा उठेको कुरा सम्बद्ध सूत्रले जनाएको छ । विचार मिल्नेसित एकता गर्ने कुरा बैठकमा उठे पनि एकताका नाममा जो पायो त्यसलाई समेट्न नहुने, नयाँ जनवादी क्रान्ति, माओवाद मान्नेहरू र चुनाववादी चिन्तनबाट मुक्त भएकाहरूलाई पार्टीमा समेट्नुपर्ने कुरामा पनि सो पार्टीका कार्यकर्ताहरूको भनाइ रहेको छ । बैठकमा सदस्यहरूले एकताभन्दा धु्वीकरणमा जोड दिएको कुरा पनि थाहा हुन आएको छ ।पछिल्लो चरणमा एकताभन्दा ध्रुवीकरणलाई सो पार्टीले जोड दिएको कुरा पनि यहाँ स्मरणीय छ ।

त्यसै गरी मूल पार्टी र चुनावी मोर्चा ‘देजमो’ एकअर्काका प्रतिस्पर्धी, समानान्तरजस्ता देखिएकाले मोर्चा होइन मूल पार्टीलाई नै सङ्गठन, सङ्घर्ष र जनस्तरमा स्थापित र लोकप्रिय बनाउनु पर्छ भन्ने कुरामा पनि सो पार्टीका अधिकांश कार्यकर्ताहरूको धारणा रहेको पाइन्छ ।

आफूले आधारभूत मुद्दा उठाएर सङ्घर्षका कार्यक्रम अघि बढाउनु पर्नेमा जनवर्गीय सङ्गठनहरू अरूले उठाएका मुद्दामा पछि लागेर आफ्नो स्वतन्त्र भूमिका विलीन गराएको, आवश्यकतानुसार मोर्चाहरू सक्रिय हुन नसकेको भनेर पनि नेकपा (क्रान्तिकारी माआवादी) सम्बद्ध मोर्चाहरूका बारेमा टिप्पणी उठ्ने/ उठाउने गरिएको छ । 

पार्टीको बैठकले केकस्तो सङ्गठनात्मक  तथा सङ्घर्षसम्बन्धी निर्णय गर्छ, एकता तथा धु्वीकरणका सम्बन्धमा के-कस्तो निर्णय गर्छ भन्ने कुरा सो पार्टीको बैठकपछि नै थाहा होला । तर अहिले सङ्गठनका क्षेत्रमा एकमा तीनको सिद्धान्त लागु गरोस्, जुझारु सङ्घर्षका कार्यक्रमहरू तय गरोस् र रुटिनबद्ध, गोलचक्करवादी  र घिसेपिटे कार्यशैलीबाट मुक्त भएर क्रान्तिकारी विकल्पका रूपमा यसले स्वत्त निर्माण गरोस् भन्ने कमना चाहिँ गर्न सकिन्छ ।
०००

भिडियो फिचरview all