menu

ताजा समाचार

चैतन्यलाई हृदयचन्द्रसिंह सम्मान प्रदान

साहित्य सदन, नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘हृदयचन्द्रसिंह प्रधान सम्मान'  यो वर्ष वरिष्ठ सौन्दर्यचिन्तक मोहन बैद्य ‘चैतन्य’ लाई प्रदान गरेको छ । साहित्य सदन, नेपालको सभाहल रामहिटी बौद्धमा यही  जेठ २५ गते सम्पन्न सो सम्मान साहित्य सदनका अध्यक्ष अमिर थापाले प्रदान गर्नुभएको हो । साहित्य सदनका अध्यक्ष अमिर थापाको अध्यक्षता तथा सदस्य सचिव कवि मित्रलाल पज्ञानीको उद्घोषणमा सम्पन्न कार्यक्रममा गोपालप्रसाद रिमाल पुरस्कार कवि तथा महिला अभियन्ता कविता पौड्याललाई प्रदान गरिएको थियो ।

सामालोचक चैतन्यलाई दोसल्ला ओढाई सम्मान गरिएको सो कार्यक्रममा पुरस्कारवापत रु. २५,०००। प्रदान गरिएको थियो । पुरस्कृत व्यक्तित्व चैतन्यको साहित्यिक व्यक्तित्व तथा मार्क्सवादी सौन्दर्यशास्त्रका क्षेत्रमा वहाँले पुर्याएको योगदानका बारेमा आख्यानकार तथा समालोचक डा. ऋषिराज बराललले प्रकाश पार्नु भएको थियो ।

सो क्रममा डा बरालले भन्नुभयो  : “शब्द र कर्म, विचार र जीवनशैलीबीच एकरूपता चैतन्यको विशेषता हो । नेपालको राजनीतिक आन्दोलनमा थुप्रै मान्छेहरू नेता बनेर अगाडि आए, तर अपेक्षित उद्देश्य पूरा नहुँदै व्यक्तिगत स्वार्थमा लिप्त भएर  तिनले विचलन, पलायन र गद्दारीको बाटो अँगाले ।  जुन उद्देश्य र मूल्यका लागि लामो लडाइँ लडियो, वलिदानको त्यो उदात्त इतिहाससित गाँसिएको उद्देश्य पूरा नहोउन्जेलसम्म निरन्तर लडिरहनुपर्छ भनेर नेपाली क्रान्तिप्रतिको प्रतिबद्धता, अटुट विश्वास र क्रान्तिकारी आशावाद राजनीतिक क्षेत्रमा मोहन बैद्य ‘किरण’ को विशिष्ट पक्ष हो । त्यसै गरी मार्क्सवादी सौन्दर्यचिन्तन र समाजवादी यथार्थवादका मूल्यप्रति प्रतिबद्ध रहेर साहित्य तथा कलाको क्षेत्रलाई वैचारिक मोर्चाका रूपमा आत्मसात गर्नु उहाँको विशिष्ट पक्ष हो । वास्तवमा सङ्कल्प र सङ्घर्षको अर्को नाम चैतन्य हो ।”

त्यसै गरी पुरुस्कृत व्यक्तित्व चैतन्यले सङ्क्षिप्त मन्तव्य राख्दै  भन्नुभयो : “दर्शन, साहित्य, सौन्दर्य, राजनीति सबै श्रमसित जोडिएका छन् । सारा लडाइँ श्रम गर्ने र अर्काको श्रम शोषणा गर्नेहरूबीचको लडाइँ हो र यो भनेको वर्गीय लडाइँ हो । वर्तमान सन्दर्भमा सङ्घर्षको लामो इतिहासमा केही उपलब्धी भए पनि जुन किसिमकले श्रमजीवी वर्गले सङ्घर्ष गर्यो , पसिना बगायो, त्यो अनुसार नेपाली समाजको रूपान्तरण भएको छैन । रूपान्तरणका  लागि सङ्घर्षको आवश्यकता छ र रूपान्तरणको नयाँ सङ्घर्षमा साहित्यकारहरू जानु जरूरी छ । मार्क्सवादलाई समृद्ध पार्दै रूपान्तरणको अभियानलाई अगाडि  बढाउनु आवश्यक छ ।”

चैतन्यले थप अगाडि भन्नुभयो  “नेपाली समाजको रूपान्तरणको यस अभियानमा  आफू बाँचुन्जेल भूमिका निर्वाह गर्नेछु ।”
भिडियो फिचरview all